म गुल्मीस्थित एक गाउँको मध्यम परिवारमा जन्मिएर त्यही हुर्किएँ। जब म कक्षा ३/४ मा पढ्थेँ, त्यति बेलादेखि नै चिया मन पराउथेँ।
आजभन्दा १०/१२ वर्षअगाडि चिया अहिलेजस्तो सस्तो थिएन। त्यतिबेला प्रतिकेजि ४०/५० रुपैयाँमा पाइन्थ्यो। अहिलेको १०० रुपैयाँ र त्यति बेलाको ४०/५० रुपैयाँको मूल्य धेरै फरक हो। तर मलाई त्योसँग सरोकार भएन, मलाई बस् चिया चाहियो।
म सानैदेखि दूध र चिनी भए भात खान्थेँ, मलाई तरकारी नै मन पर्दैनथ्यो। चिनी त म यत्तिकै खान्थेँ। यति धेरै चिनी खाने मलाई चिया मन पर्नु स्वाभाविक नै थियो होला।
म चिया दिनमै ४/५ पटक पिउन थालेको थिएँ। यो देखेर घरमा मलाई गाली गर्नुहुन्थ्यो। ‘चिया धेरै खानु हुँदैन बाबु, सुगर हुन्छ’ भनेर मलाई चिया कम गराउने प्रयास हुन थाल्यो।
मलाई यति धेरै चियाको लत बसिसकेको थियो कि घरमा कहिलेकाहीँ चिनी सकिएको र पसल जान नभ्याएपछि चिया खान पाएन भनेर रिसाउथेँ। घरमा ‘एकछिन चिया नपिए पनि मरिँदैन’ भन्नुहुन्थ्यो। तर मलाई मर्छु जस्तै लाग्थ्यो।
त्यतिबेला चिया पिउन नपाउँदा मलाई टाउको दुख्ने, केही काम गर्न मन नलाग्ने, आलस्य हुने, चिया नै सम्झिरहने भैसकेको थियो। एक अर्थमा भनौँ चियासँग मेरो गहिरो माया बसेको थियो।
सुगर हुन्छ भनेर चिया पिउन नदिँदा कतिपटक घरमा रोएको, झगडा गरेको अनुभव सम्झिँदा अहिले भने केही रमाइलो र हाँसो उठ्छ। मलाई सुगर के हो के मतलब? बस् चिया चाहिँ पाउनु पर्यो।
घरमा टाढाबाट आउने पाहुना वा गाउँको मान्य मान्छे आउँदा चिया टकार्ने चलन थियो र अझै पनि छ। त्यतिबेला आमा, दिदीभन्दा पहिले म चिया पकाएर पाहुनालाई पुर्याउथेँ र म पनि एक गिलासभरि चिया पिउन पाउथेँ।
म पाहुना आएको पाँच मिनेटमै चिया पुर्याउथेँ। यो देखेर घरको माइलो छोरो मलाई जिस्काउँदै पाहुनाहरू भन्नुहुन्थ्यो- यो त घरको माइली बुहारी हो।
यसो भन्नुमा म अन्य बुहारीले जस्तै पाहुनालाई गर्ने सत्कार जसमा चिया, पानी तुरुन्तै पुर्याउथेँ भने आमा र दिदीहरू पाहुनासँग बसेर कुरा गर्नुहुन्थ्यो। तर यसो गर्नुमा भने मभित्र चिया धेरै पिउने स्वार्थ लुकेको थियो।
कहिलेकाहीँ त घरमा ४/५ जना पाहुना आउनुहुन्थ्यो। जति धेरै पाहुन आयो त्यति धेरै चिया खुवाउने र खाने काम म आफै गर्थें। तर दिदीआमा भने अघिभर्खर पिएको भनेर पिउनु हुँदैनथ्यो। पाहुनाको अगाडि खासै गाली नगर्ने भएर होला म जहिले घरमा गाउँका मान्छे आउन् भन्ने सोच्थेँ।
त्यतिबेला मेरा साथीहरू घरमा पाहुना आए भने चकलेट खान पाइन्छ भनेर खुसी हुन्थे तर मलाई चकलेटभन्दा चिया पिउन पाइने खुसी हुन्थ्यो। मेरो यो चिया पिउने हर्कत देखेर घरमा रोगी हुने भएँ भन्ने डरले धेरै गाली गर्न थाल्नुभयो।
मेरो चिया लत उहाँहरूले बुझ्नु हुँदैनथ्यो। उहाँहरूले यति धेरै चिया नखाओस् भन्ने मात्र सोच्नुहुन्थ्यो।
मेरो चिया लत यतिसम्म बढेको थियो कि परिवारको आँखा छलेर चिया खान धेरै जुक्ति लगाउन थालेँ। घरमा पाहुना कम आउँदाको दिन रुघा लाग्यो भनेर नुन-पानी खाने बहानामा भाडोमा नुन र ज्वानो राख्नको सट्टा चिनी र चियापत्ति राखेर चिया पिएकोसम्म छु।
घरमा चिया कम गराउँदै गर्दा म गाउँमा चिया पकाउने बेलातिर घुम्न हिँड्नेजस्ता हर्कत गर्न थालेँ। कारण ठूलो र मान्य मान्छे जुनसुकै समयमा घरमा आउँदा चिया पकाएर दिने चलन भए पनि केटाकेटीलाई भने वास्ता गरिँदैनथ्यो।
