आँखा मिच्दै बाहिर निस्किँदा सुरूमा निलो आकाश देखेर मेरो मन दंग भइहाल्यो।
खुलेको मौसम, घामका किरणले पारिपट्टी देखिएका डाँडा बिस्तारै छुँदै थिए।
अनि आँखाअगाडि पर्यो धपक्क बलेको धौलागिरि हिमाल।
हिमाल र वरिपरिको दृश्य हेरेर म मख्ख, दंग पर्दै बसेँ। मेरा साथीहरू आएर खुसी हुँदै फोटो खिच्न थाले।
त्यतिखेर पनि मेरो मनमा एउटै नम्बरले घर गरेको थियो— ४८६। गत वर्षभरि (सन् २०२१ मा) मैले देखेका चराको संख्या।
सन् २०२२ को सुरूमै मैले पाँच सय प्रजातिका चरा भेट्ने लक्ष्य राखेको थिएँ। पहिल्यै देखिसकेका चरा पनि यो वर्ष पहिलो पटक देखेँ भने म सूचीमा थप्छु। त्यसमा जिन्दगीमै पहिलो पटक देखेका (लाइफर) पनि पर्छन्। जिन्दगीमा पहिलो पटक देखेको चरालाई 'बर्डिङ' (चरा हेर्नु/खोज्नु) संसारमा 'लाइफर' भनिन्छ।
वर्षको पाँच सय चरा भेट्ने लक्ष्य मजस्तो विद्यार्थीका लागि महत्वाकांक्षी हो। विद्यार्थी जीवनमा धेरै घुम्न पाइँदैन। त्यही पनि त्यतिका धेरै चरा खोज्ने आँट गरेर मैले त्यस्तो लक्ष्य राखेको थिएँ।
वर्षको पहिलो दिन अमेरिकाको नर्थ डाकोटाको फार्गो सहरको माइनस ३० डिग्री सेल्सियस चिसोमा चरा खोज्न निस्किएको थिएँ। त्यो बेला जम्मा ६ प्रजातिका चरा भेटेँ।
सन् २०२२ मा मैले देखेको सबभन्दा पहिलो चरा थियो- नर्दन स ह्वेट आवल।
यो मलाई एकदमै मनपर्ने चराहरूमध्ये पर्छ। यो उल्लू एकदमै सानो हुन्छ। १८-२० सेन्टिमिटरको मात्र। त्यसैले खोज्न गाह्रो पनि। बिहान र साँझ सिकार गरेर दिउँसो सदावहार रूखमा बस्छ। त्यसैले दिउँसो खोज्न हिँडे एउटा-दुइटा भेट्न सकिन्छ। त्यो दिउँसो अमेरिकाको फार्गो सहरका तीन-चार वटा पार्क डुलेको थिएँ।
फार्गोमा चिसो याममा चरा हेर्नु/खोज्नु (विन्टर बर्डिङ) फलदायी हुँदैन। चिसो हुने भएकाले धेरै किसिमका चरा पाइँदैनन्। रूखका पात झरेकाले बसाइसराइ नगरेका चराहरू भने देखिन्छन्। अझै राम्रोसँग देखिन्छन् उल्लूहरू। मेरा प्यारा र मनपर्ने प्रजाति।
तीमध्ये अमेरिकामा सजिलै नभेटिने ग्रेट ग्रे आवल हो। यी अग्ला उल्लू हुन्। यिनीहरूको पुच्छर लामो हुन्छ। अनुहार विशेष हुन्छ जसलाई फेसियल डिस्क भनिन्छ अर्थात् अनुहार अगाडिको भाग प्वाँखले छोपेको। यी डिस्कले आवाज जम्मा गर्न मद्दत गर्छन्। ग्रेट ग्रे आवलको छातीमा भएको सेतो पनि नौलो देखिन्छ। बो-टाई नै पो लगाएको हो कि झैं!
