काठमाडौंमा सँगै मःम खान जाने एकजना साथीले सुनाउथ्यो, ‘मेरो रगतको परीक्षण गर्ने हो भने हेमोग्लोबिनभन्दा बढी शानदार मःम पसलको चटनी पाइन्छ होला।’
यति भनेर ऊ बेजोडले हाँस्थ्यो, म नि हाँस्थेँ। त्यस अर्थमा भनौं भने मःम हाम्रो खुसी साट्ने माध्यम पनि हो।
कसैले कुनै उत्सवमा आयोजना गरेको सानो भेटघाट होस् या ठूलो भोजभतेर मःमले आफ्नो स्थान पाएकै हुन्छ।
मःम प्रतिको हाम्रो यही लगावले त होला नि एउटा भनाइ प्रचलनमा आएको, नेपालीले एक घण्टा मेनु हेरेसकेपछि पनि सर्वप्रथम मगाउने भनेको मःम नै हो।
यो सबै लेखिरहँदा म सम्झिने कोसिस गर्दैछु कि मैले पहिलो चोटि मःम कहिले, कहाँ, कुन प्रकारको खाएको थिएँ। सायद त्यो २०६३/६४ साल तिर हुनुपर्छ। विराटनगरको ट्राफिक चौकमा मुख्य सडकबाट भित्र गएर एउटा सटरवाला मःम पसल हुने गर्थ्यो।
त्यहाँ पच्चीस रुपैयाँमा खसीको मःम, त्यो नि दश ठूला डल्ला पाइन्थ्यो। झिसमिसे साँझमा त्यो मःम खाएको राति भात पकाउन झन्झटबाट मुक्ति पाइन्थ्यो। डेरा गरेर एक्लै बस्दा खाना नपकाउनुको जुन मज्जा हुन्थ्यो त्योभन्दा ठूलो चुनौती मःम खानलाई पच्चीस रुपैयाँ छुट्याउनु हुन्थ्यो।
त्यसैले मःम खाने साइत औँसी-पूर्णिमा पनि हैन, औँसी-औँसी या पूर्णिमा-पूर्णिमा मात्रै जुर्थ्यो। तर भनिन्छ नि शेरको मुखमा रगत लागेपछि उसले शिकार गर्न कसरी छोडोस्? म नि त्यसपछि मःम खाने वातावरण बनाइरहन्थेँ, सफल भएको दिन मन फुरुंग हुन्थ्यो।
दिन बित्दै गयो। म नि विराटनगर छाडेर काठमाडौं सरेँ। विराटनगरमा खाने गरेको खसीको मःम त यहाँ आकाशको फल आँखा तरी मर भन्ने हुँदोरहेछ। साथीहरूले त्यो पीडा खप्न नसकेर आफूलाई खसीबाट बढुवा गरेर ठूलो खसीमा पुर्याइसकेका थिए। मैले भने खाइनँ तर त्यसपछि लागियो चिकेनतिर।
त्यस उपरान्त आजसम्म मेरो लागि मःमको अगाडि कुनै विशेषण नलागेसम्म त्यो चिकेन मःम हो। चिकेनको दाम घटेको समय हाम्रो लागि दसैँजस्तो हुन्थ्यो। हामीलाई बिहान बेलुका चिकेन खाने छुट हुन्थ्यो। मासुको घटेको दामले गर्दा कतै-कतै चिकेन मःम नि सस्तोमा पाइन्थ्यो।
हामीजस्तै पैसा कम भएकालाई सहरका कुना-कुनामा छरिएकोले मःम कता सस्तो भएको छ पत्तो पाउन त्यति गाह्रो हुन्न थियो। बर्डफ्लूको माहोलबीच कुखुरा सम्बधी व्यापार गर्नेहरू हाम्रो चिकेन राम्ररी पकाएर खान सुरक्षित छ भनेर चोक-चोकमा फ्री चिकेन फेस्ट आयोजना गर्थे। त्यहाँ चिकेनका अनेकन परिकारहरू छानी छानी सकेजति खान पाइन्थ्यो।
त्यस्ता फ्री फेस्टमा पनि मैले अधिक मात्रामा मःम नै खान्थेँ। अरु परिकारको पालो मःमसँग अघाएपछि मात्र आउथ्यो। एक अर्थमा भन्दा मःमसँग मेरो एक प्रकारले माया नै बसिसकेको थियो।
जसरी मायामा परेको प्रेमीले प्रेमिकाको परिचय आफ्नो परिवारमाझ गराउन चाहन्छ। त्यसरी नै म मेरो परिवार माझ मःमलाई पुर्याउन चाहन्थेँ। मेरो घर पूर्वी तराईको एउटा सीमान्तकृत मधेशी गाउँमा भएकोले होला, हाम्रो घरतिर त्यति बेला मःम आजभोलि जसरी पाउन थालिएको थिएन। त्यति बेलासम्म मेरा बाआमाले मःम चाखिसकेका थिएनन्।
