हुन त धेरैको मनमा 'यति पनि थाहा नभएको?' भनेर सोच्नु हुन्छ होला तर सोध्नु र सोच्नुमा धेरै फरक छ।
मेरो आमा बुवाको अन्तरजातीय भागी विवाह भएको हो।
मेरी आमा नेवार समुदायबाट हुन् भने बुवा दलित समुदायबाट।
म न त पूरै नेवारकी छोरी बन्न सकें, न त पूरै दलितकी। आमाबुवाको निर्मल मायाले म जन्मन पुगें।
मलाई दुबै समुदायबाट आफूलाई चिनाउन मन लागेको छ तर मैले पहिचानविहीन भएको महसुस गरिरहेकी छु।
मलाई पटक/पटक 'तिम्रो जात के हो नि?' भन्ने प्रश्न गरिन्छ।
बुवा आमाको मन मिल्यो र हामी चार दिदी भाइ जन्मियौं। न त यता मावली पट्टीको माया पायौं, न त बुवापट्टिबाट साथ।
म धेरैलाई नेवार हो भन्थेँ सायद सानैदेखि आमाको एकल संघर्षले प्रेरित भएर होला।
बुवाको प्रतिबिम्ब मेरो लागि निकै धमिलो थियो।
कतिलाई म हाइब्रिड हो भन्थेँ, फेरि के-के को सोध्थे, र म नेवार र क्षेत्रीको भन्दिन्थेँ। हुन त फेरि यो क्षेत्रीवाला अवधारणा खासमा सानो बेला मिजार र महतमा झुक्किएको कारणले उत्पन्न भएको हो। यसले गर्दा धेरैको मैले मेरो जात ढाँटेको भन्ने लहरो पनि आयो। तर फेरि मैले मेरो आमाको थरबाट आफूलाई चिनाउन खोज्दा त्यो पनि हुन्न रे!
ए बाबा मैले मेरो आमाको थर लिएर म नेवार भन्न नपाइँ? मेरो नागरिकता वंशज भएर के भयो त? अनि मलाई फेरि म दलित हुँ भन्दा नि बारम्बार सानो जात हो रैछ भनेर सम्झाउने अधिकार चाहिँ फेरि कसले दियो…?
मैले मेरी आमा नेवार, बुवा चाहिँ दलित भन्दा मेरो आमाको गल्ती, सानो जातसँग आयो भनेर बुद्धि बिग्रेको चाहिँ कसरी भयो?
खासमा यो सबै कुरा त मैले यो 'कुजात'को ट्याग लागेपछि सोच्न थालेको हुँ।
मेरो हुर्काइ र पालन कहिले पनि यो ठूलो जात, सानो जातको चटारोमा भएन र यस्तो पानी चल्ने, पानी नचल्ने कुराहरूले कहिल्यै मलाई छोएन पनि।
सुन्न चाहिँ फेरि मैले आफ्नै मान्छेहरूको धेरै भोगाइहरू सुनेको थिएँ र त्यो बेला मलाई यो दलित शब्दमा लुकेको मर्म थाहा थिएन तर आफैंलाई पर्दा बल्ल थाहा हुने रैछ यो उखानको मतलब, 'अचनाको पिर खुकुरीले जान्दैन'।
कुरा हो यो त्यस्तै दुई/ तीन वर्ष अघिको।
न त उहाँहरू मेरो आफन्तजन नै हुनुहुन्थ्यो, न त कुनै रगतको नाता नै थियो। उहाँहरूप्रतिको मेरो आफ्नोपन निकै घनिष्ट थियो मानौं मैले मेरो सुखी परिवारको चित्र कोर्दा उहाँहरूलाई नै देख्थेँ।
सायद सानो बेलाको त्यो भोगाइले गर्दा होला जहाँ आफन्त त थिए तर अलग्गै महसुस हुन्थ्यो। सायद परिवार त थिए तर म परिवार कस्तो हुन्छ होला भनेर सोच्न बाध्य हुन्थेँ। त्यसैले गर्दा होला सायद त्यो परिवारसँगको सम्बन्ध मेरो लागि निकै आत्मीय बन्न पुग्यो र उहाँहरूसँगको बिछोड पनि त्यस्तै अर्को पीडादायी विपना।
सबैले सम्बन्ध बनाउन र बढाउन खोज्दा जात सोध्छन्।
उहाँहरूसँगको त्यो घनिष्ट सम्बन्ध जातबाट नै जोडियो र जातमै अन्त्य भयो। मात्र सम्झना छ त केबल त्यो प्रश्न 'तँ त कुजात रैछेस् हैन?'
मेरो मनमा यो शब्दले गहिरो चोट बनायो मानौं मैले त्यसपछि त्यो घरमा सास फेर्न पनि भारी भयो। बाटोभरि यो शब्दको एक एक वर्णले मलाई घोचिरह्यो अनि घरमा आएर मैले मेरी आमालाई सोधें, 'कुजात भनेको के हो मम्मी?'
जीवनमा कहिले नभोगेको र नबुझेको मैले, जातीय विभेद के हो भन्ने कुरा त्यो शब्दबाट छर्लङ्ग बनाइदियो। मेरो मनमा यति कौतुहलको आँधी मच्चाइदियो कि म यसको हरेक पाटाको मोडहरूलाई नियाल्न चाहन्छु।
यो शब्दमा लुकेको त्यो उत्पीडन कथा र भोगाइलाई अंगाल्न चाहन्छु र भन्न चाहन्छु -
तिमी आफ्नो लागि आफैं आवाज उठाऊ र निर्धक्कसाथ आफ्नो आत्मसम्मानलाई बचाऊ!
स्वीकार गर आफ्नो पहिचान र भनिदेऊ सारा जगतलाई कि तिमी दलित हौ।
हो त्यही दलित जसले आफ्नो अस्तित्वलाई बचाउन यो पहिचान पाउनलाई हर कदममा ठक्कर खानु पर्दछ।
हो त्यही दलित जसले हरेक श्वासमा रगतको नाता हेर्दैन तर जातको प्रश्नको त्यो तिखो धारो भने बारम्बार भोगिरहन्छ।
हो त्यही दलित जो हरपल, हरक्षण एउटा समान र सम्मान जीवन बाँच्ने आशा राख्दछ - त्यही समाजबाट जहाँ आज पनि उसलाई कुजात भनेर मान्छेहरूले चिन्दछन्।