हाम्रा हजुरबुबा-हजुरआमाले हामीलाई धेरै कुराहरू सिकाउनु हुन्थ्यो। आजकल सम्झिँदा लाग्छ- अहो! कति महान्, कति विद्वान हुनुहुँदो रहेछ हाम्रा हजुरबुबा-हजुरआमा।
जुन ज्ञान उहाँहरूले सिकाउनुहुन्थ्यो, त्यो आज हामी ठूला-ठूला विद्यालय, विश्वविद्यालयहरूमा दौडधूप गरेर धाउँदा पनि पाउन सकिरहेका छैनौं। जुन संस्कारका कुराहरू आज महंगो पैसा तिरेर स्कुल कलेज दौडिरहेका हाम्रा भाइबहिनीहरूले पाइरहेका छैनन्।
मैले यसो लेखिरहँदा यो आधुनिक संसारमा आधुनिक जीवनशैली व्यतित गर्नुभएका तपाईंहरूलाई हाँस्यास्पद लाग्नसक्छ जस्तै- उहिलेका कुरा खुइले।
तर यो कटु सत्य हो जसलाई हामी नकार्न सक्दैनौँ। संस्कार सिकाउने, यो सुन्दर संसारमा सत्मार्गमा हिँड्न सिकाउने दिवंगत मेरा हजुरआमा हजुरबाप्रति नमन!
पहाडी क्षेत्र जहाँ म जन्मिएँ, हुर्किएँ त्यहाँ घर वरिपरि लटरम्मै मौसमी फलफूल फल्थे। त्योबेला म सानै थिएँ, भर्खर १/२ कक्षामा पढ्ने। म भन्ने गर्थें- ‘आमा फलफूल बेच्ने हैन?’
आमा यो सबैलाई बाँडेर खानुपर्छ भन्नुहुन्थ्यो। यसरी बारीमा फलेको सबैभन्दा सप्रेको बाली, घर वरिपरि फलेको सबैभन्दा राम्रो फल पाहुनालाई भनेर छुट्टाएर कोठाको कुनामा लुकाएर राख्नुहुन्थ्यो। अनि पाहुना आउँदा बडो सम्मानका साथ विभिन्न परिकार बनाएर पस्कनुहुन्थ्यो।
वर्ष याममा खेतबारी, भिर काल्नाहरूमा घाँस काट्दा औँलाहरूमा टिट्यासको झुस बिझेर टाढा-टाढादेखि थुप्रै मानिसहरू ओखती लगाउन आउने गर्थे। आमा खानपिन छोडेरै भए पनि घर वरिपरि बारीतिर जडीबुटी बटुलेर ओखलीमा कुटेर लगाइदिनु हुन्थ्यो।
कोही गाउँमा बिरामी परेको खबर सुन्नेबित्तिकै जडीबुटी खोजेर औषधि बनाइदिएर निको पार्नुहुन्थ्यो। म सोध्ने गर्थें- आमा, किन पैसा लिनु भएन? सित्तैमा दिनुभयो?
आमा भन्नुहुन्थ्यो- पैसा लिनु हुँदैन, यो त धर्म पो गरेको।
म सोच्ने गर्थें धर्म पनि कति धेरै। आखिर आमाले यति धेरै धर्म गर्ने भएपछि यो घरलाई धर्मशाला भनेर छुट्टाउन किन बिर्सनुभएछ?
आजभोलि सोच्दा अचम्म लाग्छ, त्यो बेला उमेर नि सानै भएर होला, ती औषधि लगाउन आएका मान्छेहरू बिरामी र दुखाइले छटपटिन्थे तर म घरमा यति धेरै मान्छे आउँदा सधैँ हाम्रो घरमा यस्तै मान्छे आइदिए हुन्थ्यो नि, रमाइलो भयो भन्दै खुसीले फुरुङ्ग हुन्थेँ।
त्यसैगरी हजुरबुबा घर टाढा जानुभयो भने काँधमा एक-एक वटा ढुंगाको छापा बोकेर आउनुहुन्थ्यो र वर्षा याममा चिप्लो भएर कोही नलडून्, धुलोमा कोही नमोलिऊन् भनेर सार्वजनिक बाटोहरूमा पनि ढुंगाको सिँढी बनाउनु हुन्थ्यो। नभन्दै बर्खा याममा मानिसहरू सहजै भारी बोकेर ती ढुंगाले कुँदेको बाटोमा सजिलै टकटक गर्दै हिँडेर गन्तव्यमा पुग्थे।
बरपिपलहरू लगाई चौतरा बनाउनुहुन्थ्यो जहाँ बाटोमा हिँड्ने बटुवा मनुवाहरूले थकानको सुस्केरा हाल्दै भारी बिसाउँथे। कोही दुःखसुखले भरिएको मनको भारी बिसाउन आई घण्टौँ भलाकुसारी गरी आनन्दको महसुस गर्थें।
त्यो बेला हजुरबुवा जिम्वाल मुखिया हुनुहुन्थ्यो। त्यो लोक सबैले हामी नातिनातिनालाई पनि बडो प्यारका साथ जिम्वालका नातिनातिना भनेर चिन्थे। हामीलाई जिम्वाल भन्ने के हो? नाम हो कि पद? केही थाहा थिएन। तर सबैले त्यसरी हजुरबुबाको कारणले माया गर्दा गर्वले गद्गद हुन्थ्यौँ।
भोकाएका, बास नपाएकाहरू राति-राति ‘जिम्वाल साब! जिम्वाल साब!’ भन्दै हाम्रै घरछेउ आएर बोलाउने गर्थे। हजुरआमाहरू मस्त निद्रामा हुनुहुन्थ्यो तैपनि झर्को नमानी आमाहरू रातमै उठेर घरमा आएका पाहुना भगवानको रुप लिएर आएका हुन्छन् भन्दै रात्रिभोज खुवाएर बास दिनुहुन्थ्यो। आमाहरू भन्नुहुन्थ्यो पाहुना खुसी भए भगवान खुसी हुन्छन्।
म सोध्ने गर्थें- आमा, किन सधैँ मान्छेहरू हाम्रै घर गाँस अनि बास माग्न आउने?
