आफ्नो मनोवेगसँग जोडेर दिनलाई दोष लगाउन त नहुने तर शरीरमा आलश्यता बढेपछि भने दिन नै अल्छी लाग्दो भएको छ। गर्नैपर्ने अत्यावश्यक काम केही नभएपछि जाँगरिलो हुनु पनि परेन। त्यसैले घरका सामान्य कामधन्दा सकेपछि अल्छी मान्दै चिया पकाएँ।
लिभिङरूममा चियाको चुस्की लिँदै झ्यालबाट बाहिर हेरेँ। आज हिजोको जस्तो मुर्ख्याइँ गर्दिनँ।
हिजो घरभित्रै मात्र कति बस्नु भनेर बाहिर हिँड्न गएँ। मूल ढोका खोल्ने बित्तिकै भित्र पसेको चिसो हावालाई बेवास्ता गरी पत्रमाथि पत्र लुगा थोपरेपछि केहीबेरको चिसो थाम्न सक्छु भन्ने आँट गरेकी थिएँ। तर जति नै आँट गरेर हिँडेकी भए पनि धेरैबेर बाहिर टिक्न सकिनँ र फनक्क फर्किएँ।
‘धन्न घरभित्र हिटिङ छ’ भन्दै केही बेरको चिसोले नै कक्रक्क परेका ज्याकेट, मफलर, पन्जा र बुट खोलेपछि बल्ल सहजले सास फेरेँ। चिसो निकै छ भन्ने थाहा हुँदाहुँदै पनि हिँडेपछि जीउ तात्छ भन्ने सम्झेर निस्केकी तर बाटोमै कठाङ्ग्रिएर झन्डै सालिक बनेँ।
जाडो पनि कति हुन सकेको, बाहिर निस्कनै गाह्रो। अनि बिना काम घरभित्र बसेर दिन बिताउन झन् गाह्रो। पहिला नानीहरू साना थिए। नानीहरू साना हुन्जेल समय बितेको पत्तो पाइनँ। कामधन्दापछि बाँचेको समय उनीहरूसँगै व्यस्त खुवाउन, सुताउन, सरसफाइ र फुर्सदमा उनीहरूसँग खेल्नुपर्ने बाध्यता आदि इत्यादि।
साना हुन्जेल उनीहरू पनि आफ्नै वरिपरि झुम्मिन्थे। अब त उनीहरू किशोर भैसके, उमेरअनुसारको पढाइ र साथीभाइमै व्यस्त छन्। आफू पनि व्यस्त रहन बाहिर जाने गरेकी तर यो माइनस २२/२५ डिग्रीको जाडोमा दिनभरि घरभित्रै गुम्सिएर बस्नुपर्ने बाध्यता छ।
घरबाहिर निस्कन समेत नसकिने यी हिउँदका दिनहरू वास्तवमै उराठलाग्दा, विरक्तलाग्दा छन्। झ्यालबाट बाहिर हेर्दा मनलाई आनन्द दिने कुनै दृश्य छैनन्। पातरहित हाँगाबिगा मात्र भएका रूखहरू ठाडै सुकेका जस्ता देखिन्छन्।
खङ्ग्रङ्ग सुकेर मरेतुल्य देखिने रूखका हाँगामा हिउँ टाँसिएकाले सेतो लुगा ओढेकी भूत झैँ लाग्छन्। सदाबहार हरियो देखिने सल्लाका रूखहरूमा समेत हिउँ थुप्रिएर कपाल पाकेकी हजुरआमाको टाउको जस्तो सेता देखिन्छन्।
कात्तिकदेखि सुरु भएको जाडोले झरेको हिउँ पग्लिने अवस्थामा छैन। सबैतिर हिउँ मात्रै देखिन्छ। हिउँमाथि हिउँ थपिएर चुली नै बनेको हिउँमा टिलिक्क टल्किएको घामले आँखा तिरिमिरी पार्छ।
जाडोका कारण बाटोमा पनि गाडीबाहेक मुस्किलले एक/दुई जना कुकुर डुलाउन हिँडेका व्यक्तिहरू देखिन्छन्। पुस/माघको कुनै-कुनै हप्ता चिसो हावाका कारण तापक्रम -३५ देखि -४५ सम्म पनि पुग्छ भने हिमपात भएर १८/२० सेन्टिमिटरसम्म हिउँ झर्छ।