यो चरा खोज्न फार्गोमा सम्भव छैन। करिब ५ घन्टा गाडी चलाएर उत्तरतिर लाग्नुपर्छ। जाडो महिनाको त्यो कठ्यांग्रिने चिसोमा ग्रेट ग्रे आवल खोज्न सुपेरियर तालबाट डेढ घन्टा उत्तरतिर लागेँ म।
खोज्न हिँडेको तीन वर्षपछि अघिल्लो वर्ष बल्ल भेटेको थिएँ। तर त्यो उल्लू एक-दुईचोटि मात्र भेटेर मन भरिएको थिएन। फेरि खोज्न मन लागेर यात्रा तय गरेँ।
सुपेरियर तालसँग जोडिएको दुलुथ सहरमा एयरबिएनबी बुक गरेर बसेको थिएँ। भोलिपल्ट अँध्यारोमै त्यो उल्लूको खोजीमा निस्केँ। ग्रेट ग्रे पनि अरू उल्लूजस्तो धेरैजसो बिहान र बेलुका सक्रिय हुन्छ। हिउँमुनि कुदिरहेको मुसाको आवाज सुनेर त्यसलाई समाउन पर्ने यो उल्लूलाई घाम लागेपछि टल्किने हिउँ खासै मन पर्दैन रहेछ। त्यसैले बिहान र बेलुका सूर्योदय र अस्त हुनुअगाडि नै सिकार गरेर आफ्नो दिन बिताउने रूखतिर लाग्दो रहेछ।
पहिलो दिन भेटिएन। खोज्न हिँडेकै दिन वा मन लाग्यो भन्दैमा कुनै पनि चरा भेटियो भने त के मज्जा र? उल्लू त झन् के पाइन्थ्यो!
म अरू पहिल्यै देखिसकेका चराहरूको फोटो खिचेर दुलुथ नै फर्किएँ। भोलिपल्ट बिहानै उठेर हिँडे। जंगलभरि हिँडेर सकिँदैन। गाडीमै गुड्न पर्ने हुन्छ। बिस्तारै गाडी चलाउँदै रूखका टुप्पा हेर्दै हिडेँ। पहिलो आधा घन्टा जस्तो त खासै केही नै देखिएन। त्यो दिन बिहान उल्लू खोजेर साँझ फार्गो फर्किन पर्ने थियो। आश बिस्तारै मर्न थालेको थियो।
त्यही बेला परको एउटा रूखको टुप्पोमा सानो आकृति देखेँ। हेर्दा उल्लू नै हो कि जस्तो। गाडीको गति बिस्तारै बढाएँ। नजिकिँदै जाँदा ग्रेट ग्रे हो जस्तो लागेन। अलि सानो प्रकारको केही थियो।
‘हत्तेरी काग पो हो कि क्या हो?’ त्यही पनि म रोकिइनँ। कागै सही चरा त चरा हो!
ओहो! मान्छेहरू भन्छन् नि— ढुंगा खोज्दा देउता मिल्यो!
उनीहरूले यस्तै संयोगको कुरा गरेका होलान्!
रूखको टुप्पोमा बसेर ट्वाल्ल परेर यताउता हेरिरहेको त्यो त नर्दन हक आवल रहेछ। नर्दन हक आवल बाझझैं लाग्छ। झट्ट हेर्दा हेलमेट लगाएको जस्तो देखिने यी उल्लू हेर्न मज्जा हुन्छ।
यो उल्लू पनि तीन वर्षपछि नै देखेको थिएँ। मन फुरूंग पर्यो। म सडकछेउ बसेर त्यो उल्लूको फोटो खिच्न थालेँ। मलाई देखेर चरा हेर्न आउनेहरू त्यहीँ रोकिए र क्यामरा ठड्याउन थाले।
आफूलाई चाहिने जति फोटो लिएर म फेरि उही ग्रेट ग्रेकै खोजीमा हिँडेँ। आधा घन्टा जस्तो गाडी चलाएपछि म यो उल्लू खोज्न पहिले आएकै ठाउँ पुगेँ।
त्यो सडक धेरैपटक ओहोरदोहोर गर्नुपर्छ भन्ने थियो, परेन। पहिलो पटकमै देखेँ। एउटा रूखको हाँगामा बसेको थियो ग्रेट ग्रे, मानौं मलाई नै कुरिरहेको थियो। उसले मैतिर हेरेको देखेर म दंग पर्दै एक्कैछिन रोकिएँ।
