धेरै अभिभावकहरू आफ्ना बालबालिकाहरूले अपेक्षा गरेबमोजिम सही मार्गमा लागेनन् भनेर चिन्ता गर्ने गरेको पाइन्छ। आफ्नो निर्देशन, अर्ती या मार्गदर्शनअनुरुप बालबालिकाहरू अघि नबढ्दा निराश हुने अभिभावकहरूको संख्या पनि ठूलो छ।
विभिन्न कुलतमा लाग्ने, झुटो बोल्ने, स्वैर कल्पनामा डुब्ने, महत्त्वकांक्षी हुने तथा आफ्ना अग्रजहरूलाई नटेर्ने प्रवृत्ति बालबालिकाहरूमा बढ्दै गएको भनेर पनि चिन्ता गरिँदैछ।
बालबालिकाहरूको यस्ता अनपेक्षित व्यवहारबाट दिक्क हुने अभिभावकहरूले उनीहरूलाई अनावश्यक दबाब दिने गर्दा बालबालिकाहरू मानसिक रोगको समस्यामा पर्ने गरेको पनि देखिँदैछ।
बच्चाहरू नबिग्रिऊन्, धेरै पढून् र अनुशासित होऊन् भनेर घरबाट छुट्टाएर होस्टलमा राख्ने उपक्रम पनि बढ्दो छ। आफ्ना बालबालिकाहरूलाई समय दिन नसक्ने अभिभावकले त आफ्नो सन्तान ६ महिना नपुग्दैदेखि बाल स्याहार केन्द्र, मन्टेश्वरीजस्ता संस्थाहरूमा राख्ने गरेका छन्।
यसरी सानै उमेरदेखि परिवारिक वातावरणबाट टाढा रहेका बालबालिकाहरू विभिन्न शारीरिक, मानसिक एवम् सामाजिक जटिलताको शिकार बन्न पुग्छन्। यस्तो परिस्थितिमा उनीहरू भने सुध्रनुभन्दा अझ बिग्रँदै गइरहेका छन्।
प्रत्येक बालबालिकामा केही विशेष गुण र क्षमता हुन्छ जुन अरुसँग नहुन सक्छ। अरुसँग तुलना गरेर आफ्ना बच्चालाई कमजोर साबित गर्न खोज्दा बच्चाको आत्मबल कमजोर हुनजान्छ। बच्चा निराश बन्छ। आफूलाई अपहेलित भएको महसुस गर्न पुग्छ।
यसो हुँदा बच्चामा भएको विशेष क्षमता (कौशल) पनि मुर्झाउन पुग्छ। अनि परिवार र समाजप्रति नै बच्चाले नकारात्मक धारणा विकास गर्न पुग्छ।
शिक्षक तथा अभिभावकले बुझ्नु पर्ने कुरा त के हो भने जीवन आफैमा सिकाइ हो। सिक्ने क्रममा कमीकमजोरीहरू हुनु स्वभाविक पनि हो। तर दृढ इच्छशक्ति र निरन्तरको सार्थक अभ्यासबाट कमीकमजोरीहरूलाई न्यूनीकरण गर्न सकिन्छ। यसको लागि आफ्ना कमीकमजोरीहरूको विवेकशील विश्लेषण गर्न बालबालिकाहरूलाई प्रेरित गर्नुपर्दछ।
काम गर्ने सिलसिलामा भए/गरेका त्रुटीहरूबाट पाठ सिक्दै आफूलाई सच्याउन सक्दा मात्र व्यक्ति सफल हुनसक्छ भन्ने वास्तविकतालाई बुझाउनुपर्ने हुन्छ। पारिवारिक माया, सहयोग, बालबालिकाहरूसँगको सार्थक संलग्नताजस्ता पक्षहरूमा शिक्षक तथा अभिभावकले समुचित ध्यान दिन सक्दा मात्र पनि उनीहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
शिक्षक तथा अभिभावकले बुझ्नु र बुझाउनुपर्ने अर्को महत्त्वपूर्ण कुरा त के हो भने जान/अन्जानमा भएका कमीकमजोरी वा गल्तीहरू स्वीकार गर्न हिच्किचाउनु हुँदैन। गल्ती स्वीकार गर्नु भनैकै आत्मालोचना गर्नु हो। आत्मालोचनापश्चात आफूलाई सही मार्ग हिँडाउन क्रियाशील हुनुपर्छ। यसो भनेको स्वरुपान्तरण हुनु हो।
