पछिल्लो पुस्ताका धेरै नेपाली युवाहरू विदेशमा छन्। कक्षा १२ को पढाइ सकेपछि देश छोड्ने एउटा परम्परा नै बसिसकेको छ। धेरैजसो विद्यार्थी भिसामा अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका आफ्नो भविष्य बनाउन भनेर देश छोड्दैछन्।
केही युवा घरमै छन्। स्थानीय क्षेत्रमा कुनै जागिर गरिरहेछन्। कसैले बाबुले चलाइरहेको व्यवसायमा हात दिएर बसेका छन्।
मलाई युवाहरूले देश छोडेर बाहिर गए भन्नेमा दुखेसो हौइन। किनभने देशको अवस्था त्यस्तै छ। यहाँ बसेर सामान्य काम वा जागिर गरेर उनीहरूको सपना र महत्वकांक्षा पूरा हुँदैन।
मैले अहिलेसम्म त्यो सपना देखिनँ, भोलिका दिनमा उद्देश्य फरक हुनसक्छ, मौका र अवसर मिले देश छोड्दै छोड्दिनँ भन्ने होइन। म देश छोडेर जानसक्छु। तर मैले यहाँ उठाउन खोजेको कुरा यो होइन।
एउटा परिवारको छोरा या छोरी मान्छेलाई जब अष्ट्रेलियाको भिसा आउँछ, उसलाई खादा ओढाएर बिदाइ गर्ने तथा सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लाग्छ। ऊ अहिलेसम्म कुनै काम नलाग्ने मान्छे ठहरिएको र अब चाहिँ काम लाग्ने भयो जसरी सद्भाव पोखिन्छ।
किन ऊ देशमै रहँदासम्म कसैको बधाईको पात्र बन्न सक्दैन?
थोरै भाइबहिनी यस्ता छन् जो कक्षा १२ को पढाइ सकेर अष्ट्रेलिया जाने साथीहरूको लहरबाट छुट्टिएर बिहानको समय कलेज र दिउँसोको समय आफ्नै कुनै व्यवसायमा दिएका छन्। सानो भए पनि बुबाको किराना पसलमा बसेर सघाएका छन्। म आफ्नो परिवार र देशमै रमाउँछु, यो देश हाम्रो सपनाको प्रतिकूल भएपनि यही देशमा कसेर म सपना साकार पार्छु भनेर बसेका छन्।
किन उनीहरूलाई बाहिरको भिसा नआउँदासम्म बधाईको पात्र मान्न सक्दैनन्?
कतिले पैसाको अभाव त कतिले आफ्नै इच्छाले देश नछोडेर सानातिनो काम वा व्यवसाय गरेरै भए पनि आफ्नै परिवार र देशमा बस्ने निर्णय गरेका हुन्छन्। उनीहरूलाई हाम्रो समाजले कहिलै सम्मान गरेको देखेको छैन। ठिक छ बाबु, ठिक छ नानी, तिम्रोजस्तो आफ्नै घरपरिवारमा बसेर देशमै केही गर्ने सबैमा आउँदो रहेनछ भनेदिए नि उनीहरूलाई अलिकति हौसला हुन्थ्यो।
बाहिर झट्ट नदेखिएला तर भित्र-भित्र त्यो परिवारलाई समाजले कमजोर नै देखेको हुन्छ। फलानाको छोराले एक महिनामा यति पैसा पठायो, फलानाले उति पैसा पठायो भनेर चर्चा गाउँभरि फैलन्छ। अनि उसको उदाहरण दिन थालिन्छ अरु पैसा कमाउन नसकेकाहरूलाई। यतिबेला विचरा देशमै बसेर केही गर्छु भन्ने मान्छेको मन कति कुँडिन्छ होला?
समाजले व्यक्तिलाई चिन्ने मापदण्ड पैसालाई मात्र गरायो। पैसा नकमाएको मान्छेलाई गन्नै छोड्यो। समाजमा कहिलेकोहीँ बस्ने बैठकहरूमा पैसा हुने मान्छेकै कुरा अघि, पैसा हुने मान्छेकै कुरा सही। विदेशमा गएर पनि अनेक संषर्ष गर्दागर्दै पैसा कमाउन नसकेको मान्छेलाई हेर्ने दृष्टिकोण र व्यवहार फरक।
जसरी होस् सही होस् कि गलत बाटो, त्यो मतलब छैन। पैसा कमाएर घर पठायो, कतै एक/दुई टुक्रा घडेरी किन्यो र घर बनायो अनि वाह! वाह!
त्यसरी विदेशमा बसेर पैसा पठाउने कसैका छोराछोरीको तारिफ गर्ने मान्छेले त्यही उमेरको अर्को छोरो मान्छे जो गाउँघरमै बसेको छ। एउटा कुखुरापालन होस् या बाख्रापालन व्यवसाय गरेको छ वा कुनै व्यापार वा जागिर गर्दैछ तर पैसा कमाइ बाहिर बस्नेले जति गरेको छैन। ऊ गाउँघरमा मर्दा पर्दा सबैको घरमा एकछिन भए पनि पुगेको छ।
विचरा २०/२२ वर्षको मान्छे गाउँघरमा बसेर कोही मर्दा मलामी भएर घाटमा पनि पुगेको, मान्छे मरेको घरमा राति बत्ती कुर्न पनि पुगेको छ, कसैको बिहे होस् या पूजापाठमा केराको थाम खोज्न पनि हिँडेको छ, जग्य बनाउन पनि पुगेको छ। सबैभन्दा आउँदो पुस्तालाई ऊ दाइ पनि त गाउँघरमै छ नि भनेर एउटा उदाहरण बन्न सकेको छ। खोई यसको सम्मान हामीले कहिले गर्न सक्यौँ?
