'पर्फेक्ट' शब्द आफैं अति सुन्दर र अर्थपूर्ण छ। तर यो संसारमा के छ यस्तो जो ‘पर्फेक्ट होस्’! सायदै केही छैन होला।
विवेकशील प्राणी मानिस पर्फेक्ट हुने कोसिस त गरेको हुन्छ तर पूर्ण हुन पूर्ण रूपमा सक्दैन। धेरै छोरी मान्छेको सपना हुन्छ ‘पर्फेक्ट हजबेन्ड’!
म कक्षा ९ मा पढ्दा मेरो मिल्ने साथीले भागी बिहे गरिन्। पढ्ने, लेख्ने र आफ्नो भविष्य बनाउने समयमा उनले लिएको निर्णय तत्कालका लागि भने सुखद् थियो।
पढाइमा व्यस्त भएर सुन्दर संसारका लागि कडा मेहनत गर्ने समयमा माया, प्रेममा डुबेर ती साथीले तत्क्षणका लागि खुसी त प्राप्त गरिन् तर भविष्य भने अन्धकारको दिशातर्फ मोडिन्।
अब हामीलाई लाग्न सक्छ, के बिहे गर्दैमा भविष्य अन्धकार हुन्छ? पक्कै पनि हुँदैन। बिहे त यस्तो सुन्दर बाचा हो वा सुमधुर सम्बन्ध हो, जसले जीवनलाई एउटा नयाँ दिशातर्फ मोडेर दुई शरीर र दुई आत्मालाई एकाकार गराइदिन्छ। तर यही सम्बन्धले कतिपयको जीवन भने उजाड, सुख्खा र बालुवाको महलजस्तै बनाइदिन्छ। आखिर किन यस्तो हुन्छ? कसैलाई बिहे फलिफाप त कसैलाई अभिसाप! किन?
मेरी साथीको जीवनमा पनि त्यो खुसी लामो समयसम्म टिक्न सकेन। पढाइलाई बीचमै छाडेर उनले रोजेको श्रीमान् आर्थिक रूपमा त सम्पन्न थिए तर व्यवहारमा भने निकै गरिब रहेछन्। हुनत दुबैको सानै उमेरमा बिहे भएकाले पनि ह्याण्डल गर्नसक्ने क्षमताको विकास नभएको हुनसक्छ।
श्रीमान, उनका बुवाआमा, दिदीबहिनी र आफन्तले बिहे त स्वीकारे तर पढाइलाई निरन्तरताका लागि अनुमति दिएनन्। फलस्वरूप कक्षाका प्रायजसो साथी १० मा जाँदा उनी ९ कक्षामैं रोकिइन्।
हामीले एसएलसी पास गर्दा त उनीले एक सन्तानलाई जन्म दिइसकेकी थिइन्। बेलाबखत भेट हुन्थ्यो। अनि मैले सोध्थें, कस्तो चल्दैछ तिम्रो वैवाहिक जीवन? उनीले भन्थिन्, 'के के न होला भनेर बिहे गरें, अहिले पछुतो लागिरहेको छ। तिमीहरूले एसएलसी पास गर्यौ। म त पूरै घरव्यवहारमा व्यस्त भएँ। बिहान उठेदेखि रातिसम्म बच्चा र परिवारको लागि समय दिइरहेको छु।'
मलाई उनको कुरो सुनेर दुःख लाग्यो। अफेयर चल्दा उही नै हो मेरो भविष्यको ‘पर्फेक्ट हजबेण्ड’ भन्ने मेरी साथीको जीवन त अब पतझडजस्तै उजाड भएछ। एउटा सुन्दर फूल फक्रिन नपाउँदै ओइलाइसकेछ। आखिर अब यसको दोष कसलाई दिनु ? उनको आफ्नै निर्णयले जीवन मरूभूमिमा परिणत भएको आफैंलाई बल्ल महसुस भएछ।
अनि मैले फेरि सोधें, 'अनि तिम्रो पर्फेक्ट हजबेण्डको के छ?'