अत्याधिक चिसोका कारण खोलाको पानी जमेको हुन्छ। त्यो बेलामा जति नै गम्म लुगा लगाए पनि बाहिर गएको केहीबेरमै चिसोले शीतदंश हुन्छ।
यो चिसोले मलाई वर्षेनी ती दिनहरू सम्झाउँछ जतिबेला बुवाले कात्तिकदेखि सुरु भएको जाडो चैतसम्म रहन्छ भन्ने सुनेर, ‘हेर नानी, हामी नहुँदा पनि तैँले आफ्नो निर्वाह गरेकै थिइस्। नानीहरू पनि सानैदेखि डे-केयर जाने बानी परेकै छन्। हामी त अहिले जाडो सुरू हुन लाग्दै चिसोले घरबाहिर निस्किन नसक्ने रहेछौं। जाडोले गर्दा बाहिर निस्किन नसकेपछि दिनभरि घरभित्र बसेर बिताउन मुस्किल पर्छ। ६ महिना बसिहाल्यौँ। अरु बस्न आग्रह नगर।’
यसो भन्दै बुवाले नेपाल फर्कने निर्णय गर्नुभयो। तर उहाँको त्यो निर्णयमा जाडो बहाना मात्र थियो। उहाँहरू यहाँ बस्न नसक्नुका अरू नै यथेष्ट कारणहरू थिए।
उमेरले ३ कोरी काटिसक्नु भएको बुवालाई आफ्ना सन्तानप्रतिको मायामोहले त्यति लामो यात्रा तय गर्न सक्ने आँट दिएको थियो। त्यसैले यहाँसम्म सहजै आइपुग्नु भयो। गर्मीको सिजन भएकाले बिहान ५:३० मा घाम झुल्किसक्ने र बेलुका ९.५५ मा मात्र घाम अस्ताएको देख्नुभयो।
बेलुका अँध्यारो भएपछि सुत्ने र बिहानको मिरमिरेमा उठ्ने बानी पर्नुभएको उहाँहरूका निम्ति उज्यालोमै सुत्नु र उज्यालोमै उठ्नु पर्ने बाध्यता उदेक लाग्दो थियो। त्यसबाहेक सुन्दर ठाउँ, सफा र स्वच्छ वातावरण अनि नेपालका जस्तै सबै प्रकारका फलफूल तरकारी किन्न पाइने प्रबन्धले उहाँलाई हर्षित बनायो।
आफ्ना सन्तानले सुविधाहरू सहजरूपमा उपयोग गर्दै जीविकोपार्जन गरेको देखेर अत्यन्त खुसी हुनुभयो। मेसेन्जरमा हेरेका दृश्य यहाँ आएर प्रत्यक्ष देखिसकेपछि मनमा उठेका अनेकौं जिज्ञासाहरू अन्त भए।
भौगोलिक हिसाबले दिनरात नै फरक पर्ने ठाउँ कस्तो होला? भाषा नमिल्ने बिरानो ठाउँमा के कसरी जीविकोपार्जन गर्दा हुन्? आफन्त विहीन परिवेशमा कसरी बाँचेका होलान्? बजारमा के कस्ता चिजबिज किन्न पाउलान्? भन्ने छोरीज्वाइँका विषयमा उब्जेका जुन कौतूहलता, उत्सुकता थिए ती सबै अन्त्य भए।
यसरी उहाँको भ्रमणको मुख्य उद्देश्य पूरा भएपछिको बसाइँ असजिलो हुन गयो। सबै कुराबाट आत्मसन्तोष भइसकेपछि पनि यहीँ बसिरहनु पर्दा दिक्क लाग्नु स्वभाविक नै थियो। अझ जाडो बढेपछि भने गर्मीको सिजनको विपरीत बिहान ८:३० मा घाम झुल्किने र बेलुका ४:३९ मै साँझ परेर अध्यारो भइसक्ने भयो।
