हाम्रो नेपाली समाजमा पैसा कमाउने र नकमाउने मानिसलाई हेर्ने सोच र गर्ने व्यवहार निकै फरक भएको छ।
हामीले प्रत्यक्ष रूपमा देख्ने गरेका छौं र देखेका पनि छौं। पैसा कमाउनेलाई अलि बढी इज्जत दिइन्छ भने पैसा नकमाउनेलाई आफ्नै इष्टमित्रले गर्ने व्यवहार र बोली फरक र भिन्न भएको हामीले अनुभव गर्ने गरेका छौं।
एउटा नेपाली उखान पनि हामीले सुन्दै आएका छौं 'सम्पत्तिमा सबैको हाइहाइ विपत्तिमा कोही छैन दाजुभाइ' भनेझैं पैसावालाको सान, मान र रवाफ छुट्टै देखेका छौं अहिलेको सामाजिक परिवेशमा।
मान्छेले आफ्नो योग्यता र पैसाका आधारमा पैसा कमाउनको लागि काममा लागि पर्छन्। कसैले बढी पैसा कमाउँछन् भने कसैले थोरै तर योग्यताको आधारमा नै कमाउँछन्।
हुन त म कुनै ख्याती प्राप्त लेखक, व्यंग्यकार होइन। पेशाको हिसाबले भन्ने हो भने म साधारण शिक्षक। घरनजिकैको विद्यालयमा बालबालिकालाई पढाउने गर्छु। नयाँ नयाँ कुराहरू सिकाउने गर्छु किनभने मलाई यो काम धेरै मन परेकाले पनि यसै पेशामा रमाउने गरेको छु। भलै पैसा कमाउन सकिनँ होला।
कहिलेकाहीँ विद्यालयले अलि बढी जिम्मेवारी दिएको हुँदा विद्यालयको कामको बढी समय खर्च गर्नुपर्ने हुन्छ। घर फर्किन समय लाग्ने गर्छ। जब विद्यालयबाट घर फर्किँदा मान्छेहरूले प्रश्न सोध्ने गर्छन्, 'किन ढिलो, के कामले ढिलो, पैसा कमाएर कता राख्छस्?'
कहिलेकाहीँ साथीभाइ र इष्टमित्रहरूले बोलाउनुभएको बेलामा कामले गर्दा जान पाउँदिनँ। जब भेट हुन्छ तब फेरि यहीँ प्रश्न ममाथि दोहोरिन्छ, 'पैसा कमाएर कता राख्छस्?'
घरबाट विद्यालय जानेक्रममा पनि छिमेकीहरूले घुमाएर र घुमाउरो पारामा भन्ने गर्नुहुन्छ कि ओई फलानो आज किन विद्यालय चाँडो जान लागेको? आज तेरो विद्यालयमा चाँडो जान पर्ने कारण के छ र? फेरि त्यही प्रश्नको बज्रपात हुन्छ ममाथि- पैसा कमाएर कता राख्छस्?
विद्यालयमा काम गर्न थालेको लगभग पाँच वर्ष भएछ। यही पाँच वर्षको समयावधिमा मेरो छिमेकी, इष्टमित्रलाई र साथीहरूलाई 'पैसा कमाएर कता राख्छस्' भन्ने प्रश्नको उत्तर मैले आजको दिनसम्म दिन सकेको छैन।
यस प्रश्नको उत्तर मैले कहाँ र कताबाट र कुन तरिकाले उत्तर दिने होला भन्दै म सोच्न बाध्य र विवश भएको छु। कमाएको पैसा कता राखेको छु र कता लगानी गरेको छु भन्ने उत्तर सबैलाई सामूहिक बैठक राखी उहाँहरूको प्रश्नको उत्तर दिने विचार गरी उहाँहरूको जिज्ञासा मेटाउने विचार गरेको छु ।