निलो आकाश, फराकिलो चउर, चउर नजिकै पोखरी अनि पूर्वदेखि पश्चिमसम्म झलमल्ल खुलेका हिमाल, अहा ! कति राम्रो दृश्य!
हिमाललाई पृष्ठभूमि बनाउँदै चौरमा बसेर पदयात्रीहरू फोटो खिच्न व्यस्त भए। नखिचुन् पनि किन, यति सुन्दर दृश्यमा को नरमाउला र? मैले पनि खिचेँ केही तस्बिर।
प्रकृति प्रेमी समूहको दोस्रो शनिबारे हाइकिङमा हामी काठमाडौंको दक्षिणकालीमा पर्ने जातीपोखरी (२१०० मिटर) मा पुगेका थियौं। हाम्रो देश यस्तै प्राकृतिक सुन्दरताले भरिएको छ। काठमाडौंको धुँवाधुलो कोलाहलबाट केहि किलोमिटर बाहिर निस्कने वित्तिकै प्रकृतिको सुन्दर अंगालोमा पर्न सकिन्छ।
काठमाडौं उपत्यकामा हाइकिङका लागि उपयुक्त थुप्रै गन्तव्य छन्। धेरै टाढा जानुपर्छ भन्ने छैन, उपत्यकाबाट केही पर गएमात्र पनि सुन्दर बस्तीमा पुग्न सकिछ। जता जाँदा पनि फरक भूगोल, संस्कृति र जीवनशैलीको अनुभव संगाल्न पाइन्छ। त्यस्तै काठमाडौंको दक्षिणी भेगमा अवस्थित दक्षिणकाली नगरपालिका पनि हाइकिङका लागि उत्तम गन्तव्य हो।
प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाहरूले भरिपूर्ण छ दक्षिणकाली नगरपालिका। साविकका चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कुडुडेचौर र छैमले गरि ६ गा.वि.स. मिलाएर वि.सं. २०७१ मंसिर १६ गते दक्षिणकाली नगरपालिका घोषणा गरिएको थियो। यसको क्षेत्रफल ४२.७ वर्ग किलोमिटर छ।
तामाङ, नेवार, क्षेत्री, बाहुन, दलितलगायत जातजातिको सुन्दर फूलबारी हो दक्षिणकाली नगरपालिका। यहाँ हिन्दू, बौद्धमार्गी, इशाईलगायत धर्माबलम्बीको बसोबास छ।
हिन्दूग्रन्थअनुसार भगवान श्री कृष्णबाट चरणस्पर्श भएको पुण्यभूमि तथा बौद्धग्रन्थअनुसार गुरू पद्यसंभवको तपस्यास्थल मानिन्छ दक्षिणकाली क्षेत्र।
दक्षिणकालीको नामबाटै नगरपालिकाको नामकरण गरिएको हो। यिनै पवित्र दक्षिणकाली क्षेत्रमा प्रकृतिप्रेमी समूहले माघको दोस्रो शनिबार १४ गते हाइकिङ गराएको थियो।
प्रकृति प्रेमी समूहले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर उचित आहार, विहार र विचार (उआविवि) अभियान चलाउँदै आएको छ। यसै सिलसिलामा उचित विहार अन्तर्गत हरेक महिनाको दोस्रो र चौंथो शनिबार नियमित हाइकिङ काठमाडौं सेरोफेरोमा गराउँदै आएको छ।
माघको दोस्रो शनिबारको हाइकिङ काठमाडौंको दक्षिणकाली मन्दिर, थसि गाउँ, चौकोटदेवी, जातीपोखरी, शितलचोक हुँदै छैमले माइतीखोलासम्म करिब १२ किलोमिटर भएको थियो।
हामी बिहान निरोगधामबाट दुई वटा गाडीमा दक्षिणकाली मन्दिरसम्म गयौं। जातीपोखरी बस्तीबाट हामीलाई सहयोग गर्न दुई जना भाइहरू विशाल तामाङ र तीर्जराज भोम्जन मन्दिरमा आइपुगेका थिए। त्यहाँ केही बेर सहभागीलाई हाइकिङ रुट र नियमबारे जानकारी गरापछि दक्षिणकाली मन्दिरबाट पदयात्रा सुरु भयो। शनिबारको दिन भएकाले मान्छेको भिड थियो।
