त्रिभुवन पौडेल आँखाको नानीमा राखे पनि नबिझाउने मान्छे। हँसिलो अनुहार, बोल्नुभन्दा पहिले हाँस्ने अनि मात्रै हालखबर सोध्ने, कसैसँग नरिसाउने। अरूका झगडा पनि मिलाउन सक्ने खुबी कमै मानिससँग हुन्छ।
अरूलाई सहयोग गर्न पाउँदा खुसी मान्ने एउटा मानिस प्रिय पत्रकार त्रिभुवन पौडेललाई हामीले गुमाएका छौँ। शोकको यस घडी लेख्दालेख्दै त्रिभुवन आएर ‘के लेख्दैछौ’ भनेर सोध्छ कि झैं लागिरहेछ।
यसरी त्रिभुवन आइदिए, मैले भन्ने थिएँ- ‘तिमीलाई सम्झेर दुई/चार शब्द लेख्न खोज्दैछु। सम्झनाहरू शब्दमा उनिन मानेका छैनन्। तिमी आफै भन त्रिभुवन, तिम्रा बारे के लेखौं?’
सायद यस्तो भइदिए तिमी हाँस्ने थियौ। हाँसेरै टारिदिने थियौ। म यतिबेला पनि सम्झिरहेछु तिम्रो हाँसो। तिम्रो हाँसोले सबैको मन जितिरहेको हुन्थ्यो। तिमीले जोकोहीलाई निःस्वार्थ गरेका सहयोगले धेरै व्यक्ति धन्य छन्। म अनि मेरो क्षेत्र पनि धन्य छ। पत्रकारितामा तिमीले सबैको मन जित्यौं।
यसरी सबैको मन जितिरहेका तिमी अचानक एउटा भयानक दुर्घटनामा पर्नुपर्यो, माघे संक्रान्तिका दिन। यती एयरलाइन्सको जहाजसँगै तिमी पनि सेती गण्डकीमा अस्ताउन पुग्यौ। त्यसअघि हामीसँग हाँसेर बिदा भएका तिमी, फर्केर नआउने गरी गयौ। हामीलाई रुवाएर गयौ। आँसुहरू शब्दमा अनुवाद गरिदियौ।
तिमी दुर्घटनामा परेका दिन मेरो श्रीमान योगेन्द्र कुँवर बिदामा हुनुहुन्थ्यो। काठमाडौंबाट सरूवा भएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एटिसी प्रमुख भएर आउनुभएको धेरै भएको थिएन।
माघ १ गते बिहानै श्रीमानले नराम्रो सपना देखें भन्नुभएको थियो। मैले आमालाई नभन्नू भनेँ। बिदाका दिन श्रीमानको गाउँघर पर्वत जाने हाम्रो योजना थियो।
हामी परिवारसहित पर्वत जान तयार हुँदै थियौँ। श्रीमान् गाडी लिएर निस्कनुभयो। सोध्दा ‘एक पटक एयरपोर्ट हेरेर आउँछु, के गरिरहेछन्’ भनेर जवाफ दिनुभयो। बिदाका दिन पनि के एयरपोर्ट जानुपरेको होला, मनमनै सोचेँ।
श्रीमान् एयरपोर्ट पुगेको ५ मिनेटपछि यती एयरलाइन्सको एटिआर ७२ दुर्घटना हुन पुग्यो। श्रीमानले एयरपोर्टमै यात्रुको लिस्ट हेर्नुभएछ। जहाँ पोखरामा स्थापित पत्रकार त्रिभुवन पौडेल अर्थात् तिम्रो नाम पनि रहेछ।
तिम्रो नाम देखेर पनि श्रीमानले मलाई केही भन्नुभएन। जहाज दुर्घटनाको खबर पाउनेवित्तिकै म घटनास्थल पुगेकी थिएँ। त्यहाँ मेरा श्रीमान् पनि पुग्नुभएको रहेछ। उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उहाँले भनेको सुनेँ– ‘पत्रकार त्रिभुवन पनि रहेछ, चाँडै रेस्क्यु गर्नुपर्यो। त्रिभुवनलाई...।’
आफै व्यस्त रहनुभएका श्रीमानलाई मैले सोधिनँ। उहाँको बोली सुनेपछि त्यही बेला नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको फोन आयो। उहाँले त्रिभुवन पौडेलले उक्त विमानमा भए/नभएको निधो गर्न भनेपछि नजिकै रहेका त्रिभुवनका दाइ उत्तमलाई सोधेँ।
