प्रसंग केही महिनाअघिको हो। एक परिचित पात्रले आफू विदेशको एक विश्वविद्यालयमा विद्यावारिधि अध्ययनका लागि भर्ना भएको कुरा बताइन्।
भर्ना त भइन् तर अनुसन्धानको गहन प्रस्ताव पेस गर्नुपर्ने र प्रारम्भिक परीक्षामा उत्तीर्ण हुने आँट र जाँगर कम भएकाले उनको डाक्टर बन्ने सपना अधुरै रहने हो कि भन्ने चिन्ता पनि व्यक्त गरिन्।
मैले उनको शोधप्रस्ताव तयार गर्न केही सहयोग गरेँ। केही दिनमै सामाजिक सञ्जालले जानकारी दियो, उनी प्रारम्भिक परीक्षाका लागि विदेश गएकी छन्। मैले नियालेर उनको सम्प्रेषण पढेँ।
'मेरो सुपरीवेक्षकसँग खिचेको तस्बिर!'
शीर्षक रोचक थियो। सम्प्रेषणले केही साथीभाइका बुढीऔंले प्रशंसा पनि समेटिसकेको थियो। मेरो चाहिँ चित्रले भन्दा अक्षरले बढी ध्यानाकर्षण गर्यो।
उनले आफूलाई विद्यावारिधिको उपाधि प्रदान गर्नेवाला प्रस्तावित गुरुको शैक्षिक उपाधि त्रुटिपूर्ण तरिकाले लेखेकी थिइन्–पि. एच. डी.।
उनले लेखेका तीनवटै अंग्रेजी अक्षर ठूला अर्थात क्यापिटल थिए। बीचमा हरेक अक्षरमा संक्षेप जनाउने थोप्लो राखेकी थिइन्।
मैले उनलाई मेसेन्जरमा एउटा सन्देश पठाएँ।
'तिमीले 'पिएचडी' लेखेको मिलेन, सच्याऊ।'
उनले मलाई 'धन्यवाद' भनेर लेखिन् र केही बेरमा सच्याइन्। तर मैले फेरि अर्को त्रुटि फेला पारेँ। उनले लेखेकी थिइन्– पि. एचडी.।
सच्याइएकोमा 'एच' सानो अर्थात् स्मल लेटर थियो र त्यसको थोप्लो हटाइएको थियो।
केही हप्ताअघि यस्तै प्रकृतिको अर्को एउटा प्रसंग आइपर्यो।
विगत तीन वर्षदेखि मैले त्रिभुवन विश्वविद्यालयमा विज्ञान तथाप्रविधि विषयमा विद्यावारिधि गर्ने विद्यार्थीहरूलाई दर्शनशास्त्र पढाउने अवसर पाएको छु। यो अवसर प्रदान गरेर रिसोर्सेस हिमालयका संस्थापक एवं अध्येता डा. दिनेश भुजूले मलाई ठूलो गुन लगाउनुभएको छ।
म प्रविधिको दर्शनशास्त्र पढाउँछु, डा. भुजू र डा. नारायण अधिकारी विज्ञानको।
पहिलो वर्षको अन्तिम परीक्षाको उत्तर पुस्तिकाको आवरण पृष्ठमा एक विद्यार्थीले लेखेको कुरा उल्लिखित दृष्टान्तसँग मिलेको थियो।
'तह पि.एचडी' लेखेका थिए। 'पि' र 'डि' क्यापिटल र 'एच' स्मल लेटरमा थियो।
यो त्रुटि विद्यावारिधि जनाउने अंग्रेजीको संक्षिप्त रूपमा मात्रै सीमित थिएन। अर्का एक विद्यार्थीले आफ्नो रोल नम्बरको अंकलाई अक्षरमा लेख्दा ठूलो गल्ती गरेका थिए। उनको रोल नम्बर लाखमा थियो, अर्थात छ वटा अंकमा। दुई वटा शून्य बीचमा सँगै थिए। उनले 'दस हजार' स्थानको गणना बिगारेका थिए, 'हजार' लेख्नुपर्नेमा 'दस हजार' नै लेखेका थिए।
विद्यावारिधि तहमा भर्ना हुनु भनेको लामै समय पठनपाठनमा बिताए भन्ने हो। सामान्यतया माध्यमिक तहमा १२ वर्ष, स्नातक तहमा चार वर्ष र स्नातकोत्तरमा दुई वर्ष गरी १८ वर्षको औपचारिक शिक्षा पूरा गरेको विद्यार्थी मात्रै विद्यावारिधि तहमा पुगेको हुन्छ।
यस्तो विद्यार्थीले लाखको अंक गणनामै त्यस्तो गर्नु उदेक र आश्चर्य लाग्ने कुरा हो। विद्यार्थीका लागि परीक्षा भनेको वर्णक्रमको सबैभन्दा उपल्लो औपचारिक र गम्भीर क्षण हो। सबैभन्दा बढी सिकाइ नै परीक्षामा बस्दा हुन्छ भनिन्छ।
विद्यार्थीहरूमा भने मूलधारको प्रश्न ज्युँका त्युँ छ। विद्यावारिधि तहमा पुगेका ती विद्यार्थी किन यति साह्रो कमजोर भएका होलान्?
