हिन्दी सिने जगतको बहुुचर्चित सिरियल हो ‘महाभारत’। २ अक्टोबर १९८८ देखि २४ जुन १९९० मा भारतको दुरदर्शन टेलिभिजनमा यो सिरियल प्रशारण भएपछि भारतभित्र मात्र होइन, दक्षिण एशियामै यसले तहल्का पिट्यो।
आजपर्यन्त यस सिरियलका अंशलाई इन्टरनेटका अनेकौं फ्लेटफर्ममा करोडौं पटक हेरिएको छ, हेरिन्छ। अनेकौं टेलिभिजनहरूले यसलाई किनेर प्रसारण गरेका छन्। सिने जगतका हस्तीहरूले निर्वाह गरेका एकसे एक अभिनयनले जिवन्तता प्रदान गरेको महाभारतका जुनसुकै श्रृङ्खला हेर्दा लाग्छ, यी कलाकारहरू साँच्चै महान कलाकार हुन् र यिनीहरूको कलाकारिता युगौँयुग अमर रहने छ ।
‘महाभारत’ का सर्वप्रिय पात्रका रूपमा कृष्णको भूमिकामा देखिएका थिए नितिस भारद्वाज। यिनै सर्वप्रिय पात्रले अघिल्लो वर्ष आफ्नो दोस्रो १२ वर्ष लामो बैवाहिक जीवन टुंग्याएर सम्बन्ध विच्छेदको फाइल दर्ता गरे। भारतद्वाजको पहिलो विवाह १९९१ मा मोनिशा पाटीलसँग भएको थियो भने दोस्रो विहे स्मिता गेटसँग भएको थियो। लोकप्रिय पुराण पात्रको भूमिका निर्वाह गरेका नितिशले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरेलगत्तै एक अन्तर्वार्तामा भने, ‘छुटिने कुरा कहिलेकाहिँ मृत्युभन्दा कहालिलाग्दो हुनजान्छ।’
लोग्ने स्वास्नीलाई जन्मौंजन्मको नाता भनेर परिभाषित गरिने हाम्रो समाजमा विवाहलाई सामाजिक दवावका साथ कार्यान्वयन गराइन्छ। त्यस्तो दबाब महिलाका लागि धेरै हुन्छ तर पुरूषका लागि कम। विवाह र विवाह संस्थाको महिमागान गाइने हाम्रो जस्तो समाजमा विवाह बन्धन टुटेको खवर सार्वजनिक गर्न सम्भवतः नितिशलाई उति सजिलो थिएन। त्यसमाथि फिल्मको कुरुक्षेत्रबाट जीवन–मृत्यु, सत्य–झुट, पाप–पुण्य, स्वर्ग–नर्कको ज्ञान बाँडेका नायक आफ्नै जीवनमा यसरी पारपाचुकेजस्तो बोझिलो झमेलामा पर्नु दुःखद संयोग थियो।
कृष्णको भूमिकालाई सुन्दरतापूर्वक निर्वाह गरेर कृष्ण भन्ने पात्रमाथि ’न्याय’ गरेका उनले आफ्नो टुटेका सम्वन्धबारे सुझबुझपूर्ण र कुटिल प्रतिक्रिया दिएर शुुभचिन्तक र इन्टरनेट संजालमाझ ’वाहवाही’ कमाए । विवाह भन्ने संस्था जति वैधानिक थियो, उनको डिभोर्सको खबर पनि उत्तिकै बैधानिक थियो। भारद्वाजको पारपाचुके प्रस्तावको खवर सार्वजनिक भएसँगै उनलाई सामाजिक सञ्जलमा सहाभूतिको ओइरो लाग्यो। सायद नितिशले अनुभव गरेको डिभोर्सको पीडा उनका फ्यान र प्रियजनहरूले पनि अनुभव गरे ।
