हाँसो बिना बितेको दिन व्यर्थ हो भन्ने चार्ली च्यापलिनका भनाइ हरेक हामीमा लागु हुन्छ। सित्तैमा भगवानले दिएका सेता दन्ते लहर छन्, ती लहरलाई मुसुक्क लहराउँदा तपाईंको समीपमा रहेका मानिस कति दगं पर्छन्।
विचरा डाक्टरले तपाईंलाई हाँसो बढाउनुस्, हाँस्नुस्, हाँस्न सिक्नुस्, यो सित्तै औषधि भन्यो भने तपाईं फेरि फर्केर त्यो डाक्टरको जानु हुन्न। किनकी तपाईंलाई ठिम्रा गोली र क्याप्सुलको लत परेको छ।
म हरेक दिन कामबाट फर्केपछि घर पुगेर आमालाई सोध्ने गर्छु- ‘आज कति पटक हाँस्नु भयो आमा?’
आमा अक्क न बक्क पर्नुहुन्छ। सायद उहाँलाई यो प्रश्न बुझ्न गाह्रो भयो वा फाल्तु लाग्यो। किनकी हाम्रो समाजमा हाँसे पनि उत्ताउलो मानिन्छ। गमदारी बन्नपर्छ, धेरै बोल्न हुन्न, मान्छेले रुचाउन्नन् भन्ने पनि छ।
समाजमा हाँसो हराएको छ। हाँसो खोज्न कि त फेसबुकमा खोज्नुपर्छ कि त कमेडी हेर्नुपर्छ। सामाजिक सञ्जालको लगावले मानिसहरू मोबाइलमा भुलेका छन् तर सञ्जालमा हाँस्ने विषयवस्तु छैन।
हाँसो र हँसाउनका लागि कुनै कारण चाहिँदैन। हामी सानो-सानो कुरामा खुसी बन्न सिक्नुपर्छ। हाँस्ने विषयमा सबैको एकमत छ कि हाँसोको लागि सब ठिकठाक हुनुपर्छ, त्यो कदापि होइन।
आजको दिनमा हाँस्ने र हँसाउने कुरा दुर्लभ छ। यसैले हाँसो गुमेको छ, स्वास्थ्य गिरेको छ, एक्लोपना छिरेको छ। सुत्ने बेलामा छोराछोरीले बाबा कथा सुनाउनुहोस्, चुड्किला सुनाउनुहोस् भन्दछन्। तर सुनाउनका लागि मसँग कुनै कथा छैन, जोक्स छैन।
मेरो समयका कथा, चुड्किला अहिलेका बच्चालाई सुनाउँदा उनीहरूलाई न हाँसो उठ्छ न मज्जा आउँछ। किनकी मैले भोगेका, देखेका, सुनेका, गरेका कुरा आजको दुनियाँमा छैन। दुनियाँ र समय दुवै बदलिएकोछ।
हाम्रो समाजमा हाँस्दा बैँसले अनमत्त भएका, कुकुरको पुच्छर बाङ्गो देखे पनि हाँस्छन् भनेर आरोप लगाइन्छ। हाँस्दा उत्ताउलो मान्ने सोच पनि छ। हाम्रो समाज पनि कतै हाँसोको बाधक बनेको त होइन?
मूलतः हाँसो कि नास्यो पनि भनिन्छ। हाँस्नुलाई गलत रुपमा लिइन्छ। यो हाम्रो समाजको कमजोरी पनि हो।
आजकल टिभीहरूमा एकपछि अर्को कमेडी कार्यक्रमहरू आइरहेका छन्। एक-आधा घण्टाका ती कार्यक्रमहरूको लगाव छ तर मुख बङ्ग्याएर, फोहोर कुरा बोलेर, भद्दा शब्दावलीबाट हामी सबै हाँस्न बाध्य छौँ। बनावटी हाँसोबाट हामी स्वस्थ्यकर हाँसोतर्फ उन्मुख बन्न के-कसो गर्नु पर्ला भन्ने विषय गहन छ, सोचनीय छ।
सानो-सानो उपलब्धीमा पनि खुसी रहनु, बन्नु, रमाउनु आवश्यक छ। हामीले के पनि बुझ्नु पर्छ कि हरेक काम तथा प्रयासले राम्रै नतिजा आउनु पर्छ, आउँछ भन्ने होइन। हाँस्नका लागि कमेडियनको सहायता लिनु पर्ने अवस्था आम नेपालीमा छ।
हामी कसरी जीवनमा हाँसो खुसी फिर्ता ल्याउन सकिन्छ? यसका लागि निश्चल, निर्दोष, पवित्र, अस्थिर चन्चल बालबालिका बाल क्रिडामा हामी रमाउन सकिन्छ। त्यति मात्र नभएर क्लब, समाज, समूह, गुठी, संगठन, संघमा आवद्ध भई केही समय आफूलाई व्यस्त राखेर समाजसेवामा संलग्न रहेर दुःख, पीर, बेदना बिर्सी रमाउन र हाँस्न सकिन्छ।
कोही नयाँ-नयाँ रेसिपी बनाउँदा, नयाँ स्वाद लिँदा, तरकारीबारीमा काम गर्दा, फूलमा पानी राख्ने, गोडमेल गर्ने काममा पनि केही क्षण रमाउन सकिन्छ।