विश्वप्रख्यात पुस्तक 'ल्याटेरल थिंकिङ स्किल्स' मा पल स्लोआने लेख्छन्– सामान्यतया मान्छेको मस्तिष्कको स्वभाव अल्छी भएर यथास्थितिमा बस्ने किसिमको हुन्छ। यसले स्वचालित रूपमा परम्परागत शैलीको कुनै ढाँचा अंगीकार गर्छ अर्थात् कुनै समस्या समाधान गर्दा इतिहास खोतलेर त्यही अनुरूपको विधि र प्रक्रिया अपनाउँछ।
मैले यो आलेख तयार गर्दैगर्दा पल स्लोआनेको भनाइ पुष्टि हुने एउटा दृष्टान्त फेला पर्यो।
नेपालमा नाम चलेको एउटा विश्वविद्यालयको शिक्षा संकायका तत्कालीन डिनले शोधार्थीहरूको ध्यानाकर्षण गर्दै फेसबुकमा एउटा अवधारणा सम्प्रेषण गरे। उनले आफ्नो कुरा अंग्रेजी अक्षरमा 'पिएचडी' बाटै सुरू गरेका थिए। 'पि' र 'डि' क्यापिटल र 'एच' स्मल अक्षर लेखेका थिए। बीचमा थोप्ला थिएन।
दोस्रो हरफमा आएको 'पिएचडी' सबै स्मल लेटर लेखेका थिए, थोप्ला भने थिएन। प्राध्यापक भएर शिक्षा संकायको डिन पदमा आसीन प्राज्ञको लेखाइ यति उदेकलाग्दो हुनु आश्चर्यजनक थियो।
उनका विद्यार्थी र शोधार्थीले भन्न सक्छन्– प्राध्यापकको त यस्तो हालत छ भने हाम्रो के होला!
मेरा मित्र डा. सूर्यराज आचार्यले एक पटक एउटा रोचक लघुकथा सुनाएका थिए।
एक जना नेता मत माग्दै कुनै गाउँमा पुगेछन्। चौतारीमा उभिएर भाषण गर्न थालेछन्। आक्रोशले भरिएको दमदार भाषण गर्दैगर्दा एउटा गोब्रेकीरो उड्दै आएर उनको गालामा बसेछ। कीरो दुर्गन्धित फोहोर खेलेर आएको रहेछ। भाषणको रापमा उनलाई कीरोले फोहोर छाडेको पत्तै भएनछ।
उनका एक जना कर्मठ कार्यकर्ताले कानमा साउती गरेछन्– गालामा फोहोर लागेको छ, पुछ्नू।
नेताले कछाड उचालेर गालो पुछेछन्। नेताको चाल देखेर श्रोताहरू गलल्ल हाँसेछन्। उता नेताचाहिँ आफ्नो आफ्नो भाषणको ओजले जनता खुसी भएको ठानेर मख्ख परेछन्।
पिएचडीका सन्दर्भमा उल्लेख गरिएका पात्र र चौतारीमा भाषण गर्ने यी नेता एकै ड्याङका हुन्।
सिकाइ र गराइसँग जोडिएको एउटा लोकोक्ति छ– तालिममा पसिना बगायो भने लडाइँमा रगत बगाउनु पर्दैन।
हाम्रो मौजुदा शिक्षा नीति र स्कुल–कलेजका कक्षाकोठा नियाल्दा पसिना बगेको कतै देखिँदैन। सरकारी निकाय, कम्पनी वा अन्य रोजगारी दिने संघसंस्थामा कार्यरत पेसाधर्मीलाई हेर्दा धेरै रगत बगेको देखिन्छ। पिएचडीका शोधार्थी र विश्वविद्यालयको वरिष्ठ अधिकारीले 'पिएचडी' शब्द नै अशुद्ध लेख्नु कक्षाकोठा वा तालिमकक्षमा वर्षौंदेखिको अकर्मण्यता र अक्षमताको जालो हो। यो जालोमा जकडिएर काम खोज्दै मेरो कार्यकक्षमा आइपुगेका दुई उम्मेदवार सम्झन्छु।
उनीहरू भर्खरै कलेजबाट निस्किएका युवती र युवक थिए। दुवैले भरेको दर्खास्त फारम उनीहरूकै सामुन्नेमा हेरेँ। दुवैका नामका नेपाली र अंग्रेजी अक्षर नमिल्दा थिए।
मैले दुवैका अक्षरमा टिप्पणी गरेँ। तिमीहरूको नाम थाहा नपाएको व्यक्तिले पढ्दा कस्तो उच्चारण गर्ला भनेर जिज्ञासा राखेँ।
मैले युवतीलाई सोधेँ– तपाईंको नामको 'स' को खाँबो किन यसरी खिएको?
युवकको नामको अंग्रेजी अक्षरबारे सोधेँ– तपाईंको 'यु' किन यसरी सिलिङमा झुन्डेको?