उत्तमले ‘भाइको टिकट २ बजेको छ रे दिदी’ भने। तत्कालै उदारमा खटिएका कास्कीका एसपी अजय केसीसँग पनि सोधेँ, त्यसपछि मलाई आशा हराएजस्तै भयो। मन भारी भयो। हातगोडा गल्न थाले।
दिउँसो २ बजेको टिकट बिहान सारेर त्रिभुवन काठमाडौंबाट पोखरा उडेका रहेछन्। विमानमा त्रिभुवन भएको पुष्टि भयो। त्यसपछि हामी न बोल्न सक्यौँ न लेख्न। तैपनि आफ्नो जिम्मेवारी पूरा गर्नु नै थियो।
त्रिभुवनको शव सनाखत गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा गएकी थिएँ। अस्पतालमा एम्बुलेन्स शव लिएर आउँछ, त्रिभुवनकै होला कि भनेर हामी कुरेको कुर्यै हुन्थ्यौं। ५३ औं नम्बरमा उसको शव आयो।
उसले लगाएको ज्याकेट जस्ताको त्यस्तै थियो। पाइन्ट पनि उस्तै। टाउकोको पछाडिको भाग आगोको रापले पोलेको जस्तो देखिन्थ्यो तर कपडा केही भएको थिएन।
उसको वालेटमा अर्थमन्त्रीको आइटी विज्ञ भएर काम गर्दाको परिचय पत्र, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष र कास्की शाखाको समेत आइडी कार्ड थियो।
ल्याबमा कार्यरत शंकर भण्डारी र मैले उसको शव सनाखत गरेका थियौं। उसको देब्रे हातमा ट्याटु थियो। यी सबै कुराले उसको शव सनाखत गरियो।
त्रिभुवन विमान दुर्घटनामा परेको पुष्टि हुने वित्तिकै महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतलाई फोन गरेर पोखरा बोलाएँ। सँगसँगै पत्रकारहरू गोविन्द आचार्य, विष्णु सापकोटा ‘जुगल’ लगायत आउनुभयो। पोखरामा भएका हामी त छँदैथियौं।
यस्तो बेला परिवारलाई सान्त्वानाको खाँचो पर्छ। हामी त्रिभुवनको घरमा पुग्यौं। घरमा आमा, त्रिुभवनकी श्रीमती प्रतिभालगायत आफन्त र शुभचिन्तकहरू थिए। हामी आफै रोइरहेका थियौं। उहाँहरूलाई सान्त्वाना कसरी दिने।
परिवारको आँसुमा हाम्रा आँसु मिसियो। परिवारले जे क्षति भोग्नुपरेको थियो, हाम्रा लागि पनि उत्तिकै ठूलो क्षती थियो। किनकी पत्रकार महासंघको कास्की शाखामा रहँदा होस् वा केन्द्रीय समितिमा रहँदा, त्रिभुवनले जस्तोसुकै परिस्थिति पनि सजिलै सामना गर्थे। सबैलाई मिलाएर लैजान्थे। उनको विशेषता भनेकै सबैलाई समेट्नु हो।
परिवार र हाम्रा आँसु एकाकार भए। पीडा पनि उस्तै। हामीले त्रिभुवनकी श्रीमती प्रतिभालाई सान्त्वाना दिन खौज्थ्यौं। वाक्य फुट्थेन। गला अवरुद्ध हुन्थ्यो। हामीले आफ्नो परिचय राखेपछि प्रतिभाले आँसु र पीडाको सागरमा डुबेर पनि केही शब्द उच्चारण गरिन्। जसले मलाई यो लेख्न बाध्य बनायो।
मैले जीवनमा पहिलो पटक विमला भण्डारीलाई गाली गरेको छु भनेर त्रिभुवनले प्रतिभालाई भनेका रहेछन् जुन मैले बिर्सिसकेको थिएँ। हामी भेट्न जाँदा प्रतिभाले उक्त कुरा सुनाइन्।
अघिल्लो कार्यकालमा म पत्रकार महासंघ कास्कीको उपाध्यक्ष थिएँ। नयाँ सदस्यता वितरणका लागि आएका आवेदनमाथि निर्णय गर्न बैठक बसेका थियौं। त्यस क्रममा नयाँ सदस्यता वितरणकै कुरामा हाम्रो कुरा बाझिएको थियो।