यो कुराले मलाई एक किसिमको पीडा नै दिइरहेको थियो। नजिकको बजारबाट किनेर लगौं, समोसा मात्र पाइने त्यो बजारमा मःम पाउने अवस्था थिएन। धेरै टाढाबाट किनेर लाग्दा मःम घर पुग्दा आफ्नो पहिचान नै गुमाइसक्ने डर थियो। त्यसैले मैले मःम पकाउने भाडा किनेर लाने र घरमा मःम पकाएर सबै सँगै खाने निधो गरेँ।
मःम पकाउने भाँडो किन्ने सोच त बनाइयो तर त्यो किन्न चाहिने पैसा बनाउने कसरी? मःम त हप्ताको दुई चोटि खाइदिँदा घरबेटीलाई दिने घरभाडा पुग्दैन थियो, भाडा किन्ने त त्यतिबेला परको विषय थियो।
त्यसैले केही समयलाई मःम पकाउने भाँडो किन्ने योजनालाई थाती राख्नुपर्ने भयो। तर विस्तारै गोजीमा ५-१० रुपैयाँ अधिक आउन थाल्यो। एउटा होम ट्युसन पढाउन थालेकोले घरबाट आउने पैसा र ट्युसनबाट आउने पैसा जोड्दा मलाई मज्जाले पुगिरहेको थियो।
मःम पकाउने भाँडो किन्ने ख्याल मेरो दिमागबाट डेरा सरिसकेको थिएन। पुस महिनाको जाडो चल्दै थियो। मःम खानेलाई जाडोमा मःम खानुको मज्जा बारे धेरै भनिराख्नु पर्छ जस्तो लाग्दैन। मैले मकर संक्रान्तिको अवसरमा ५-७ दिनलाई घर जाने, मःम पकाउने भाडा नि लाने र सबैलाई मःम खुवाउने मेरो अधुरो इच्छा पूरा गर्ने निर्णय गरेँ।
बालेनको सरकार आइसकेको थिएन। त्यसैले यसो बाटो हिँड्दा पसलेहरूले फुटपाथमै विभिन्न आकार-प्रकारका मःम पकाउने भाडाहरू फिजाएर राखेको नदेखेको होइन। तर कहिले दाम सोध्ने दुस्साहस गरेको थिइनँ।
कालिमाटीको आफ्नो डेरा छेउको एउटा भाडाकुडा पसलमा छिरेँ र मःम पकाउने भाडाहरू हेर्न थालेँ। एउटा ठिक्कको आकारको खैरो रंगको भाँडो मलाई मन पर्यो।
मोलमोलाई नगरी त्यो दिनसम्म केही किनेको रेकर्ड थिएन। त्यो रेकर्डलाई बरकरार राख्दै अन्तिममा १७०० तिरेर मःम बनाउने भाँडो आफ्नो कोठा लिएर आइयो। त्यो राति दुई चोटि आँखा खुल्दा दुवै चोटि मैले भाँडो त छ नि भनेर भाँडो राखेको तिर हेरेको आज नि सम्झिन्छु।
दुई-चार दिनपछि घर जाने दिन नि आइपुग्यो। मःमको भाँडो मेरो झोलामा अटाउने कुरै भएन। त्यस्तो टल्किरहेको भाँडोलाई प्लास्टिकको बोरामा हाल्ने दुष्कर्म मबाट भएन। म चाहन्थेँ बाटोभरि त्यो मःम पकाउने भाँडो नै हो भनेर सबैले थाहा पाओस्। तर त्यो भाँडोको सुन्दरतामा पनि ह्रास नआओस्।
मैले भाँडोको चारतिरै पत्रिका बेरेँ, ५ रुपैयाँको प्लास्टिकको डोरी किनेर ल्याएँ र त्यसलाई सबै तिरबाट बाधेँ। बिहान ६ बजे बस भएकोले ५:३० मै म कोटेश्वर बसपार्क पुगिसकेको थिएँ। बस कहिले समयमा खुलेको थियो र त्यो दिन खुल्थ्यो। ७ बजेपछि मात्र बस गुड्यो।
भविष्यमा विवाह गरेर श्रीमतीलाई घर लाँदा कति खुसी भइन्छ थाहा छैन तर आजसम्मको दिनमा हेर्दा मःम पकाउने भाँडो लिएर घर गएको यात्रा मेरो सबैभन्दा खुसीको यात्रा थियो।
दिनभरिको यात्रापछि आफ्नो जिल्लाको सदरमुकाम पुगेँ। अब त्यहाँबाट तीन पांग्रे सिटी सफारी चढेर गाउँ जानुपर्ने थियो। आफ्नो समान राखेर बस्न खोजेको मात्र के थिएँ एकजना छिमेकी मेरो अगाडि टुप्लुक्क देखापरे। सन्चो-बिसन्चो सोध्ने बित्तिकै अर्को प्रश्न आयो- यो के भाँडो देख्दै छु नि तपाईंले ल्याएको?