कतिपय अवस्थामा गल्तीहरू सिकाइका लागि आवश्यक पनि हुन्छन्। गल्तीबाट पाठ सिक्दै आफूलाई सुधार गर्न सके यसले भविष्यमा थप होसियार बन्न मद्दत गर्दछ। आफ्ना कार्यहरूलाई दिगो र भरपर्दो बनाउन आफ्नो गल्तीको आत्मालोचना गर्दै सुधारात्मक बाटोतर्फ अग्रसर हुन आवश्यक हुन्छ।
आजभोलि आफूले गरेका कमीकमजोरीहरू ढाकछोप गर्न अरुको कमीकमजोरीको सहारा लिने प्रवृत्ति नेपाली समाजमा सघनरुपमा विकास भएको पाइन्छ।
आत्मालोचना र स्वरुपान्तरणतर्फ खासै ध्यान नदिने शिक्षक तथा अभिभावकहरू विभिन्न कुतर्कको सहारा लिएर आफूलाई अब्बल साबित गर्ने परिपाटी पनि विकसित हुँदै गएको अनुभूत गर्न सकिन्छ। यसको प्रत्यक्ष प्रभाव बालबालिकाहरूमा पनि पर्ने नै भयो।
बालबालिकाहरूमा देखिएका उमेरजन्य, परिस्थितिजन्य एवम् स्वभावजन्य कमीकमजोरीहरूलाई निस्तेज पार्न भने शिक्षक तथा अभिभावकले बालबालिकाहरूलाई आवश्यकतानुसार आत्मालोचना गर्न र स्वरुपान्तरित हुन अभिप्रेरित गर्नुपर्दछ, गल्ती अपराध होइन भनेर। काम गर्दा गल्ती हुन्छ तर सुधार गर्न सकिन्छ भनेर। बालबालिकाहरूलाई गल्तीबाटै सिक्न सकिन्छ भन्ने सन्देश दिएर।
विभिन्न अध्ययन अनुसन्धानले देखाएअनुसार कार्य सफलताको लागि अभ्यास र गल्तीहरूको महत्त्वपूर्ण स्थान रहन्छ। आफ्नो क्षेत्रमा काम गर्ने सन्दर्भमा व्यक्तिबाट प्रशस्त गल्तीहरू हुन सक्छन् तर त्यस्ता गल्तीलाई सहर्ष स्वीकार गरी भविष्यमा पुनः ती गल्ती नदोहोर्याउन जनाएको प्रतिबद्धता वा अठोट नै आत्मालोचना हो।
अठोट गरिसकेपछि आफूलाई प्राप्त सूचना एवम् जानकारीको जगमा अपेक्षित व्यवहार गर्नु चाहिँ स्वरुपान्तरण हो। आत्मालोचना व्यक्ति आफैले आफ्नो मूल्याङ्कन गर्ने प्रक्रिया हो भने स्वरुपान्तरण आफूलाई परिवर्तन गर्ने कार्य हो।
व्यक्तिको स्वव्यवस्थापन र मूल्याङ्कनका लागि आत्मालोचना महत्त्वपूर्ण मानिन्छ। जब व्यक्तिले आफूलाई सर्वेसर्वा ठान्छ र आफ्ना गल्तीलाई स्वीकार गर्दैन भने समस्या उत्पन्न हुन्छ।
समयअनुसार आफूलाई परिमार्जित गरी वर्तमान समयको मागअनुसार आफूलाई पूर्ण रूपले तयार गर्ने प्रक्रियालाई स्वरूपान्तरण भनिन्छ। स्वरूपान्तरण परिवर्तलाई व्यवस्थित गर्ने एउटा तरिका हो। स्वरुपान्तरण भनेको व्यक्तिले आफूलाई समसापेक्ष बनाउन स्वयम् बदलिने प्रक्रिया पनि हो।
आफ्नो क्षमता र वास्तविक धरातलको सही मूल्यांकन गर्न नसक्दा हामी र हाम्रा बालबालिकाहरू बढी महत्त्वकांक्षी बन्ने गरेका छौं। बालबालिकाहरूलाई आफ्नो औकात र क्षमताभन्दा धेरै ठूलो सपना देखाउनु र सोहीअनुसार अघि बढ्न उक्साउनु भनेको समयको बर्बादी मात्र हो।
