चितुवा स्थानधारी प्रजातिमा पाइने एक मांसाहारी जनावर हो। नेपालमा पाइने चितुवाको वैज्ञानिक नाम प्यान्थरा पार्दस हो। सामान्यतया चितुवाको तौल ४० देखि ९० किलोग्रामसम्म हुन्छ भने यसको लम्बाइ पुच्छरसहित झन्डै ३ मिटरको हुन्छ।
नेपालमा चितुवाको बासस्थान तराईदेखि हिमालसम्म छ। नेपालमा जंगल, पहाड, घाँसे मैदान, तराईको चार कोसे, चुरे पर्वत, वन-झाडी आदि चितुवाको मुख्य बासस्थान हो।
यसरी नेपालको तराईदेखि पहाड वा लगभग हिमाली भेगसम्म फैलिएर रहेको चितुवाको एकिन संख्या भने थाहा छैन। तर पछिल्लो समयमा मानव र चितुवाबीच द्वन्द्व भने बढिरहेको छ।
सन २०२२ को अन्त्य तिर केदार बराल (डिभिजनल वन अधिकृत, डिभिजन वन कार्यालय, कास्की) लगायतको टोलीले गरेको एक अध्ययनअनुसार नेपालमा चितुवाको मृत्युदर अन्य जनावरहरू जस्तै बाघ, हात्ती, गैंडाको तुलनामा बढिरहेको पाइयो।
त्यस्तै अर्को तिर जंगली जनावरहरू बाघ, हात्ती, गैंडाको तुलनामा चितुवाले सबैभन्दा बढी मानवीय क्षती गरेको भेटिएको थियो।
नेपालमा मानव र वन्यजन्तुबीचको द्वन्द्वमा सबैभन्दा धेरै समावेश हुने जन्तुहरू जस्तै बाघ, चितुवा, हात्ती र गैंडासहित समावेश गरी गरिएको उक्त अध्ययनले नेपालका तराई क्षेत्रहरू जस्तै झापा, पर्सा, चितवन, नवलपरासी र बर्दिया, मानव-वन्यजन्तु द्वन्द्वमा सबैभन्दा जोखिमपूर्ण देखिएको थियो। यद्यपि ती जिल्लाहरू खासगरी बाघ, हात्ती र गैंडाले गर्दा मानव-वन्यजन्तु द्वन्द्व हो।
तर उक्त अध्ययनअनुसार नेपालका पहाडी क्षेत्रहरू जस्तै बैतडी, काभ्रे, कास्की, तनहुँ जिल्लाहरूमा मानव-चितुवाको द्वन्द्व भएको जिल्ला देखाएको छ। केही अध्य्यनहरूका अनुसार नेपालको काठमाडौं, भक्तपुर, अर्घाखाँचीलगायतका जिल्लाहरू पनि मानव-चितुवाको द्वन्द्व क्षेत्रका रुपमा पारीचित छन्।
नेपालमा मानव र चितुवाबीच द्वन्द्व एक प्रमुख समस्याको रुपमा आउन थालेको छ। प्रत्येक वर्ष झन्डै ४२ बढी चितुवाहरू मारिन्छन्। अर्कोतिर प्रत्येक वर्ष झन्डै १८ जनाभन्दा बढी मानिसको मृत्यु चितुवाको आक्रमणबाट भइरहेको छ जसमा स-साना केटाकेटी अत्यधिक मात्रमा छन्।
अन्य धेरै घटनामा मानिस घाइते हुने र पशुधनको क्षती छ। नेपालमा चितुवासँग सम्बन्धित घटनाहरू खासगरी मुख्य दुई कारणले गर्दा हुन्छन् जसमध्ये एउटा चितुवाको आफ्नो बासस्थान सुरक्षित नहुनु र अर्को चितुवाको आहार प्रजातिमा ह्रास आउनु हो। यसबाहेक कहिलेकाहीँ चितुवाको प्रकृतिक आनीबानीमा परिवर्तन वा अन्य कारणहरूले गर्दा पनि हिंस्रक बन्न जान्छन्/हुनसक्छ।
