संसारको एउटा तुक्ष्य रहस्यले मेरो शरीरका हरेक अंगलाई बिस्तारै छुन आउँदै थियो। उदाउँदै गरेको घामको स्पर्शले मेरो शरीरलाई कुतकुताउन खोज्दै थियो। मानौं मेरो तनमा कहिले पनि उज्यालो र बिहानीको सूर्यको किरण परेको थिएन। त्यहीले मेरो शरीरको कुनामा बिहानीको मलिनो घामको किरण पस्न खोज्दै थियो होला सायद। तर अहिलेसम्म किन घामका किरणहरू मेरो कोठामा छिर्न पाएन? के कुराले छेक्यो मलाई? किन ती किरणहरू छिराउन सकिनँ? यी प्रश्नका उत्तर स्वयं मसँग छैन तर लामो समयपछि मैले त्यो झ्याल खोल्ने मौका पाएकी छु।
खडेरीमा एक्कासि परेको झरीले आफ्नो अगाडि जे भेट्यो त्यो आफूसँग लिएर बगाउँदै लैजान्छ। हामी पनि पहिलोपटक त्यहाँ पुग्नासाथ त्यस्तै भएको थियो मानौं कि खडेरी पछिको झरी।
कात्तिक २९ गते म र मेरो साथी तीनकुनेस्थित रहेको निशाय सेवा साधन वृद्ध आश्रम गएका थियौं।
भित्री मनको दुखाइले भन्दा शारीरिक दुखाइले च्यापिएका वृद्ध बाआमाको जीवनबारे बुझ्न हामी त्यहाँ गएका थियौं।
उक्त आश्रममा ३६ जना वृद्ध आमाबाले बस्नु हुँदो रहेछ। जसमध्ये ३३ जना आमा र ३ जना बा हुनुहुन्थ्यो। त्यहाँ आमाबा मात्र नभई ११ जना सहयोगीहरू हुनुहुन्थ्यो। आमाबाको स्वास्थ्यको ख्याल राख्न एक स्वास्थ्यकर्मी हुनुहुन्थ्यो।
हामी त्यहाँ जाँदा मनमा अनकौं प्रश्नहरू लिएर गएका थियौं। कतिपय प्रश्न त सोध्न उचित होला कि नहोला भन्ने पनि लागिरहेको थियो।
त्यसैले मनभरि भएका प्रश्नहरूलाई थाती राखेर कुर्सीमा बसेको आमासँग कुरा गर्न थालेँ। उहाँको नजिकै दुई वृद्ध आमा र बा पनि हुनुहुन्थ्यो। त्यसैको अर्को पल्लो छेउतिर एक अल्जाइमरको बिरामी सोफामा पल्टिइरहनु भएको थियो।
मैले सुरूमा कुर्सीमा बसेकी छयासी वर्षीया आमासँग कुरा गरेँ। आमाको घर खोटाङ रहेछ, नाम दिव्यलोका दाहाल। पहिले नै आफ्नो श्रीमान बितेको र कुनै पनि सन्तान रहेनछ। त्यसपछि आफू एक्लै भएको बताउनुभयो।
‘काठमाडौं आएपछि आधाभन्दा बढी जिन्दगी एक्लै नै बित्याएँ’, उहाँले भन्नुभयो।
उहाँ आश्रममा आएको दुई वर्ष भएछ। आमासँग कुरा गर्दै जाँदा आमाले भित्री मनको दुखाइभन्दा शारीरिक दुखाइका बारेमा पीडा पोख्नुभयो। आमालाई सुगर रोग लागेको रहेछ।
जाडो महिनामा शरीरका हात, खुट्टा र जोर्नी दुखेर साह्रै गाह्रो पर्ने बताउनुहुन्थ्यो। सिँढी चढ्न र ओर्लन पनि लठ्ठीको सहारा लिनुपर्ने उहाँको भनाइ थियो।