मैले भनेको बाहिर बसेर पैसा कमाउनेलाई अपमान र देशमै बसेर केही गर्नेलाई ठूलो सम्मान गर्न खोजेको होइन।
देश रेमिट्यान्सले चलेको छ। बाहिरबाट एक महिना मात्र पैसा आएन भने देशको आर्थिक अवस्थामा उथलपुथल आउँछ।
यो पैसा पठाउन नेपालीहरूले कठिन संघर्ष गरेका छन् बाहिर। बरु कसैले उनीहरूका कहिलेकाहीँका घुमघामको फोटा देखेर उनीहरूको वास्ताविक जीवन त्यस्तै बिन्दास छ भनेर सोच्छन् होला। बिन्दास भएर बसेका छन्, कमाइ पनि दामी छ भनेर अड्कल काट्छन्।
मलाई उनीहरूको वास्तविकता थाहा छ। मैले आफैले पढाएका विद्यार्थी भाइबहिनीहरूले कहिलेकाहीँ आफ्नो कुरा सेयर गर्छन्। उनीहरूको कुराकानी सुनेपछि हामीले यहाँबाट देख्ने उनीहरूको जिन्दगी र उता उनीहरूले स्वयमले भोगेको जिन्दगीको फरक थाहा हुन्छ। मैले त्यो कुरालाई नजिकबाट बुझेको छु।
उनीहरूले पठाएको रेमिट्यान्सलाई अवमूल्यन गर्नु कदापि सही होइन तर देश चलाउन, समाजलाई जिउँदो राख्न र संस्कृतिको निरन्तरता र विकासमा दीर्घकालीन आर्थिक उत्पादन र उद्यमशीलताको विकासमा अष्ट्रेलियाको भिसा नलगाएका पुस्ताको पनि भूमिका कमजोर छैन, बरु बलियो छ।
तर उनीहरूलाई हामीले कहिलै सम्मान गर्न सकेनौँ। हात मिलाएर बधाई भन्न सकेनौँ। एउटा खादा उसलाई पनि ओढाइदिएर सँगै फोटो खिचेर फेसबुकमा राख्न सकेनौँ।
गाउँघरमै बसेर केही गर्छु भन्नेलाई प्रोत्साहन गर्न सकेनौँ, बरु हिनताबोध हुनेगरी कुरा गर्यौं। बरु मैले कुनै पनि देश रेमिट्यान्सले माथि पुगेको इतिहास पढेको छैन। जुन देश विकासको चरमचुलीमा छन् उनीहरू श्रमको संस्कृतिबाट नै उठेका छन्।
हाम्रो देशको दुर्भाग्य भनौँ या के भनौँ, श्रमको अवसर राज्यले दिदैँन। श्रम गर्नेले मूल्य पाउँदैनन्। तरकारी उत्पादन गर्ने किसानले भन्दा बिचौलियाले कैयौँ गुणा आम्दानी गर्छ। यो कुरा प्रष्ट देखेपछि देशमै केही गर्छु भन्नेले ठूलै चुनौती लिएर बस्नुपर्छ।
यसरी चुनौती लिएर बस्नेहरूलाई अब हामीले पनि बधाई छ भन्ने संस्कृतिको विकास होस्। बाहिर देशको भिसा लागेपछि मात्र सफलताको शुभकामना दिने संस्कृतिको अन्त्य होस्।
बाहिर जानुभन्दा देशमै बसेर केही गर्छु भन्ने कुरा ठूलो चुनौती हो। यस्तो चुनौती लिन तयार भएर बसेका वा लिइरहेका युवालाई पनि शुभकामना र बधाई दिन सकौँ। गाउँघरमै बसेर केही गर्न खोज्नेलाई हुतिहारा भनेर नभनौँ। गरिब नभनौँ। रहेक कुराको उपलब्धि सफलतालाई पैसासँग दाँजेर नहेरौँ।
कसैलाई देश प्यारो होला, आफ्नो परिवार प्यारो होला, पैसा थोरै भए पनि आफ्नो मालिक आफैँ भएर बाँच्ने मन होला, आत्मसम्मान र स्वतन्त्र जिन्दगी प्यारो होला। कसैलाई डलर प्यारो होला, हाइफाईको जिन्दगी बाँच्न मन होला, देशमा बस्ने मन नहोला। सबैको आफ्नै आफ्नै इच्छा र चाहनाका कुरा हुन्।
तर पनि जसले गाउँघरमा वा आफ्नै देशमा बसेर केही गर्न खोजिरहेछन् उनीहरूको उपलब्धिलाई फलानाको कमाइसँग कहिलै तुलना नगरौँ। रेमिट्यान्स मात्र होइन, श्रमको पनि सम्मान गरौँ। रेमिट्यान्सले अहिलेको देशको समस्या टर्ला, फेरि घुमीफरी त्यो पैसा विदेशमै जाने हो।
श्रमको सम्मान गर्न सक्यौँ भने अर्को पुस्तामा सन्तान बेचिएकोमा गर्व गर्ने अवस्था पक्कै पनि आउँदैनथ्यो। यति कुरा सम्झन जरुरी छ कि श्रमलाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण नफेरिँदासम्म समाज बदलिँदैन।