हामी मन्दिरबाट दायाँ उकालो हुँदै शलिन डाँडा र त्यहाँबाट पनि दायाँ उकालो हुँदै थसि गाउँ पुग्यौं। थसि गाउँ पुगेपछि नासपाती र लप्सीका रूख देखिए। छैमले क्षेत्र नासपातीका लागि प्रख्यात छ। भदौमा यात्रा गर्दा बोटबाटै टिपेर नासपाती खान पाइन्छ र कोशेली किनेर पनि ल्याउन पनि।
थसि गाउँमा पानी ब्रेक गर्यौं। हिँड्दा शरीरबाट पसिना निस्कन्छ। पसिना निस्केपछि शरीरमा पानीको कमी हुन्छ। पानीको कमीले रिंगटा लाग्ने, शरीर गल्ने, थाक्ने, टाउको दुख्ने देखि खुट्टा बाउँडिनेसम्म हुन सक्छ। तसर्थ हिँड्दा करिब आधा देखि १ घण्टा अन्तरमा वा पसिना निस्केको अनुपातमा पानी पिउने गर्नुपर्छ। पानी एकैपटक धेरै पिउनु हुँदैन। एक पटकमा करिब ३०० एमएल पिउने। र अर्को बुझ्नुपर्ने कुरा कुनै पनि ठोस आहारसँग पानी नपिउने, करिब आधा घण्टा अन्तर राख्ने।
यसरी ठाउँँठाउँमा पानी ब्रेक गर्दै हिँड्दा शरीरमा पानीको कमी हुन पाउँदैन र हिँड्न पनि सजिलो हुन्छ। प्रकृति प्रेमी समूहसँग यस्तै स्वास्थ्य ज्ञान बुझ्दै हाइकिङ गर्न पाइन्छ।
पानी ब्रेक पछि मुलबाटोबाट उकालो चढ्यौं। शान्त बाटो। मोटर आक्कलझुक्कल आइपुग्थे। पसिना चुहाउँदै उकालियौं। बाटोमा कतै बस्ती त कतै फराकिला सुन्दर चौर हेर्दै हिँड्यौं।
जति उकालो चढ्दै गयौं उति उत्तरमा हिमाली शृङ्खला टलक्क टल्किँदै गएँ। माथि पुगेपछि जंगलको बाटो उकालो हुँदै चौकोटदेवीमा पुग्यौं। त्यहाँ स्याउ ब्रेक गर्यौं। देवीको दर्शनपछि वरपरका दृश्य नियाल्यौं। अनि हामी करिब डेढ किलोमिटर तेर्सो जंगलको बाटो हिँडेर जातीपोखरी पुग्यौं।
जातीपोखरी पुग्दा हिँडाइले थकाई लागेको थियो। हामीले चौरमा उज्यालो हिमालको मुनि बसेर योगका केही अभ्यास र साँचो ध्यान गर्यौं। हिँड्दा शरीर बलियो हुन्छ भने योगव्यायाम र ध्यानले शरीरमा पुनः ऊर्जा बढाउने र थकान मेटाउने हुन्छ। एक छिनको व्यायाम र ध्यान पछि जातीपोखरी अवलोकन गरेर हामी गोरेटोबाट ओरालो झर्यौं। ठाडै ओरालो, करिब ३० मिनेट पछि शितलचोक पुग्यौं।
शितलचोकको ‘चिया चौतारी खाजा घर’ मा हाम्रा लागि ‘तीन बराबर आहार’ तयार भैसकेको थियो। खाना बनाउन सहयोग पुर्याउन प्रकृतिप्रेमी समूहका आजीवन सदस्य तेजराम महर्जन बिहानै त्यहाँ पुगेका थिए।
चौतारी खाजा घरमा हामीले एक भाग खैरो चामलको भात, दुई थरी गाउँकै लोकल साग र काउली अनि एक भाग सलादस्वरुप गाजर खायौं। सबैले मिठो मानेर खाना खाए।
खाना पछि एकछिन आराम गर्यौं। र ओरालो झर्यौं। तल माइतीखोलासम्मै हाम्रा सहयोगी भाइहरू विशाल र तीर्थले हामीलाई साथ दिए। उनीहरूको गुन हामी कहिल्यै बिर्सने छैनौं। दुबैलाई धेरैधेरै धन्यवाद !
