अनेकौं सपना सजाएर सात समुद्रपारीको देश अष्ट्रेलिया भित्रिने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो समय नाटकीय रूपमा बढेको छ। यसले गर्दा राम्रा नराम्रा परिणाम सतहमा छरपस्ट देखिन थालेका छन्।
सिड्नीमा यस वर्ष मात्र एक दर्जनभन्दा बढी नेपाली विद्यार्थीले अकालमा ज्यान गुमाए।
मोटरसाइकल दुर्घटना होस् या समुन्द्रमा डुबेर वा निराशावादी सोचका कारण ज्यान फालेर मृत्युवरण गर्नेको संख्या बढदै गएको तंथ्याकले देखाउँछ।
उज्वल भविष्यको कल्पना र खुसीयाली जीवन जिउने सपना बोकेर अस्ट्रेलिया आउने यिनै विद्यार्थीहरू सानातिना लापरबाही र गलत सोचका कारण जीवन खेर फाल्ला अभिभावकमाथि कस्तो बज्रपात पर्छ भन्ने कुराको ख्यालै गर्दैनन्।
पछिल्ला तीन हप्तामा मोटरसाइकल दुर्घटना, समुद्रको बिचमा डुबेर, पानीमा हाम फालेर र घरमै मृत अवस्थामा फेला परेका गरी ४ जना नेपाली विद्यार्थीको मृत्यु भयो।
यो साच्चीकै नेपाली समाजका लागि पीडादायक विषय बनेको छ। उनीहरूका अभिभावकमा यस्तो घटनाले कस्तो बज्रपात पर्छ कल्पना मात्र गर्न सकिन्छ।
यस्तै एउटा पीडादायक क्षणको साक्षी बस्नुपर्दाको क्षणलाई मैले आम विद्यार्थीको लागि शन्देश बन्न सक्छ भनेर लेख्दैछु।
सडक दुर्घटनामा परेर अस्पताल भर्ना भएका छोराको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सिड्नी आएका एक जोडी अभिभावक आएको भोलिपल्टै छोराको निधनले विक्षिप्त बने।
बिरामीको अवस्था बुझ्न अस्पताल पुगेका उनीहरूलाई चिकित्सकले छोरालाई बचाउन नसकेकोमा क्षमा माग्दै अन्तिम प्रकृया अगाडि बढाउन अनुरोध गरे।
अचानक डाक्टरहरूले नै यसो भनेपछि उनीहरूको होस हवासनै उडेको छ।
उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया पठाएको २४ वर्षे जवान छोरालाई अल्पायुमै गुमाउनुपर्ला भनेर उनीहरूले कल्पना पनि गरेका थिएनन्।
दुर्घटनापछि कोमामा पुगेका ती युवाको शरीरभर चोट र पट्टी थिए। बेहोसी अवस्थामा आमा रूदै थिइन्।
‘डाक्टरले सक्दैन भन्छ, अर्को हस्पिटल लगे मेरो छोरो बाँच्छ की लौ न केही गरौं!,’ अनुनय विनय गर्छिन्।
बाबु आफैं सम्हालिन सकेका थिएनन्। मनभित्रको पीडा मुहारमा छचल्किदै गर्दा बेलाबेला एकोहोरो हुन्थे। बेला बेलामा आँशु पुछ्दै सम्हालिन खोज्थे तर मिनेटमै भक्कानिएर रून थाल्थे।
उनीहरू यो पीडादायक घटनालाई सहजै स्वीकार्न सकिरहेका थिएनन्। वरपर बस्ने सबैको आँखा रसाएका थिए। जे नहुनु पर्ने थियो, आखिर त्यही भइसकेको थियो र अब फर्केर आउने बाटो थिएन।
यसरी सानातिना रहर र उपद्रो व्यवहार, कुलतको पाटो अनि गलत संगतको बाटोले ज्यान जाँदा कसरी अभिभावकलाई पीडा हुन्छ भन्ने एउटा उदाहरण मात्र हो।