यो उल्लू बोरियल जंगलमा मात्र पाइने भएकाले म बस्ने ठाउँतिर पाइँदैन। अमेरिकाको उत्तरी भागतिरको बोरियल जंगलतिरै लाग्नुपर्छ। बोरियल भन्नाले उत्तरी भेग बुझिन्छ। धेरैजसो वर्च (भोजपत्र प्रकारका रूख) र कोनिफरहरू (सल्लो प्रजातिको रूख) धेरै हुने जंगल।
ग्रेट ग्रे भेट्दासम्म मेरो चराको सूची ३०/३५ तिरै थियो। ५० कट्नका लागि त बसन्त ऋतु नै कट्न पर्थ्यो। बसन्तको आगमनसँगै फार्गोमा धेरै चराहरू आउँथे।
एकदिन फार्गोमै आइपुग्यो अर्को खोज्न गाह्रो चरा बोरियल उल्लू। यो चरा फार्गोमा आउनु ठूलो कुरा थियो। यो बोरियल उल्लू त अमेरिकाको उत्तरी भेगको जंगलमा पनि भेट्टाउन गाह्रो हुन्छ।
संयोगले साथ दिएर होला, सन् २०२२ मा पहिलो पटक बोरियल देखियो। यो उल्लू भने मेरो लागि लाइफर थियो। सायद त्यो बसाइ सर्दै थियो।
हिउँले सजिएको फार्गो बिस्तारै हराभरा हुन थाल्यो। चराहरू आउँदै गरे। तिनका गीतले फार्गोका जंगल गुञ्जिन थाले। म भने आफ्नै अनुसन्धानको कामले बिहानभरि फिल्डतिर हुन्थेँ। समयसमयमा इ-बर्ड (आफूले देखेको चराहरू रेकर्ड गर्ने एउटा अनलाइन डेटाबेस) हेरिरहन्थेँ।
एकदिन बिहान भँगेराका बच्चाहरूको तौल नापिवरी गुँडमा राखेर अर्को गुँडतिर जाँदै थिएँ। बाटोमा एउटा सानो पोखरी छ। त्यहाँ कहिलेकाहीँ अनौठा चराहरू आउँछन्। त्यो दिन भने सामान्य चराबाहेक केही थिएनन्। तर त्यहाँ बसेर अरू चरा आउँछन् कि भनेर कुर्दै थिएँ। इ-बर्ड हेर्न भ्याएँ।
ठ्याक्कै त्यही बेला एक जनाले अर्को लाइफर फार्गोमै भेटिएको देखेछन्।
कामले हिँड्न त मिल्दैन थियो। तर सजिलै नदेखिने, आफ्नो लागि लाइफर फार्गोमै भेटिएको सुनेपछि मेरो मन धुकचुक भयो। म एक्कैछिनमा आउँछु भनेर दौडिएँ।
जसलाई हेर्न दौडिएको थिएँ, त्यो चरा थियो ‘समर ट्यानेजर’। समर ट्यानेजर सम्भवतः अमेरिकामा पाइने एउटै मात्र पूर्ण रूपले रातो चरा हो। यो चरा एकदम सुन्दर हुन्छ। हतारिँदै पार्कमा पुगेँ। त्यसलाई देख्न कम आतुर थिइनँ म।
मलाई हतार छ भन्दैमा चरा कहाँ भेटिन्छ!
भेटिएन। बर्डिङको कथा यस्तै हुन्छ। चराको पछि कुद्यो, ऊ अर्कैतिर गइदिन सक्छ। भेट्छु भनेर हुँदैन।
साँझ थाहा भयो, अरू मान्छेहरूले मभन्दा पछि गएर पनि भेटेका रहेछन्। आफूले खोजेको चरा सजिलै भेटियो भने मज्जा पनि हुँदैन भनेर चित्त बुझाएँ। आखिर मैले त्यो चरा भेट्दै भेटिनँ।
सन २०२२ मेमा मेरा लागि अर्को लाइफर फार्गोको एउटा घरमा आएछ। नाम— लाजुलाई बन्टिङ। यो फार्गोतिर भन्दा अमेरिकाको पश्चिमी भेगमा पाइन्थ्यो।
एक जना बर्डर (चरा हेर्ने/खोज्ने) ले दिएको सूचनाले म खुसी र दुखी एकैपटक भएँ। किनभने यो चरा कतै पार्क वा जंगल र सडकतिर होइन अर्काको घरमा थियो। अर्काको घरमा त कसरी जानु?