प्राकृतिक र अप्रकृतिक (मानवीय कृयाकलाप) कारणले गर्दा चितुवाको बासस्थानमा ह्रास आउँछ जसले गर्दा चितुवाहरू सुरक्षित हुँदैनन। चितुवाहरू रहेको क्षेत्रमा मानवीय असर पर्न जाँदा चितुवाहरू एक ठाउँबाट अर्को ठाउँ सर्ने गर्छन्। कतिपय बेला मानव वस्ती छेउमा देखा पर्छ र यस किसिमको गतिविधिबाट मानव-चितुवा द्वन्द्वको सम्भावना बढ्न जान्छ।
त्यस्तै प्रकृतिक कारणहरू जस्तै वनजंगलमा लाग्ने डढेलो, बाढी-पहिरो आदि हो। प्राकृतिक रुपमै चितुवाको संख्या बढ्नुले पनि चितुवालाई चाहिने बासस्थान छेत्रफल अपर्याप्त मात्रामा हुँदा मानव-चितुवा द्वन्द्व बढ्नसक्छ।
उदाहरणका लागि एउटा चितुवालाई चहिने बासस्थान छेत्रफल कम्तीमा पनि २०-२५ वर्ग किलोमिटर हो। २०-२५ वर्ग छेत्रफलमा एउटाभन्दा बढी चितुवा हुँदा तिनीहरू एकआपसमा जुध्ने गर्छन्। एकआपसमा जुद्धा तिनीहरूमध्ये एक घाइते भएर लखेटिन्छ वा मारिन्छ।
यसरी घाइते भएर लखेटिएका चितुवा मानव छेउछाउका क्षेत्रहरू, खोला बगर, वन क्षेत्र, झाडीमा बस्ने हुन्छ। ती घाइते चितुवाहरूका लागि मानिस, गाईवस्तु, खसी-बाख्रा आदि सजिलो आहार हुन आउँछ। एक पटक मानिस वा पशु खाएको चितुवा हिंस्रक भैदिन सक्छन्। जसले गर्दा मानव-चितुवा द्वन्द्वको रुप लिन्छ।
मानव-चितुवाबीच द्वन्द्वको पछाडि अर्को कारण वनजंगलमा चितुवाको प्रमुख आहार प्रजातिहरू जस्तै बदेल, खरायो, दुम्सी, रतुवा आदिको कमी हो। वनजंगलमा चितुवाको प्रमुख आहार प्रजातिहरू कमी हुनुको मुख्य करण अवैद्य चोरी शिकारीले गर्दा हुनसक्छ।
वनजंगलमा घाँसे मैदानको कमी, फलफूलका बोटबिरुवाहरूको कमी, पानीका मुहानहरूमा मानवीय अतिक्रमण आदिका कारण पनि चितुवाको आहार प्रजातिमा कमी आउनसक्छ। यसरी थोरै मात्रामा रहेको प्रजातिले चितुवालाई पर्याप्त मात्रामा आहार पुग्दैन र गाउँवस्तीमा जान्छ।
अर्को, वनजंगलमा थोरै मात्रामा आहार प्रजाति हुँदा चितुवालाई आफ्नो आहार खोज्न धेरै मेहनत गर्नुपर्छ। उदाहरणका लागि- एउटा चितुवा धेरै टाढा हिँडेपछि, धेरै मेहनत गरेपछि बल्ल उसले एउटा खरायो पाउँछ। एक पटकमा ५ किलोभन्दा बढी खाने चितुवालाई झन्डै १ किलो तौल भएको एउटा खरायोले पुग्दैन।
यस्तै कारणहरूले गर्दा चितुवा अन्य जनावरहरूको खोजीमा लाग्छ। जहाँ उसले खसी-बाख्रा, गाई-भैंसीलाई पाउँछ जुन शिकार गर्न पनि सजिलो हुन्छ। थोरै मेहनतमा उसले ठूलो घरपालुवा जनावरलाई शिकार गर्छ जुन मानव-चितुवाको द्वन्द्वका रुपमा आउँछ।
