आफूले सोचेजस्तो र अरुले हेर्दा पनि ‘आहा!’ भन्ने शरीर बनाउन कसलाई पो रहर हुँदैन र? हामी प्रकृतिको देन हो। म जस्तो छु आफूलाई एकदमै मनपर्छ तर मलाई मन नपराउनेहरू ठाउँ-ठाउँमा भेटिन्छन्।
म सबैलाई मन पर्नुपर्छ भनेको होइन। सबेको आ-आफ्नो हेराइ र रोजाइ हुन्छ, मनपर्छ भन्न पाउनु र मन पर्दैन भन्न पाउनु त्यो नितान्त व्यक्तिगत कुरा हो।
मान्छेलाई उसको शरीर, उसले लगाएको कपडामा धनी गरिब, पद प्रतिष्ठाको मूल्यांकन गर्छन्। तर मान्छे मान्छे नै भएर बाँच्न पाउनुपर्छ। तर जसरी पातलो मान्छे उसको तौलमा हलुका हुन्छ, उसलाई सबै कुरामा हलुका बनाउन खोजिन्छ।
सबै मान्छे आफू जे-जस्तो भए पनि खुसी देखिँदैनन्। म कता-कता खुसी मान्छेहरू भित्र पर्छु।
मलाई मेरो बाहिरी आवरण कस्तो छ भन्ने कुराले केही पनि नकारात्मक विचार आउँदैन तर मलाई देखेपछि मान्छेमा विचार आइहाल्छ- कति पातलो, खाना खाँदिनौ कि क्या हो?
प्रकृतिले मलाई खुसी व्यक्ति बनाएको छ। मलाई अरु जस्तो कुनै जिम जानु पर्दैन, गुलियो खानेकुरादेखि टाढा भाग्नु पर्दैन। मेरो स्वास्थ्य ठिक छ। मैले खानेकुरा मोटाउँछु कि भनेर केही बार्नु पर्दैन। के यो प्रकृतिको उपहार होइन त?
अर्को कुरा, म शारीरिक रुपमा पातलो हुँला तर म स्वस्थ छु। मलाई मोटो हुन केही रहर पनि छैन। तर २०/२२ वर्षको उमेरमा मान्छे पातलो देख्यो कि ब्रेकअप भएछ भनेर सोच्छन्। यसमा मेरो मिठो मुस्कान सहितको जवाफ- ‘फूलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार...’
कहिलेकाहीँ मेरो जवाफ नै काफी हुन्छ मान्छेहरूलाई चुप गराउन। म मान्छेअनुसार आफ्नो जवाफ बदल्छु। आफूले आदार गर्नुपर्ने मान्छेहरूलाई भनिदिन्छु- हजुर केही चिन्ता छैन पढ्दैछु, भविष्य बनाउँदैछु। त्यही चिन्ताले होला सोच्दिनँ भन्दाभन्दै कति कुरा सोचिसकेको हुन्छु।
मनमा शान्ति नभएसम्म जति खाए पनि मोटाउदिनँ भनेर आदरपूर्वक जवाफ दिन्छु।
अनि आउँछन्, अगाडिको मान्छेले के सोच्लान्, मेरो कुराले अरुलाई असर गर्छ कि भन्ने नसोची हतोत्साह गर्नेहरू- छ्या! कति पातलो हड्डी मात्रै छ।
मेरो जवाफ- डाइट गरेको हउ, डाइट भन्ने सुनेका छौ?
हामी बोल्दा कहिले राम्रो शब्दको चयन गर्छौं त कहिले नराम्रो शब्दको। हामी अर्कालाई नराम्रो हुने शब्द किन बोल्छौँ है? म आफू चाहिँ मेरो कुनै शब्दले अरुलाई मन नदुखोस् भन्ने मान्यता राख्छु र अरुबाट पनि त्यही आश गरेको हुन्छु।
तर आश गरेको सबै कुरा कहाँ पूरा हुन्छ र? हामी सामाजिक प्राणी हो, समाजमा हुने राम्रा र नराम्रा दुवै पक्षहरूलाई हामीले सामना गर्न सक्नुपर्छ। कसैले हामीलाई प्रश्न गर्यो भने त्यही जवाफमा आफूलाई बदल्ने होइन।
सके जवाफै दिने, नसके मौन बस्ने र आफूलाई नकारात्मक कुरा सोच्न बाध्य बनाउनु हुँदैन। सामाजिक कुराहरूलाई सुन्न सक्ने र त्यसलाई सहजरूपमा ग्रहण गर्न सक्ने क्षमता हुनुपर्दछ।
मलाई तिमी यस्तो तिमी उस्तो भनेर फरक नै पर्दैन। म जहिले आफू र आफ्नो परिवार कसरी खुसी हुनसक्छौँ भन्ने कुरा मात्र केन्द्रित हुन्छु।
म पातलो हुँदै खुसी छु। आमाले छोरी थोरै भए पनि मोटाइदिए हुन्थ्यो भन्ने आशले ‘यति खाना खाऊ न छोरी, थोरै थप न छोरी’ भनेर देखाएको माया म मोटी भएपछि कहाँ पाउँला?