मान्छेले आफ्नो घर वरिपरि नयाँ चरा वा सजिलै नपाइने चरा देखे भने सुइँको पनि दिँदैनन्। सजिलै नभेटिने चरा कहीँ देखिइहाल्यो भने हेर्नेहरूको लाइन लाग्छ। आफ्नो घरमा भिड बढाउन को चाहन्छ?
तर लाजुलाई बसेको घरका घरभेटीलाई भने मान्छेको लर्को लागे पनि खुसी नै हुन्छन् रे। ती बर्डरले मलाई दिएको यो पछिल्लो खबर पाएर म उफ्रिँदै त्यता गएँ। त्यो बगेडी चरा फिडर (चराका लागि खानेकुरा राखिएको भाँडो) माथि बसेर दाना खाँदै थियो।
एकछिन दूरबिनले नियालेँ— उसको निलो चम्किलो रङ र सुन्दरता हेरेर मुग्ध भएँ। दुई-चार वटा फोटो खिचेर निस्केँ। मैले घरभेटीलाई धन्यवाद भन्न यताउता हेरेँ, देखिनँ। मनमनै भनेर फर्किएँ।
गर्मी सकिँदासम्म अरू धेरै नियमित चराहरू जोड्दै गएँ। अगस्टसम्म २५६ वटा पुर्याएको थिएँ। पाँच सय चरा अझै धेरै परको कुरा थियो। तर म नेपाल जाँदै थिएँ, त्यसैले ढुक्क थिएँ।
अगस्टदेखि नोभेम्बरसम्म अमेरिकामा खासै नयाँ चरा भेटिएन।
२१ नोभेम्बरमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि सुरू भयो बर्डिङ। सन् २०२२ का लागि नेपालको पहिलो चरा थियो विमानस्थलमै उडिरहेको घरकाग। मेरो सूचीका लागि नयाँ नभए पनि वर्षको लागि त्यो पनि नयाँ चरा नै थियो।
काठमाडौं पुगेको भोलिपल्ट बिहानै उठेर मुहान पोखरीसम्म दौडिन गएँ। झिसमिसेमा पसल खोल्न उठेका मान्छेहरू सँगै घर र रूखभँगेरा पनि दिन सुरू गर्न तयार हुँदै थिए। पात सिउने फिस्टे रूख-रूख चहार्दै पिँप-पिँप-पिँ-पू गर्दै कराइरहेको थियो। आवाजले चरा चिन्नु धेरै गाह्रो कुरा हो, म त्यसमा कमजोर छु। तर पात सिउने फिस्टेको आवाज भने सम्झिन सजिलो छ।
मुहान पोखरीस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको देब्रेपट्टी पर्ने चिया पसल मलाई एकदम मन पर्छ। त्यहाँ बसिरहँदा जलखञ्जरीहरू नजिकै आएर पुच्छर हल्लाउँछन्। आँखा चिम्लिएर ध्यानपूर्वक सुन्ने हो भने कठफोडवाले रूखमा हान्दै गरेको आवाज सुनिन्छ। बुंगे चराको तिखो आवाजले छेउमै बगिरहेको खोलाको आवाजलाई समेत जित्छ। राता र पहेँला देखिने जोडी रानी चरीहरू हरिया रूखका पातमा रङ भर्दै उडिरहेका हुन्छन्। कहिलेकाहीँ त थोप्ले खोले धोबिनी पनि पानीको नजिक आएर आफ्नो पुच्छर हल्लाउँदै हुन्छन्।
त्यस दिन भने थोप्ले खोले धोबिनी भेटिएन। अरू सबैजसो चरा भेटिए।
भोलिपल्ट बिहानै उठेर रानीबारी गएँ। काठमाडौंको रिङरोडभित्र कंक्रिट जंगलको बीचमा बाँकी रहेको भित्री जंगल हो रानीबारी। त्यहाँ अझै पनि धेरै चराचुरूंगी पाइन्छन्। अझ स्यालको परिवारै रहेछ। चरा खोज्न हिँड्दा स्याल भेटेर म दंग परेँ। यस्तै रानीबारीहरू सहरभित्र अरू पनि भए कस्तो हुन्थ्यो? मान्छेहरू हिँड्न मात्र होइन, धेरै चराहरू बिहानपख रमाउन पाउँथे।
रानीबारी पुग्न नपाई सुनेको पहिलो चरा थियो न्याउली। मैले उसलाई देखिसकेको थिइनँ। एकोहोरो कराए पनि न्याउलीको गीत एकदमै सुरिलो र मिठो लाग्छ। त्यही मिठासमा चर्को आवाज जोड्दै कण्ठे सुगाहरू एउटा रूखको टुप्पोबाट अर्कोमा जाँदै थिए। आकाशमा कावा खाँदै काठमाडौं नियालिरहेका काला चील पनि बीचबीचमा आफ्नो चर्को आवाजले भनिरहेका थिए- हामी पनि छौं है यता!
