ठूलो घर र गाडी छैन तर खुसी हुन जिन्दगी त छ नि!
संसारमा धेरै खोजी गर्ने मान्छेले केही कुरा गर्छ भने त्यो कुरा खुसी हो। को मान्छे होला र यो धर्तीमा, जसलाई खुसी चाहिएको छैन। तर विडम्बना मान्छेले सबैभन्दा धेरै खुसी खोज्छ तर पाउँछ सधैं दुःख, निराशा, हैरानी, बेचैनी र छट्पटी।
गौतम बुद्धले भनेका थिए- यदि तिमी दुःखबाट मुक्ति चाहन्छौं भने चाहनाहरूलाई सक्दो घटाऊ। धेरै नै महत्वाकांक्षी हुनु नै दुःखको कारण हो।
गौतम बुद्धले उपदेश बाँडेको समय र अहिलेको समय धेरै फेरिएको छ। उनले भनेजस्तै मनमा चाहनाहरू दबाएर बाँच्ने जिन्दगी फ्रस्टेड जिन्दगी हो। अनि कुनै मान्छे कुनै विचार बिना कसरी रहन सक्छ। आधुनिक विज्ञानले निकालेको एक निष्कर्षले एक दिनमा मान्छेको मष्तिष्कमा ६० हजारदेखि ७० हजारसम्म विचारहरू उत्पन्न हुने देखाएको छ।
देवकोटाले भने- आफूलाई मेटाएर अरूलाई दिनुमा सुख छ तर अरूलाई दिन पनि त आफू भरिन आवश्यक छ नि हैन र!
मान्छे आफैं रित्तो, भोको, अभाव, आफैंले केही पाउन नसकेको पीडाले रोइकराइ गरिरहेको छ भने कसरी अरूलाई दिएर खुसी हुन सक्छ?
अहिलेका समयमा खुसी विचारसँग होइन, कसैलाई दिनुसँग होइन मनका चाहनाहरूलाई दबाएर राख्नु वा चाहनालाई घटाउनुसँग होइन मनमा उत्पन्न सबै चाहना पूरा गर्नु र सबै कुरा पाउनुसँग सम्बन्ध राख्छ।
बुद्धका विचारले अहिलेको मान्छेलाई खुसी दिँदैन र दिन पनि सक्दैन।
फेरि सबै कुरा पाएपछि मान्छे खुसी हुन्छ? यदि त्यसो हो भने किन समाजले बनाएको सम्पन्नताको मानक भएका सबै मानिस खसी छैनन्? किन सबै कुरा पाएका रस भएका मान्छे पनि उदास छन्? निराश छन्? किन उनीहरूको ओठमा लोभ लाग्दो मुस्कान र अनुहारमा शान्ति देखिन्न?
जुन कुरा आफूसँग छैन त्यसैमा खुसी खोज्दै हिँड्ने मान्छेको स्वभाव रहेछ सायद। जब कुनै कुरा चाहिरहेको हुन्छ सोही कुरा पाएपछि मानिसहरू कति खुसी हुन्छन् हगि? तर त्यतिकै क्षणिक पनि। अनि मान्छेको मन पनि कति बेचैन हुन्छ हगि!
पहिले जागिर भएन भनेर जीवन दुखी थियो। किनकि आवश्यकता पूरा गर्नै गाह्रो हुन्थ्यो।
अहिले जागिर भेटियो, रोजीरोटीको गर्जाे टर्याे, अतिरिक्त रहर पलाउन थाले।
जागिरले स्वतन्त्रता खोस्यो, आत्म सम्मान र स्वाभिमान लुट्न थाल्यो अनि फेरि मन दुःखी।
म पनि यहीँ खुसी र बेचैनीबाट गुज्रिँदै आएको छु। जीवनलाई परीक्षणको कसीमा राख्दै।
तर बाहिरबाट देख्ने सबैले मलाई 'क्या बिन्दास मान्छे' भन्छन्। 'जहिले पनि हाँसिरहने मान्छे' भन्छन्।
मलाई नजिकबाट चिन्नेले भन्दा हुन्, 'बिहे गरेको छैन, एक्लो जिन्दगी छ। घर बनाएको छैन, घडेरी किनेको छैन। हल्लेरै जिन्दगी कटाउने भो। जिन्दगी पछि के होला केही चिन्ता छैन।'
मान्छेले यही भूल गरिरहेछन्। म भन्छु। भविष्यको चिन्ताले वर्तमान बाँच्न भुलिरहेका छन्। भोलि के हुन्छ निश्चित छैन, त्यसैले वर्तमानमा बाँच्न सिक्नुपर्छ।
समाजमा मान्छेको सफलताको मापदण्ड पैसाको आधारमा निर्धारण गरिदिए। जसले जति छिटो पैसा कमाएर बाटो छेउमा ठूलो घर बनायो, गाडी किन्यो त्यही मान्छे सफल। जसले त्यति गर्न सकेन त्यो मान्छे कामै लागेन।
एउटा अधिकृतले खाने तलब भन्दा राम्रो तलब प्राइभेटमा मैले पनि खाएको छु।
खाएको बसी काटेर मासिक ५०-५५ हजार तलब बैंकमा जम्मा हुन्थ्यो। तर त्यो मेरो व्यक्तिगत आवश्यकता र इच्छापूर्तिको तलब बाहेक केही भएन।
यद्यपी म जाँडरक्सी र माछा मासु खादिनँ। रात्री क्लब र लाइभ म्युजिक लेखनका पात्र र विषयवस्तु खोज्न त्यो पनि धेरै पैसा तिर्नुपरेन भने मात्र जाने गर्छु। अनावश्यक मोज मस्ती गर्न पैसा खर्च गर्दिनँ। केही पैसा किताबमा समेत खर्च गर्छु। बिदामा घुम्न निस्कन्छु। नयाँ डिजाइन डिजाइनका लुगा लगाउन सौखिन थिएँ, त्यो पनि यो वर्ष घटाएको छु। किनकी स्कुलमा आफ्नै ड्रेसकोड छ। बाहिर निस्किँदा दिनमा ४-५ सय रुपैयाँ र कोठामा एक सय रुपैयाँ कफीमा जान्छ।
के मेरो आर्थिक प्रगति यिनै कुराले नभएको हो?