दुवैको साझा जवाफ थियो– सानैदेखि यस्तै बानी लाग्यो, कसैले पनि सम्झाएन।
मैले दुवै जनालाई दोहोर्याई तेहर्याई नाम लेख्न लगाएँ।
मेरो टिप्पणी र जिज्ञासाले दुवै जना छाँगाबाट खसेजस्ता भए। उनीहरूको ज्ञानमा वर्षौंदेखि लागेको जडताको जालो एकाएक च्यातिएको थियो। बादल फाटेर आकाश खुलेको थियो। एकै छिनमा दुवै जना आफ्नो नाम शुद्ध र चिटिक्क पारेर लेख्न सक्ने भए।
आज पनि सम्झन्छु। मसँग छुट्टिने बेला उनीहरूका आँखा धपक्क बलेका थिए, खुसी देखिएका थिए।
विद्यार्थीलाई ठीक ढंगले अक्षर लेख्न सिकाउनु, कम्तीमा नाम शुद्ध र अर्को व्यक्तिले सजिलै पढ्न सक्ने गरी लेख्न सिकाउनु शिक्षकको कर्तव्य हो। यस्तै कर्तव्य आमाबाबुको पनि हुन्छ।
मकहाँ आएका ती युवायुवती दुवै शिक्षित परिवारका थिए। दुवैका आमाबाबु पढालेखा थिए। तैपनि छोराछोरी आफ्नै नाम ठीक ढंगले लेख्दैनथे।
हाम्रो शिक्षाको समस्या के छ भने शिक्षक र अभिभावक दुवै जडताको भूमरीमा फसेका छन्। जडताको यो दोस्रो तहको जालो किनारा लगाउन सक्ने क्षमता भएका नीति निर्माता वा राजनेताहरू नै जडतामा जकडिएका छन्। समकालीन नेपालको शिक्षा क्षेत्रको सबैभन्दा तितो यथार्थ यही हो।
उच्च शिक्षा हासिल गरेर म सन् २००२ मा नेपाल फर्केँ। मैले पढेको संस्था 'एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)' मा त्यस बखत अध्यक्ष थिए जोन लुई आरमान्ड। उनी फ्रेन्च नागरिक हुन्।
याक एन्ड यती होटलमा हाम्रो रात्रिभोज थियो। मैले जापानबाट ल्याएको कालो सुट लगाएको थिएँ। कोटको खल्तीमा थियो रातो पाइलट पेन।
हामी गोलो घेरामा करिब २० जना बसेका थियौं। सबैजना मौकामा चौका हान्ने दाउमा थिए। एआइटीका अध्यक्ष वा कुनै विश्वविद्यालयको उपकुलपतिसँग चिनजान हुनु र उसलाई आफ्नो कुराले प्रभाव पार्नुको ठूलो अर्थ हुन्छ।
अध्यक्षले एकाएक मतिर हेरेर भने– जेन्टलम्यान, यु ह्याभ अ रेड पेन?
'यस, दिस इज ह्वाट यु गेभ मी।'
मेरो प्रत्युत्पन्न मतिको मूल रसायो। उनी एक कदम मतिर बढे।
उनले फ्रेन्च शैलीको मधुर अंग्रेजीमा भने– तर तिम्रा साथीहरूको खल्ती त रित्तै छ त?
'महाशय, यसको एउटा रोचक कथा छ।'
यतिले नै म रंगमञ्चको नायक म भइसकेको थिएँ। घेराका अरू साथी ट्वाल्ल परेका थिए।
'ल, म तिम्रो कथा सुन्न चाहन्छु।'
अब उनी र म मियो भएका थियौं। सबै हाम्रा वरिपरि भए। मैले कुरा सुरू गरेँ।
'तपाईंले हामी सबैलाई एआइटीमा रातो कलम दिनुहुन्छ तर उहाँहरूको रातो कलम विमानस्थलमा हराउँछ। त्रिभुवन विमानस्थलमा प्रायःजसो यस्तो हुन्छ। रातो कलम झोलाबाट गायब हुन्छ।'
'हे प्रभु, त्यो हदसम्म हुन्छ?'
उनलाई महाआश्चर्य भयो।
'तर तिम्रो त साथमै छ त?'
'म जहिले पनि यो कलम कोटको खल्तीमा राख्छु।'
अध्यक्षको सहयोगीका रूपमा एआइटीमा लामो समय काम गरेका साथी कर्म राणाले पछि मलाई भन्नुभयो– तपाईंलाई त अध्यक्षले 'रेड पेन च्याप' भन्नुभयो।
सम्भवतः अहिले तालिममा पसिना ननिकाल्ने र रातो कलम हराउनेहरूको जमात ठूलो छ। जति जनालाई विश्वास लाग्छ 'मसँग रातो कलम छ र मैले लडाइँमा रगत बगाउनु पर्दैन', तीसँग कलम हराउनेहरूको नेतृत्व गर्ने क्षमता हुन्छ।
अहिलेका पिएचडी विद्यार्थीहरूले यो कुरा मनन गरेमा बेथिति र कुसंस्कारको जडताले जेलिएका पदाधिकारीलाई निकट भविष्यमा किनारा लगाउन सक्नेछन्।