मैले न्याउली, सुगा, चील सबैलाई आफ्नो सूचीमा जोडेँ।
रानीबारीमा बर्डिङ सक्दासम्म मेरो वार्षिक सूचीमा तीन सय चरा पुगे। बाँकी दुई सय।
अन्नपूर्णतिर ट्रेकिङ, फर्किँदा पोखरा र चितवन अनि कोशी टप्पू जाने योजना थियो। म ढुक्कै थिएँ, दुई सय चरा भेट्छु भनेर। साथीलाई लिएर तेह्रथुम हुँदै संखुवासभाको गुफा पोखरी पनि जाँदै थिएँ।
रमाइलो कुरा, पूर्व जाने बस कुरेर बसिरहँदा कोटेश्वर चोकमै बार्न आवल (उल्लू) देखियो। चरा खोज्ने ट्रिपको राम्रो सुरूआत भयो।
काठमाडौंमा मनहरा खोला वरिपरि र टौदह गरेर ३३५ वटा चरा पुगिसकेका थिए। त्यसपछि डिसेम्बर ८ मा कोशी टप्पूतिर लागेँ। त्यहाँ मैले लाइफर त भेटिनँ, सूची ३८९ पुग्यो।
अबको यात्रामा माथिल्लो भेगमा पाइने चराहरू थपिन्छन् भन्ने सोचाइले पनि यसै पुलकित। लेकचरी मेरो लागि नयाँ नभए पनि वर्षका लागि नयाँ हुन्थ्यो र मलाई एकदमै मन पर्ने चरा पनि हो।
तेह्रथुमको बसन्तपुरबाट म र साथी हिँड्दै गुफा पोखरीतिर लागेको थियौं। बाटोमै पर्ने पाथीभरा मन्दिर पुग्दा पारि मकालु हिमालको मनमोहक दृश्य देखिँदो रहेछ। मन्दिर छाडेर माथि जाने बाटो लागेपछि केही बेरमा एउटा 'पास' आयो। दुइटा ढुंगाले गेट नै बनाएको झैं। त्यो पासबाट अगाडि बढ्दै जाँदा केही उडेर आएको देखेँ। त्यो सानो चरा उडेर एउटा रूखपट्टी गयो। घाम टल्किएको हुनाले म अर्कोपट्टी पुगेँ।
मेरो साथीले भने आफू बसेकै ठाउँबाट क्यामरा तेर्साएर हेर्न भ्याएछ।
‘ओहो उल्लू!’
ऊ उत्साहित भएर करायो। म फेरि पछाडि नै दौडिँदै आएँ र क्यामरा तेर्साएर फोटो खिचिहालेँ। मैले दुइटा सट लिन भ्याएछु। एउटा राम्रो आएछ, अर्को ब्लर!