त्यसैले उनीहरूको चिया पिउने समयमा म टुप्लुक्क पुग्थेँ। म चिया पारखी भन्ने मेरो छिमेकी भाउजूले बुझिसक्नु भएको थियो क्यार, सानो भए पनि चिया पकाएर दिने गर्नुहुन्थ्यो। म ती भाउजूकोमा धेरैजसो दिउँसो खाजा खाने समयमा जाने गर्थेँ।
गाउँमा सबैको चिया खाने समय मलाई लगभग थाहा नै भैसकेको थियो। भलै घरमा कम्तीमा तीन पटक म चिया पिउने गर्थें, त्योभन्दा बढीको लागि गर्ने सङ्घर्ष गाउँ थियो।
समय बित्दै जाँदा म गाउँमा १२ को पढाइ सकेर बिबिएस पढ्न बटौली सहर छिरेँ। त्यहाँ सुरुको एक वर्ष भान्जासँग बसेँ। अब मलाई चिया पिउन कसले रोक्थ्यो? दिनमा ८/१० पटक चिया पिउन थालेँ। यतिसम्म कि मध्यरातमा जागेर चिया पकाएर पिएर सुत्ने गर्थें।
मेरो संगत गरेका भान्जालाई पनि म जस्तो-जस्तो बनाइसकेको थिएँ। त्यसपछि साथीसँग बस्दा त्यस्तै हर्कत गर्न थालियो। मेरो संगतले साथीहरूलाई पनि चियाको लत लाग्यो। अब हामीलाई चिया खान रोक्ने कोही थिएन।
तर बटौली छिरेको दुई वर्षपछिबाट म बिरामी पर्न थालेँ। मलाई कहिले टाउको दुख्ने, छाती दुख्ने, टाउको भारी हुने, आँखा पोल्ने, गर्मी हुने हुन थाल्यो। यी सबै एकैपटक नभएर टाउको दुख्न छोडेपछि छाती दुख्ने, यस्तै एक छोडि अर्को दुखाइ हुँदै गयो।
मलाई अब गाह्रो हुन थाल्यो। जँचाउन अस्पताल धाइरहन पर्न थाल्यो तर रिपोर्टमा केही देखिएन। जति औषधि खाँदा पनि निको नहुने भएपछि मैले बुटवलका लगभग सबै अस्पतालमा चेकअप गराएको छु। उपचार गर्न म काठमाडौंसम्म गएको कुरा घरमा पनि थाहा छैन।
अब मलाई लाग्न थाल्यो यो सबै चियाको कारण हो, चिया छोडनु पर्छ। जब म चिया छोडछु भनेर लाग्न थालेँ, चियाको नशामा यति फसिसकेको रहेछु कि चिया नखाँदा झन् गाह्रो हुन गयो।
यस्तै बिरामी हुने सिलसिलामा म नचाहेर पनि चिया कम गर्न बाध्य भएँ। जब तपाईंको स्वास्थ्य रहँदैन, तपाईंलाई स्वास्थ्यभन्दा ठूलो केही लाग्दैन रहेछ।
अस्वस्थता भएकै बाबजुद म अब वैदेशिक यात्राको क्रममा जापान जाने भएँ।
मलाई त्यतिबेला एकदमै डर थियो। यति धेरै लगानी राखेर विदेश जाँदैछु, कतै फर्किनुपर्यो भने? तर ठूलो हिम्मत गरेर म विदेशिएँ।
म त्यतिबेला सुन्ने गर्थेँ- विदेशमा त चियापत्ति पाउँदैन रे, कफी पिउँछन् रे! चियाको बानी परेको मलाई कफी के मतलब! म चियापत्ति बोकेर विदेशिएँ। अस्वस्थ भए पनि चिया पिउन छोडेको थिइनँ तर कम चाहिँ गर्दै गएको थिएँ।
म विदेशमा एक्लै चिया पिउथेँ। मेरा अन्य साथीलाई चियाको मतलब थिएन तर उनीहरू पनि एउटा न एउटा नशामा त हुँदारहेछन्।
समय बित्दै गयो, मैले चिया पिउन छाड्न सकेको थिइनँ। जापानका पनि धेरै हास्पिटल पुगेको छु। चिया नै समस्या ठान्न लागेको म डाक्टरलाई आफै सुगर जाँच गर्न आएको भनेर सुगर चेक गराउथेँ तर सुगर चाहिँ अहिलेसम्म छैन र नहोस् पनि।
नेपालबाट बोकेको चियापत्ति सकिँदै गयो। काम र कलेजको चापले चिया पकाउने, पिउने समय नमिल्दै गयो। दिनमा ७/८ पटक चिया पिउने म समय र स्वास्थ्यले दिनमा एकपल्ट हुँदै अहिले चिया नै नपिउने भैसकेको छु।
यहाँ विदेशमा धेरै कफी पिउँछन् तर चियाबाट दिक्क भएको म कफीतर्फ लागिनँ। चियाबिना बाँच्दिनँ लाग्ने म चियाबिना बाँच्न सक्ने भएको छु अर्थात् चियासँग मेरो ब्रेकअप भएको छ।
संयोग भनौँ या के, चिया छोडेपछि म अहिले स्वस्थ भएको छु।