एउटै आकाश, एउटै धर्ती, एउटै भूगोल भएर पनि छुट्टै खालको जीवन बिताउन बाध्य भएका, आकाशलाई घरको छानो र धर्तीलाई बिस्तरा सम्झेर दिनभरिको थकाइ मार्न सडक पेटीहरूमा सुस्केरा मार्दै साँझको बासको खोजीमा सडकमा बस्ती बसाउन बाध्य एक हुल सडकछाप मानिसहरू यत्रतत्र तितरबितर थिए।
म भने माइतीघर लैजाने कोसेली किन्ने चटारोमा स्कुटी घरीघरी रोक्दै तिनै तिर आँखा तन्काएर हेर्न थालेँ। सामान किन्न जाँदा बास खोज्दै हिँडेका ती मानिहरू सामान किनेर फर्किँदा लुटुपुटु परेर बच्चालाई काख च्यापी पातलो मजेत्रोमा सुतिसकेका थिए।
खम्बामा बलेको बत्ती र आकाशमा चम्किरहेका ताराहरू मात्र केबल तिनिहरूलाई उज्यालोको सहारा थिए।
एकछिन एकटक भएर हेरिरहेँ र सोचेँ, मलाई भोलि माइती जाने भनेर यो खुसी, यो छटपट, यो हर्ष छ तर खै त यिनीहरूको त्यो खुसी? त्यो माइत? त्यो छटपट?
मेरोजस्तै विवाह भएछ, बच्चा भएछ। मलाई जस्तै यिनीहरूलाई पनि माइत जाने मन हुँदो हो नि भन्ने कुराले एकछिन मनमा नमज्जाले बिझायो।
यत्तिकैमा घर फर्किँदा ८ बजिसकेको थियो। मनमा खुसी र हर्षले अड्डा जमाइरहेको थियो। जागिरमा सँगै काम गर्ने साथीले माइती जानु तीन दिनअघि नै सपिङ गरेर सामान प्याक गरिवरी रेडी थियो। त्यो सम्झिँदै त्यत्तिकैमा मैले पनि सबै सामानहरू प्याक गरेर निदाउने प्रयास गरेँ।
निद्राको सट्टा मनमा हजार प्रश्नहरू आउन थाले। निद्रा छिनभरमै कता हरायो हरायो। एकछिन कौसीमा गएर आकाश चिहाएँ। वस्ती सुनसान, आकाश झलमल थियो। आकाशतिर तारा हेर्दै सम्झिएँ त्यो विगतमा आमाले भनेका कुराहरू।
आमा भालेको डाँक र यही जुनेली रातमा टाढाको माइत जानको लागि मध्यरातमै पैदलयात्रा तय गरेको। र, कल्पना गर्न थालेँ।
नजिक हुँदो हो त म पनि माइत यस्तै गरेर जाने थिएँ नि, यहीँ जुनेली रातमा। र, शान्त पार्थें यो रातभर नसुती जागेको बेचैन मन। तर मेरो माइत जानै दुई दिन लाग्ने। मनमा यस्तै-यस्तै कुराहरू मन्थन गर्दै मनसँगै प्रश्न गर्न थालेँ।
आखिर किन हुन्छ हामी छोरीलाई यो माइत प्यारो?
आखिर किन मन लाग्छ जिन्दगीको अन्तिम पटक पनि ढकढकाउन माइतीको दैलो?
हिजोसम्म मेरो घर भन्ने शब्द कसरी आज एकाएक माइतीमा परिवर्तन भयो? शब्द मात्र भएन यो मन, यो परिवेश, यो परिवार।
म भर्खर-भर्खरै विवाहित छोरीलाई पनि माइती प्यारो, मेरो ममीलाई पनि माइती प्यारो, मेरो चौरासी पूजा गरेकी हजुरआमाको पनि अन्तिम पटक ‘माइती माइती’ भन्दै माइतीको कान्छोभाइ भेटेपछि प्राण गयो!
यस्तै कुरा मनमा खेलाउँदै थिएँ, त्यतिकैमा जापानमा रहेकी फुपूसासूको फोन आयो। मलाई मेरा प्रश्नहरूको गह्रुंगो भारी उहाँसामु बिसाउने चौतारी पाएजस्तै भान भयो।
र, सोधेँ- ‘फुपू, हजुरको २२/२५ वर्षको वैदेशिक अनुभव कस्तो छ नि? भन्नुस् न के हजुरलाई पनि मलाई जस्तै हुन्थ्यो माइत भनेपछि? न नौलो दुलही हुँदा माइत जान पाउनु भयो, न त सुत्केरी हुँदा, न चाडपर्व आउँदा नै। बाबाआमाको चौरासी पूजामा पनि आउन पाउनु भएन।
अहिले त हजुरको आमाबाबा पनि स्वर्गीय हुनुभयो। आमाबा पछिको माइती दिदीबहिनी, दाजुभाइ, भाउजू-बुहारी हुन्छन् भन्छन्। हजुरको माइती हामी बुहारीहरू पनि त छौँ तर माइती आउने बाटो विस्तारै साँघुरो गर्दै जानुभयो। किन फुपू? कि साँच्चीकै हजुरलाई माइत बिर्साउने घर पर्यो? कि हजुरको घरको रंगमञ्चमा रमाउन सिक्नुभयो? कि बन्धनमा पर्नुभयो?’