यसले उहाँहरूको छोरीज्वाइँसगँको साँझ, बिहानको हिँडडुलको दैनिकीमा असर पार्यो। हिँडडुल कम भएपछि र घरका सदस्यभन्दा बाहिरका अरु कुनै पनि मानिसहरूसँग भेट गर्न, गफ गर्न, शनिबार, आइतबार नै कुर्नुपर्ने परिस्थिति रहेपछि यहाँ बसिरहन उहाँहरूका निम्ति अनुकूल भएन।
फेरि बिहान, दिउँसो कहिल्यै एक्लै बसेर चिया खानु नपर्ने, चिया खाने बेलामा टुप्लुक्क कोही न कोही आइपुग्ने। गफ गर्दै चिया खान पाइने ठाउँबाट आउनु भएको उहाँहरूका लागि यहाँ न त घरमा अकस्मात् कोही आइपुग्छन् न चियाखाजा बाँडेर खान पाइन्छ।
कतिबेला छोरीज्वाइँ आइपुग्छन् भनेर झ्यालबाट नियाल्दै भित्तेघडी हेर्नुको विकल्प थिएन। यसैले पनि मेरोभन्दा पछि विवाह गरेर भित्रिनु भएकी आमा बेकामे भएर यहाँ बस्न सहज मान्नु भएन।
त्यहाँ हुँदा आमाले करेसाबारीमा सिजनअनुसारका तरकारी लगाउनुहुन्थ्यो। तिनको गोडमेल, मल, पानी हाल्ने काममा तल्लीन हुनुहुन्थ्यो। साँझ बिहानको व्यस्तताको निम्ति गाईबाख्रा पनि थिए। घाँस खोलेमा दिन बितेको पत्तो हुँदैनथ्यो।
बिहानदेखि बेलुकासम्म आफ्नो घरधन्दामा व्यस्त हुनुका साथै सामाजिक कार्यहरू पनि भ्याउनुपर्ने, विवाह, व्रतबन्ध, स्वस्थानीका पूजामा आएका निम्तो मान्ने क्रममा कहिलेकाहीँ घरमा बस्ने फुर्सद समेत नपाइने व्यस्त दिनचर्या बिताउने बाआमाका लागि यहाँ रमाइलो नै के छ र?
आजको उमेरसम्म आफूले कमाएका इष्टमित्र, छरछिमेकी जायजेथा जे-जति छ सबै त्यहाँ अलपत्र छोडेर बिरानो ठाउँमा उहाँहरूको मन कसरी अडिन सक्छ? यहाँ अडिनु जस्तो नै के छ र?
वर्षौं काम गरेको ठाउँ घरबाहिर निस्किनसाथ पेसाका आधारमा समेत पाइने ‘सर नमस्कार’ भन्ने सम्मानजनक शब्द उहाँका निम्ति यहाँ कसले उच्चारण गरिदिन्छ र? ती कर्णप्रिय ध्वनिहरू उहाँका निम्ति यहाँ कहाँ गुन्जिन्छन् र? गाउँघरमा जस्तो इज्जत, सम्मान यहाँ कहाँ पाइन्छ र?
दूरको के कुरा गर्नु, घरसँगै टाँसिएको छिमेकीले पनि कहाँ चिन्छ र? आहा! तिम्रा बारीमा त कति राम्रो सब्जी फलेछ भन्दै बारी नियाल्ने आफन्त, छिमेकी यहाँ कहाँ आउँछन् र? अनि आफ्ना बारीमा फलाएका सागसब्जी फलफूल छिमेकी इष्टमित्रसँग बाँडेर खानुको सन्तुष्टि यहाँ कहाँ पाइन्छ र?
कुन देशमा फलेर कोलिस्टोरमा लामो यात्रा तय गर्दै यहाँसम्म आइपुगेका फलफूल तरकारी हेर्दा आँखै लोभ्याउने ताजा देखिए पनि खाँदा आफ्नो बारीमा फलेका जस्ता स्वादिष्ट कहाँ हुन्छन् र?
बजारमा दूध जति नै किन्न पाएर पनि के गर्नु? आजै जमाको दही छ। गर्मीमा यसले शीतल गर्छ भनेर दिन यहाँ कहाँ पाइन्छ र? एकादशी, पूर्णिमा, सोमबार मनाउन मन मिल्नेहरूसँग बिहानै मन्दिर जान यहाँ कहाँ पाइन्छ र?
