सोचेकी थिएँ, आफूलाई भएको स्तन क्यान्सरका बारेमा अब केही लेख्दिनँ, कलम बन्द गर्छु।
त्यसो हुन पाएन, परिस्थितिले फेरि एकपटक यसबारे केही लेख्न मन लाग्यो।
तोकिएको दिनमा त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ को किमोथेरापी दिने कोठामा बसेकी थिएँ।
एक जना नर्सले भित्तातिरको बेड देखाउँदै भन्नुभयो– उहाँले चार साइकल किमो लिइसक्नुभयो, तपाईंले उहाँको अनुभव सुन्दा राम्रो हुन्छ।
किमो थेरापीमा जानुपर्ने कुरा सुनेदेखि नै म मानसिक रूपले भयभित थिएँ। एक साइकल किमो लिएकी थिएँ तैपनि कुरा सुन्न अनुभवीसँगैको खाली बेडमा सरेँ।
उहाँको चार साइकल किमो सकेर पनि दाहिने स्तनमा देखिएको गिर्खा काटेर फालिएको रहेछ। अझै चार साइकल किमो दिनुपर्ने रहेछ।
उहाँ हुनुहुँदोरहेछ स्याङ्जाको पुतलीबजार नगरपालिकाकी उपमेयर देवी अर्याल। मैले करिब दुई महिनाको अन्तरमा भेटेका वा सम्पर्क भएकाहरूमध्ये दाहिने स्तनमा क्यान्सर भएकी उहाँ दोस्रो व्यक्ति हुनुहुन्थ्यो।
अधिकांश चाहिँ देब्रे स्तनमा क्यान्सर देखिएको भेटिनुभयो। यहाँ मात्रै होइन, अमेरिकामा पनि स्तनमा बढी क्यान्सर देब्रेतिरै देखिने रहेछ। यसको कारण अहिलेसम्म पत्ता लागेको रहेनछ।
देवी अर्याल र म आआफ्नो अनुभव साट्दै थियौं।
एक जना नर्सले भन्नुभयो– आजकाल स्तन क्यान्सर एकदमै फैलिइरहेको छ, तपाईंहरूले चेतना जगाउने काम गर्नुपर्यो।
उहाँले यहाँ किमो दिन आउनेहरूको समूह बनाउन, म्यामोग्राम गराउन र समय समयमा डाक्टरकहाँ गएर जँचाउनका लागि सचेत गराउन सुझाव दिनुभयो।
जवाफमा देवी अर्यालले भन्नुभयो– म ठीक भएर फर्केपछि आफ्नो पालिकामा चेतनामूलक कार्यक्रम चलाउँछु।
मैले त गर्न सक्ने भनेको यसैगरी लेखेर मात्रै हो।
क्यान्सर निको पार्ने काम कुनै सर्जन या अंकोलोजिस्टको मात्रै होइन। यो टिम वर्क हो। अहिले आफूले भोगेपछि त के लाग्न थालेको छ भने क्यान्सर ठीक गराउन जति औषधोपचारको खाँचो छ, त्यति नै भावनात्मक साथ र सहयोग आवश्यक छ।
अर्को तरिकाले भन्दा, मानसिक रूपले भय र पीडाबाट गुज्रिरहेको समयमा मलम लगाउने वचन र कर्म आवश्यक पर्छ।
यस्तो कुरा उदाहरणसहित यहाँ प्रस्तुत गर्दैछु।
म्यास्टेक्टोमीको घाउ सुक्दै थियो, किमो दिने दिन आइपुग्यो। पन्ध्र–पन्ध्र दिनमा दिने भनिएको आठ साइकल किमोबाट गुज्रिने दिन आउँदै गर्दा मनभित्र अत्यासलाग्दो भयले अड्डा जमाउन थालेको थियो।
किमो लिनेहरू सबैको आआफ्नो अनुभव हुन्छ। नलिएको भए पनि सल्लाह, सुझाव र उपदेश दिने त नेपालीको बानी नै भइहाल्यो। त्यसले बिरामीलाई कति मानसिक दबाब दिन्छ भन्ने कुरा त्यस्ता सल्लाहकार र उपदेशकले वास्ता गरेकै हुँदैनन्।
जो पनि बच्चालाई सिकाएझैं सिकाइरहेका हुन्छन्। अनुभवीले सिकाएको भए त हुन्थ्यो। कुरा कस्तो हुन्छ भने मेरो फुपाजुको सालाको काकाको मामाको खोइ कसलाई हो क्यान्सर भएको थियो, उसले यसोयसो गरेको थियो, पछि राम्रो भयो। इत्यादि।