सिड्नीको क्रोनोला बीचमा पौडी खेल्दै गर्दा छालले बगाएर तीन नेपाली विद्यार्थी दुर्घटनामा परे।
भक्तपुरका अर्का नेपाली युवा साथीको मोटरसाइकल लिएर गएका बेला दुर्घटनामा परे र ज्यान गुमाए। अर्का एक नेपाली विद्यार्थी स्टार्टसफील्डको दसौं तलाबाट हामफालेर ज्यान गुमाए। भर्खरै अर्का पाका उमेरका नेपाली युवा सिड्नीकै एउटा खोल्सामा मृत भेटिए।
यसरी एकपछि अर्को गर्दै यस्ता दुःखद् घटनाहरू घटदै गर्दा उनीहरूको परिवारलाई पर्ने वियोगको पीडाको कुनै सीमानै छैन।
यता परिवारको बेहाल छ, रोदन र पीडाबीच छोराको दाहसंस्कार नेपालमै लगेर गर्ने बाबआमाको सोच छ।
पढेर नाम र दाम कमाउला भनेर विदेश पठाएको लक्का जवान छोराको शव बोकेर स्वदेस फर्कदै गर्दा एउटा बाबुको पीडा र आमाको चित्कार कसले सुनिदिने। यो पीडाको क्षणलाई शब्दमा उतार्न पनि मुश्किल हुनेरहेछ।
प्रयाप्त ज्ञानको कमी र सुरक्षाका नियम पालना नगर्दा यस्ता अकल्पनीय घट्नाहरू घट्दै आएका छन्। केहीको यतै दाहसंस्कार गरिएको छ भने कोहीको शव नेपाल पठाउने प्रकृयामा छ।
अष्ट्रेलियामा सम्भावनाका लाखौं पाटासँगै बिग्रनका लागि हजारौं बाटा पनि छन् भन्ने कुरा यहाँ आउने विद्यार्थी र पठाउने अभिभावकले बुझ्न जरूरी छ।
नेपालबाट आफ्ना छोराछोरीको अष्ट्रेलिया जाने भिसा लाग्ने वित्तिकै गौरवान्वित हुने अभिभावकहरूले यहाँ आउने बित्तिकै आफ्ना सन्तानले व्यहोर्ने जटिलता र संघर्षबारे अनभिज्ञता प्रकट गर्नु जति उदेकलाग्दो कुरा केही पनि छैन।
त्यसैले यहाँ उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीले हरेक पाईलामा ध्यान पुर्याउन जरूरी छ। रहर र मोजले अनी भोज र भतेरसँगै फेसन र प्यासनले विद्यार्थीलाई सहजै आकर्षित गर्नसक्छ।
विद्यार्थीकालमा काम र पढाई अनी बसाई र कमाईलाई संयोजन गर्न सकेन भने त्यसले पीडा थप्ने काम गर्छ। यो कुराको हेक्का हरेक विद्यार्थीले राख्नु जरूरी छ।
सामान्य अवस्थामा र काममा हुने यौनजन्य दुर्व्यवहार, श्रम शोषण, घरेलु हिंसा, आत्महत्या, मानसिक बिरामी, पानीमा डुबेर ज्यान जाने क्रम, जुवा र दुर्व्यसनको लतले निम्त्याउने आदि इत्यादि समस्याको समाधान वा रोकथामका लागि कहाँ गुहार्ने?, कुन कुन निकायको सहयोगमा समस्याको न्युनीकरण वा समाधान कसरी गर्ने? र नेपाली समाजलाई सभ्य र सुरक्षित राख्न के गर्ने? भन्ने चिन्ताले यहाँका नेपालीहरू पिरोलिने गर्छन्।
नेपाली दूतावास, एन आर एन र वाणिज्य दूतावासहरूमा प्राप्त हुने गुनासो र समस्याको पेटारो उत्तिकै छ। त्यसैले यतिखेर यी यावत समस्या समाधानको पहल गर्न नेपालीको बढ्दो जनसंख्यासँगै नेपाली समुदाय दूतावास र नियोग अनि एनआरएन माथि चर्को दबाब परेको छ।