रहर गरेर घरमै लगाएको सत्यनारायणको पूजाको प्रसाद खान वा जाग्राममा स्वर मिलाएर भजन गाउन यहाँ को आउँछ र? बोलाउने बित्तिकै त्यस्ता निम्तो मान्ने फुर्सद यहाँ कसलाई हुन्छ र? आफू मात्र बाहिर निस्किँदा पनि वरिपरि मात्र हो नत्र हराइन्छ कि भन्ने डर।
घर बाहिर जान समेत साथी चाहिने ठाउँमा लामो समयसम्म कसरी बस्न सकिन्छ र? यी र यस्तै अनेकौ कारणहरूले गर्दा उहाँहरूको बसाइँ असजह हुने नै भयो। यी अनेकौँ कारणहरूका साथमा स्वावलम्बी भई स्वतन्त्ररुपमा बस्नुभएको उहाँलाई पराधीन भएर छोरीज्वाइकहाँ लामो समय बस्न संस्कारले पनि दिएन।
उहाँका यी समस्याहरू बुझेर नै मैले पनि लामो बस्न कर गरिनँ। आत्मग्राही भएर ६ महिनाभन्दा बढी बस्न ढिट गरेकी भए बस्नु त हुन्थ्यो होला तर त्यो बसाइँ उहाँका लागि सन्तोषजनक हुने थिएन। जाडो आएपछि चिसोका कारण बाहिर जान नसकेर जेलको बन्दीले झैँ झ्यालबाट हेर्दै दिन बिताउन विवश हुनुहुन्थ्यो।
आखिर जे भए पनि भिन्न परिवेशमा देखिएका, भिन्न रहनसहनले उहाँहरूको बसाइ रोचक बनाइदिएको थियो। नेपाल फर्कनुअघि मैले उहाँहरूलाई सोधेको थिएँ, ‘बुवाआमा, तपाईंहरूले उहाँ र यहाँमा केकस्ता भिन्नता देख्नुभयो?’
बुवाले भन्नुभयो, ‘अरू जेजस्तो भए पनि यहाँको सरकारले बाटो चाहिँ बनाउन सकेकै हो। कालोपत्रे बाटो नपुगेका त घर नै रहेनछन्। अनि अर्को अनौठो के देखेँ भने यति बाक्ला घरहरू छन्। घरहरू ठूला पनि छन् तर मान्छे भने न बाटोतिर हिँडेका देखिन्छन्, न घर बाहिर बसेर चिया खाँदै गफ गरेका देखिन्छन्। काममा गएका छन् भनुँ भने घरअगाडि गाडी पनि छन्। आएदेखि नै विचार गर्दैछु गाउँअनुसारको हल्लाखल्ला छैन। एकदमै सुनसान छ। गाउँघरका दोबाटामा चोक अनि किराना पसल, घरपिच्छे मान्छे देख्ने बानी परेका हामीलाई यहाँका घर वरिपरि देखिने दृश्यहरू नै अनौठा छन्।’
‘बुवा, यहाँको नगरपालिकाले बाटो, पानी, बत्ती, ग्यास, ढलको सुविधा नभएको ठाउँमा घर बनाउने अनुमति दिँदैन। नगरपालिकाले बाटोको व्यवस्था नगरिकन घर नै बनाउन नदिने भएपछि घरैपिच्छे बाटो नहुने त कुरै भएन। तर गज्जब चाहिँ के छ भने तपाईंले जे जति बाटाहरू देख्नुभयो नगरपालिकाले वर्षमा एकपटक ती सबै बाटाहरू बढार्ने काम गर्छ। अनि हिउँ परेका बेलामा प्राथमिकताका आधारमा हिउँ सोर्ने काम पनि गर्छ।
हिउँ सोरेका बेलामा बाटामा मसिना ढुंगाहरू छोड्दै जान्छ। ती मसिना ढुंगाहरूले अत्याथिक चिसोका कारण हिउँ जमेर बरफजस्तै चिप्लो भएको बाटोमा गुड्ने गाडीलाई चिप्लिनबाट जोगाउँछन्। जब हिउँ पग्लिन्छ तब ती मसिना ढुंगाहरू बाटामा प्रशस्तै देखिन्छन्। हिउँ पग्लिएपछि सडकपेटीमा रहेका रूखहरूबाट सडकमा झरेका अङ्कुरले बाटाहरू फोहोर देखिन्छन्। त्यो बेला नगरपालिकाले सबै बाटाहरू बढार्छ।