दाजुबहिनीको झगडा पर्दा 'के झगडा गर्नु, भयो बस् तैँले नै जितिस्' भनेर देखाएको महानता कहाँ पाउनु? अनि बुबाले 'यत्रो त भारी बोक्न सक्दिनस्, ले मै बोक्छु' भनेर देखाएको माया कहाँ पाउँला?
तर आफूले गर्न सक्ने काम म बिना झन्झट गर्नसक्छु। म पातलो भएर मेरो परिवारले देखाएको माया म वर्णन गरेर सक्दिनँ र कुनै शब्द पनि छैन। आफ्नो सन्तान जस्तो भए पनि माया त सबैले गर्नुहुन्छ तर म आफूले भोगेको कुरा मात्र भन्दैछु।
मेरो शारीरिक बनावट मेरा लागि भन्दा मलाई हेर्नेहरूको लागि हो र?
म मेरो पातलो शरीरदेखि कहिल्यै बेखुसी छैन। सबैलाई सम्मान गर्छु। कोही मोटो हुन्छ, कोही पातलो हुन्छ, कोही अशक्त हुन्छ। मैले अघि भनिहालेँ नि हामी प्रकृतिको देन हो, आफू जस्तो भए पनि सबैभन्दा पहिला आफूले आफैलाई स्वीकार गर्नुपर्छ र आफूभित्रको कमीकमजोरी पनि स्विकार्नुपर्छ।
आफू आफ्नै शारीरिक बनावट देखेर खुसी हुनुपर्छ, अरुलाई खुसी बनाएर त सकिँदैन र म कोसिस पनि गर्दिनँ। मेरो विचार, मेरो व्यवहार मनपर्छ भने ठिक छ। त्यस्तो व्यक्ति सदैव स्वागतयोग्य छ।
तर कहिलेकाहीँ मान्छेको प्रश्नले सोच्न बाध्य बनाउँछ- को छ खोई आफू जस्तो छौ त्यस्तै खुसी हुने?
कोही-कोही मान्छेहरूले भन्छन्- तिम्रो शरीर कति ठिक छ, कति हलुंगो हिँड्न सक्छौं, झापझुप बस्न उठ्न सक्छौँ, तिमी जस्तो हुन पाए अहो!
कसैले म जस्तो बन्ने सोच राख्छन् भने म किन अरुको जस्तो बन्नुपर्यो? तर भनिन्छ नि, सुरुमा त मान्छेको रुप मान्छेको शारीरिक आवरण हेरिन्छ।
हो, त्यो सत्य हो। म पनि हेर्छु तर हेरेर मात्र मेरो निर्णय विश्लेषण गर्दिनँ। म मान्छेको व्यवहार हेरेर मात्र विश्लेषण गछु। तर सबैको मेरो जस्तो विचार कहाँ हुन्छ र? यदि म केटा भएर पातलो भएको भए- बाबु गाँजा त दरै खान्छौ भन्न भ्याउथे होला। धन्न यस्तो त अझसम्म कसैले भनेको छैन।
ममाथि उठाउने सदैव एउटै प्रश्न- ब्रेकअप भयो कि क्या हो?
कोही साथी वर्षौंपछि भेट भएको किन नहोस्, हालखबरभन्दा पनि ‘कति पातलो! के भयो, ब्रेकअप भयो कि क्या हो?’ भनिहाल्छन्। म अचम्म पर्छु।
दिन प्रतिदिन मोटाउँदै जानु पर्ने हो र?
उमेरअनुसार बाहिरी आवरण देखेर विश्लेषण गरिन्छ, मोटा मान्छेहरू सधैँ खुसी हुन्छन्, पातलो मान्छे सधैं चिन्ता गर्छन् भन्ने हुन्छ र?
कति मान्छेहरूको आफ्नो शरीर चाहँदाचाहँदै पनि नियन्त्रणमा हुँदैन। बढ्ने घट्ने प्रक्रिया त चलिरहन्छ, आफ्नो सोचाइलाई बृहत बनाउनुहोस्। कसैलाई हामीले देखेर मान्छेको गाहिराइ बुझ्न् सकिँदैन।
मेरो उमेरका पातलो मान्छेहरू, अझ विवाह नभएको मान्छेलाई गरिने प्रश्न ब्रेकअप भयो कि क्या हो? व्यक्तिपिच्छे फरक धारणा र फरक चिन्तन हुन्छन्। मेरो चिन्तनको विषय ब्रेकअप होइन नि हजुर। अरुले हेर्न म र म आफूले आफैलाई हेर्ने ममा धेरै फरक छ।
म जस्तो भए पनि अरु कसैको आँखाको मनोरञ्जन बन्नु छैन। बस् म मेरै आँखामा खुसी र मेरै हृदयको सुखी बन्न सकुँ।