मेरो छोराले मोबाइल नहेरी खाँदै खाँदैन के गर्ने होला?
मोबाइल नदिँदा त उधुम नै मच्चाउँछन् नि, केही काम नै गर्न पाइँदैन।
आनन्दले मोबाइल हेर्न दियो आफूलाई नि एकछिन आराम, हल्ला नगरी चुपचाप लागेर बस्छन्।
बच्चा दिनभर छाडेर अफिस जान्छन्, दिनभर त के गराएर भुलाउने?
एकछिन मोबाइल दिँदैमा केही हुँदैन। फलानोको छोराले त कार्टुन नहेरी केही गर्नै मान्दैन रे। हाम्रा त त्यस्तो गर्दैनन् नि कमसेकम।
टिकटक देख्यो कि चिनिहाल्छे, आफै लगाएर हेर्न थाल्छे। यति बाठी त छैन र मेरी नातिनी।
मोबाइल संसारमा आफ्ना छोराछोरीलाई मस्त बनाइदिएर आफू आनन्दको सास फेर्ने आमाबुबा र अभिवावकहरूका प्रतिक्रिया यस्तै-यस्तै हुन्छन्।
बच्चाहरू मोबाइलमा के हेरिरहेका छन्, के सिकिरहेका छन्, हेरेका कुराले उनीहरूलाई कस्तो असर गरिरहेको छ भन्ने कुरा सायद कमै अभिभावकले मात्र ध्यान पुर्याइरहेका हुन्छन्।
कामको व्यस्तताले भनौं या अन्य कुनै बहानामा केटाकेटीलाई मोबाइल दिएर पछि रोइलो गर्ने बाबा-आमाहरू देख्दा यस्तो लाग्छ कि उनीहरू क्षणिक आरामको लागि बच्चाकै भविष्यमाथि खेलवाड गर्दैछन्।
चुपचाप मोबाइल हेरेर बसिरहेको बच्चा सुरुमा जति आनन्द लाग्छ, पछि पचास पटक बोलाउँदा पनि नसुनेर मोबाइल नै हेरिरेको देख्दा उत्तिकै दिक्क लाग्छ। त्यो बीचको सन्तुलन बनाइराख्नको लागि पहल बच्चाले होइन, हामीले नै गर्नुपर्दछ।
मैले कैयौं यस्ता बच्चाहरू देखेको छु जसलाई मोबाइल पाएपछि केही नै चाहिँदैन। उनीहरूले हेरिरहेको मोबाइल एकछिन थुतेर कतै राखिदिने हो भने यसरी छटपटाउँछन् कि मानौँ केही बहुमूल्य चिज भेटिएको छैन।
मोबाइलको निहुँमा भएभरको सामान भताभुंग पार्ने, आमाहरूलाई पिट्ने, झाङ्गलझुङ्गल पार्ने, लडिबुडी गर्ने त सामान्य गतिविधि भए। कोही त अझ ढोका लगाएर बस्ने, खाना नखाने, घर छोडेर जान्छु भन्ने, मर्छुसम्म पनि भन्न पछि पर्दैनन्।
सोच्नुहोस् त, स-साना बच्चाहरू हुन् तिनीहरू जसले यो सब गरिरहेका छन् र यो सब गर्ने उपाय उनीहरूले कहाँबाट पाइरहेका छन्? त्यही मोबाइलबाट जसको लागि उनीहरू यति सबै धमाका गरिरहेका छन्।
बच्चाहरूलाई मनोरञ्जन चाहिन्छ, उनीहरूलाई हाम्रो समय चाहिन्छ, साथ चाहिन्छ। एकछिन आफ्नो व्यस्तता, थकान र तनाव बिर्सेर उनीहरूसँग बस्नुहोस्, गफ गर्नुहोस्, खेल्नुहोस् त। कति खुसी हुन्छन् उनीहरू!