मैले दिने उत्तरले के प्रभाव पार्न सक्छ केही नसोचेर मैले सिधैँ भनिदिएँ, ‘यो त मःम पकाउने भाँडो हो नि।’
‘ओहो! त्यसो भए अब मःम पसल थाप्ने भइयो कि घरमै मःम पार्टी चलाउने भइयो?’ उनले फ्याट्ट भनिहाले, अब के भन्ने? मलाई पर्यो फसाद।
त्यो भाँडो मःम पसल थाप्न थिएन, त्यो सोध्नेलाई पनि थाहा थियो। तर त्यो साँच्चै मःम पार्टीको लागि हो भनी बुझ्न दिनु थिएन। त्यसो गरेको भए त्यो व्यक्ति मभन्दा पहिले मःम खान मेरो घर पुगिसक्छ भन्ने कुरामा मलाई कुनै शंका थिएन। त्यसैले मैले केही कहानी बनाउनु पर्ने भयो।
मैले नि कहानी भनिदिएँ। त्यो हाम्रो पल्लो गाउँको खाजा पसले दाइले अब समोसासँगै मःम नि बेच्ने अरे। उहाँले लिएर आउनु भन्नु भएको हो। आज लगेर घरमा राख्छु र भोलिपर्सी तिर पुर्याउँछु उहाँकोमा। यहीबीच कुरा गर्दागर्दै घर पनि पुगियो।
घरमा मैले आमालाई एउटा नयाँ भाँडो ल्याउँदै छु भनेर भनेको त थिएँ तर कस्तो, के भाँडो त्यो बारेमा केही भनेको थिइनँ। त्यसैले घर पुग्दा सबैको चासो त्यो भाँडोमा थियो के हो? कस्तो हो? के गर्छ? कति पर्यो? आदि इत्यादी।
आमा र दिदीको प्रश्नहरू त छँदै थियो। त्यत्तिकैमा छिमेकी काकी आइपुग्नु भयो। एकछिनमा उहाँलाई खोज्दै उहाँको सासू आइपुग्नु भयो। २-४ जना अरु पनि हाम्रो आँगनमा भेला भइसकेका थिए।
म उत्तर दिँदादिँदै अस्थिर भइसकेको थिएँ। केही वर्ष अगाडि एउटा साथीसँग भएको घटना याद आउन थाल्यो मलाई।
भएको के थियो भने एउटा अनुसन्धानको क्रममा मेरोजस्तै एउटा गाउँमा घर भएको साथीकोमा केही दिन बस्ने गरी एउटा विदेशी महिला अनुसन्धान गर्न आइपुगिन्। उनी मेरो साथीसँग साथीको घर पुग्न के पाएकी थिइन् टोलभरिको मान्छे उसको आँगनमा भेला भइसके।
फलानोको छोरोले खैरेनी भित्राए भनेर टोलभरि चर्चा भयो। पछि सबैलाई सम्झाइ-बुझाइ गरेर सही कुरा साथीले सम्झाउन सके। त्यही कुरा पछि अनुसन्धानकर्तालाई बताउँदा उनी मरी-मरी हाँसेकी थिइन्। उता साथीलाई खैरेनी नानीले निम्त्याएको तनाव मलाई खैरो भाँडोले निम्त्याएको थियो। अब यसलाई त भाग्य आ-आफ्नो नै भन्ने होला नि।
म तन्द्राबाट ब्युँझेर यसो आँगनमा हेरेँ। तामझाम चल्दै थियो। मःम पकाउने भाँडो डोरी र पत्रिकाबाट मुक्त भइसकेको थियो। तीन तले रहेको त्यो भाँडो तिन ठाउँमा थियो। कसैले छामेर हेर्दै थिए। कसैले उचालेर। कसले कति मेसो पाए त्यो चाहिँ थाहा पाउन गाह्रो थियो।
सानोमा दृष्टिविहीनहरूले हात्तिको हातगोडा समातेर गरेको अड्कल बारेको कथा मलाई याद आयो र म एक्लै हाँस्न थालेँ। सबैले मलाई हेरेँ। मैले अब यसमा मःम पाकेपछि सबैलाई थाहा हुन्छ भनेर भाँडो एक ठाउँमा भेला पारेर म आफ्नो कोठा तिर लागेँ। राति खाना खाएर सबै सुत्न गएँ।