यस्तै यावत प्रश्नहरू मेरो नसकिँदै बीचमै उहाँको जवाफ आयो- ‘नानी, तिमीलाई जस्तो हुन्छ माइत भनेपछि मलाई पनि त्यस्तै हुन्थ्यो। अझै पनि त्यस्तै हुन्छ। जतिसुकै यो विदेशी भौतिक सुखसुविधामा डुबुल्की मारे पनि यो मन त्यही माइती देशकै माइतीघरकै बाल्यकाल, बालसखा, माइतीमा हुर्केबढेको आँगन, साथीसँग लुकामारी खेल्दै, गट्टा खेल्दै रमाएको, आमाबाले माया गरी प्रेमले हुर्काएको झलझली आँखीझ्यालमा पर्दा बनी ढाकिन्छ।
यहाँ चौरासी व्यजन खाना खाए तापनि, हिरामोती, सुनचाँदीले पुरिए तापनि म सबै सुखसुविधाले भरिपूर्ण भए तापनि यो मन उहीँ माइत जान पाए हुन्थ्यो भन्ने हुन्छ। यहाँको ८४ व्यञ्जनभन्दा आमाले माइतीमा श्रद्धा र प्रेमले पकाएर दिएको एक टुक्रा रोटी हजारौँ व्यञ्जनभन्दा बढी मिठो हुन्छ।
यहाँ चारपाङ्ग्रे गाडीमा गुडेको भन्दा त्यो बालापनमा २ खुट्टाले ताते-ताते गर्दै बाको हात समाइ हिँडेको त्यो घरको आँगन प्यारो हुन्छ। यहाँ कृत्रिम तरिकाले बनाएको चिसो र तातोको एसी रूम र पानीभन्दा त्यो माइतीघरको करेसामा प्राकृतिक तरिकाले उत्पति भएको मुहानको चिसो पानी अमृत सरि हुन्छ।
त्यसैले माइती गरिब होस् या धनी, माइती र माइतीको प्रेम त्यस्तो प्रेम हो जुन प्रेमलाई तौलिने तुला अझैसम्म बन्न सकेको छैन्। जुन माइती बिर्साउने घर यो संसारमा अझसम्म बन्न सकेको छैन।
पोहर साल नेपाल आएँ। जन्मेको घर, हुर्केको आँगन, हिँडडुल, उकाली ओराली गरेका वनपाखा, थकाइ मार्न बसेका चौतारीहरू, बाबाले सानै छँदा सप्ताह लगाएको त्यो पारिपाटो सबैतिर घुमेँ। मेरो बाबाआमा नभए पनि उहाँले पौरख गरेको माटो हो, हामी माइतीमा छँदा शृजित यो खेत हो भनी एकछिन एकमुठी माटो मुठीमा लिई स्पर्श गरेँ। वर्षौं पहिले छोडेको माइतीघरको मूल ढोकामा बसेर विगत सम्झिँदै भावुक भएँ।
त्यसैले चिटिक्क परेर पिँजडामा थुनिएको सुगा झैँ बनेर, गरगहना र महङ्गा लुगा लगाएर, महलको सान बढाउने सोकेशको सामान झैँ भएर मात्र के गर्नु? जब त्यो महलभित्र रहँदा पनि यो मनले त्यही बालापन, त्यही माइती परिवेशमा जस्तै रमाउन स्वतन्त्र खोज्छ भने यो सबै भौतिक सुखसुविधाले त्यो अमूल्य पल किन्न नसक्ने रहेछ नानी।
हामी छोरीहरू जतिसुकै झुपडीबाट महलमा, श्रीमानको घरमा विराजमान भए तापनि त्यो क्षणिक मोहमा रमाए जस्तो गरी आफ्नो रहर र चाहनालाई कैद गरिएको भान हामीलाई भित्रभित्रै हुन्छ जुन खुसी दिगो लाग्दैन माइतीघरको पलजस्तो।
त्यसैले घरमा सोकेशको सामान जस्तै बनि कैदीकर जीवन बिताएकी छोरी माइतमा जाँदा स्वतन्त्र पंखा फिजाइ खुला आकाशमा उडेको चराजस्तै रमाउन सक्छे। त्यसैले पनि माइती हामी बिहे गरेकी चेलीलाई अत्यन्तै प्यारो लाग्छ नानी।'
यस्तै गन्थन गर्दागर्दै रात छिप्पिसकेछ। त्यो बाँकी समय कतिबेला सकिएला भनेर घडीको सुई हेर्दै बिताएँ। यत्तिकैमा बिहानको ५ बजिसकेछ। सबै पूजापाठ गरेर तयार भइवरी बुटवलको लागि ६ बजेको गाडी चढेँ।
तब मन त्यसै त्यसै चंगा जस्तै उड्न थाल्यो। अहो! म पनि आज त माइती जाने भएँ। अन्ततः दुई वर्षमा, दुई दिनको बाटोमा। मन हर्षले गद्गद थियो। कतिबेला पुगुँ, कतिबेला बिसाउँ यो मनको भारी भन्ने हतार-हतारमा चलेको थियो त्यो गाडीभन्दा मेरो मन।
बुटवल पुग्नासाथ फुपूको घरमा गएँ। एकछिन थकाइ मारेपछि सोध्न थालेँ।
‘फुपू, माइत भनेपछि कस्तो हुन्थ्यो हजुरलाई?’