त्यहाँबाट हामी गाडीमा निरोगधाम फर्कियौं। हाम्रो अर्को हाइकिङ चौंथो शनिबार माघ २८ गते फरक ठाउँमा हुनेछ।
ललितपुरको जातीपोखरी हाइकिङका लागि निकै उपयुक्त छ। सल्लाका जंगल बिचको बाटो, तामाङ बस्ती, धार्मिकस्थल, फराकिला चउर अनि प्राकृतिक चराको चिरविर। यहाँ बैशाख जेठमा बाटैभरी ऐंसेलु फल्छ, खाँदै हिँड्न सकिन्छ भने चैत बैशाखमा लालीगुराँसको लाली हेर्दै। पुसमाघमा चाहिँ टलक्क टल्केका हिमाल हेर्न पाइन्छ।
अहिले हिमाल खुल्ने मौसम छ। हिमालसँग आँखा झिम्क्याउँदै जातीपोखरी हाइकिङ गर्ने हो कि?
दक्षिणकाली
मनोकामना पुर्याइदिने देवीका रुपमा पूजिन्छ दक्षिणकालीलाई। काठमाडौंको दक्षिणमा बसेकी छिन् देवी। फर्पिङ–हेटौंडा सडकमार्ग नजिकै दोभानमा बसेकी शक्तिपीठ। दुई नदीहरू उद्धारवति र पूर्णावतीको दोभानमा छ मन्दिर।
दक्षिणकाली हातामा ब्रम्हायणी, महेश्वरी, कुमारी, बाराही, इन्द्रायणी, चामुण्डा, गणेश र भैरबलगायत देवदेवीका मूर्ति छन्। शनिबार र मंगलबार दर्शनार्थीको भिड लाग्छ। यहाँ बडादशैंका बेला मेला लाग्छ।
पहिला दक्षिणकाली मन्दिर बज्रयोगिनी भन्दा माथि नर्गचो डाँडामा थियो। लिच्छिवी राजा प्रताप मल्लले आफ्ना तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा नदीको दोभानमा मन्दिर बनाएर श्यामवर्ण मूर्ति स्थापना गरेका हुन्। सपनामा दक्षिणकालीले वास्तविक रुपको मूर्तिसहित मन्दिर बनाउन आदेश दिएकाले राजाले नेपाल संवत ७७४ मा दोभानमा मन्दिर बनाएको भनाई छ।
दक्षिणकाली मन्दिरको दक्षिणमा ‘दक्षिणकालीको मातास्थान’ छ। त्यहाँ ठूलो ढुङ्गा छ। त्यसमा कालीको पुर्णकदको मूर्ति छ।
चौकोटदेवी
दक्षिणकाली नगरपालिका– ९ को अग्लो डाँडामा बसेकी छिन् चौकोटदेवी (२०६५ मिटर) । मन्दिरमा देवदेवीका शिला र घन्ट छन्। उहिलेउहिले यहाँ ४ वटा कोट भएकाले चौकोट भनियो र यहाँका देवीलाई चौकोटदेवी भनिएको स्थानीय बताउँछन्।
खुला आकाश मुनि बसेकी छन् देवी। राताम्ये ढुङ्गाका शिलाहरु, घण्ट अनि नजिकै टावर बनाईएको छ जहाँबाट मकवानपुर जिल्ला, हुमाने भञ्ज्याङलगायत गाउँबस्ती देखिन्छ भने हिमाली दृश्य मनमोहक देखिन्छ। अर्को कुरा, चौकोटदेवीको पश्चिम–दक्षिणमा ठूलो शिलामा बाघको आकृति छ।
सधैं शान्त र शितल रहन्छ डाँडा। यहाँ चराको चिरबिर पनि सुनिन्छ। हाइकिङका साथै बाइकिङका लागि समेत चौकोटदेवी उपयुक्त छ। चौकोट देवीमा हरेक नयाँ बर्षमा मेला लाग्छ। यहाँ नवार समुदाय, तामाङ समुदायकाले पानी नपरेमा पानी माग गर्न यस ठाउँमा आउने चलन छ।
जातीपोखरी
काठमाडौं र मकवानपुरको साँधमा पर्दछ जातीपोखरी (२,१०० मिटर)। दक्षिणकाली–नगरपालिका–८ मा अवस्थित पोखरीको किनारमा फराकिलो चौर छ। आकाश खुलेका बेला यहाँबाट अन्नपूर्ण, गणेश, लाङटाङ, दोर्जे लाक्पा, जुगल र गौरीशंकर देखि सगरमाथा हिमालसम्मको लामो लर्कन देखिन्छ।