केदार बराल, विनय अधिकारी र शिविश भण्डारीको समूहले सन २०२२ मा 'युरोपियन जर्नल अफ इकोलोजी' मा प्रकाशित एक अध्ययनअनुसार तनहुँको जंगलमा चितुवाले जंगली बिरालो खाएको तस्बिर फेला परेका थिए। क्यामरा ट्र्याप प्रविधिबाट गरिएको उक्त अध्ययनले तस्बिरहरूको अध्ययनका आधारमा जंगलमा चितुवाका आहार प्रजातिमा कमी आएको हुँदा चितुवाले वन बिरालो खाएको हुनुपर्छ भन्ने अनुमान लगाएका थिए।
यसरी चितुवाको आहार प्रजातिमा मासु खाने प्रजाति वन बिरालो, चरी बाघ, स्याल आदि देखा पर्नु प्रायः नौलो मानिन्छ। चितुवाको मुख्य आहार प्रजाति खरायो, बदेल, हरिण, दुम्सी, बाँदरलगायत जनावरहरू हुन्।
यसरी चितुवाहरू सकेसम्म आफ्नो प्रकृतिक आहार प्रजातिमै निर्भर हुन खोज्छन्। प्राकृतिक आहारमा कमी भएमा मात्र जंगलकै अरु प्रजातिमा परनिर्भर हुन खोज्छन् जहाँ उसले खरायो, दुम्सी, बदेलको साटो स्याल, चरी बाघ, आदिलाई खान्छ। तर जब प्रकृतिक आहार र जंगलका अन्य प्रजातिहरू पनि कम हुन्छ, त्यसपछि मात्र चितुवाहरू मानव वस्ती पस्ने र पशुधनलाई आहार बनाउने गर्छन्।
यद्यपि यस विषयमा थप वैज्ञानिक अध्ययनको खाँचो छ। तर हामीले चितुवाबाट हुने द्वन्द्व कम गर्न मुख्य रुपमा वनजंगलमा मानवीय असर कम गर्नपर्छ।
जस्तै चितुवाको आहार प्रजातिको चोरी शिकारीको न्यूनीकरण, वनजंगल विनाश रोक्ने, आफ्नो गाईवस्तुलाई जंगलमा खुला रुपले नछोड्ने (किनकी एक पटक चितुवाले गाईवस्तुको शिकार गरिसकेपछि उसले फेरि अर्को शिकार गाईवस्तुलाई नै गर्न खोज्छ), घर वरपर सफा राख्ने गर्नुपर्छ।
जंगलमा जाँदा पनि समूहमा जानुपर्छ। घर वरपर स-साना नानीबाबुहरूलाई एक्लै छोड्न हुँदैन। अब यो फागुन, चैत र वैशाख महिनामा वनमा डढेलो लाग्ने समय हो। वनजंगल सुक्खा हुन्छ। यो समयमा जंगली जनावरहरू गाउँवस्ती छेउछाउ आउने गर्छन्। तसर्थ यो समयमा हामी अझ चनाखो हुन जरुरी हुन्छ।
जंगली श्रोत जस्तै दाउरा, घाँस आदिको बैकल्पिक प्रयोग आफ्नै खेतबारीबाट गर्नुपर्छ, जंगलमा निर्भरता सक्दो कम गर्नुपर्छ। घर वरपर बत्ती बालेर सुत्नुपर्छ, पशुपंक्षीका खोरहरू बलियो गरी बनाउनु पर्छ।
यसरी हामीले धेरै तरिकाबाट मानव-चितुवाबीचको द्वन्द्व कम गर्न र चितुवालाई हिंस्रक हुनबाट रोक्न सक्छौँ।
(लेखक मोर्गन स्टेट युनिभर्सिटी मेरिल्यान्ड, अमेरिकाबाट जीवविज्ञानमा विद्यावारिधि गर्दैछन्।)