मेरो सदाको दैनिकी अफिस सकेर घर फर्कंदै थिएँ। सुन्धारा आइपुगेर कोचाकोच गरी सहचालकले सामानका बोरा कोचेजस्तै गरी मान्छे कोच्दै थिए। त्यही भिडमा म पनि हतार-हतार बसमा जसोतसो उभिन मिल्ने गरी दुबै गोडालाई बलियो गरी टेकेँ।
ट्राफिकले गाडी नरोक भन्दै हातले संकेत गर्दै गाडी अगाडि बढाउन अनुरोध गर्दै थियो।
ड्राइभरले ब्रेक दबाएका मात्रै के थिए, बसमा उभिएका सबै मानिस यताउता भैहाले। मेरो कानमा एउटा आवाज आयो।
‘अहो ! तपाईं नि यहीँ हुनु हुँदो रहेछ। कहाँ पुगेर आउनु भा ?’ म पछाडि फर्कन नपाउँदै एक महिलाले जवाफ फर्काइहालिन्।
‘यसो किनमेललाई आएको थिएँ। हेर्नुस् न ढिला भैसकेछ, फर्किन रात पर्न लागेसी त कस्तो भिड भाको गाडी पनि।’
म यसो कोल्टे परेर उनीहरूलाई हेर्ने प्रयास गरेँ। तर भिडले गर्दा मुन्टो फर्काउनै सकिनँ। होस भैहाल्यो, म मेरै ठाउँमा उभिएँ। उनीहरू गफमै मस्त भुलिए। म उनीहरूकै साइडमा भएको भएर कुरा सुन्दिनँ भन्दा पनि कानमा बज्रियो।
ती पुरूषले सोधे अनि, ‘नानीबाबु कता छन् आजभोलि? ठूला भए होलान् है?’
महिलाले जवाफ फर्काउँदै भनिन्, ‘छोरी त क्यानडा छे। छोरो पनि पर्सि अस्ट्रेलिया जाँदैछ। बाबुनानीको बाबा त अमेरिका बस्नु भएको पनि दस वर्ष भैसक्यो यहाँ म बुढी एक्लै।’
‘ए हो र, कत्ति भयो ठूली नानी गाकी’ पुरूषले सोधे।
‘एक वर्ष भयो नि!’ महिलाले जवाफ फर्काइन्।
‘ए। बेलैमा छोराछोरी हुर्किहालेछन् ढुक्क भयो नि तपाईंलाई। मेरो नि छोरो अमेरिका गाको पाँच वर्ष भयो अब हाम्लाइ नि लग्छु भन्या छ उतै को कुइरिनी हो बुहारी’ पुरूषले भने।
गाडी लैनचौर पुगेको थियो। बाटोभरी मजस्तै धेरै युवायुवतीहरू गाडी कुर्दै थिए।
म भएको गाडी पनि लैनचौरमा रोकियो। गाडीको ढोका नै लगाउन नमिल्ने गरी सहचालक दाइले यात्रु कोचे। केहीबेरलाई ती दुई जना व्यक्तिको संवाद रोकियो।
मेरो मन मस्तिष्कले उनीहरूको कुरालाई मनमा दोहोर्याएर खेलाइरह्यो। सोह्रखुट्टेको ओरालो लागेपछि फेरि उनीहरूले गफ सुरू गरे।
‘अब कहिले जानुहुन्छ त तपाईं?’, महिलाले सोधिन्।
‘अब एक दुई महिनामा जान्छु, अहिले भिसाको काम हुँदैछ।’
‘अनि तपाईंलाई चाहिँ बुढाले बोलाएका छैनन्?’, ती महिलाले मलिन स्वरमा भनिन्, ‘खै के भनौं छोराछोरी हुर्किहाले अब उनीहरूले बोलाए उतै जान्छु। श्रीमान त छन् कि छैनन् भन्दा छन् भन्ने बाटो मात्रै भएको छ।’ मनमा गुम्सिएका उनका गाँठो मज्जाले खोल्न पनि सकिनन्।
सबै पीडालाई पोको पारिन् र भनिन्, ‘म झर्ने ठाउँ आउन लाग्यो अगाडि जान्छु राम्रोसँग जानुस् है’ भन्दै उनी उभिएको ठाउँदेखि ढोकातिर लागिन्।
मेरो मनमा भने उनको लागि दया पलाएको थियो। मान्छे हेर्दा मेरै आमाको उमेरको जस्तै थिइन् उनी। दस वर्षदेखि नेपाल नै नआएका श्रीमान् अनि भएका दुई सन्तान पनि विदेश गएका ..