आफ्नो क्षमताले धान्न सक्ने क्षेत्र पहिचान गरी सो प्राप्तिका लागि योजनावद्ध ढंगले अगाडि बढ्ने वातावरण सिर्जना गर्न सके बालबालिकाहरू स्वयम् समय सापेक्ष रुपान्तरित हुन सक्छन्।
स्वरूपान्तरण भनेको आफ्नो क्षमता मुताविक सुध्रने इच्छा शक्ति त हो तर त्यस्तो इच्छाशक्ति, देखासिकी र स्वैरकल्पनाभन्दा माथि धरातलीय यथार्थतामा आधारित हुनुपर्दछ। परिवेश र सन्दर्भका जगमा आफूलाई समसामयिक बनाउनु पनि स्वरुपान्तरण हो।
आफूबाट जानेर या नजानेर भएका कमीकमजोरीहरूको आत्मसमीक्षा गर्ने वातावरण घरमा अभिभावकले र विद्यालयमा शिक्षकले निर्माण गर्नुपर्दछ। भुलवश भएका कमीकमजोरीहरू स्वीकार गर्दै परिवर्तन गर्न खोजेको बानीको लागि निरन्तर अभ्यास गर्न बालबालिकाहरूलाई प्रेरणा दिनुपर्दछ।
आफू जिम्मेवार बन्न प्रयत्नशील रहनु पर्दछ। बालबालिकाहरूको रुचि र क्षमताभन्दा माथि उठेर गरिएका कतिपय निर्णयहरू तत्कालीन रूपमा ठिक जस्तो देखिए पनि कालान्तरमा यी कार्य परिवार, समाज र स्वयम् बालबालिकाहरूका लागि पनि घातक बन्न सक्छन्। त्यसैले यस्ता कार्यहरूप्रति सजगता अपनाउनुपर्ने हुन्छ।
अरुसँग आफ्ना बालबालिकाहरूलाई तुलना गरेर उनीहरूलाई जबरजस्ती इच्छाविपरीतको क्षेत्रमा लगाउन खोज्दा झन् समस्या आउनसक्छ। दयालु बन्ने, अवसरहरूको न्यायोचित वितवरण गर्ने, प्रतिभा प्रस्फुटनका लागि अनुकूल वातावरण निर्माण गर्ने कार्यमा विशेष ध्यान दिनुपर्दछ।
आत्मालोचना जीवनमा सफल हुनाको लागि गरिन्छ। आत्मालोचनाले जीवनमा बाँच्ने कला सिकाउँछ। रूपान्तरणका लागि बालबालिकाहरूलाई उनीहरूको व्यक्तिगत क्षमताको आधारमा लक्ष्य छनोट गर्नु सघाउनुपर्दछ। व्यक्तिगत स्वार्थमा भन्दा सामूहिक स्वार्थमा बालबालिकाहरूलाई क्रियाशील बनाउनु पर्दछ।
आफूलाई रूपान्तरित गर्न बालबालिकाहरूलाई चुनौती ग्रहण गर्ने बानीको विकास गर्नु अति आवश्यक हुन्छ। चुनौतीले अवसर र सम्भावनाको ढोका खोल्दछ। बालबालिकाहरूलाई स्वमूल्यांकन गर्ने अवसर प्रदान गर्दै आफूसँग भएका कमीकमजोरीहरू सुधार गरेर सही मार्गमा हिँड्न सघाउने शिक्षा नै आत्मालोचना र स्वरुपान्तरण शिक्षा हो।
बालबालिकाहरूलाई अनावश्यक दबाब, प्रभाव र करकापमा पारेर उनीहरूको क्षमताविपरीतका कार्यक्षेत्रका अपेक्षा शिक्षक तथा अभिभावकले त्याग्न सक्नु पर्दछ। बालबालिकाहरूलाई आफ्नो कमीकमजोरीहरू वा त्रुटीहरूको बारेमा आत्मालोचना गर्दै सुध्रिने अवसर प्रदान गर्न आवश्यक हुन्छ।
बच्चाको वैयक्तिक भिन्नता, रुचि, चाहना, अपेक्षा र दक्षताको समुचित कदर गर्दै उनीहरूमा भएको विशेष गुणको आधारमा मार्गदर्शन गर्न सकियो भने हामी भविष्यमा एक इमान्दार व्यक्तिको रुपमा आफ्ना बालबालिकालाई पाउन सक्छौं। यसका लागि पनि बालबालिकाहरूलाई आत्मालोचना र स्वरुपान्तरण शिक्षाको आवश्यकता पर्दछ।