मेरो प्रश्न पूरा हुन नपाउँदै उसले सुक्कसुक्क गर्दै भनी, 'यो मेरो जीवनको सबैभन्दा भयंकर गल्ती थियो। आफ्नो जन्मदिने बुवाआमा र परिवारलाई जानकारीसमेत नगराई उसकै भरोसामा उसँगै सुन्दर सपनाको परिकल्पना गरेर अगाडि बढें। सबैभन्दा ठूलो भूल यही भयो।'
अब मलाई मेरी साथीको हालखबर सबै थाहा भइसकेको थियो। उसको जीवन केबल चल्दै थियो, दिनहरू केबल ढल्दै थिए।
म बिए अध्ययन गर्ने क्रममा काठमाडौंको मैतीदेवीमा बस्थें। त्यो घरमा एउटा परिवार पनि बस्थ्यो। १ दम्पती र २ जना सन्तान थिए। दिनको समयमा उनीहरू मिलीजुली नै बस्थे। तर जब राति पर्दै जान्थ्यो अनि श्रीमानले श्रीमतीलाई जोडले कुट्थे। त्यो घरमा बस्ने सबैलाई यो कुरा थाहा थियो तर ती व्यक्तिले किन कुट्दा रहेछन? त्यो चाहिँ कसैलाई पनि थाहा नभएको भन्थे। आखिर कारण जेसुकै भएता पनि त्यसरी श्रीमती कुट्ने त्यो व्यक्ति समाजको कलंक नै थियो। त्यो भयानक दृष्य देखेपछि मलाई पनि विवाहप्रति नकारात्मक धारणा जागेको थियो।
वास्तवमा समाजमा महिलामाथि विभिन्न तरिकाबाट हिंसा हुँदै आएका छन्। प्रेमीले प्रेमिकालाई, श्रीमानले श्रीमतीमाथि हिंसा गर्ने प्रवृत्ति हामीकहाँ कुनै नौलो होइन। तर हाम्रै समाजमा यस्ता पुरूष पनि छन् जो ‘पर्फेक्ट’ त म भन्दिन तर आइडल श्रीमानहरू पक्कै छन्। जो आफ्नी श्रीमतीलाई सम्मान गर्छन्। उपल्लो दर्जा दिन्छन्। आफू पर्दा पछाडि बसेर पनि श्रीमतीको उन्नति प्रगतिका लागि सधैं लागिरहन्छन्।
मैले बिए तेस्रो वर्ष अध्ययन गर्दा समयकी एक साथी थिइन्। जो डिल्लीबजारमा बस्थिन्। उनका श्रीमान शिक्षक थिए। अलिक सानो उमेरमै बिहे गरेकाले उनका सन्तान हुर्कंदै थिए। सन्तान हुर्काउँदै एउटा प्राइभेट कम्पनीमा काम गर्दै गरेकी ती साथीलाई उनका श्रीमानले असाध्यै माया र सम्मान गर्थे। कार्यालय सकेर घर आउँदा छोराछोरीको लुगा धुन्थे। खाजा बनाएर खुवाउँथे। मेरी साथी पढ्दै गरेकाले हरपाइलामा साथ दिन्थे। यी सबैकुरा नियालेपछि मलाई लाग्थ्यो। यो संसारमा सबै लोग्ने मान्छे खराब कहाँ छन् र? महिलालाई सम्मान गर्ने र सहअस्तित्वका लागि आत्मादेखि नै सम्मान गर्ने पुरूष पनि छन्।
हो, पितृसत्तात्मक समाजका कारण महिलामाथि हिंसा भएको साँचो हो। उनीहरू दमनमा परेकै हुन्। तर आजको समाजमा महिलालाई सहयात्रीका रूपमा हेर्ने र असल साथीको व्यवहार गर्ने अनि प्रगति चाहने कैयन् पुरूषहरू छन्।
‘लभ इज ब्लाइण्ड‘ भन्ने भाष्यसँग नजिक भएर किशोरावस्थामा केटाकेटी प्रेममा पर्छन्। तीमध्ये कतिले यसलाई विवाहमा परिणत गर्छन् त कतिका सम्बन्धहरू यत्तिकै हराएर जान्छन्। विवाहपछि कसैको पनि सम्बन्ध बिग्रियोस् भन्ने चाहना हुँदैन। तर एकले अर्कोलाई बुझ्ने अवस्था नबनिदिएपछि सम्बन्धमा धमिरा लाग्न थाल्छ। कहिलेकाहीँ घरपरिवार वा समाजका कारण पनि सम्बन्धमा दरार उत्पन्न हुन्छ। अनावश्यक रूपमा चियोचर्चो गर्ने, पोल लगाउने गर्नाले पनि असल सम्बन्धमा तुषरापात आउन सक्छ। योसँगै एकअर्कालाई सम्मान नगर्नु, कमजोरी पहिल्याएर आरोप लगाउनु, शारीरिक सम्बन्धमा समस्या आउनु, मन नपरेको व्यक्तिसँग विवाह हुनु, अति व्यस्तता, लामो समय एकअर्काबाट टाढा बस्नुजस्ता कारणबाट वैवाहिक सम्बन्धहरू टुक्रिने गरेका उदाहरण हाम्रासामु छन्।