रसियन कवि एन्टन चेकभको 'ग्रिफ' भन्ने कथामा एक मानिस आफ्ना पुत्र वियोगको वेदना सुनाउन घोडाको तबेलामा जान्छ। घोडाले पाउर मारेर खाना चपाउँदा मानौँ लाग्छ कि घोडाले उसको कुरा सुनिरहेको छ। आजको समाजको परिदृश्य यही छ।
केही मानिसहरू हाँस्न, रमाउन, खुसी बन्न, डिस्को, रोदी, डान्स बार जान्छन्। रमाउँछन्। हाँस्नु र रमाउन बिल्कुल फरक कुरा हो। रमाउन भौतिक सुविधाले सकिन्छ तर हाँस्नका लागि भौतिक सुविधाले मात्र पुग्दैन। भौतिक सुविधाले खुसी हुने भए धनी मानिसहरू संसारमा सबैभन्दा खुसी हुन्थे होलान्।
हाँस्नका लागि कोही कारण खोजी गर्दछन्, कोही सहजै हाँस्छन्। हाँस्नु स्वस्थ्यकर छ तर स्थान, क्षेत्र, समय, काल, परिस्थिति हेरेर हाँस्न जान्नु पर्छ नत्र अनर्थ हुन्छ।
बच्चाहरू स-साना कुरामा पनि हाँस्छन्, खुसी हुन्छन्। उनीहरू हाँस्न कुनै खास कारण चाहिन्न। तर हामी वयस्कका लागि हाँस्न कि कमेडी कि त कुनै कुरामा घत पर्न पर्यो। नत्र हाँसो सितिमिती आउँदैन।
हाँस्नाले पीडा, दुःख बिसर्ने, तनाव घट्ने, तौल सन्तुलन रहने, मानसिक स्वास्थ्य ठिक रहने, आयु बढने, शरीरमा फूर्ति आउने, रिस कम हुने, द्वन्द कम हुने, आत्मीयता बढ्ने, प्रतिरक्षा प्रणाली बढ्ने, क्यालोरी घट्ने, मुटुको रोग कम लाग्ने हुन्छ भनेर चिकित्सकहरू बताउँछन्।
बाटो, सडक, गल्लीमा यत्रतत्र, घर बाहिर-भित्र गर्दा, घर-अफिस गर्दा मानिस भेट्छु तर कसैमा पनि अनुहारमा चमक, उत्साह, जाँगर, शक्ति, उज्यालोपना देख्दिनँ। मेरो दृष्टि हो या देश मन्दी भएर हो, सोचमा डुबेर हो या खुसीको अभावमा हो मानिसहरूमा उत्साह पटक्कै देख्दिनँ।
हाँसोको श्रोत के हो? हामी रमाउँदा पनि हाँसो किन आउँदैन? सबैजना रमाएको बेला हाँसो उठ्छ या उठ्दैन? हाँस्ने विषय किन महंगो छ? सबै किन हाँस्न सक्दैनन्? हाँस्नका लागि के त्यस्तो परिस्थति, मौका, सन्दर्भ, समय चाहिन्छ?
भारतमा लाफ्टर क्लब पनि छ जसलाई डा. मदन कटारियाले सुरु गरेका हुन्। उनले भनेका छन्- ‘संसारमा हाँसेर मरेको कोही देखेको छैन तर लाखौँ मानिस नहाँसेर मरेको मलाई थाहा छ।’
तसर्थ जीवन्त बन्न हाँस्न जान्नुपर्छ। योगा, एरोबिक, शाररीरिक व्यायामबाट पनि मानिस रमाउन सक्छन्। हँसाउने विषय, प्रसंग, सन्दर्भ कठिन छ।
हाँसो हराएको सूचना आएको छ जुन सूचनाले हाँसो खोज्न हामी सबैलाई जगाउँछ। हाँसो खोजेर पाइने कुरा हो र? न हाँसो किन्न नै पाइन्छ न त हाँसो बेच्ने मानिस यहाँ भेटिन्छन्। हराएको हाँसो खोज्न हामी यत्रतत्र भौतारिरहेका छौँ तर हाँसो भेटाइदिने मानिस फेला परेन। तर उप्रान्तमा हाँसो आफैले हराएकोले भेटाउने पनि आफै नै हो, अरुबाट पाउन सकिन्न।
हाँसो खोज्न नहिडौँ बरु आफूलाई खुसी राख्ने मन्त्र सानो इच्छा, सानो योजना राखौँ। आफ्नो सोखमा लागौँ। सोखलाई मलजल गरौँ, त्यसैमा भलो छ।
‘किलिङ द डिजायर’ भन्छन्। यो अतिशयोक्ति होला तर हाँसोको खोजीमा हाँसो हराएकोमा दुखी हुनुभन्दा हाँसो किन, कसरी, कोद्वारा, कहाँबाट, कहिलेबाट, किन हरायो समीक्षा गरौँ। हाँसो, खुस रमाइलो आफूभित्र छ।
हाँसेर जियौँ, हाँसेर बाँचौँ। हाँसौँ थोरैमा, रमाउँ जे छ त्यसैमा, बाँचौँ। हराएको हाँसो खोज्न भौतारिरहनु समयको खेर फाल्नु हो। आफूलाई बुझौँ, चिनौँ, धैर्य गरौँ। हाँस्न अरूको भर नपारौँ।