‘जंगल आउलेट’ (डुण्डुल), मेरा लागि यो लाइफर थियो।
जंगल आउलेट सानो प्रकारको उल्लू हो। यो लगभग गोलो आकारको देखिन्छ। धेरैजसो आउलेट वा सानो उल्लूहरूको टाउकोपछाडि आँखा जस्तो देखिने आकृति हुन्छ। सिकारीहरूलाई झुक्याउन उसको टाउकोपछि यस्तो आकृति विकास भएको मानिन्छ। जंगल आउलेटमा भने त्यो हुँदैन। उल्लू मनपर्ने मलाई तेह्रथुमको यो घमाइलो पहाडमा जंगल आउलेटले मजा गरायो। मनमनै फुर्किरहेँ।
गुफा पोखरीको यात्रामा धेरै चरा भेटिएमध्ये मलाई एकदम मनपरेको चरा थियो ‘चेस्टनट टेल्ड मिन्ला’।
मेरो लागि त्यो चरा नयाँ थियो। खैरो ढाड, पेटतिर पहेँलोपहेँलो भाग। त्यसमाथि रातो पुच्छरले उसलाई एकदम अलग बनाएको हुन्छ।
तराई झरेपछि हामी विराटनगरदेखि १५ किलोमिटर पूर्वमा पर्ने बेतना सिमसार गयौं। यहाँ पहिले गएको थिइनँ। चराचुरूंगी र हिँड्नका लागि एकदम राम्रो ठाउँ भन्ने सुनेको थिएँ। तर 'पिकनिक स्पट' बनाएका रहेछन्। धेरै मान्छे आउने भएर चराहरू भने आउन छाडेछन्।
कोशी टप्पू र गुफा पोखरीको यात्रा सकेर फर्किँदासम्म ४२२ प्रजातिका चरा मैले भेटिसकेको थिएँ। अझै धेरै ठाउँ जान थियो। म मनमनै खुसी भइरहेकै थिएँ।
काठमाडौं पुगेपछिको साँझ घर बसेर आफ्नो यात्रामा खिचेको फोटाहरू मिलाउँदै थिएँ। बाहिरबाट कोही चिच्याएको जस्तो आवाज आयो। सुरूमा त खासै ध्यान दिइनँ।
एकछिनमा मनमा आयो, न उल्लू पो हो कि!
दौडिँदै छततिर लागेँ। नभन्दै छिमेकीको घरको झ्यालमा कोचल गाँडे लाटोकोसेरो कराइरहेको रहेछ। अझै रमाइलो त उसले कराएको सुन्दै पर कतै अर्को पनि उल्लू कराइरहेको थियो।
त्यो उल्लू मेरा लागि लाइफर नभए पनि सन् २०२२ का लागि नयाँ थियो।
'चरा नम्बर- ४२३। स्पटेड आउलेट (कोचल गाँडे लाटोकोसेरो)।
स्पटेड आउलेट पनि एउटा सानो प्रकारको उल्लु हो। गोलो टाउको, सानो पुच्छर र सजिलै देखिने सेतो आँखीभौं भएको। धेरैजसो घरतिरका प्वालहरूमा गुँड बनाएर बस्ने यो उल्लु काठमाडौं वरिपरि सजिलै देखिन्छ।
अब बाँकी ७७।
काठमाडौं आएदेखि मुहान पोखरी मात्र पुगेको थिएँ। शिवपुरी राष्ट्रिय निकुञ्ज पसेको थिइनँ। चरा हेर्न शिवपुरीजस्तो राम्रो ठाउँ कतै नहोला। शिवपुरीमै मात्र करिब ३२५ प्रजातिका चरा रेकर्ड गरिएको छ। डिसेम्बर १८ को दिन बिहानै उठेर म र साथी चरा खोज्न माथितिर लाग्यौं।