‘गाउँमा हुँदा रूखबाट लडेर लागेका चोटहरूले निकै सताउँछन् नानी’, उहाँले आफ्नो विगत सम्झँदै भन्नुभयो।
विडम्बनाको कुरा भनौं या अन्य केही। तेल कसैले नलगाइदिँदा आफैंले लगाउने गरेको बताउँदै हुनुहुन्थ्यो। यो कुरा सुन्दा निकै नरमाइलो लाग्यो। औषधी उपचार पनि स्वयंले गर्दै आउनुभएको रहेछ तर अझै पनि निको भएको छैन।
यो त एक जना आमाको मात्र कथा थियो। यस्ता कथा आश्रमका हरेक कोठा-कोठामा थियो।
तर कोही भने नरेन्द्र श्रेष्ठ जस्ता नि:स्वार्थी व्यक्ति पनि हुनुहुन्थ्यो। जसले आफ्नो जीवन आश्रममा भएका बुढा-बुढीको सेवा गर्न सुम्पिनु भएको थियो। उहाँ भर्खरै मात्र आश्रमका आउनुभएको रहेछ। उहाँ विशेष गरी बिरामी भएका बुबा आमाको हेरचाह गर्नुहुँदो रहेछ। त्यहाँ हुनुभएका कुनै पनि आमाबा कुनै रोगबाट अछुतो हुनुहुन्थेन। कसैले कान राम्ररी सुन्न सक्नुहुन्नथ्यो त कोही अल्जाइमरका बिरामी। धेरै भने रक्तचाप, मधुमेह र थाइराइडबाट ग्रसित हुनुहुन्थ्यो।
यसो भन्दै गर्दा त्यहाँ हामीले आमाहरू वृद्ध अवस्थामा पनि आफैंले आयआर्जन गर्नुहुँदो रहेछ। धेरै जसो आमाहरूले बत्ती काट्नुहुँदो रहेछ। त्यो बत्ती त्यहाँ आउनेलाई नै बेच्नु हुँदो रहेछ। यसरी वृद्धभत्ता बाहेक बत्ती काटेरै भए पनि केही नगद आम्दानी गरिरहनुभएको थियो। यो कुराले हामीलाई निकै प्रेरित गरेको थियो।
अझ एउटा कुनामा एक जना आमा कलमा कपडा सिलाउँदै हुनुहुन्थ्यो। त्यहीँ बस्ने एक जना केटीको लागि कुर्ता र आफ्नो साथीलाई चौबन्दी सिलाइदिँदै हुनुहुन्थ्यो। यसरी एक आपसमा मिलेर बसेको देख्दा निकै हर्षित पनि भएका थियौं।
सबैका अनुभवबाट सिक्ने केही न केही कुरा थियो। सबैको कथाले भावविह्वल बनाउँथ्यो। यस्ता घटना थुप्रै थिए।
कोही आमाहरू भने एक्लोपनमा हराइसक्नुभएको थियो। कुनै आमाबालाई बाहिरी संसारको कुनै पनि कुराले फरक नपर्ने पनि थियो। कसैलाई त मानिसको भावले पनि असर नै नपर्ने भइसकेको थियो।
कोही आमाबा आफ्ना लागि साथी खोजिरहनु भएको थियो। आफूसँग आएर बोलिदिए पनि हुन्थ्यो नि भन्ने भाव पनि प्रकट गर्नुभयो। त्यसैले पनि होला हामीलाई आफ्नै नाति-नातिना जसरी माया गर्दै हुनुहुन्थ्यो। कोही आमाबाले स्याउ, सुन्तला र फ्रुटी दिँदै ‘सम्झना राखे माया नमारे’ भन्दै दिनुभयो।
परिवारविहीन होस् वा विछोड सबैकाे अन्तरमनको द्वन्द्व एकअर्कामा फरक थिए तर पनि समय र परिस्थितिले सबैलाई सँगै जोडेर राखेको थियो।