अनि तपाईंले घरअगाडि गाडी छन्, त्यसैले मान्छे काममा गएका छैनन् होला भनेर जुन आकलन गर्नुभयो। त्यो यहाँ कहाँ मिल्छ र? रातमा पनि दिनमा झैँ कामका अवसरहरू छन्। दिनरातले कामका निम्ति केही फरक पार्दैन। सुरक्षाको राम्रो प्रबन्ध भइसकेपछि राति काम गर्नेहरूका लागि पनि कुनै आपत्ति हुँदैन।
राति काम गर्नका निम्ति यहाँ चौबिसै घण्टा खुल्ने पसलहरू छन्। राति ११/१२ बजेसम्म चल्ने रेस्टुरेन्टहरू, किराना पसलहरू छन्। रातभरि काम गर्ने सेक्युरिटी गार्डहरू छन्। २४ घण्टे डे-केयर, सिनियर केयरमा काम गर्न नाइट केयरगिभरहरू छन्। मध्यरातसम्म काम गर्ने किलिङ कम्पनीहरू छन्।
वायर हाउसमा रातिको काम गर्ने कामदारहरू छन्। पब्लिक बसहरू, ट्रेनहरू पनि मध्यरातिसम्म चल्छन्, तीनका डाइभरहरू छन्। अस्पताल, पुलिस, फायरजस्ता इमर्जेन्सीमा काम गर्नेहरू त भैहाले ती बाहेक पानी, बत्ती, ग्यास, हिटिङका कतिपय प्राइभेट कम्पनीहरू २४ घण्टे सेवा उपलब्ध गराउने व्यवसाय गर्छन्।
ट्याक्सी, उबरजस्ता सेवा २४ घण्टै उपलब्ध छन्। यसरी विभिन्न ठाउँमा राति काम गर्नेहरू दिउँसो घर आएर सुतेका हुन्छन्। घरको एउटा व्यक्ति काम सकेर आउँछ अनि अर्को जान्छ। यो सिलसिला निरन्तर चलिरहन्छ। परिवारभित्रका सदस्यहरू नै कति दिनसम्म भेट नभइकन दिन बितेको पनि हुन्छ। त्यसैले घर अगाडि गाडी छ भन्दैमा मान्छे घरभित्रै बसेका छन् भन्न कहाँ पाइन्छ र?’
म भन्दै थिएँ तर आमाले मलाई बीचमा रोकेर हाँस्दै भन्नुभयो, ‘हुन त मैले पहिला नदेखेका धेरै कुराहरू देखेँ तर दुइटा चाहिँ साँच्चै अनौठा लागे। पहिलो कुरा सबै घर उस्तै छन्। त्यसैले को धनी, को गरिब भनेर छुट्याउने उपाय रहेनछ। दोस्रो चाहिँ कुकुर डुलाउनेहरूमा देखेँ। कुकुरले बिस्टाउने बित्तिकै बाफ उडदै गरेको विष्ट टिपेर बोकेर हिड्छन्। छि! घिन पनि नलागेको मलाई त गाईले गोब्राएको तातो भकारो समेत सोर्न मन लाग्दैन हो।’
मैले भनेँ, ’आमा, सहर सुन्दर बनाउनका खातिर कम्पनिले एक लटमा बनाएका घरहरू सबै उस्तै हुन्छन्। तर बाहिरबाट हेर्दा उस्तै देखिने घरमा बस्ने धनी मानिसका घरभित्र भने महंगा फर्निचर हुन्छन्। उनीहरू महंगा ब्रान्डेड लुगा लगाउँछन् र महंगा ब्रान्डका गाडी चढ्छन्। तपाईंले बाहिरबाट हेर्दा त्यो देख्न सक्नुहुन्न। त्यसैले धनी र गरिब छुट्याउन गाह्रो पर्छ।
अनि कुकुरका विषयका तपाईंका कुरा ठिकै हुन्। तर के गर्नु? ठाउँअनुसारको नियम मान्नैपर्छ। कुकुर धनीले कुकुरको बिष्टा नसोरिकन हिँडेको कसैले पोल लगाइदियो भने विचराले तोकेको जरिवाना तिर्नुपर्छ अनि कुकुर पाल्ने लाइसेन्स पनि जफत हुन्छ। त्यसैले कुकुर पाल्नेले त्यो त गर्नेपर्छ।‘