स्वास्थ्य जीवन हो। सम्पत्ति हो। अमूल्य सम्पत्ति।
शरीरको कुनै पनि अंग या प्रणालीले आफ्नो धर्म छाड्ने वित्तिकै जिन्दगीको गाडी हल्लिन थाल्छ। यस्तै गाडीको पाटपूर्जा ठिक पार्ने पेसामा लागेको ११ वर्ष बितेछ।
बिरामीहरू अस्पताल आएर उपचारपछि निको भएर जाँदा त्यो अनुहारमा देखिएको मिठो मुस्कान र ती थाकेका तिखा आँखामा देखिएको चमकले आत्मालाई सन्तुष्टि दिने कुरामा कुनै सन्देह नै छैन।
तर अफसोच! सबै बिरामी निको भएर घर फर्कन आएनन्। कोही अस्पताललाई ट्रान्जिट बनाएर स्वर्गको बाटो लाग्न आए। चाहेर हैन बाध्यताले। विडम्बना– उमेर पुगेर हैन, कालगतिले।
गएको दिनहरूमा धेरै पटक यी आँखाहरू रसाए। कहिले बिरामीले जिन्दगी फिर्ता पाउँदाको उत्सवसँगै त कहिले गुमाउँदाको शोकसँगै।
कहिले ती आमाको आँखामा देखिएको आशाको किरणसँगै त कहिले हार खाएर निधारको पसिना पुछ्दै बाबुले खोलेको शिरको टोपीसँगै।
कहिले एक दशक बाँझोपनले विक्षिप्त पारेर भर्खरै भरिएको त्यो न्यानो काखसँगै त कहिले भर्खरै १८ घण्टा प्रसव पीडाले थाकेर रित्तिएको काखसँगै।
कहिले फोनमा आफ्नो श्रीमतीसँग बोल्न पाएर खुसीले कामेको त्यो मधुरो स्वरसँगै त कहिले आँसु पुछ्दै कागजमा डिएनआर साइन गरेको त्यो हातसँगै। र, कहिले धन्यवादरूपी मिठाइका पोकासँगै त कहिले दोषारोपणले भरिएका तथानाम गालीसँगै।
समय बित्यो। काम गर्ने ठाउँ फेरियो। अनुभूति उस्तै, पीडा उस्तै, खुसी उस्तै। हाम्रो पेसामा, ‘इम्प्याथी इज द की’ अर्थात् सहानुभूति कुञ्जी हो भनिन्छ। दिनभरिको तितोमिठो अनुभवलाई सर्लक्क जुत्तासँगै ढोका बाहिर फुकालेर हँसिलो भई आफ्नासँग प्रस्तुत हुनु कुनै ठूलो युद्ध जितेकोभन्दा कम हुँदैन।
६३ वर्षकी अमेरिका निवासी आमा शय्यामा छिन्। मैले आइसियूबाट भर्खरै विस्तृत रिपोर्ट लिएर खटिएको। सामान्य हिँड्डुल गरेर आफ्नो दिनचर्या बिताइरहेकी उनीलाई एक्कासी सिजर आएछ। तत्काल इएमएसले (इमर्जेन्सी मेडिकल सर्भिस) अस्पताल पुर्यायो।
अस्पताल ल्याउँदा उनको मुटुको धड्कन बढेर १८० पुगेको रहेछ। कृत्रिम श्वास दिएर केही दिन भेन्टिलेटरमा राखेपछि अलिकति राम्रो भएर फ्लोरमा सारियो।
ठूलो मोटो शरीर, गलेको अनुहार, भित्र धसिएका आँखा। हातले इसारा गर्दै सुकेको मधुरो स्वरमा केही भन्न खोजेको जस्तो लाग्यो। उनी बाइप्याप मेसिनतिर आँखा तन्काउँदै थिइन्। कान नजिकै लगेँ। ‘यो मास्क लगाइदेऊ, म सुत्छु’ भनेकी रहेछिन्।
सुत्दा श्वास नरोकियोस् भनेर 'स्लिप याप्निया'को बिरामीलाई यस्तो मसिनमा राखिन्छ। मैले उनले भनेबमोजिम गरिदिएँ। नाकमा पोषणको लागि एन/जी ट्युब लगाइएको थियो।
वास्तवमै लाग्छ यो विज्ञान चमत्कार नै हो! श्वास रोकिँदा कृत्रिम श्वास दिइन्छ। रोकिएको मुटुलाई अनेक गरेर चलाइन्छ, त्यति नभएर काम नलाग्ने अंग झिकेर स्वस्थ अंग प्रत्यारोपण गरिन्छ।