सुझावको यस्तो सूचीले बिरामीमा हुने तनावको मतलब नभएपछि सुन्नुबाहेक केही उपाय नहुने रहेछ।
किमो दिने दिन हुँदासम्म म यति भयभित भएकी थिएँ कि यस्तो भय पहिलोपटक गर्भवती हुँदा महसुस गरेकी थिएँ। पहिलो पटक साढे सोह्र वर्षको उमेरमा पेटमा बच्चा आएको थियो। अहिलेजस्तो गर्भावस्थाको बारेमा जान्ने, बुझ्ने उपाय थिएन। सञ्चारमाध्यम र परीक्षण सुविधाको यति व्यापकता थिएन। समाज यति खुला पनि थिएन। इन्टरनेटबाट जानकारी लिने त कल्पना नै थिएन।
घरपरिवारका सदस्यले गर्भावस्थामा पेटको लाज ढाक्न पछ्यौराले छोपेर हिँड्नुपर्छ भनेर सिकाउने बेला थियो। पेटमा बच्चा चल्न थालेपछि अब बच्चा जन्माउँदा मर्छु होला भन्ने डरले गाँजेको थियो। आफूले आफैंलाई सान्त्वना दिन बच्चा जन्माएर मजाले बाँचेकाहरूलाई हेरेर ढुक्क पर्ने प्रयास गर्थेँ। कुनै बालिका आफ्नो गर्भमा बच्चा बोकिरहँदा कुन मानसिक तनाव र भयबाट गुज्रिरहेकी हुन्छिन् भन्ने कुरामा कसैको पनि ध्यान गएको हुँदैन।
अहिले किमो दिने बेलामा पनि त्यस्तै मानसिक तनाव भइरह्यो, जस्तो पहिलो गर्भावस्थामा भएको थियो।
किमो दिने अघिल्लो राति त झन् यति धेरै तनावग्रस्त थिएँ, म त अनायासै रोएछु। रूनु भनेको हतास हुनु र असहाय महसुस गर्नु पनि हो। मरिन्छ भन्ने डर होइन कि किमोको असरबाट हुने छटपटी, शरीरको दुखाइ, टाउको उठाउना साथ वान्ता होला जस्तो हुने अवस्थाबारे अरूको अनुभवले नै मलाई तर्साएको थियो।
मैले पनि त्यही अवस्था भोग्नुपर्छ भन्ने त्रासले किमो दिनुअघि शारीरिकभन्दा बढी मानसिक तनावले आक्रान्त भएकी थिएँ। किमो दिन भनेर तोकिएको समयमा अस्पताल पुगेँ। डाक्टरले लेखिदिएको एक झोला औषधि तयार भयो।
मेरो एउटा समस्या के छ भने सामान्य अवस्थामा पनि रगत निकाल्न पाखुरामा सजिलै नसा भेटिँदैन। यस्तो पाखुराबाट हरेक १५ दिनमा किमो दिन सजिलो हुने भएन। सजिलोका लागि 'Picc Line' (Peripherally Inserted Central Catheter) राख्नुपर्ने भयो।
यो ‘पिक लाइन’ मुटुको नजिकको ठूलो नसासम्म छिराएर राखिँदो रहेछ। यसो गर्दा लामो समयसम्म नसामार्फत औषधिहरू दिन सजिले हुने रहेछ। किमो दिने भनिएको दिन त पिक लाइन हाल्नमै दिन बित्यो।
देब्रे स्तन काटिएको हुनाले देब्रे हात, पाखुराबाट रगत निकाल्ने, रक्तचाप जाँच्ने, त्यो हात वा पाखुरामा घोच्ने इत्यादि केही गर्न नहुने रहेछ। जुन स्तन काटिएको हो त्यतातर्फको हात-पाखुरामा यस्तो काम गर्न नहुने रहेछ। त्यसबारे अस्पतालका स्वास्थ्यकर्मीहरूले जानकारी गराएनन्। बरू अमेरिकामा नर्सिङ सेवामा रहेकी रोशना मिश्रले सम्झाउनुभएको थियो।
दाहिने पाखुरामा पिक लाइन राख्न पनि नसा भेटिएन। डाक्टर दिनेश चटौतले अर्को पाखुरामा राखौं भन्नुभयो।
मैले भनेँ, ‘देब्रे हातमा त कसरी राख्न मिल्ला र! यता त म्यास्टेक्टोमी गरेको छ, यो हातमा त केही गर्न मिल्दैन होइन र?’
