‘बाबु, मम्मीको फोन आयो, आऊ बोल।’
-नाई आमा, हजुर बोलिस्यो म पछि बोल्छु।
‘आऊ न बाबु, मम्मी-बाबालाई एकछिन मुख देखाऊ अनि जाऊ न।’
-भयो के आमा म बोल्दिनँ। मलाई बोल्न मन छैन।
‘आऊ त कति खुसी हुन्छन् तिमीलाई देखेर।’
-नाई भनेपछि धेरै नभनिस्यो न के!
यसरी बच्चाले आफ्मा विदेशमा भएका बाआमाहरूसँग बोल्नै खोजेनन् भने तपाईं के सोच्नुहुन्छ?
आफ्नो बाबाआमासँग नै बोल्न नखोज्ने ती बच्चाहरूलाई गाली गर्नुहुन्छ कि कलिला बच्चा छोडर विदेश गएका ती बुवा-आमालाई नराम्रो सोच्नुहुन्छ? या बच्चाहरू यहाँ जोसँग बसेका छन् ती अभिभावकहरूलाई टाढा भएका बुवाआमाको महत्त्व नबुझाइदिएकोमा दोषी मान्नुहुन्छ?
जेसुकै भने पनि, जोसुकैलाई दोष लगाए पनि यो अहिलेको समाजमा मौलाएको समस्या हो अनि सबैको मनमा झाँगिदै गएको त्रास हो जसले कैयौं घरको वातावरण नै सधैंको लागि फरक बनाइदिएको छ।
घर-व्यवहार मिलाउन ऋणधन गरेर आफ्ना स-साना बच्चाहरू छाडेर विदेशिने प्रायःजसो बाबु-आमाले मनमा यही त्रास लिएर गइरहेका हुन्छन्-
कतै मेरो बच्चाले मलाई बिर्सिने पो हो कि, कतै उनीहरूलाई बुझ्ने कोही नहुँदा उनीहरूको हामीप्रति नकारात्मक सोच आउने पो हो कि अथवा जोसँग छोडेर गइँदैछ, उनीहरूले सही ढङ्गमा बाबु-आमाको मायाबारे, उनीहरूको त्यागबारे नबताइदिनाले बच्चाहरू अलि विरक्तिने पो हुन् कि, पढाइमा ध्यान नदिने, नराम्रो संगतमा फसेर बिग्रिने पो हुन् कि जस्ता अनगिन्ती प्रश्नहरूको कुटुरो मनभरि बोकेर गएका हुन्छन्।
आफ्ना गह्रौ पाइला र भारी मनलाई जसोतसो विदेशी भूमिमा अवतरण गराए पनि सन्तानमोहको चपेटाबाट उनीहरू कहिले पनि मुक्त हुन सक्दैनन्। उनीहरूकै भविष्यका लागि आफूहरूबाट टाढा हुन परिरहेको पीडालाई उनीहरूले नबुझ्ने पो हुन् कि भन्ने तनावबीच पनि आफ्ना जिम्मेवारीहरू पूरा गर्नमा अडिग छन् विदेशमा हाम्रा कैयौं बाबु-आमाहरू।
विशेष गरी आमा विदेश गएका बच्चाहरूमा प्रायः देखिने समस्या भनेका बच्चाले पाउने भावनात्मक साथ, सहयोग अनि सही मार्गनिर्देशनको कमी हो। अध्ययनअनुसार आमासँग बस्न नपाएका बच्चाहरूमा परिवारसँग भन्दा एक्लै बस्न रुचाउने, सँगै बस्दा पनि टोलाएर बस्ने, भनेको नटेर्ने, पढ्नमा ध्यान नदिने, भनेका कुराहरू बिर्सिने जस्ता व्यवहारहरू देखिने गरेका छन्।
यसका साथसाथै उनीहरूको स्वास्थ्यमा समस्या देखिने, विद्यालयमा राम्रो प्रस्तुति नदेखाउने, स्कुल नै जान मन नगर्ने, शिक्षक या परिवारका सदस्यहरूसँग पनि झर्केर बोल्ने जस्ता बानीको विकास हुँदै गएको पाइएको छ। यसको पछाडि मुख्य कारण चाहिँ उनीहरूले आफूलाई राम्ररी बुझ्ने मानिसको कमी महसुस गरेर हो भन्ने कुरा अध्ययनले देखाएको छ।
‘आमा-बा टाढा छन् बरा, न्यास्रो मान्दो हो नि’ भन्दै बच्चालाई जे भन्यो त्यही गर्न दिने, जति मन लाग्छ त्यति खान, खेल्न, बाहिर डुल्न दिने, जे भन्छन् त्यही पुर्याइदिने, जसरी मन लाग्छ त्यसरी बोल्दाखेरी पनि केही नभन्ने, मायाको नाममा अनुशासनका सामान्य नियमहरू पनि नसिकाइदिने जस्ता क्रियाकलापहरू घरका सदस्यहरूले गरिदिँदा बच्चाहरूमा केही हदसम्म आफ्नो कुरा मनाउन जे पनि गर्ने प्रकृतिको विकास हुँदै गएको पनि पाइएको छ।