अर्को दिन सबेरैदेखि अब मःम कसरी पकाउने कुरामा मेरो दिमाग खेल्न थाल्यो। साँझ घरका सबैसँगै बसेर आगो ताप्ने बेला मैले अब भोलि त्यो भाँडोमा मःम पकाएर खानु पर्यो भन्दै कुरा सुरु गरेँ। त्यसको लागि चाहिने प्रमुख चिज भनेको मासु हो भन्न के भ्याएको थिएँ, बन्दागोभी हालेर पनि त मःम बन्छ भनेर बा बोलिहाले।
अब बन्दाको मःम खाना र खुवाउन मैले यति टाढाबाट भाडा ल्याएको होइन भनेर कसरी भन्नु, त्यसैले मैले अर्को तरिका अपनाएँ। मैले भने, ‘मःम शब्दमा दुई वटा म हुन्छ, ती प्रत्येक ‘म’ले दुई वटा मासुको प्रतिनिधित्व गर्छ कुखुरा, खसी, राँगो र बंगुर। त्यसैले मःम पाक्छ त मासुको नत्र मःम नै पाक्दैन।
अब त्यो चार वटा मासुमध्ये हाम्रो परिवारमा खसीभन्दा अरु विकल्प त छँदै थिएन। अब बाले मासु ल्याइदिने र बाँकी समान मैले जोहो गर्ने र भोलि साँझ मःम पाक्ने निर्णय भयो।
सुत्नलाई खाटमा पल्टिरहँदा एउटा उमङ्ग थियो। मनमा मैले एक वर्षभन्दा बढीदेखि परिवारको सबैसँगै बसेर मःम खाने मेरो कल्पना भोलि पूरा हुँदैथियो।
बिहान उठेदेखि मनमा एउटा छुट्टै तरंग थियो। बाले १० बजेसम्ममा मासु ल्याइसकेका थिए। तर बाँकी चुनौतीहरू त्यतिकै थिए। घरमा मःम पाकिरहने एउटा साथीलाई फोन गरेर अरु के-के चाहिन्छ त्यो नि टिपेँ। तर टिप्दादिप्दै मैले थाहा पाइसकेको थिएँ कि चलनचल्तीको भन्दा ५ गुणा बढी तिरे नि यी मध्येको केही समानहरू यहाँ पाउन सकिँदैन।
बजार गएँ। २-४ वटा पसल चहारेँ। आधा जति समान पाइयो। टिमुर र अजिना मोटो के हुन्छ कस्तो हुन्छ त्यो त पसलेलाई समेत बुझाउन सकिनँ। म पाए जति समान लिएर घर फर्किएँ।
घरमा मिलाउनु पर्ने अरु धेरै कुरा थिए। अब हड्डीसहितको मासुबाट मःमलाई चाहिने किमा बनाउनु थियो। जसोतसो त्यो नि बनाइयो। ममीले मैदा मुछेर डल्लो बनाउन चाहिने पिठो ठिक्क पार्नुभयो। हाम्रो घरमा दाउराको चुल्होमा खाना पाक्थ्यो। आज मःम पनि चुल्हो मा पकाउनु पर्ने थियो।
हाम्रो अर्को चुनौती भनेको टल्किरहेको भाँडोलाई दाउराको आगोमा हुने कालोबाट जोगाउनु थियो। त्यसको लागि तीनमध्ये तल्लो भाडामा माटोको लेप लगाइयो। किमा हाल्ने सानो रोटी बेलेर पनि राखियो। एउटा सजिलो भनेको मःम बेर्नालाई चाहि भयो। किनभने हाम्रो तिर एउटा परिकार पाक्छ जसको रुपरंग मःम जस्तै हुन्छ। त्यो परिकारलाई हाम्रो स्थानीय भाषामा पुडुकिया भनिन्छ।
पुडुकिया हाम्रो धेरैजसो सांस्कृतिक चाडपर्वहरूमा नभई नहुने परिकार हो। त्यसैले मःम को डल्लो बनाउन र त्यसलाई बेर्ने काममा भने मैले राम्रो सहयोग पाएँ। डल्लो तयार भयो, तल्लो भाँडोमा पानी नि हाल्यो उमाल्नलाई। त्यसपछि माथिल्लो दुई वटा भाँडोमा मःम हालेर एकमाथि अर्को गरेर बसाइयो।