सचेत भएझैं उहाँले भन्नुभयो– ए, उसो भए यही हातमा खोजौं।
बल्लबल्ल पिक लाइन हालियो। त्यो दिन किमो भएन।
पिक लाइन निकै महँगो क्याथेटर रहेछ।
मैले जगदीश घिमिरेद्वारा लिखित पुस्तक ‘अन्तर्मनको यात्रा’ सम्झेँ। उक्त पुस्तकमा उहाँले कतै लेखेको क्यान्सर रोग थोरै पैसाले धानिने होइन भन्ने कुरा मेरो जीवनमा पनि प्रमाणित हुँदै थियो।
अर्को दिन शुक्रबार किमो लिन पुगेँ। मनमा डरैडर मात्रै छ। चुच्चेपाटीबाट महाराजगञ्ज पुग्दासम्म लामोलामो सास लिएँ, मनमा डर गुम्स्याउँदै। अब कति छटपटाहट हुने होला भन्नेबाहेक केही सोच आएन।
मनको कुरा साँच्चै भन्दा, अमेरिकाको टेक्सस राज्यमा डेथ पेनाल्टी दिएको कैदीलाई डेथ च्याम्बरमा सुताएर छालाको पेटीले हातगोडा बाँधेर इन्जेक्सन लगाएको दृश्य कुनै बेला टेलिभिजनमा हेरेकी थिएँ। अस्पताल जाँदै गर्दा त्यही दृष्य मात्रै याद आइरह्यो।
किमो दिने कोठाका नर्सहरू साह्रै सहयोगी; केही हुन्न, डराउनु पर्दैन भनेर काउन्सिलिङ गरे।
किमोको रातो झोल दिनुअघि पिक लाइनबाटै कुनै औषधिको झोल दिए। यसपछि आयो किमो।
किमो बनाएर ल्याउने नर्सको युनिफर्ममाथि एप्रोन थियो। उहाँले किमोको बोतल कार्बन पेपरजस्तो कालो कागजले बेर्नुभएको थियो। प्रकाशबाट जोगाउन कालोले बेरेको रे!
पहिलोपटक किमो दिन लागिएकाले कुनै 'रियाक्सन' नहोस् भनेर सामान्यभन्दा झन्डै दोब्बर समय लगाइयो; मानौं, थोपाथोपा गरेर मेरो शरीरभित्र मन्द विष छिर्दैछ र म छटपटी बेहोर्न मानसिक रूपमा तयार भएर बसेकी छु।
साँच्चै, किमो एक प्रकारको रासायनिक विष नै त हो जसले शरीरभित्र क्यान्सर फैलाउने कोष मारिदिन्छ।
पूरै किमो सकियो। मैले कुनै असर महसुस गरिनँ। बेडमा उठेर बसेँ। भोग लागेको जस्तो भयो, बहिनीलाई भनेँ। उनले क्याफेबाट चिया र बनाना ब्रेड ल्याइदिइन्।
बाटोमा कुनै 'रियाक्सन' ले केही नहोस् भनेर नर्सहरूले घर जानुअघि एकछिन आराम गर्न भन्नुभयो। डाक्टरले तीन दिनका लागि वान्ता रोक्ने र जिउ नदुख्ने औषधि दिनुभएको थियो।
हिँड्ने बेलामा नर्सले सोध्नुभयो– ठीक छ?