त्यो समयमा उनीहरूलाई तपाईं मात्र चाहिएको हुन्छ। उनीहरूका ती निश्चल आँखाहरूमा देख्न सकिन्छ, त्यो मुस्कानमा देख्न सकिन्छ कि त्यो समय पाएर उनीहरू कति खुसी र पुलकित छन्। त्यो समयमा उनीहरूलाई टिभी या मोबाइल केही चाहिएको हुँदैन। चाहिएको हुन्छ त बस त्यो पल, त्यो रमाइलो पल जुन अरुको लागि हैन बस् उनीहरूको लागि मात्र हुन्छ।
सही ढङ्गले व्यक्त गर्न सक्लान्, नसक्लान् तर नियालेर हेर्ने हो भने उनीहरूको त्यतिबेलाको मुहारको रौनकलाई महसुस गर्ने हो भने उनीहरूलाई त्यो पल त्यही नै रोकियोस् जस्तो भइरहेको भाव बुझिन्छ।
सोचेर त हेरौं उनीहरूको नजरबाट, राखेर त हेरौं उनीहरूको ठाउँमा आफूलाई अनि महसुस गरेर हेरौं उनीहरूको त्यो अबोधपनलाई, त्यो झगडाको पछाडि लुकेको उनीहरूको त्यो भावलाई।
हामीलाई आफै महसुस हुन्छ कि उनीहरूलाई मोबाइल दिएर एकछिन हामीलाई भएको त्यो आनन्दले, एकछिन उनीहरूको हल्लाखल्ला नसुनिनुले, एकछिन उनीहरूसँग खेल्न नपर्ने क्षणले हामीलाई उनीहरूसँग टाढा मात्र बनाइरहेका त छौँ। उनीहरूको मनमस्तिष्कलाई फरक दिशातर्फ धकेलिरहेको छ।
मोबाइल दिएर क्षणिक रुपमा शान्त मात्र भइरहेका छैनन् उनीहरू, विस्तारै-विस्तारै हामीबाट टाढा गइरहेका छन्। आफ्नो लागि छुट्टै दुनियाँ बनाइरहेका छन् अनि पछिसम्मको लागि हामी र आफूहरूबीच पर्खालको निर्माण गरिरहेका छन्।
अब आफै सोचौं हामी, के हामी आफ्ना बच्चाहरूसँगको यो दूरीको लागि तयार छौं? के हामी विस्तारै उनीहरूको सामीप्यबाट अलग्गिन तयार छौं? उनीहरूको साथी मोबाइललाई बनाइदिएर थाहै नपाई आफ्नो साथको जरुरत उनीहरूलाई नपर्नेसम्म पुर्याउन चाहन्छौं?
मोबाइल फोन बच्चाहरूको दुश्मन नै हो भन्न खोजेको होइन तर मोबाइल बाहेक उनीहरूको समय बिताउने अरु कुनै माध्यम नै छैन भन्ने पारिदिनु चाहिँ गलत पक्कै हो र त्यो गल्तीको भार बच्चाहरूले होइन, हामी अभिभावकले नै बोक्नुपर्दछ।
प्रविधिसँग घुलमिल गराउनु भनेको अहिलेको युगानुकूल बनाउनु हो र यसको जरुरत आउँदा दिनहरूमा पर्ने नै छ उनीहरूलाई।
आजकल बच्चाहरूको गृहकार्य त मोबाइल एप र ल्यापटपबाट गर्नुपर्ने जमाना आइसकेको बेलामा यस्तो कुरा गर्न नसुहाउने भन्ने लाग्न पनि सक्छ। तर कलिला बच्चाहरूलाई जसरी बानीको विकास गराउँदै लग्यो, त्यसरी नै उनीहरूले आफ्नो भविष्य निर्धारण गर्न सक्छन्।
हरेक हिसाबकिताब गर्नको लागि क्यालकुलेटरको प्रयोग गर्न नपरे पनि त्यो चलाउने बानी परेपछि दुई र दुई जोड्नको लागि पनि क्यालकुलेटर नै थिच्न मन लाग्ने उदाहरण कतिपय हामी आफैमा भेट्छौं होला। त्यही मेसिनप्रतिको परनिर्भरतालाई पनि ध्यानमा राखेर हामीले बच्चाहरूमा पनि मोबाइलको लत कम गराउने कोसिस गर्नैपर्दछ।
सहरिया बसाइ, जहाँ बच्चाहरू खेल्नको लागि आफ्नो घरबाहिर निस्किने वातावरण छैन, उनीहरूको लागि समय बिताउन परिवारको साथ खोज्नु, आफ्नो गतिविधिमा हाम्रो चासो खोज्नु स्वभाविक हो।
उनीहरूसँग गफ गर्ने, सुत्ने बेलामा कथाहरू भन्ने, घुमाउन लैजाने, प्रकृतिसँग घुलमिल गराउने जस्ता यावत कुराहरूले बच्चाहरूमा मोबाइलप्रतिको लगाव कम गर्न सकिन्छ। तर यसको लागि हामी आफू नै मोबाइलको डरलाग्दो लतबाट निस्कन सक्नुपर्दछ।