नेपालमा यतिखेर एक डिभोर्सी बैंकर/सेलीब्रेटी महिलाले आफ्नो प्रेमी सार्वजनिक गरेपछि सामाजिक संजाल तरंगित भएको भएको छ । प्रेमरूपी तलाउमा ढुंगा हानेर तरंग ल्याउने अरु कोही नभएर सेलिब्रेटी–उद्यमी रविना देशराज हुुन्। उनी तिनै हुन्, जसले आफ्नो छोराभन्दा लगभग १० वर्ष जेठी र डिभोर्सी नायिका प्रियंका कार्कीलाई सहर्ष बुहारी बनाएकी थिइन्। ‘उमेरमा आफूभन्दा सानी, कुमारी र कसैले आँखासम्म नलाएको केटी छानेर आफ्नो छोराको बिवाह गराउन खोज्ने’ आमाहरूको जमातमा रबिना ’अड्’, ’अल्ट्रा’ र ’ओजे’ पहिल्यै देखिएकी थिइन्। रबिनाजस्ता आमा अहिले पनि बिरलै छन् समाजमा।
रविना नेपाली नागरिक र नितिश भारतीय भए पनि दुबैमा दुई कुरा समान छन्। दुबै सेलीब्रटी हुन् र दुबैले जीवनमा एक मोडमा पारपाचुके गरेका थिए। पाठकलाई लाग्न सक्छ, भारतका कलाकार नेपालको बैकर्सको डिभोर्सको कुरा कसरी एकअर्कासँग सम्बन्धित छ? झट्ट हेर्दा असम्वन्धित लागे पनि हेरि ल्याउँदा यी फरक विषयमा समानता छ। नितिशले आफ्नो डिभोर्सको कुरा सामाजिक संजालमै अभिव्यक्त गरेका थिए र रविनाले पनि आफ्नो प्रेमी सामाजिक संजालमै सार्वजनिक गरिन्।
फरक यत्तिमात्र थियो कि नितिशका लागि सहानुभूति पस्कने समाज रविनाको प्रेमलाई हाँसिमजाकको विषय बनाउन हात धोएर लागि परेको छ।
नितिशको प्रसंगमा समाज सोलोमोलो एकोहोरिएको थियो। तर रविनाको केसमा समाज विभक्त छ। केही मान्छे उनको निर्णय सही भन्दै छ त केही मान्छे बेठिक। बहसहरूमा रबिनाको प्रेम प्रदर्शनको विषयलाई ठिक र बेठिक भनिए पनि खासमा उनको प्रेमभित्र लुकेको विषय हो सामाजले प्रदान गर्ने वैधानिकता–अवैधानिकता । भारतीय होस् या नेपाली समाज, यहाँ प्रेम वैध छैन। प्रेम प्रदर्शन अवैध छ। र, महिलाका लागि त झनै नियम कडा छन्। त्यसमाथि पहिलेका सम्बन्ध अन्त्य गरेका र प्रौढ अवस्थामा पुगेका महिलाको प्रेम प्रदर्शनले समाज उसै कायल हुन्छ। योे पटक त झ्न मुर्छित नै हुन खोज्यो समाज।
रविनाको बाटो अवैधानिक हो, किनभने हाम्रो समाजमा प्रेम अझै वर्जित र अवैध छ। सबैभन्दा गम्भीर कुरा, प्रेम गर्नेले कानुनी मान्यता पाउँदैनन्। तर विवाह संसारभरि वैध छ। त्यसैले त रविनाले आफ्नो प्रेम प्रदर्शन गर्नेबित्तिकै ’बुढेसकालमा किन उपद्रो गर्नु परेको? मर्ने बेला हरियो काँक्रो, हजुरआमा समेत भैसकोकीलाई वैंश आएको’ भन्नेलगायतका थेत्तरा प्रश्न उठाइए। हेक्का राखौं, सामाजिक सञ्जलमा प्रयोग गरिएका ती शब्द मात्र होइन, ती हाम्रो सोच पनि हुन् र ती सोच नै हाम्रा पहिचान हो।
गर्नलाई पहिलो बिहे बिग्रेपछि धेरैले दोस्रो बिहे गर्छन् या प्रेम सम्बन्धमा रहन्छन्। जब महिलाका प्रेम सम्बन्ध या हुनेवाला विहेका कुरा सार्वजनिक हुन्छन्, तब समाज तिखा नजरले हेर्छ। टर्रो निन्दा गर्छ। अपशब्द प्रहार गरेर आफूभित्रको विकार वाक्क गर्छ।