हो भन्नुहुन्छ भने म भन्छु ९९ प्रतिशत नेपालीले बाँचिरहेको जिन्दगी थर्ड ह्यान्ड जिन्दगी हो।
म सोच्छु मेरोभन्दा कम आम्दानी भएकाले नेपालमा दुई-तीन जनाको परिवार कसरी पाल्छ? छोराछोरीलाई निजी स्कुलमा कसरी पढाउँछ होला? उसका बाँकी अतिरिक्त इच्छा र सपना कसरी पूरा गर्छ होला?
मानौं सरकारी जागिरेका अन्य आम्दानीका वैकल्पिक बाटोहरू हुन्छन्, निजी क्षेत्रमा काम गर्नेले इच्छा चाहना सबै मारेर बाँचेको छ।
प्रश्न आउन सक्छ- तपाईं कसरी बिन्दास हुनुहुन्छ सधैं खुसी सधैं हँसिलो?
मेरो उत्तर हुन्छ, ‘मेरो व्यक्तिगत जिन्दगीलाई मेरो आम्दानीले पुग्छ। मैले पढाउने विषय मेरो रूचीको विषय हो। पाठ्यक्रम मैले नै बनाए जस्तै छ। काममा दिग्दारी छैन। ठूलो घर गाडीको सपना यो कमाइबाट पूरा हुँदैन भन्ने थाहा छ। त्यसैले पनि जीवनमा ती कुरालाई प्राथमिकता दिएको छैन अहिलेसम्म।’
जीवनमा धेरै आशा र अपेक्षा नभए जीवन त्यति दुःखी पनि छैन नि!
जसरी पनि एउटा घर र गाडी जीवनमा हुनैपर्छ भनेर त्यसलाई महत्व दिएर काम गरेको भए ती कुरा खासै ठूलो कुरा पनि थिएन। तर पैसाकै लागि झुकेर, चाप्लुसी गरेर र आत्म-स्वाभिमानलाई धरौटीमा राखेर काम गर्न मनले कहिले पनि मानेन। तर नेपालमा यही चल्छ धेरै। के गर्नु!
केही समय पुस्तकमा समेत काम गर्ने मौका पाएँ। काम गरेका किताब बजारमा मज्जाले बिक्री भए पनि। तर व्यापारीले धेरै कमिसन खाएर दिनुपर्ने पैसा समेत दिएनन्।
प्रकाशनका साथी सोझै लाग्छ, अनुहार देख्दा ठिक लाग्छ, झूट बोलेका छैनन् जस्तो लाग्छ। पैसा दिनुपर्ने पाटीले २० बिघा क्षेत्रफलमा घर बनाउँदै छ रे! तर हामीलाई दिने पैसा छैन भन्छ!
बजारले इमानदार भएर पैसा दिए भने कम्तीमा ७-८ लाख रुपैयाँ रोयल्टी मात्रै आउँथ्यो। घरको जग किनिन्थ्यो वा गाडीको केही किस्ता तिर्न पुग्थ्यो होला। म पनि समाजमा केही गर्याे है भन्ने मान्छेको लाइनमा गनिन्थेँ कि।
जीवन कर्मको लागि हो। कर्म गर फलको आशा नगर भन्ने गीता दर्शनलाई मैले पनि मानेर आत्मसाथ गर्ने गरेको छु।
अरू जुन बाटो हिँडे त्यहीँ बाटो हिँड्नु पर्छ र? अरूले जस्तो जिन्दगी बाँचिरहेका छन् त्यस्तै जिन्दगी बाँच्नुपर्छ र? अरूले जे-जस्ता उपलब्धिहरू हासिल गरे त्यही उपलब्धि हासिल गर्नुपर्छ र? अरूले जुन कुरालाई सफलताको मापदण्ड बनाए त्यही मापदण्ड नै सर्व स्वीकार्य हुन्छ र? अरूको मापदण्डलाई सफलाको मापन बनाएर कसरी आफ्नो जिन्दगी कहाँ बाँचिन्छ र?
एकदिन मर्नु त छँदै छ। नमरून्जेल जिन्दगी बाँचेको जस्तो होस् न। समस्या आइपरेको दिन त जसरी पनि झेल्नु नै छ। कम्तीमा ठिकठाक चलिरहेको जिन्दगी त मजाले हाँसेर बाँच्न सकियोस्।
धर्तीमा मानव चोला पाएर जन्म लिएपछि केही न केही गर्नुपर्छ। आफ्नो र यो संसारको लागि। आफू बाँचेर अरू कुनै एक जनाको लागि मात्रै भए पनि केही गर्न सकिए जिन्दगीले सार्थकता पाउँछ भन्ने लाग्छ मलाई।
कहिले पनि उदासी बोकेर नहिँड्ने मान्छे। म फेरि कसैले सधैं कसरी यति बिन्दास भएर सोधे भनिदिन्छु, 'ठूलो घर छैन, गाडी छैन तर जिन्दगी त छ नि मुस्कुराउनलाई।'