त्यहीबेला त्रिभुवनले मलाई ‘तिमी बढ्ता हुने?’ भनेर रिसाएर भनेको थियो। कहिल्यै नरिसाउने त्रिभुवनका अनुहारमा त्यही दिन मैले रिस देखेको थिएँ।
त्यसको केही दिनपछि उसलाई गल्ती गरेछु जस्तो लागेछ क्यार। मलाई भेटेर माफी माग्यो र आफूले आवेशमा त्यसो गरेको भनेको थियो।
नजिकका मान्छे रिसाउँदा धेरै नै मन दुख्दो रहेछ। फेरि आफ्नो गल्ती औंल्याएपछि छिट्टै खुसी भइँदो रहेछ। यसरी टुङ्गिएको एउटा झगडा उनले श्रीमतीलाई भनेका रहेछन्। जिन्दगीका दुःखसुख आदानप्रदान गर्ने खालका थिए, त्रिभुवन।
त्रिुभवनको पुर्ख्यौली घर पर्वत हो, हाल परिवारसहित पोखरा बस्छन्। दशकअगाडि पर्वतमा उनका बुवाको पनि लडेर निधन भएको थियो। बुबाका नाममा पूजा गर्ने, एकाहा लगाउने परिवारको चाहना थियो।
यही पुस १८ गते एकाहा लगाउने योजना भए पनि परिवारभित्र सुत्केरी भएपछि आउँदो वैशाखलाई सारेका थिए। पुसमा एकाहा लगाउन नपाएपछि पुस अन्तिममा त्रिभुवन गाउँ गए। बुबाका नाममा धुप बालेर फर्किए।
त्रिभुवन कहिल्यै पनि साइत हेरेर कुनै काम गर्थेनन्। जीवनमै पहिलो पटक उनी साइत हेरेर पुस २८ गते काठमाडौं गएका थिए। प्रतिभाका अनुसार सुतिरहेका छोरा नउठाई छोराको गालामा म्वाई खाएर गएका थिए।
त्रिभुवन परिवारसहित काठमाडौं बस्ने योजनामा थिए। माघको ६/७ गतेतिर श्रीमती र छोरालाई पनि आउन भनेका थिए। काठमाडौं बस्ने योजनामा रहेछन् उनीहरू। माघ १ गतेका दिन प्रतिभा टिभी हेरिरहेकी रहिछन्। जहाज दुर्घटनाको खबर आएपछि त्रिभुवनलाई फोन गरिन् तर लागेन।
बिहानै ‘गुड मर्निङ’ म्यासेज गरेका त्रिभुवन त्यही जहाजमा थिए कि, प्रतिभाको मनमा चिसो पस्यो। जहिल्यै जहाँ जाँदा पनि भनेर जाने त्रिभुवन माघ १ मा पोखरा फर्कने योजना नै थिएन। उल्टै ६/७ गते छोरा लिएर बोलाएका थिए प्रतिभालाई।
कहिलेकाहीँ त्रिभुवन सर्प्राइज दिएर आउँथे। फोन गर्दैगर्दै आउँदा कहिले त घरसम्मै बोल्दै आउँथे। यसपालि श्रीमतीलाई पोखरा आउँदैछु पनि नभनी उडेका रहेछन् त्रिभुवन। उनी घर आइपुगेनन्। सधैँका लागि सबैलाई छोडेर गए। छोराले ‘बाबा’ भनेको सुन्ने ठूलो रहर थियो। भोलि छोराले ‘बाबा खै?’ भन्यो भने के भन्ने, प्रतिभाका आँसु रोकिएका छैनन्।
नेपाल पत्रकार महासंघ कास्की शाखाका पूर्व सचिव र उपाध्यक्ष रहेका त्रिभुवन महासंघको प्रदेश समितिको पहिलो अध्यक्ष हुन्। गत महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका उनको पोखराबाट नेतृत्व तहमा पुग्न सक्ने क्षमता राख्थे। उनको असामयिक देहवसानले सिङ्गो पोखरालाई शोकमा डुबायो।
हामीले उनका पार्थिव शरीर महासंघको प्राङ्गणमा ल्याएर श्रद्धाञ्जली अर्पण गर्यौं। त्यहाँ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीदेखि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसम्म उपस्थित थिए। सयौंको संख्यामा सर्वसाधारण सेती नदी किनारको शान्तिघाटसम्म पुगेका थिए। यसले पनि उनको लोकप्रियता झल्काउँथ्यो।