भाँडो बसाएपछि पो याद आयो माथिल्लो भाडाहरूमा त माटोको लेप लगाएकै थिएन। त्यस्तो नयाँ भाडा अब कालो हुने भो भनेर एक फेर बाको गाली खाइयो। तर मःम नखाई आज अघाउनेवाला चाहिँ थिइनँ।
त्यो भाडाहरूमा हालेको मःम कति बेर पकाउने भनेर आफूलाई केही थाहा छैन। छिनछिनमा यसो छोएर पाकेको छ कि छैन भनेर मेसो पाउने जिम्मा आमालाई दिइयो।
पहिलो लटको मःम पाक्यो, भाँडोबाट मःम झिक्दा पो मःम टाँसिएर आपत। मःम राख्नुभन्दा पहिले भाँडोमा तेल दल्नु पर्ने रहेछ भनेर बल्ल साथीले भनेको सम्झिएँ। अर्को लट मजाले तेल दलेर मात्रै मःम हालियो। पहिलो लटको तुलनामा योपालि पकाउन अलि सजिलो भयो।
सहयोग गर्ने सबैलाई १०-१० डल्लो पुर्याएपछि बल्ल हाम्रो खाने बेला आयो। नमिठो नै भन्न नमिले नी मैले सोचेजस्तो चाँहि भएको थिएन। बा-आमाको मुहार हेर्दा मलाई दुःख नलागोस् भनेर राम्रो मानी-मानी खाएको जस्तो गरेको प्रस्ट देख्न सकिन्थ्यो।
मैले एक-दुई डल्ला थपे नि बा-आमाले थपेनन्। मैले पत्तो पाइसकेको थिएँ कि यो घरमा अब फेरि वर्षौं वर्षसम्म मःम पाक्ने वाला छैन। नभन्दै एकछिनपछि आमाले भनि त हाल्नुभयो, ‘तैँले रहर गरेर मःम त खाइयो तर अब तैँले विवाह गरेर बुढी भित्राएपछि मात्रै घरमा मःमको रहर गर्नू। यो खानलाई त्यति मेहनत अब फेरि चाहिँ गर्न सक्दिनँ म।’
हुन त उहाँले मुस्कुराउँदै भन्नुभएको थियो तर त्यो मुस्कान पनि मलाई कम पीडा होस् त्यसको लागि मात्रै थियो।
अर्को दिन बिहानै आमाले भाडा सबै माझिसक्नु भाथ्यो। तल्लो भाडा टल्के पनि माथिल्लो दुई भाडाको कालो अझै प्रस्ट देख्न सकिन्थ्यो। केही बेर घाममा सुकेपछि बाले त्यो भाडाहरूलाई एकमाथि अर्को राखेर एउटा कपडाले बाँध्नुभयो। माथिल्लो भाडा अलिअलि छोपिएको थिएन। भान्सा कोठाको एउटा खम्बामा किल्ला ठोकेर बाले त्यो भाडा झुन्ड्याउनु भयो।
त्यो भाडा झुन्डिएको कयौं वर्ष बितिसकेछ। त्यसपछि घरमा कहिले मःम पाक्ने त के, मःमको चर्चा नै चलेको छैन।
घर जाँदा आमाले जिस्काउनु हुन्छ, ‘तैँले विवाह गरे त बुहारीले रहर गरेर मःम पकाउथी र यो भाँडोको नि वनबास सकिन्थ्यो।’ अनि विस्तारै फेरि थप्नुहुन्छ, ‘मलाई पनि सहयोग हुन्थ्यो।’
यसो टाउको फर्काएर झुन्डिरहेको मःम भाँडोलाई हेर्छु, त्यो पनि निरस भएको भान हुन्छ। भाँडोको नछोपिएको भागले मलाई गिज्याइरहेको आभास हुन्छ। मलाई कहाँ ल्याएर फसाइस् भनिरहेको महसुस हुन्छ।
अब विवाह गरे त हुन्थ्यो तर मःम पकाउने मान्छे चाहिएर विवाह गर्ने भनेर कसरी प्रस्ताव लाने? त्यो नभई अरु केही भनेर प्रस्ताव लगे फेरि झुटो प्रस्ताव कसरी लाने? केही वर्ष ती भाडा अझै झुन्डिएर बस्छ। त्यसमा मःम फेरि पक्कै पाक्छ तर केही वर्ष अझै त्यही कुरेर बस्छ।