साँझा यातायात टिचिङ अस्पताल छेउ रोकियो। म र मित्र ओर्लियौं। हामी अलि अगाडि रोकिएको नेपाल यातायाततिर हतासपतासले दौडियौं। गाडीको संख्या कम भएको र गाडी छुट्ने डरले गाडीभित्र प्रवेश गर्यौं।
मेरो उचाइ अग्लो भएको हुनाले झट्ट हेर्दा मानिसहरुका टाउका कोही दायाँ र कोही बायाँपट्टि फर्किएका, कोही साना र कोही ठूला, कोही झ्याप्प कपालले भरिएका र कोही झुस्स कपालले तालु टल्किएका।
कोही तेल या क्रिमले चिटिक्क परेका जुल्फी भने कोही सहरको धुवाँधुलोले फुस्रो परेका कपाल र बसको माथि बिममा झुन्डिएका। कोही उमेरले चाउरी परेका, कोही मेनिक्युअर पेडिक्युअरले सिलित्त परेका, यस्तै-यस्तै।
हामी अलि भित्रतिर कोचियौँ। एक दम्पती हामी चढेकै यातायात चढ्ने तरखरमा चढि पनि हाले। श्रीमती सुत्केरी, श्रीमानको हातमा ५/६ दिनको नवशिशु।
मेरो ठिक अगाडि र पछाडि बसिराख्नु भएका जेष्ठ नागरिकहरूले दम्पतीको लागि एक-एक वटा सिट खाली गरिदिनु भयो। श्रीमान हातमा नवशिशुको साथ पछाडिको सिट र श्रीमती अगाडिको सिटमा। म ठिक दुई सिटको बीच भागमा उभिएको छु।
देब्रे हात गोजीमा, दाहिने हातले बसको बिम समाउँदै र टाउको ती व्यक्तिले दुई हातमा लिएको नवशिशुले ट्याप्प बन्द गरेको आँखाको दिशातिर फर्किएको छ।
सायद धर्तीमा अवतरण गरिसकेपछिको छैटौं या सातौ निन्द्रा हुनूपर्छ उनको। आनन्दको अँध्यारो निन्द्राबाट उजाडलाग्दो उज्यालो दुनियाँमा बिउझिन त बाँकी नै छ उनले। बाबुको एक पन्जामा अडिएको टाउको, अर्को हत्केलाले थामेको शरीर। के थाहा यही हातहरू कुनै समयपछि आशीर्वाद दिनका लागि या त गलत बाटो रोजेको बदला सुधार्नको निम्ति उठ्लान्।
म घरीघरी बाबुको मस्तिष्कलाई केलाउन कोसिस गर्दै थिएँ। सायद नजरमा हरेको थियो भने चेहरा उदासीपनले भरिएको। बाबुले नजरले निहालिरहेको दंगदासलाई आफ्नो चेहेरामा देखापर्न दिरहेका थिएनन् वा मस्तिष्कमा ओइरो लागेका कुराहरूले हर्षलाई धकेलिरहेको थियो।
बच्चाको निन्द्रा खुल्यो। नजरले निलो खुला आकाशको साटो बसको पहेलो छत, आँखामा घामको किरण अनि मानिसका खप्परहरूले ऊ अलि तर्सियो। तर्सिएकी या तर्सिएको शिशुलाई बाबुले थपथपाएर फेरि त्यही आनन्दको अँध्यारो निन्द्रामा पठाउन खोज्दै थिए।
म निहाल्दै थिएँ बाबुको त्यो उदासी अनुहार र खुसीले चलमलाएको आँखाहरू। दुई परिवार अब तीन भएको छ। पहिले दुई पेटको लागि काम गर्नुपर्थ्यो भने अब तीन पेट। पहिले एकको लागि सोच्नु पर्थ्यो भने अब दुई। विस्तारै जिम्मेवारीहरूले ठुंग्दै छ, सहरको महंगीले सताउँदै छ।
गरिबीले बेलाबेला झस्काउँदै छ। बच्चाको लवाइखवाई, पढाइ, बसाइले तर्साउँदै छ, यी सबै आइलाग्ने कुराहरूसँग भयंकर लडाइ गरेर परिवार अगाडि बढाउनु छ। अहिलेको पेसाले पुगनपुग भए आखिरमा खाडी त धाउनु नै छ, बच्चालाई राम्रो भविष्य त कुनै पनि हालतमा दिलाउनु नै छ।
म उनकी श्रीमतीतिर मोडिएँ। आफूहरू ओर्लिने ठाउँ आइपुगियो कि भन्दै झ्याल बाहिर चनाखो भएर हेर्दै थिइन्।
म त्यो शिशुलाई एकनासले हेरिरहँदा मेरो दायाँपट्टि उभिराखेकी अर्की महिला मलाई घोरिएर हेर्दै थिइन्। ठानिन् होला मलाई बच्चा असाध्यै मनपर्छ।
सायद म बच्चाको आउने भविष्यलाई केलाउँदै थिएँ। सायद त्यो बाबुको स्थानमा आफूलाई कल्पना गर्दै थिएँ। सायद त्यो उदास चेहराले बताइरहेको भावनालाई मनमनै विश्लेषण गर्दै थिएँ। मसँग अनुहार पढ्न सक्ने ठूलै प्रतिभा भएको अनुभव हुँदै थियो।
बाबुको अनुहार पढिरहँदा, मगजलाई खातालखुतुल गरिरहँदा बस धुम्बाराही आइपुगेछ। श्रीमतीले श्रीमानतिर फर्किएर भनिन्- ‘ओर्लिउँ।‘
गाडी रोकियो, श्रीमती चाहिँ उठेर बसको ढोकातर्फ लागिन्, श्रीमान पनि विस्तारै बच्चालाई लिएर बसबाट ओर्लन लागे।
तर अच्चम्मको कुरा, मैले यतिका कुराहरू सोचिरहँदा त्यो शिशु छोरा थियो कि छोरी मैले पत्तै लगाउन सकिनँ। मैले ती बच्चाको बाबुलाई सोध्ने प्रयत्न पनि गरिनँ।
सोचेँ, छोरा होस् या छोरी जे भए पनि ती बाबुको उदास अनुहारले आज मलाई सन्तान जन्मिएपछि आउने जिम्मेवारी महसुस गराएर गए। ती बाबुको स्थानमा आफूलाइ राखेर कल्पना गरिरहँदा पिताका रुपमा आइपर्ने जिम्मेवारीहरूलाई विश्लेषण गर्दै थिएँ।
जिम्मेवारी त उही नै हो, चाहे त्यो छोरा होस् वा छोरी।