हामीले नेपाल पत्रकार महासंघको तर्फबाट त्रिभुवनलाई चीरस्थायी बनाउने सोचेका छौं। महासंघ कार्यसमिति र विभिन्न क्षेत्रका व्यक्तित्वसँग सल्लाह गरेर यसबारे निर्णय गर्नेछौं। हामीले सोच्नुभन्दा अघि नै प्रतिभाले भनेकी थिइन्– ‘त्रिभुवन पौडेलको नाममा म सबै गर्छु। कुनै कुरा बिर्सिएँ भने सम्झाइदिनू। म गर्छु। सबैकुरा मलाई नभनेको हुनसक्छ। साथीहरूलाई भनेका उनका इच्छा सबै मलाई लेखेर दिनू।’
पोखरेली पत्रकारिताले त्रिभुवनलाई बिर्सिन सक्दैन। पत्रकार महासंघको भवन बनाउनेदेखि तालिम सञ्चालन र अन्य कार्यक्रमहरू सञ्चालनमा ऊ अघि सर्थ्यो। समाचार लेखनमा पनि उसले अत्यन्त मेहनत गर्थ्यो।
त्रिभुवनका ३३ महिनाका छोरा बिरामी छन्। उसलाई उपचार गर्न पनि उनीहरू काठमाडौं बस्न चाहेका थिए। प्रतिभा र छोरा काठमाडौं जाने र उतैबाट पोखराकै अर्का पत्रकार ऋषिकान्त पौडेलको विवाहमा सरिक हुने उनीहरूको योजना थियो। तर यी योजनाहरू पूरा हुन पाएनन्।
जस्तोसुकै परिस्थितिमा पनि त्रिभुवन हाँसीहाँसी जिम्मेवारी पूरा गर्थे। छोरा बिरामी भएर तनावमा भएका बेला पनि उनले पत्रकार महासंघको काम छाडेनन्।
महासंघको गण्डकी प्रदेश साधारण सभाको उद्घाटन सत्रमा उनी आएनन्। बन्द सत्रमा आएर उनले सबै मिलाइ नेतृत्व क्षमता देखाएका थिए। उद्घाटन सत्रमा नआएको भन्दै उनीप्रति केही पत्रकार साथीहरूले रोष पोखेका थिए। जब सत्य थाहा पाए, त्यतिबेला रोष पोख्ने पत्रकार साथीहरू नाजवाफ भए।
त्रिभुवनलाई मैले पहिलो पटक देखेको २०५७/०५८ सालतिर हुनुपर्छ। त्यतिबेला हामीले युवा फोरम भन्ने संस्था चलाएका थियौं। म त्यसको सचिव थिएँ। संस्थाले सार्वजनिक विषयमा बहसका कार्यक्रम चलाउँथ्यौँ। त्यो कार्यक्रममा फुच्चे त्रिभुवन आउँथ्यो। सुनेर फर्कन्थ्यो।
पोखराको रेडियो अन्नपूर्णमा मैले सन् २००२ बाट कार्यक्रम चलाउन थालेकी थिएँ। त्रिभुवन पनि रेडियोमा काम गर्न आइपुगे। त्रिभुवन मेहनत गरेर रेडियोका लागि समाचार र रिपोर्टहरू बनाउँथे।
पत्रकार महासंघ कास्कीको अध्यक्ष वरिष्ठ पत्रकार नारायण कार्की हुँदा त्रिभुवन सचिव थियो। त्यसपछि पत्रकार रामकृष्ण ज्ञवाली अध्यक्ष चुनिँदा पनि ऊ सचिवमै दोहोरियो। यी दुवै कार्यकालमा सचिव भएर महासंघ कास्कीको भवन बनाउने काममा दिलोज्यान लगाएर ऊ खटिएको थियो। त्यतिबेला म कार्यसमिति सदस्य थिएँ।
त्यसपछि पत्रकार दीपेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा म र त्रिभुवन दुवैजना उपाध्यक्ष थियौं। उपाध्यक्ष भएर पनि हामीले कामको बाँडफाँड गर्यौं, उसले कहिल्यै आफूलाई ठूलो हुँ ठानेन। तालिम संयोजक भएर उसकै अगुवाइमा पोखरामा धेरै पत्रकारिता तालिमहरू चलाएका थियौं।
म उपाध्यक्ष भएका बेला पोखराबाट पत्रकारहरूको टोली उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमण जाने तयारी भयो। त्यसको संयोजन गर्ने जिम्मा मलाई परेको थियो। त्यतिबेला त्रिभुवन महासंघ कास्कीको उपाध्यक्षबाट राजीनामा दिएर प्रदेश अध्यक्ष हुन पुगेको थियो।
