आज पनि जब सम्झन्छु त्यो दिन, मेरो मुहारमा एउटा छुट्टै खुसी आउँछ। त्यो दिन जब मेरा भावनाले आफ्नै रंग लिई उडिरहेका थिए। कुरा त्यो दिनको हो जब म र मेरा बहिनीहरू यो संसारको कोलाहलबाट मुक्त हुन त्यो पार्कमा गएका थियौं। आफ्नो मस्तिष्कमा एउटा सकारात्मक सोच र त्यहाँको स्वच्छ हावाको आनन्द लिँदै गर्दा भेट भएको थियो उनीसँग।
म जब त्यहीँ पार्कको एउटा सानो पुलमा तस्बिर लिन आत्तिरहेको थिए तब आइन् उनी। नाम त उनको के थियो थाहा छैन तर मैले उनको नाम राखिदिएँ 'खैरी'।
म कुकुर भनेपछि हुरूक्कै हुने मान्छेमा पर्छु र खैरीले त्यो दिन मलाई एउटा छुट्टै नजरले हेरिन् र त्यो माया लाग्दो हेराइले मलाई मेरो घरवरिपरिका ती सारा सडकका कुकुरहरूको याद दिलायो।
उनले मलाई समाएको घडीमा पछाडि ढकेलिन् र मलाई मेरो अर्को साथी 'कोको' को याद दिलाइन्।
'कोको' उनी सडकमा बस्ने एउटा साधारण कुकुर थिइन् तर मेरो लागि उनी मेरो साथी थिइन्। 'कोको' एउटा सुन्दर भावना थिइन्। जब म कहीँ जान्थें तब 'कोको' सधैं मसँग आउँथिन्। कोको भएपछि मलाई पनि एउटा छुट्टै आनन्दको महसुस हुन्थ्यो।कहिलेकाहीँ एक्लै बाटोमा हिँँड्दा कोकोसँगै हुँदा सुरक्षित महसुस हुन्थ्यो। म घरबाट बाहिर निस्किँदा उनी आफ्नो पुच्छर हल्लाउँदै आउने गर्थिन्। यस्तो लाग्थ्यो कि मानिसले बोल्ने भाषा बोल्न नआए पनि उनी मसँग मनको भाषाले बोल्थिन्। म मेरी कोकोलाई सारै माया गर्थें।
तर एकदिन अचानक उनी हराइन्। सधैं मेरो वरिपरि हुने मेरी कोको एक्कासि अगाडि पर्न छोडिन्। दिन बित्दै गयो। एकदिन कसैले मलाई उनको मृत्यु भएको खबर सुनायो। म छाँगाबाट खसेझैं भएँ, उनी आउँछिन् भनेर कुरिरहेको म एक्कासि उनी कहिले नफर्किने गरी गइन् भन्ने खबरले मेरो मुटु छियाछिया भयो। मेरो आँखाबाट कतिबेला आँसु खसेछ मैले थाहै पाइनँ।
मैले मेरी कोकोलई एकचोटि बिदाई गर्न पनि पाइनँ र त्यो पार्कमा भेटिएकी खैरीलाई मैले त्यो सबै माया दिएँ जुन माया मैले कोकोको लागि साचेकी थिएँ।
खैरीले मलाई त्यो दिन साँच्चै कोकोको याद दिलाइन्। खैरीको त्यो आँखाले धेरै दिनबाट भोको पेट लिएर हिँडेको छु भनिरहेको थियो।
मैले मेरो झोलाबाट बिस्कुट निकालेर खुवाएँ र त्यो दिन खैरीले मलाई पछ्याइरहिन्।
मैले उनलाई अरू खाने कुरा, पानी खुवाएर बिदा भएँ। खैरीले त्यो दिन मेरो मनमा कोकोको लागि भएको एउटा घाउ महसुस गरिन् भने मैले खैरीको आँखामा दुःख र एक्लोपनको महसुस गरें। खैरीलाई सँगै घर लैजाने ठूलो चाहना थियो तर केही कारणबस् सकिनँ। उनलाई त्यही प्रकृतिको काखमा छोडेर म घर फर्कें। उनलाई अलबिदा भन्दै गर्दा उनको त्यो आँसुले भरिएका आँखाले मलाई धेरै कुरा सिकायो।
हामी मानिसहरू कुकुर पाल्ने निहुँमा महँगा-महँगा कुकुर किनेर पाल्छौं तर पैसाले कुकुर त किनिएला, माया कसरी किन्छौं? हामी हाम्रा घर वरिपरि भएका कुकुरहरूलाई वास्ता गर्दैनौं र पैसा खर्च गरेर महङ्गा महङ्गा कुकुर खरिद गर्छौं। तर जुन माया हामीलाई ती सडकको कुकुरहरूले दिन्छन् त्यो माया पैसा तिरेर लेराएको कुकुरहरूले कहिल्यै दिन सक्दैनन्।
सडकका कुकुर जस्लाई एउटा सानो रोटीको टुक्रा दिए ऊ तपाईंसँग जहाँ जान पनि साथ आइदिन्छ। उनीहरूले घृणा देखेका हुन्छन्, उनीहरू भोकले मरेका हुन्छन्। उनीहरूलाई केही गर्न पर्दैन बस् मायाले सुम्सुमाइदिनुस् उनीहरूले मानबाट माया दिनेछन्।
यदि यी सडकमा दबाइएका कुकुरहरूले तपाईंहरूलाई उनीहरूको माया दिए भने तपाईंहरू आफ्नो मनमा भएका सबै घृणाहरू भुल्नु हुनेछ। एउटा यस्तो माया जसमा स्वार्थ लुकेको हुँदैन।
म जब जब यो तस्बिर हेर्छु, तब तब सँगै लेराएको भए नि हुने थियो खैरीलाई भनेर महसुस गर्छु। मेरो जिन्दगीको एक दिन खैरीसँग जुन दिनले मलाई ती सबै सडकमा बस्ने कुकुरहरूले भोगेका दुःखहरूको महसुस गराउँछ। कसरी ती सडकमा बस्ने प्राणीहरू मारिन्छन्, त्यो पीडाको आभास गराउँछ। कोही पनि प्राणी सडकको हुनुमा उसको दोष हुँदैन, सायद दोष हाम्रो हो जसले एक समयमा प्राणी पाल्न सक्दैनौं भनेर सडकमा छोडिदिएका थियौं।
त्यसैले आफ्नो वरिपरि भएको प्राणीलाई माया गर्नुस् किनकि पैसाले माया किन्न सकिन्न। एक बेसहारा प्राणीलाई माया दिनु भनेको एक बेसहारा मानिसलाई माया दिनु जत्तिकै हो।