हिउँ परिरहेको चिसो मौसममा पनि इस्तानबुल शहर पर्यटक मेला ‘एमिट २०२३ लाई सफल बनाउन तयारी गर्दै थियो।
यहाँको पर्यटन मन्त्रालय, टर्किस एयरलाइन्स र महानगर मुख्य प्रायोजक रहेको कार्यक्रम दुई वर्ष स्थगित भएर यो वर्ष विश्वका पचास भन्दा बढी देशले आफ्नो देशको पर्यटकीय खुबी र सम्भावना पस्कन तयारी गर्दै थिए।
८ देखि ११ फेब्रुअरीमा इस्तानबुलको तुयुपमा विश्वकै ठूलो पर्यटक मेलामध्ये एक यो मेलामा सहभागी हुन विभिन्न देशबाट मानिसहरू आउँदै थिए। यो भीडमा नेपाल पर्यटन बोर्डका दुई अफिसर हामीहरु पनि नेपाललाई प्रतिनिधित्व गर्न तम्तयार भएर ६ फेब्रुअरीमा इस्तानबुल उडेका थियौं।
८ घण्टा ३० मिनेटको दुरी पार गरेर आफ्नो देशको झण्डा फहराउँदै नेपाल घुम्न आउने सन्देश दिन हामी दुई टर्की आइपुगेका थियौं।
रातको करिब साढे ११ बजे स्तानबुल पुगेर स्थानीय टेलिकमको सीम हालेपछि थाहा भयो-पर्यटन मेला त भुकम्पको कारण पछि सारिएको रहेछ।
हामी उडेको दुई घण्टा पछि यस्तो सूचना आएको रहेछ। ७ दशमलव ५ रेक्टर स्केलको भुकम्पले दक्षिणी टर्की र उत्तरी सिरियालाई क्षणभरमै तहसनहस पारेको रहेछ।
यो कुरा थाहा पाएर हामीहरू छक्क पर्यौं। एक छिन तिरिमिरी नै भयो। एकातर्फ देशको पर्यटन प्रवर्द्धन गर्ने योजना डामाडोल, त्यो भन्दा नि ठूलो कुरा भूकम्पले के भयो होला भन्ने डर। आफ्नो देशको त्यो हविगत भएको सम्झदा अझै पनि कहाली लाग्न छोडेको छैन।
देश फर्कन हवाइजहाजको टिकट मिलाउनतिर लाग्दा दुई दिन पछि बल्ल बल्ल भारत हुँदै आउने टिकट पाइयो।
समाचारमा मानिसको रोदन, प्राकृतिक विपति, खराब मौसम र आइरहेका पराकम्पनको असर देखेर मन थाम्न धेरै गाह्रो भयो।
हामीले घर फर्कने टिकट खोज्दै गर्दा हजारौं हजार हाम्रा दाजुभाइ दिदीबहिनी जो टर्कीको भूकम्पमा परी सेल्टरमा बसिरहेका छन् उनीहरुको लागि के गर्न सकिएला भन्ने सोच्न समेत सकिएको छैन।
यो आपातकालीन अवस्थामा पुरै संसार एक भएर टर्की र सिरियाका भूकम्प पीडितहरुलाई उद्धार र राहत उपलब्ध गराउन, पुरिएर बसेका मानिसको सकुसल उद्धार गर्न सके,स्वास्थ्य सेवालाई समयमा पुर्याउन सके धेरै मानिसलाई बचाउन सकिन्थ्यो होला। मानिस बाँचे पर्यटन प्रवर्द्धन त गर्दै गरौंला।
हामी जुटौं उनीहरूलाई सहयोग गर्न अहिलेलाई यति गर्न सके भोलि उनीहरू नेपाल भन्दै खोज्दै आउने छन्। हाम्रो देशको पर्यटन आफैं प्रवर्द्धन हुनेछ।
निरन्तर गइरहेको परकम्पले हामी अलि त्रसित छौ। हुन त टाढै भए पनि यहाँ समाचारहरु धेरै कहालीलाग्दा आइरहेका छन्। कान थुनेर आँखा चिम्लेर बस्न पनि नसकिने। गर्न पनि अर्को देशमा केही गर्न नसकिने। देश फर्कने दिन कुर्दै अर्थहीन बसाई बसिरहेका छौ।
अझ पर्यटन ब्यवसाही जो यति उत्साहित थिए कोभिडपछिको लामो अन्तरालमा केही होला भनेर, उनीहरुको त सबै तयारी, प्रयास खेर गएको छ। भिसा प्रक्रियाको खर्च, आवेदन खर्च, फिर्ता नहुने टिकटको खर्च। सबै कुरा सोच्दा दिक्क लाग्ने। तर प्रकृतिको नियम अघि कसको के नै लाग्छ र।