आफू मोबाइल समाएर बसेर बच्चालाई पढेर बस, चित्र बनाऊ या छतमा गएर खेल (किनभने बाहिर खेल्नको लागि त आफू पनि उनीहरूसँगै जानुपर्यो) भन्नुको कुनै अर्थ छैन किनकी बच्चाले हामीले भनेको गर्ने होइन, हामीले जे गरिरहेको छौं त्यो हेरेर सिक्ने हो। यस्तो अवस्थामा हामी पनि बच्चासँगै बच्चा नै हुने हो। बच्चा भएरै उनीहरूलाई आफूले चाहेका कुराहरू सिकाउने हो।
मलाई अझै पनि याद छ, म सानो हुँदा मलाई र भाइलाई आफ्नो कोठामा पढ्न लगाएर ममीबाबा टिभी हेर्नुहुँदा हामी ढोकाको चरबाट चिहाएर लुकी-लुकी टिभी हेरेको। त्यो समयमा मोबाइल मानिसहरूको हात-हातमा अझ दिमागमा हावी भइनसकेको अवस्था थियो। त्यही भएर होला टिभी नै एकदम ठूलो मनोरञ्जनको माध्यम लाग्थ्यो।
स्कुलबाट घर पुग्नेबित्तिकै ड्रेस पनि नफेरी टिभी हेर्न बसेको अस्ति भर्खर जस्तो लाग्छ। घरीघरी ढोकाबाट हेर्दै, घरी ममी आउनुभयो कि भएन भनेर भाइलाई बाटोसम्म हेर्न पठाउँदै डराई-डराई भए पनि हामी टिभी हेर्न चाहिँ छोड्दैन थियौँ।
एकछिन कोही घरै नआए हुन्थ्यो जस्तो लाग्थ्यो अनि बाहिर गेट खोलेको आवाज आउनेबित्तिकै झटपट लुगा फेरेर होमवर्क गर्न बसेको जस्तो गर्थ्यौं।
त्यो बेला त्यसो गर्न सक्दा ठूलै काममा सफलता हात पारेको जस्तो लाग्थ्यो। छिटो-छिटो होमवर्क सकेर पनि बाहिर खेल्न जानुको सट्टा टिभी नै हेर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। यो त्यो समयको कुरा हो जुनबेला हामीसँग खेल्नका लागि प्रशस्त साथीहरू हुन्थे अनि आमाबुवा जागिरे नै भए पनि घरमा पनि अभिभावकको समय अहिलेको भन्दा बढी नै पाइन्थ्यो।
स्क्रीनको लत भनेको अलि गहिरै हुनेरहेछ भनेर आफैले भोगेरै आए तापनि अहिले आफ्ना छोराछोरीले मोबाइलको लागि झगडा गरिरहँदा, एकटकले त्यही स्क्रीनमै आँखा, ध्यान केन्द्रित गरिरहँदा बल्ल बुझेको छौं अझै राम्रोसँग हामीले।
त्यो बेला आफूलाई रमाइलो लागिरहेको कुरा, आफ्ना बुबा-आमाको टाउको दुखाइ पो रहेछ भनेर त अहिले आफू आमाबुबा बनेपछि बल्ल थाहा पाउँदै छौं।
त्यो बुझाइ, भोगाइलाई अहिले आफ्ना बच्चाहरूको लागि सदुपयोग गरेर उनीहरूको स्क्रीन टाइमलाई घटाएर उनीहरूसँग जति सकिन्छ समय बिताउनमा गरौं। उनीहरूलाई बाहिरी दुनियाँसँग घुलमिल गराएर उनीहरूको आत्मविश्वास तथा आन्तरिक गुणहरूलाई प्रस्फुटित हुने मौका दिउँ।
उनीहरूको सबल पक्षलाई पहिचान गरेर त्यसलाई अझ तिखार्दै लैजाउँ अनि सबैभन्दा मुख्य कुरा आफू र बच्चाको सम्बन्ध यति सुमधुर पारौं कि भविष्यमा आफू कुनै समस्यामा अथवा आफूलाई व्यक्त गर्नुपर्दा सामाजिक सञ्जाल होइन, इन्टरनेटको माध्यमबाट बनाएका साथीहरू होइन, हामीलाई नै खोजून्। हामीसामु आएर नै आफ्नो मन हलुङ्गो पार्न सकून्।
हामीले अहिले दिएका महङ्गा गिफ्टहरू, कपडा, रेस्टुरेन्टबाट ल्याएका मिठा-मिठा खानाभन्दा ती सबै चीजहरू पाइरहेको क्षणमा हामी भएर या नभएर उनीहरूको मनमा परेको असरले पछिसम्मको उनीहरूको र हाम्रो सम्बन्ध निर्धारण गर्दछ।