श्वेता खड्काको दोस्रो विहेको सवालमा पनि त्यस्तै भएको थियो। तर हरिवंश आचार्य र मनोज गजुरेल, कृष्ण धारावासीले भने त्यस्ता निन्दाहरूको सामना गर्नुपरेन। यसलाई त्यो छुट भनेर बुझ्नुपर्छ जुन छुटको हकदार हुन मर्द भएर नै जन्मनुपर्छ र छोरीहरु मर्द होइनन्।
प्रेम गर्नु या प्रेमको सार्वजनिककरण गर्नु झमेलामा पर्नु हो भन्ने जान्दाजान्दै रविनाले प्रेम गरिन्, उमेर, जात, धर्म र समाज केहि पनि हेरिनन्। समाजको वास्तै नगरी प्रेमीलाई सामाजिक संजालमा पोष्टया्इन्। प्रश्न गर्ने तर प्रेम नबुझ्नेहरूलाई प्रेमको गहिराइ र प्रेममा डुब्दाको मजा बारे होस हुँदैन। प्रेमलाई यौवनको आवेगमात्र ठान्छन्। जबकि प्रेमले न उमेर हेर्छ, न जात हेर्छ, न सम्पती हेर्छ। प्रेम गर्नेहरु केवल दुई जनमनको मिलन हेर्छन्। एकअर्काको आत्मसम्मान र आत्मगौरवलाई बुझ्ने कोसिस गर्छन्।
प्रेमको यो प्रवचन सुनिसकेपछि कतिपय पाठकलाई लाग्दो हो, ‘लौ ठीकै छ, तर रविनाले विदेशी नागरिकचाहिँ किन रोजिन्?’
एउटा कुरा, आजको वैश्विक युगमा प्रेम भूगोलमा कैद हुन्न। भावना र आकर्षण भूगोलमा कैद हुने विषय पनि होइन। जो कसैको प्रेमको पखेटा विश्वभर फैलनयोग्य छ। अर्को कुरा, हाम्रोजस्तो जड समाजमा रविनाको जस्तो ‘भर्सटाईल’ व्यक्तित्वलाई योग्य हुने पुरुष हत्तपत्त जन्मदैनन्। अझ भनौं समाज त्यस्ता पुरुष जन्माउँन नै चाहँदैन।
आफैं भन्नुहोस् त, एक प्रौढ नातिनीकी हजुरआमालाई आम नेपाली पुरूषले कसरी प्रेमीकोको दर्जा दिन सक्ला? प्रेमीको छोराबुहारीलाई अंकमाल गरेर गालामा चुम्मन गर्न ठूलो हिम्मतमात्र होइन, प्रेमिल र स्वीकार्य संस्कृति पनि चाहिन्छ। तर, हाम्रो संस्कृति प्रेमद्वेसी छ। सार्वजनिक ठाउँमा पुरूषले मलमुत्र त्याग्दा आँखा चिम्लेर हिँड्ने समाज सडक र पार्कमा अंगालो हालेर बसेका प्रेमिप्रेमिकालाई भने देख्छ, उस्तै परे लखेट्छ। मौका मिले लौराले बजार्छ।
तर अन्तरिक्ष या अन्य ग्रहमा समेत मान्छेको बसाईंको बहस चलिरहेको यो अद्भुत युगमा प्रेम गरेकै कारण कोही घृणाको पात्र बन्नु या कसैमाथि शाब्दिक आक्रमण हुनु हाम्रो असभ्यता हो। त्यसो भन्दै गर्दा प्रेम गरेकै कारण, यो या त्यो नाममा प्रेमी र प्रेमिकाहरूको हत्या यस क्षेत्रमा भइरहेकै छ। यस्ता विषय मानव संस्कृति र सभ्यताकै कलंक हुन्। प्रेममाथिको यस्ता सामाजिक प्रतिवन्ध हटाउन नवयुग र नययुगका नवपुस्ता लाग्न अबेर नहोस् ।