मुहान पोखरी पुग्नुअगाडि नै पहिले सुनेको तर गीत र कल (चराहरूले संकेत गर्न प्रयोग गर्ने छोटो प्रकारको आवाज) याद नभएको एउटा चराको हल्ला सुनेँ। हल्ला गरेकै हिसाबले त्यो चरा तोरी गाँडा हो भन्ने थाहा पाइसकेको थिएँ। तर कुन भन्ने ठम्याउन सकिनँ। एक/दुई मिनेट हल्लाखल्ला भएको ठाउँतिर हेरिरहेँ। बल्ल भुर्र उडेको देखेँ। धेरैबेर हेर्न नपाए पनि कुन चरा हो भनेर थाहा पाइहालेँ। खैरोखैरो ज्यान भएको चरामा सेतो टाउको।
शिवपुरीको त्यो यात्रामा ४५५ चरा पुर्याए। लाइफर भेटिनँ। वर्षमा पहिलोपटक देखेका चाहिँ धेरै भइसकेका थिए।
४५५ अंकसँगै पोखरा गएँ। गएको दिन धेरै जोडिएन। लेकसाइडमै बसेर खाजा खाइरहँदा फेवातालमाथि उड्दै गरेको ‘अस्प्रे’ मलाहा चील देखेँ। नयाँ नभए पनि मलाई एकदमै मनपर्ने चरा हो। मलाई पोखरी र तालको छेउमा बसेर अस्प्रेले माछाको सिकार गरेको हेर्न एकदम रमाइलो लाग्छ।
भोलिपल्ट बिहान पोखरा डुल्दा छ-सात अंक थपियो। दिउँसो घान्द्रुक गइयो। धेरै वर्षपछि पुगेको घान्द्रुक नयाँ जस्तो लागिरहेको थियो।
घान्द्रुकमा देखेको पहिलो चरा युरेसियन केस्ट्रल (बौंडाई)।
दोस्रो भने अलिक रोचक चरा देखेँ— रसेट स्प्यारो (कैलो भँगेरा)। मलाई कैलो भँगेरा पहिले देखेको याद छैन। यो मेरा लागि लाइफर नै हुन गयो।
घान्द्रुकबाट टाढापानी हुँदै हामी खोप्रातिर लाग्यौं। बाटोमा धेरै प्रजातिका चरा देखिए। पहिला अन्नपूर्ण क्षेत्रकै चरामा काम गरेकाले मलाई त्यता बर्डिङ गर्न एकदम सहज लाग्यो। धेरै चरा मैले चिनेका थिए। त्यहाँ धेरै लाइफर भेटिन्छ भन्ने लागेको थिएन।
खोप्राबाट २८ डिसेम्बरको दिन तातोपानी पुग्दा अँध्यारो हुन लागिसकेको थियो। झोलुंगे पुल तरेर सडकपट्टी निस्किन खोज्दै थिएँ। ढुंगामाथि दुइटा चरा चलिरहेका देखेँ। सुरूमा त कालो कालो देखिएको थियो। कल्चौंडे होला जस्तो लाग्यो। फेरि कल्चौंडेभन्दा अलि ठूलो हो कि जस्तो लागेर दूरबिनले हेरेँ। नभन्दै फरक रहेछ।
त्यो त ब्राउन डिपर (खैरो वन्जूल) रहेछ। यो गाढा चक्लेटी रङको चाँचरजस्तै चरा हो। धेरैजसो बगिरहने पानीको वरपर पाइन्छ।
चरा नम्बर ४८६! मेरो लागि लाइफर!
अब १४ वटा चरा मात्र त हो। तर दिन पनि छोटिँदै थिए। मनमा आधा आशा र आधा निराशा भइरहेको थियो। बसमा हल्लिँदै झ्यालबाहिर हेर्दै गर्दा म सोच्दैँ थिए, १४ नयाँ प्रजाति त पोखरामा पाइन्छ पक्कै! साँझ पुगेर पनि खोजिन्छ। भोलि पूरै दिन छ। शान्ति स्तुपतिर पनि पाइएला!
त्यताबाट दिपाङ तालतिर पनि जाने योजना थियो। एक जना भाइले त्यहाँ धेरै चरा पाइन्छ भनेका थिए। ती दुई ठाउँ गरेर त पक्कै पाइन्छ १४ वटा!