दन्त्य कथामा सुनिएका अद्भुत चमत्कारहरू आँखाअगाडि साक्षात्कार भएझैँ लाग्छ। मानवले हत्याहिंसा मात्र पनि गरेको छैन, ज्यान पनि जोगाएको छ। यो युगमा पनि देउता र दानव उति नै छन्।
ती आमाले भनेअनुसार खाटमा सुत्न सजिलो बनाएर कपडा ओढाइदिएँ। निधार उज्यालो देखियो। मुसुक्क हाँसिन् र मेरो हात समातिन्। यत्तिकैमा फोनको घन्टी बज्यो। उनकै श्रीमानको फोन थियो।
‘मेरो श्रीमतीलाई कस्तो छ? उनलाई आयसियूबाट सारिएको मलाई जानकारी आएको थियो।’
जवाफमा मैले आफ्नो ज्ञानले भ्याएसम्म विस्तृत जानकारी दिएँ। उनी ढुक्क भए। धेरै पटक धन्यवाद दिए।
४ दिनपछि काममा जाँदा मलाई फेरि तिनै आमाको जिम्मेवारी दिइएको थियो। दुवै हातहरू बेडको साइड रेलमा बाँधिएका थिए। आँखा खोल्दै बन्द गर्दै गरिरहेकी थिइन्। बाइप्याप मेसिन टुट्-टुट्-टुट् कराइरहेको थियो।
सोडिएम बढेर १६५ पुगेछ, रगतमा कार्बनडाइअक्साइडको मात्रा बढेर ७४ पुगेको रहेछ। उनको हालत ४ दिनअघिको भन्दा धेरै नै फरक थियो। मैले नजिकै गएर उनको हात समातेँ। चिसा हातले सकेसम्म कस्सेर समात्न खोजिन्।
त्यो कस्साइमा उनको आक्रोश झल्किन्थ्यो। म विवश थिएँ। उनलाई त्यो बन्धनबाट मुक्त गर्न असमर्थ थिएँ। अक्सिजनको मास्क भित्रबाट केही भन्न खोजिरहेकी थिइन्। मलाई बुझ्ने इच्छा जाग्यो। उनलाई लगाइदिएको मास्क एकैछिनलाई खोलिदिएँ।
उनले मुख खोल्नेबित्तिकै मेरो मुटु चिसो भयो। आफ्नो पेसाप्रति दिक्दार लागेर आयो। ग्लानी भयो। जिब्रो एउटै डल्लो भएको थियो। खस्रो ढुङ्गाजस्तो देखिन्थ्यो। बोली लठेप्रो भएको थियो। मैले केही बुझिनँ।
राति डरलाग्दो सपना देखेर ब्युँझिँदा मुख सुकेर स्वर निकाल्न गाह्रो हुँदाको छटपटी मेरो आँखाअगाडि चित्रण भैरहेको थियो। आत्माले भन्यो, उनीले पानी मागिरहेकी छिन्। स्पन्जमा थोरै पानी चोबेर उनको मुख भिजाइदिएँ।
चराको बच्चाले जस्तो छिटो-छिटो मुख खोलिन्। खासमा त्यसरी पानी दिन जोखिम हुन्छ। बिरामीले निल्न नसकेको खण्डमा फोक्सोतिर गई तत्काल मृत्यु हुनसक्छ। तर मलाई त्यतातिर ध्यान नै गएन। मनलाई सुनेँ।
म उनलाई पानी निरन्तर खुवाइरहेको थिएँ। उनको मुख रसाइरहेको थियो, सँगसँगै मेरा आँखा। मैले उनका हातहरू खोलिदिएँ। फेरि च्याप्प मेरो हात समातिन्। यो पटक त्यो अघिको आक्रोश पटक्कै थिएन। लाग्थ्यो उनले मलाई चिनिन्। मलाई विश्वास गरिन्। मेरो हात छाड्न चाहिनन्।
उनको श्रीमानको फेरि फोन आयो। धेरै नै अत्तालिएको सुनिन्थ्यो। म नि:शब्द भएँ! डाक्टरसँग कुरा गराइदिन्छु भनेर फोन राखेँ। भागवान तिमी धन्य छौ। यो पेसामा मलाई पठाएर कसैको सहयोग गर्न लायक बनाएकोमा म धेरै नै आभारी छु।
आज छुट्टी छ। बिहान सहकर्मी साथीले म्यासेज गर्यो, उनले विश्राम लिइछन्। मेरो कानमा उनकै श्रीमानका प्रश्नहरू गुञ्जिरहे। म टोलायरहेँ!