हाम्रो टोली जोमसोम बास बस्न पुग्यो। बेलुका खाना खाने बेला महासंघका पूर्व अध्यक्ष रविन्द्र बास्तोला गुरुले मलाई अब अध्यक्ष हुनुपर्छ भनेर पहिलो प्रस्ताव राख्नुभयो। चुनाव आउने बेला भएकै थिएन। अचानक यस्तो प्रस्तावले म पनि छक्क परें।
त्यहीबेला महासंघकै पूर्व अध्यक्ष रामकृष्ण दाइले पनि पहिलो पटक महिलाको पालो आउँछ क्या हो भन्नुभएको थियो। त्रिभुवनले तिमी भाग्यमानी रहेछौ कि क्या हो, यस्तो पवित्र ठाउँ मुस्ताङमा तिमी अध्यक्ष हुने कुरा भयो भनेका थिए।
हामी कागवेनी पुगेको बेला त्रिभुवनले बुबाको सम्झनामा श्राद्ध गरेको दृश्य देखेपछि मैले तिमी पनि यति धेरै धर्मकर्म मान्छौ र भनेर जिस्काएको थिएँ, उसले जवाफमा भन्यो बुबा सपनामा आइरहनुहुन्छ त्यही भएर गरेको भनेको थियो।
त्यो यात्रा रमाइलो भयो। बाटैमा पर्ने म्याग्दी र पर्वत शाखामा पनि पत्रकारहरूसँग भेटघाट गर्यौं। मेरो देवर सुदिप र निपूर्ण कुँवर त्रिभुवनका साथी थिए, देवरको साथीका नाताले मलाई बेलाबेला भाउजू भनेर बोलाउने त्रिभुवनको पनि जन्मघर पर्वत। हाम्रो घरमा आउने, खाना खाने, बस्ने भइरहन्थ्यो।
यसरी हाम्रो पारिवारिक सम्बन्ध पनि थियो। हामीले छिटो विवाह गर त्रिभुवन भनेर दबाब पनि दिन्थ्यौं। उनले विवाह गरेर घरजम गरेकोमा हामी खुसी भएका थियौं। उनकी आमाले निकै दुःख गरेर हुर्काएका थिइन् त्रिभुवनलाई। आमाले पोखरामा ससानो होटल चलाउनुहुन्थ्यो। ठूलो भएपछि त्रिभुवनले निकै प्रगति गरेको थियो। पोखरामा घर, गाडी जोडिसकेको थियो।
पत्रकार महासंघको चुनाव आउने बेला म, त्रिभुवन, रामकृष्ण दाइ, दीपेन्द्र दाइलगायत हामी काठमाडौंमा थियौं। म प्रेस युनियनमा आवद्ध छु। मैले अध्यक्षको उम्मेदवार बन्न संगठनमा दाबी गरेकी थिएँ। संगठनले टिकट दिन आलटाल गरेका बेलामा मलाई आफ्नै संगठनका साथीबाट अवमूल्यन गरेको अनुभूति भयो। मनमा दुःख लागिरहेको थियो। त्यतिबेला त्रिभुवनले यस्तो कुरा नगर, तिमी अध्यक्ष हुन्छ्यौ, ढुक्क होऊ भनेर सम्झाएका थिए।
केही समय पहिले मेरो श्रीमान् लुक्ला एयरपोर्टको प्रमुख हुनुहुन्थ्यो। त्रिभुवन जहिल्यै लुक्ला घुम्न जाने कुरा गर्थ्यो। जान नपाउँदै मेरो श्रीमान् सरुवा हुनुभयो। त्रिभुवनको लुक्ला जाने योजना पनि अधुरै रह्यो।
त्रिभुवन गरिब, दुखी मानिसलाई अत्यन्त प्रेम गर्थे। आदर गर्थे। उनीहरूको सहयोग गर्थे। पत्रकार महासंघ कास्कीको भवन रेखदेख गर्न प्राङ्गणको छेउमा एउटा परिवार राखिएको छ। उनीहरू त्यहाँ निःशुल्क बस्छन्। महासंघ परिसर सरसफाइ गर्छन्।
म अध्यक्ष चुनिएपछि सरसफाइ लगायतका काम सन्तोषजनक भएन भनेर उनीहरूलाई हटाउँछु भनेको थिएँ। उनीहरूले त्रिभुवनलाई फोन गरेछन्।