कुस्मानजिकै रूखभरि लटरम्मै बसेका सेतो गिद्ध देखेँ। मेरा लागि एकएक नम्बरको कति महत्व थियो।
पोखरा पुग्दासम्म अरू केही भेटिएन। साँझसम्मै पनि नयाँ केही भेटिएन। भोलिपल्ट बिहानै उठेर शान्ति स्तुपतिर लागेँ। चराचुरूंगीको चिरबिरले पूरै डाँडा हल्लामा परिणत भएको थियो। लाम्पुच्छ्रे, कल्चौंडे, रानीचरी, फिस्टे, बुंगेचरा, न्याउली। तर स्तुप पुग्दासम्म तीन वटा प्रजाति मात्र थपिए।
४९० चरासहित म दिपाङ तालतिर लागेँ। वर्षका लागि पानी हाँसहरू थिएनन् र तालमा पक्कै केही न केही भेट्ने आश थियो। तर त्यस्तो भएन।
दिपाङ ताल भने एकदमै मनपर्यो। अरू ठाउँजस्तो हल्लाखल्ला नभएको। शान्त। चराचुरूंगीको हिसाबले प्रवर्द्धन गर्नपर्ने ठाउँ रहेछ। तालबाट फर्किँदा झन्डै साँझ परिसकेको थियो। तालबाट बाहिर निस्किने सडकमा हिँड्दै गर्दा परपट्टी रूखमा सानो डल्लो देखेँ। आफूलाई जस्तो डल्लो देखे पनि उल्लू हो कि झैं लाग्छ। एकचोटि दूरबिन निकालेर हेरेँ। नभन्दै उल्लू नै रहेछ, ठूलो डुन्डल। तर त्यो यो वर्षका लागि पनि नयाँ थिएन।
३० डिसेम्बर, २०२२ को अन्त्यसम्म म ४९० प्रजातिमै थिएँ। मुटु ढुकढुक भइरहन्थ्यो। मैले आश मार्नमार्न लागिसकेको थिएँ। तर जिन्दगीमा संयोग हुन्छ भन्ने कुरा त म किन बिर्सिऊँ? चराका लागि त म संयोगमै पनि भर परिदिन सक्छु। हुन त पखेटा हालेर उड्नेहरूको भर हुँदैन। यस्तै भर नभएका चरामै आफ्नो मन बसेको छ।
‘एक दिनभरिमा दस वटा चरा किन नभेटिएला हौ?’ मनमनै भन्थेँ।
३१ तारिख बिहानै चितवन गइयो। एकाबिहानै हिँडेका थियौं। बाटो चार घन्टा बन्द गरिने भएकाले जामअगाडि नै कट्ने विचार थियो। चाँडै पुगिन्छ भन्ने हिसाब थियो। पुगेदेखि दस वटा चरा केही ठूलो कुरा हुँदैन थियो। पोखराबाट मुग्लिङसम्मको बाटो ठाउँठाउँमा गतिलो थिएन। त्यसमाथि मुग्लिङमै जाममा फसियो।
ज्यान जाममा फसे पनि मन चितवनको जंगल घुमिसकेको हुन्थ्यो। नयाँ चराको कल्पनाले निकै उत्साहित बनाउँथ्यो, परिस्थितिले भने उही बसको सिटमा पछार्थ्यो। म घरिघरि बसबाट बाहिर निस्किन्थेँ, वरिपरि एउटै भए पनि चरा भेटिन्छ कि भन्ने आश लिएर। तर त्यो हल्लामा चरा किन आउँथे र!
'तीन बजे जाम खुले पनि चितवन पुग्दा अलिकति त समय हुन्छ नि,' म आफूलाई सम्झाउँथेँ। आफूलाई सम्झाउनु निकै कष्टदायी कुरा हो। त्यही पनि मान्छेसँग कुनै विकल्प हुँदैन।
नभन्दै तीन बजे जाम खुल्यो। मेरो मनले त दस वटा चरा भेटेझैं खुसियाली मनायो। तर जिन्दगीमा जामहरूको कुनै भर हुँदैन, जसरी चराको हुँदैन। ऊ जतिखेर पनि तपाईंकै अघिबाट भुर्र उडिदिन सक्छ। वा तपाईं पुग्न लागेको ठाउँबाट तपाईंभन्दा अघि बेपत्ता भइदिन सक्छ। त्यसैले सायद मलाई चरा खोज्दा र भेट्दा औधि खुसी लाग्छ।
चितवन पुग्दा अँध्यारो भइसकेको थियो। चराहरू आफ्नै गुँडमा फर्किसके!
अनि म ४९० मै मख्ख परेँ।
लक्ष्य पूरा नभए पनि वर्षभरिको चरा यात्रा निकै रोमाञ्चक रह्यो। यादगार भयो। यही उत्साहमा मैले सन् २०२३ का लागि ६०० प्रजातिको लक्ष्य लिएँ। त्यहीअनुसार अगाडि बढेको छु।
तर संख्या जति नै पुगोस्, चरा भेट्दा हुने सन्तुष्टिको कुनै मापन हुँदैन!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)