उहाँले पनि फुपूसासूले भन्नु भएजस्तै भन्नुभयो, ‘न घाम न पानी, न बादल न वर्षा, माइती जाने भनेपछि यो मन वर्खाको भेल जस्तै उर्लिएर आउँथ्यो। घरमा काम गर्दा-गर्दा लखतरान परेको शरीरले आराम पाउँथ्यो। माइत भोलि जाने भनेपछि रातभरि खुसीले निन्द्रा लाग्दैनथ्यो।
नौलो-नौलो दुलही हुँदा त झनै त्यो जमानामा घरमा खान मन लागेको कुरा खान नपाउँदा कहिले माइत जाउँ र मन लागेका सबै कुरा खाएर आउँ जस्तो हुन्थ्यो। घरमा सासूको टोकसो, त्यो सबै कामले भएको नोकर जस्तो जिन्दगी कतिबेला माइत जाउँ र बाबाआमाको मायाको न्यानो काखमा बसी दुःखको विशाल भारी बिसाउँ भन्ने लाग्थ्यो।
तर माइतीबाट घर फर्किँदा एकदमै नराम्रो लाग्थ्यो। फेरि किन छोराहरू जति धेरै भए पनि अटाउने बाबाको यति ठूलो घरमा हामी छोरीमान्छे चाहिँ नअटाउने भन्दै रुँदै त्यो घरको दुःख पीडाको बोझिलो भारी लिएर घर फर्कन्थेँ।
यसरी माइत मेरो लागि सुगालाई पिँजडा बाहिरको संसार जस्तै थियो र घर पिँजडामा रहेको सुगा जस्तै लाग्थ्यो। जे जस्तो भए पनि जन्मेको ठाउँ, जन्मघर, आफ्ना बाबाआमा, दाजुभाइ एकदमै प्यारा हुँदा रहेछन्। कहिलेकाहीँ माइती देशका कोही मान्छे देख्दा नि घरकै सदस्य जस्तै प्यारो लाग्ने, अत्यास मेटिने। त्यसैले भनिन्छ नि माइतीको कुकुर नि प्यारो।’
यसरी धेरै छोरीबुहारीको कुरालाई मनन गर्दा माइती भनेको छोरीको सबैभन्दा प्यारो तथा अमूल्य, अतुलनीय घर रहेछ। दुःखसुखको भारी बिसाउने बिसौना रहेछ। आमाबाले प्रेमले हुर्काएको प्रेमिल बगैंचा रहेछ। छोरीको चाहनाअनुसारको खाना बन्ने पाँच-तारेभन्दा ठूलो होटल रहेछ।
जहाँ छोरीले खुला आकाशमा पंख फिजाइ उडिरहेको चराजस्तै स्वतन्त्रताको श्वास फेर्न सक्छे। जहाँ छोरीले घरको बोझिलो भारीलाई घरमै छोडेर निडर, निर्भिक भएर शान्तिपूर्ण वातावरणको महसुस गर्न सक्छे। त्यसैले माइती भनेपछि छोरीको मन हुरुक्कै हुने रहेछ।
त्यसैले जहाँ त्यस्तो प्रवित्र ठाउँ, सुन्दर गाउँ, प्रेमिल मन्दिर स्वरुप माइतीघरको दर्शन गर्ने मौका हरेक छोरीलाई मिलोस्। हरेक छोरीलाई अब माइत मात्र माइत जस्तो हैन, घर पनि माइतजस्तो महसुस गर्न सक्ने वातावरण बनोस्।