मैले भनेँ– वान्ता होला जस्तो छ।
नर्सको सुझावअनुसार एक ट्याब्लेट खाइहालेँ।
अहिले सोच्छु, त्यो त मलाई मानसिक तनाव र भयले निम्त्याएको अवस्था रहेछ। किमोको असर व्यक्तिअनुसार फरक हुने रहेछ।
अरू केही असर देखिएन।
किमो दिएको २४ घन्टाभित्र डब्ल्युबिसी (ह्वाइट ब्लड सेल) सामान्य बनाउने इन्जेक्सन दिनुपर्थ्यो। त्यो पनि भोलिपल्ट एक बजेतिर दिइयो। त्यस दिन घरबाहिर पनि गएँ।
शनिबार राति किमोको असर सुरू भयो; असह्य पीडा, छटपटी, वाकवाकी, अरूचि।
उठ्न सक्ने ताकत थिएन। कसैसँग बोल्न मन नलाग्ने, झर्को लाग्ने भयो। यो क्रम तीन दिनसम्म रह्यो।
त्यसपछि फेरि ठीक। ठीक नै त के हुन्थ्यो र! कमजोरी नहुने होइन तर सहन सकिने।
बिरामीलाई अलिकति नरम र मीठो बोलीवचन, भावनात्मक उत्प्रेरणा अनि भौतिक मदत मुख्य हुँदोरहेछ। नानाथरीको उपदेशले त तनाव मात्रै बढाउने रहेछ। यसकारण पनि यो गन्थन लेखेकी हुँ। आफूले नभोगेका कुरा फलानाको देखेको, सुनेको इत्यादि भनेर बिरामीलाई सुनाउनुको अर्थ छैन। यसो नगर्न मेरो आग्रह छ।
क्यान्सर भएपछिको अर्को अनुभव पनि छ।
नेपालको स्वास्थ्य सेवाप्रति देशका जानेमानेका अधिकांश व्यक्तिलाई विश्वास रहेनछ। म यस कुराको साक्षी भएँ। यस्तो कुरा लेख्नु पर्दा मनमा दुःख पनि लाग्छ।
मेरो रोगबारे जानकारी पाउने प्रत्येकजसो शुभचिन्तकले उपचारका लागि भारतको राजीव गान्धी अस्पताल नै जान जोड गर्नुभयो। त्यसरी सल्लाह र सुझाव दिनेमा डाक्टरहरू समेत हुनुहुन्थ्यो।
यो रोग दुई-चार दिन वा दुई-चार महिनामा ठीक हुने होइन। उपचारमा कति पैसा खर्च हुन्छ भन्ने त भोग्नेलाई मात्रै थाहा हुन्छ। नेपाल सरकारले क्यान्सर रोग लागेकालाई एक लाख रूपैयाँ सहयोग दिने रहेछ, मैले लिएको छैन, लिन्नँ।
यहाँ उपचार गराउनेहरूलाई सरकारले सहयोग गर्ने एक लाख रूपैयाँले अलिकति लोभ जगाउने रहेछ। त्यसरी एक लाख रूपैयाँ दिनुभन्दा सरकारी अस्पतालमा निःशुल्क औषधोपचारको व्यवस्था गर्न सके धेरैको हित हुने थियो। उच्च पदासीनहरूलाई नै आफ्नो देशको स्वास्थ्य सेवामा विश्वास छैन। पातलो सिँगान आए पनि सकेसम्म सरकारी खर्चमा विदेश जाने बानी परेको छ। उनीहरू आम मानिसका बारे सोच्ने फुर्सद पाउँदैनन्।
दुई हप्तापछि दोस्रो साइकल किमो दिने दिन आयो। किमो दिनुअघि रगत जाँच भयो। ह्वाइट ब्लड सेल काउन्ट प्रतिमाइक्रोलिटरमा ४५ सयदेखि ११ हजार हुनुपर्नेमा जम्मा २७ सय देखियो।
त्यति कम काउन्टमा किमो दिने कुरै भएन। फेरि त्यसको उपचार गर्ने इन्जेक्सन लगाइयो। त्यसले पनि दुखाइ बढाउने रहेछ। त्यो इन्जेक्सन लगाउनुभन्दा ठीक एक घन्टाअघि सिटामोल खानुपर्दो रहेछ। यसमा पनि मानिसहरूको राय आइरहन्छ– खाना पुगेन, खाएरै ब्लड काउन्ट बढाउनु पर्छ।
क्यान्सर विभागमा कार्यरत नर्ससँग सोधेँ। उहाँले खाना खाएर वा नखाएर हुने कुरा होइन, किमोको असर हो भन्नुभयो।
क्यान्सरका बारेमा मैले लेख्ने यही नै अन्तिम ब्लग होला। अब अरू नै विषय लिएर उपस्थित हुनेछु।
अन्त्यमा, फेरि पनि अनुरोध छ– महिलाहरू, तपाईंहरू डाक्टरकहाँ जान ढिलो नगर्नुस्!
डाक्टरहरूका अनुसार महिलाहरू स्तनमा भएको परिवर्तनका बारेमा संकोचका कारण समयमै जँचाउन नपुग्दा रोगले धेरै च्यापिसकेको हुन्छ। यस्तो अवस्थामा उपचार कठिन हुन्छ।
फेरि भन्छु– यो लेख चेतनाको उद्देश्यले मात्रै लेखिएको हो, मेडिकल सुझाव होइन।
यी पनि पढ्नुहोस्ः
क्यान्सरको आक्रमणमा परेकी म!
छातीबाट एउटा गह्रौं भारी बिसाएँ!
डाक्टरकहाँ जान नडराऔं!
(अमृता लम्सालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @AmritaLamsal