त्रिभुवनले मलाई तुरुन्त फोन गरेर भन्यो– ‘यिनीहरू हुनेखाने मान्छे भए त यहाँ आएर किन बस्थे? उनीहरूलाई दुःख भएर आएका हुन् नि। साना बच्चाबच्ची छन्, हटाउने कुरा नगर। बरु व्यवस्थित गरौं,’ त्रिभुवन यस्ता कुरामा धेरै संवेदनशील थियो।
विमान दुर्घटनामा परेपछि उक्त परिवारका श्रीमतीले मलाई फोन गरिन्। मैले हेलो मात्र भनेँ अरू केही बोलिनँ। उताबाट पनि केही आवाज आएन। उनीहरूले ठाने होलान्, त्रिभुवनले छाडेर जाँदा हाम्रो वैशाखी भाँच्चियो।
पत्रकारिताबाट राजनीतितर्फ ढल्किँदै थिए त्रिभुवन। उनले मलाई पनि अब पत्रकारिता होइन, राजनीतिमा जानुपर्छ भन्ने गरेका थिए। सहकार्य गरौं, अब राजनीति गरौं भनेका थिए। मैले हुन्छ मात्र भनेकी थिएँ।
उनले भविष्यमा चुनाव लड्ने क्षेत्र ठानिएको कास्की– १ मा विभिन्न योजनाहरू ल्याउँथे। स्थानीयका समस्या सरकारसम्म पुर्याउँथे। यसका अलवा उनले पर्वतमा पनि काम गरिरहेकै थिए। उनले भन्ने गरेका थिए– ‘हामी जहाँ पुगे पनि आफ्नो धरातल बिर्सिन हुँदैन, आफ्नो ठाउँ भुल्नुहुँदैन।’
नेपाल पत्रकार महासंघको पुसको ८ र ९ गते सुर्खेतमा भएको केन्द्रीय साधारणसभामा जानेबेला पनि हामी सल्लाह गरेका थियौं। साधारणसभा अघि केन्द्रीय समिति बैठक भएकाले हामीभन्दा २ दिनअघि ऊ सुर्खेत गयो।
हामी जाँदाजाँदै बाटोबाट मैले फोन गरेर पोखराको टोलीलाई बस्ने व्यवस्था मिलाउन भनेको थिएँ। उसले आफू छिट्टै फर्कने भएकाले कसैलाई कोठा नपुगे आफ्नो कोठामा राख्न भनेका थिए।
उनले एकदम हतार गरेका थिए। त्यसपछि पोखरामा हामीले प्रेस स्वतन्त्रता सेनानी उपाधिसहित सम्मान गरेका अग्रज पत्रकार र हाम्रो टोलीलाई उनले रिक्सामा राखेर घुमाएको अहिले पनि झलझली आँखामा आउँछ।
उसले सधैं यती एयरलाइन्स चढ्ने भन्थ्यो। मैले बुद्ध। उसले यती एयरलाइन्समा टिकट सार्न सजिलो हुन्छ भनेको थियो।
पत्रकार महासंघको नेतृत्वमा हुँदा उसले हाम्रो कास्कीको टोली वैदेशिक भ्रमणमा जानुपर्छ है भनेको थियो। युरोप जाने उसको योजना थियो। त्यो पनि अधुरै रहन पुग्यो।
त्रिभुवनसँगको मेरो अन्तिम भेट गण्डकीका तत्कालीन अर्थमन्त्री रामजी बराल ‘जीवन’ ले पुस २४ मा अयोजना गरेको पत्रकार भेटघाटमा भएको थियो। पत्रकार भेटघाटमा म अलि ढिलो पुगेकी थिएँ। अर्को कामका कारण खाजा पनि नखाई छिटो निस्कनु पर्यो। उसले अन्तिममा भनेको थियो- ‘खाजा खाएर जाऊ है।’
पत्रकार त्रिभुवनसँगै हामीले अर्का सञ्चारकर्मी अनील शाहीलाई पनि गुमाएका छौं। पोखरामा रेडियो एपोष्टलका प्रबन्ध निर्देशक रहेका अनिल पनि सोही जहाजमा काठमाडौंबाट पोखरा फर्कँदै थिए।
सामाजिक क्षेत्रमा क्रियाशील अनिल पोखराको संचार क्षेत्रमा उदाउँदै गरेका थिए। त्रिभुवन र अनिल एवम् जहाज दुर्घटनामा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
प्रिय त्रिभुवन तिमीलाई पोखरा र पत्रकारिता क्षेत्रले सधैँसधैँ याद गरिरहनेछ।
(लेखक नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष हुन्।)