यहाँ चर्चा गर्न खोजिएको एक पात्रको सोचको ‘पर्फेक्ट हजबेण्ड‘ को मात्रै होइन, ‘पर्फेक्ट वाइफ’ को पनि हो। एक हातले ताली बज्दैन भनेर हामी सबैलाई थाहै छ। विवाहपश्चात् श्रीमान/श्रीमतीबीच ठाकठुक पर्नु सामान्य हो। तर अनावश्यक शंका, अविश्वास, बैमनस्यताजस्ता कारणबाट कैयौं असल सम्बन्धहरू पनि टुट्ने गरेका छन्।
मित्रवत् व्यवहार नै सम्बन्धलाई कसिलो र दरिलो बनाउने माध्यम हो। एकअर्कालाई अरूको सामु नीच देखाउने प्रवृत्तिका कारण पनि सम्बन्धहरू बिग्रँदै जान्छन्।
प्रत्येक मान्छेमा राम्रा/नराम्रा सबै खाले गुणहरू विद्यमान हुन्छन्। व्यक्तिको दोष होइन, गुणलाई उजागर गर्न सक्ने हो भने दाम्पत्य जीवनमा पनि सुमधुरता छाउँछ।
एउटा अर्को उदाहरण पेश गर्न चाहें, कुरो आजभन्दा करिब १४ वर्ष अगाडिको हो।
म एक जना धनाढ्य उद्यमी महिलाको घरमा गएको थिएँ। उनको बायोग्राफी बनाउनुपर्ने थियो। अफिसमा धेरै भीडभाड हुने भएकोले राम्ररी कुरो गर्न नपाइने भएको भन्दै घरमै आउने निमन्त्रणा पाएँ।
सोही बमोजिम उनी र म पुतलीसडकमा भेटेर उनको घर गयौं। हामीले एकअर्कालाई पहिलेदेखिनै चिन्ने भएका कारण ती पात्रले मलाई उनको बेडरूमै जाऊँ भनिन्। जब हामी त्यहाँ पुग्यौं। उनका श्रीमान बेडमा बसिरहेका थिए। बेडमाथि असरल्ल कपडाहरू थिए। ती बुज्रुक महिला उनका श्रीमानमाथि यसरी पड्किइन् कि म त इन्तु न चिन्तु भएँ। उनकै शब्दमा 'दिनभरी घरमा बसेर यो जाबो लुगा पनि मिलाउन सकैनौ? सारीहरू बेडभरी छन्, तिमीलाई लाज लाग्दैन ?'
उनको यस्तो रूखो वचनले ती व्यक्ति जवाफ नफर्काइ त्यहाँबाट ओझेल परे। मैले जीवनकालमै यति कडा महिला देखेकै थिइनँ।
मलाई यो दृष्यले नराम्रो अनूभुत गरायो। होला, उनका श्रीमानसँग झगडा परेको थियो! तर अरूको अगाडि त्यसरी अपमान गर्दा अपमानित हुनेलाई कस्तो भयो होला? दुई बीचको तुष एकान्तमा बसेर पनि त निकाल्न सकिन्थ्यो। झगडा बन्द कोठाभित्र पनि त गर्न सकिन्थ्यो! तर यस्ता प्रकृतिका झगडाले धेरै सम्बन्धहरू पनि सकिएका छन्। त्यो घरको झगडा २ वर्षपछि डिभोर्समा रूपान्तरण भएछ। अहिले उनीहरू दुबै दोस्रो वैवाहिक सम्बन्धमा छन्। सम्बन्धलाई विश्वासको डोरीमा बाँध्दा समस्या होइन समाधान पनि निस्कन्छ। तर समस्यालाई बल्झाउने प्रवृत्तिका कारण सम्बन्धमा जटिलता थपिँदैछन्।
समाज पितृसत्तामा आधारित छ। अधिंकाश महिलाहरू नै हिंसाको शिकार भइरहेका छन्। यी सबैको कारण हाम्रो मनस्थिति हो। यदि आफूजस्तै अर्को व्यक्तिलाई पनि सोही स्थानमा राखेर व्यवहार गर्नसक्ने हो भने समानता कायम गर्न सकिन्छ। ‘पर्फेक्ट हजबेण्ड’ वा ‘पर्फेक्ट वाइफ’ बन्न नसकिए पनि एकअर्काको असल मित्र बन्न सकिन्छ।
जीवनमा समभावको विकासले एकअर्काको अस्तित्वलाई स्वीकार्न कठिनाइ हुँदैन। मै हुँ भन्ने प्रवृत्ति हटेर जाने हो भने असल सहयात्री, असल जीवनसाथी बन्न सकिन्छ। प्रयास गर्ने कि?