पोखरी नजिकै वन छ जहाँ कालिज, मृग, मलसाँप्रो, खरायो, वनविरालो, चितुवालगायत जंगली जीव र चरा पाइन्छन्। यही वनमा बुद्ध भगवानको मूर्ति बनाउने योजना छ।
जातीपोखरी क्षेत्रमा तामाङ समुदायको बसोबास छ। मल्लकालनमा यहाँ नेवार समुदायको बस्ती थियो। तिनताका गाउँलेहरूले चामल पखालेको चौलानी त्यही पोखरीमा फ्याँक्थे रे ! त्यसरी फ्याँक्दा चामल पनि पोखिन्थ्यो। नेवार भाषाको शब्द ‘जाकि’को अर्थ चामल हो। जाकि पोखरी भन्दाभन्दै अपभ्रंस भएर जातीपोखरी भनिएको मानिन्छ।
डाँडामा खाना र बासका लागि होटल सुविधा छैन। सडक भने डाँडासम्मै जोडिएको छ। जातीपोखरी पर्यटकीय क्षेत्र घोषणा भइसकेको क्षेत्र हो । यहाँको तामाङ वस्तीमा सामुदायिक होमस्टेको सम्भावना देखिन्छ।
चिया चौतारी खाजा घर
जातीपोखरी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउन सुकमान तामाङ दम्पतीले जातीपोखरी मुन्तिर चिया चौतारी खाजा घर खोलेका छन्। यो जातीपोखरी क्षेत्रकै पहिलो होटल हो।
‘हाम्रो जातीपोखरी पर्यटकीय क्षेत्र हो। विदेशीनु भन्दा आफ्नै देशमा काम गर्ने उदेश्यले आफ्नै घरमा होटल व्यवसाय गरेका हौं’, सुकमानले भने। यही पुस १३ गते शितलचोकमा शुभारम्भ गरिएको खाजाघरमा नेपाली खाना दालभात, ढिँडो, तरकारीसहित अन्य परिकार पनि पाइन्छ।
जातीपोखरीबाट बेलुकी झलमल्ल फर्पिङ बस्ती लगायत उपत्यकाको दृष्य मनमोहक देखिन्छ भने सूर्योदय र सूर्यास्त पनि राम्रो देखिन्छ। जातीपोखरीमा सप्ताहन्त मनाउन चाहानेहरूका लागि यहाँ बास बस्ने सुविधा छ। एउटा कोठाको एक हजार रुपैयाँ तिनु पर्दछ।
प्रकृतिप्रेमी समूहका हाइकर्सलाई यही खाजा घरमा तीन बराबर आहार खुवाइएको थियो। खाजाघरको सेवाबाट सबैजना खुसी बनेका थिए।
सम्पर्कः सुकमान तामाङ
मोबाइल नंः ९८५११०३०२१
जातीपोखरीका कलाकार
चिया चौतारी खाजा घरका भित्तामा किसिमकिसिमका चित्र बनाइएको छ। कतै बुद्ध, कतै चैत्य, कतै हिमाली दृश्य। खाजाघरमा पुग्ने जोकोही यी चित्र देखेर मोहित बन्छन्।
सबै चित्र स्थानीय कलाकार सन्देश भोम्जनले बनाएका हुन्। खाजाघरमै काम गर्छन् यी कलाकार। उनले आफ्ना साथीबाट कलाकारिता सिकेका हुन्। उनले यो खाजाघर बाहेक अन्यत्र पनि यस्तै राम्राराम्रा चित्र बनाएका छन्। उनी चित्रकलालाई निरन्तरता दिएर राम्रो कलाकार बन्न चाहन्छन्। तन्नेरी कलाकारलाई शुभकामना !
कसरी पुग्ने?
काठमाडौंको केन्द्रबाट १८ कि.मि. दूरिमा पर्दछ दक्षिणकाली मन्दिर। फर्पिङ–हेटौंडा सडकमार्गसँग जोडिएको छ मन्दिर। काठमाडौंको पुरानो बसपार्कबाट दक्षिणकालीसम्म नियमित सार्बजनिक बस चल्छन्। हाइकिङ दक्षिणकाली मन्दिरबाट शालिन डाडा, थसी गाउँ, चौकोटदेवी, जातीपोखरी, शितलचाक हुँदै राम्चेभन्ज्याङ सम्म। दक्षिणकाली– जातीपोखरी ९ कि. मि., जातीपोखरी–राम्चेभन्ज्याङ ५ कि.मि.। जम्मा पदयात्रा दूरी १४ कि. मि.। समय ५ घण्टा।
(‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।)
थप तस्बिरहरू हेर्नुहोस्