उनलाई सायद कुनै पनि सुखको कमी नहोला तर खुसी भने पक्कै छैनन् उनी। खुसी को सँग हुने, केसँग हुने? श्रीमानको आफ्नो जीवनशैली, छोराछोरीको आआफ्नो शैली, उनको आफ्नो। चार जना चारतिर।
परदेशिनु पर्ने बाध्यता कस्को घरमा नहोला र , मेरो घरमा पनि थियो, छ र हुने नै छ । तर मेरो पनि आमा बा अनि म र बहिनी काठमाडौंमा दु:ख सुख गरी बसिरहेका छौं।
अहिले मेरो उमेरका साथीहरू लर्को लागेर त्रिभुवन विमानस्थलमा उभिएको देख्दा लाग्छ, विमानस्थलले मेरो पनि बाटो हेरेर बस्दै छ। रहर होस वा बाध्यता, विदेश जानैपर्ने।
नेपालमा बसेर उच्च शिक्षा हासिल गरौं भने पनि त्यहीँ हो दक्ष प्रविधियुक्त शिक्षा अभाव छ जसोतसो पढे पनि रोजगार पाउनै गाह्रो। पाइहाले पनि प्राइभेट अफिसको हालत त सबैलाई थाहा नै होला तलब त्रिभुवन विश्वविद्यालयको नतिजाजस्तै हो कहिले आउँछ थाहा नै हुन्न पारिश्रमिक को आशमा बस्दा बस्दै दसैं आउँछ।
मनमनै यस्ता गुनासोहरू आफैं चन्चल गर्दै थिए। ती महिला कहाँ झरिछन् गाडीको भिडले चाल नै पाइनँ। पाऊँ पनि कसरी अफिस टाइमको गाडी, त्यो पनि उभिन मुस्किल परेको छ दिनभरीको थकान त छँदैछ। गाडी बालाजु पुगेको थियो।
ती महिलाको बोली फेरि पनि मनमा खेल्यो ‘म बुढी यहाँ एक्लै।’
म पनि विदेश गए भनी त मेरी आमाको पनि यही दिन आउँछ। बिचरी ती मेरी आमा गाउँबाट मलाई एक्लै काठमाडौं पठाउन नसकेर उनी नै मलाई लिएर आएकी थिइन्। बिहान अफिस हिँडेपछि बेलुकी घर नपुग्दासम्म घरको कौसीमा बसेर उनी मेरो बाटो कुर्दै हुन्छिन्। अब म परदेश नै गएँ भने त उनी आकाशमा उडेको प्लेन हेर्दै मेरो छोरी गै भन्छिन् होला। त्यो भन्ने दिन कहिल्यै नआओस् भौतिक सुख सुविधा त सबैले पाएका होलान् तर विदेशी भूमिमा बसेर खुसी भने कोही छैन।
पर्याप्त मात्रामा नेपालमा रोजगारीको अवसर भैदिएको भए यसरी कलिलै उमेरमा जहाज चढ्नुपर्ने थिएन। विदेशिएका श्रीमानहरूले नेपालमा केही उपलब्धि देखेको भए फर्केर पक्कै आउने थिए।
वैदेशिक रोजगारले गर्दा गाउँको मुहार फेरिएको होला। खरको छानो टिनमा परिणत भएको छ। नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरेका त होलान् तर नेपालीपनलाई पाउन र भुलाउन भने पक्कै सकेका छैनन्।
नेपालको राजनीतिक अस्थिरता र सरकारी ढिला सुस्तीले गर्दा शिक्षा तथा स्वास्थ्य क्षेत्रका अधिकांश योजना भताभुङ भएका छन्।
युवापुस्ताले आफूहरू मात्र नेतालाई संसद र सरकारमा पुर्याउनका लागि भर्याङ्ग भएको र ठूला बडा भनौंदा टाउकेहरूबाट देशको लागि केही हुन नसकेको कारण देखाउँदै निराश हुनुपर्ने अवस्था छ।
यही अवस्थामा नेपालमा बसेर एउटा सर्टिफिकेट मात्र लिएर केही गर्न नसकिने ठम्याइ मजस्तो युवा पिढीमा छ। जसले गर्दा पनि विद्यार्थी भिसामा विदेश जानेको संख्या ह्वात्तै बढेको छ।
केहीवर्ष अगाडिलाई फर्केर हेर्ने हो भने नेपालीहरू खासगरी स्नातक र स्नाकोत्तर पछिको थप शैक्षिक उपलब्धीको लागि वैदेशिक अध्ययनमा जाने चलन थियो र यसको लागि विदेशिने धेरै नेपालीहरूले आफूलाई जाँदाको उद्देश्य अनुरूपको शैक्षिक उपलब्धिमै लगाउने गरेको कुरा रेकर्डले पनि बताउँछ र नगन्य मात्र आफ्नो उद्देश्य छोडेर आर्थिकोपार्जनतिर केन्द्रित भएको देखिन्छ। तर अहिलेको अवस्था त्यस्तो छैन, अहिले त यहाँ जनतन कक्षा १२ को परीक्षा उत्तीर्ण गरेपछि थप अध्ययनको लागि जाने विद्यार्थीको संख्या लाखौं पुग्न थालेको छ।
यही स्थिति कायम रहे अबका केही वर्षमा नेपालका धेरै विश्वविद्यालयहरू विद्यार्थीको अभावमा बन्द हुनेछन्। अनि त्यहाँ अध्यापनरत हजारौं प्रध्यापक जो अहिले राष्ट्रका सबैभन्दा माथिका बौद्धिक स्रोत हुन् र हजारौं कर्मचारीहरू पनि बेरोजगार हुनेछन्।
अपेक्षा गरौं यो दिन नआओस्। आफ्नो क्षमता र दक्षताले भेट्ने रोजगारीको सिर्जना होस्। नेपालमा सामान्य व्यक्तिलाई आफ्नो सामान्य दैनिकी चलाउन आवश्यक पर्ने आधारभूत आवश्यकता पूरा गर्न भन्दै विदेशिनु पर्ने बाध्यता रोकियोस्। ती गाडीमा भेटिएकी महिलाजस्ता कयौं महिलाले आफ्नो श्रीमान छोराछोरीबाट टाढा भएर बस्नुपर्ने अवस्था अन्त्य होस्।
गाडी स्वयम्भू पुगेर रोकियो। म निराश हुँदै ओर्लिएँ।