'भिक्टिम प्ले' गर्दिने, मुख न्याम्म परिदिने, खाना नखाइदिने त्यसपछि त आफूले भनेको भइहाल्छ नि भन्ने मानसिकताको विकास पनि थुप्रै बच्चाहरूमा बढ्दै गएको पाइएको छ जुन उनीहरूको लागि भविष्यमा एकदमै हानिकारक हुने निश्चित छ।
बच्चा आफ्नो पेटमा हुँदादेखि नै उसलाई पिरो हुन्छ भनेर आफैले नौ महिनासम्म पिरो नखाने आमा। दाहिने कोल्टे फर्केर सुत्दा बच्चालाई अप्ठ्यारो हुन्छ भनेर लगभग छ महिनासम्म देब्रे कोल्टो मात्रै फर्केर सुतेकी आमा।
अनि आफूलाई रहर हुँदाहुँदै पनि बच्चालाई गाह्रो हुन्छ भनेर कैयौं पटक आफ्ना इच्छाहरू मारेकी त्यही आमाले आफ्नो मुटुको टुक्रालाई छोडेर जाँदा उसको मन कति रोएको होला भनेर हामीले बुझ्ने कोसिस मात्र गर्न सक्यौं भने पनि विदेश जाने हरेक बाबा-आमाप्रतिको हाम्रो सोचमा सकारात्मकता आउँछ।
टाढा भए पनि उनीहरूको आँखामा त्यही बच्चा झलझली नाचिरहेको हुन्छ, उसको तोतेबोली फुट्ने बेलामा छाडेर गएका उनीहरूको कानमा त्यही आवाज नै गुञ्जिरहेको हुन्छ। मनमा तिनै बच्चाको तर्कना चलिरहेको हुन्छ। तिनै बच्चा उनीहरूसँग बोल्न नखोज्दा, वास्ता नगर्दा कति कुँडिन्छ होला उनीहरूको मन?
कोही-कोही आफ्नो रहर पूरा गर्न विदेश गए पनि प्रायः हामी नेपालीहरू विदेश जाने भनेको आफ्नो र परिवारको आधारभूत आवश्यकताहरू पूरा गरेर आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्नको लागि नै हो। उनीहरूको बाध्यतालाई बुझेर अनि विदेश जाँदा कस्ता-कस्ता अप्ठ्यारा पर्छन् त्यो बारेमा पनि विचार गरेर, यहाँ हुने परिवारका सदस्यहरूले थोरै संयम र बच्चाहरूप्रति जिम्मेवार बनिदिएमा यो समस्या धेरै हदसम्म समाधान हुन्छ।
त्यसो हुँदा विदेशमा भएका बाबा-आमाहरूलाई हुने चिन्ता भनेको बच्चाहरू कस्तो वातावरणमा हुर्किरहेका छन् भन्ने नभई खाली आफूसँग टाढा राख्नुपरेकोमा मात्र अलिकति पीडा हुन्छ जुन परिवारका सदस्यले समय समयमा बाबा-आमासँग बच्चाहरूको कुराकानी गराइदिने, सहज तरिकाले, रमाइलो तरिकाले बच्चाहरूलाई बाबु-आमासँग घुलमिल गराउने गरेपछि कम भइहाल्छ।
बच्चाहरूलाई चाहिनेभन्दा बढी माया गर्ने, मनपरी गर्न दिने तर फेरि समयमा उनीहरूको बाबा-आमाले पैमा पठाउन नसक्दा या कुनै अप्ठ्यारो परिस्थितिमा उनीहरूले छोडेर गएका बच्चाहरूको अगाडि सकेसम्म नकारात्मक कुरा गरिदिनु हुँदैन।
यस्तोमा उनीहरू अलमलिन सक्छन्। अभिभावकको कुन कुरा पत्याउने अनि के कुरा मान्ने, बाबा-आमाको बारेमा के सोच्ने या किन मेरो बाबा-आमाको बारेमा यहाँ किन यस्तो कुरा गरिदैंछ जस्ता कुराले बच्चाहरूको मनस्थितिमा असर गर्छ।
यस्तै हुँदाहुँदै उनीहरूमा परिवारप्रति, बाबा-आमाप्रति वितृष्णा पैदा हुने, बहिष्कार गरिएको महसुस गरी केही कुरामा चासो नदेखाउने र विस्तारै आफूलाई कमजोर, एक्लो सोची बच्चाहरू विभिन्न मानसिक समस्यामा पर्ने गरेका उदाहरण हाम्रै समाजमा प्रशस्त छन्। यस्ता कुराहरूबाट सकेसम्म उनीहरूलाई टाढा राखी घरमा बालमैत्री वातावरण बनाउनु जरुरी छ।
केटाकेटी आफ्ना बाबा-आमाबाट टाढा छन् है भन्ने कुरा जहिले ध्यानमा राख्ने तर यसको लागि उनीहरूको अनुशासन, मर्यादा र स्वस्थ मनस्थितिको मामलामा कुनै सम्झौता नगरी त्यहीअनुसार उनीहरूसँग व्यवहार गरेमा उनीहरूलाई सही मार्गमा हिँडाउन सजिलो हुन्छ।