आमाहरू भन्नुहुन्थ्यो- कान्छी, यो हाम्रो परान हुँदासम्म हामीले सक्दासम्म यो काम गर्नेछौँ। यो त मानवीय सत्कर्म हो। हामी मानवले यो गरेन भने मानवता भन्ने हराएर जान्छ र दरिद्रता छाउछँ।
यस्तै-यस्तै धेरै कुराहरू सिक्ने मौका मिल्यो जुन ज्ञानअर्ती लेखेर, वर्णन गरेर नसकिने अथाह छ।
हामी बाल्यावस्थामा थियौँ, हजुरआमा हजुरबुबाहरू वृद्धावस्थामा हुनुहुन्थ्यो। हामी चेला थियौँ, उहाँहरू गुरु हुनुहुन्थ्यो। यसरी मेरो प्रेममय वतावरण बाल्यकालदेखि नै वृद्धा हजुरबुबा हजुरआमासँग रह्यो।
सानो उमेरदेखि नै हजुरबुबा-हजुरआमाको मायामा पालियौँ। त्यसैले होला सानैदेखि हृदयमा वृद्धाहरूप्रति गरिने व्यवहार, हेर्ने दृष्टिकोणको मिठो मायाले बस्ती बसायो। त्यसपछिका दिनहरूमा वृद्धाहरूलाई देख्दा भेट्दा एक खालको मायाको अनुभूति हुन थाल्यो। यहाँसम्म कि दिमागमा केही प्रेसर परे तापनि उहाँहरूको दर्शन पाउँदा मनमा शान्ति मुहारमा कान्ति छाउन थाल्यो।
सानैदेखि बुबाममी दुवै पेसाले शिक्षक हुनुहुन्थ्यो जसले गर्दा उहाँहरूले दिन नपाउनु भएको समय हजुरआमाहरूले दिनुभयो। उहाँहरू हामीलाई घरको बगैंचामा फुलेका फूलहरू सम्झेर आफूलाई माली ठान्नुहुन्थ्यो।
हामीले हजुरआमालाई आमा भन्ने गर्थ्यौं। आमा पनि दुई जना हुनुहुन्थ्यो पहिलो आमालाई सन्तान नभएपछि हजुरबालाई आमाले नै अर्को बिहे गर्दिनु भयो रे। जसले गर्दा हामी नातिनातिना दुई आमाको साथमा हुर्कियौं।
आमाको फरियामा लुटपुटिँदै ताते-ताते गर्ने र लोरी सुन्ने लेखान्त पनि कमैको भाग्यमा हुन्छ। म तिनै कम मध्येकी एक भाग्यमानी नातिनी हुँ जसको जीवनकथा दुई हजुरआमा र हजुरबाको काख र साथबाट सुरु भयो।
त्यसैले आजभोलि जो हजुरबुबा हजुरआमाबाट छुट्टिएर बस्न खोज्छन् उनीहरूलाई देख्दा दया जागेर आउँछ। कति अभागी रहेछन् जसले हजुरबा हजुरआमाको माया कस्तो हुन्छ भन्ने पत्तै पाएका छैनन्।
आज मलाई यो लेख्दै गर्दा, मेरा बाल्यकालका बालसखा मेरा प्राणप्रीय स्वर्गीय हजुरआमाहरूको याद दिलाइरहेको छ। अबोधपनदेखि मलाई उहाँहरूले गरेको माया, स्याहारसुसार, संस्कार जब कुनै कुराको बोध हुन थाल्यो तब उहाँहरू स्वर्गीय हनुभयो। त्यो कारुणिक क्षण त म कसरी वर्णन गरुँ जुन लेख्दा औँलाहरू थर्थराउँछन्।
हजुरबुबा म ९ मा पढ्दा बित्नुभयो। त्योबेला पनि मन एकदमै विक्षिप्त भयो तर दुई हजुरआमा हुनुहुन्छ नि अझै त भनेर मन बुझाएँ। १/२ वर्षमै पहिलो आमा स्वर्गीय हुनुभयो, मन विक्षिप्त भयो।
त्यही वर्ष मेरो विवाह भयो। विवाहको समयमा पनि आमालाई धेरै सम्झिएँ। त्यसपछिका हरेक पल, हरेक पर्व, हरेक दिन, हरेक रात हजुरबुबा हजुरआमाकै न्यानो मायाको अभावमा भावुक हुन्छु।