प्रिय त्रिभुवन विश्वविद्यालय, म बिबिएस अन्तिम वर्षको परीक्षा दिएर नतिजाको पर्खाइमा बसेकी तिम्रो एक सहनशील विद्यार्थी हुँ।
मजस्तै नतिजाको प्रतीक्षामा बसेका हजारौं, लाखौं सहनशील विद्यार्थीको प्रतिनिधित्व गर्दै आज म तिमीलाई खुला पत्र लेख्दैछु। आशा छ यो पत्र तिमीसम्म पुग्नेछ र हामी निर्दोष विद्यार्थीको मर्म बुझिने छ।
हामी बिबिएस अन्तिम वर्षका विद्यार्थीले परीक्षा दिएर नतिजाको पर्खाइमा बसेको पनि एक वर्ष पुग्न एक महिना पनि बाँकी छैन। परीक्षा दिएर बिहे गरेका साथीले बच्चा जन्माएर बधाई पनि दिइसक्यौँ तर त्रिविको नतिजाको भने अझै अत्तोपत्तो छैन।
त्रिभुवन विश्वविद्यालय, तिमीले हामीले लेखेको प्रश्नको उत्तर बुझेनौ कि अभिभावक हुँ जे गरे पनि हुन्छ भन्ने सोचिरहेको छौ? तिमी आफैले काटेका प्रश्नपत्रमा तिमीले नै भनेका पुस्तक पढेर, तिमीले तोकेको दिन र समयमा परीक्षा दिँदा पनि नतिजा निकाल्न किन यति धेरै ढिलासुस्ती?
आखिर नतिजा निकाल्न किन यति धेरै समय लाग्छ? के परीक्षाको मिति तोकेजस्तै नतिजा निकाल्ने मिति तोक्न सक्दैनौ?
परीक्षामा कस्तो प्रश्नपत्र आउँछन् थाहा हुँदैन तर आफूले लेखेको उत्तरमा आफू पास भइन्छ कि भइँदैन भन्ने कुरा परीक्षा दिएपछि परीक्षार्थीलाई राम्रोसँग थाहा हुन्छ। नतिजा हेर्दा चेकजाँच पनि लापरबाही, त्रुटि भएजस्तै लाग्छ।
अघिल्लो वर्ष हाम्रो ब्याचमा एउटा विषयमा प्रायः सबैलाई ३५ दिएर पठाइएको थियो जुन पास मार्क मात्र हो। मेरो व्यक्तिगत कुरा गर्दा मैले ३५ भन्दा त बढी नै आउने लेखेकी छु भन्ने विश्वास थियो।
मेरो मात्र ३५ आउँथ्यो भने मैले गलत लेखेकी रहेछु भनेर मान्थेँ पनि होला तर प्रायः सबैको ३५ कसरी आउनसक्छ? सबैले एउटै त पक्कै लेखिएन होला। हामीले वर्षभरि गरेको लगानीको मूल्यांकनमा यस्तो लापरबाही गरेको देख्दा पढ्ने जाँगर पनि घटिरहेको छ।
हामी साथी-साथीमा तिमीमाथिको असन्तुष्टि पोख्छौँ, तिम्रो व्यहोराको निकै कुरा काट्छौँ। थाहा छ तिमीलाई, हामीले तिम्रो नाम त्रिभुवन विश्वविद्यालय 'टियू' लाई टोटल्ली अनएक्सपेक्टेड (पूर्णतया अप्रत्याशित) भनेर परिभाषित गरेका छौँ। तिम्रो भर नै छैन।
टियूलाई पूर्णतया अप्रत्याशित पनि कसरी नभनौँ? प्रथम वर्षको नतिजा ननिकाली दोस्रो वर्षको परीक्षाको मिति तोक्छौ। परीक्षा दिइन्जेल पनि नतिजा निकाल्दैनौ।
बिबिएस चौथो वर्षको परीक्षा दिएर हामी नतिजाको प्रतीक्षा छौँ। नतिजा निकाल्नु कता हो कता, मास्टर भर्ना हुने सूचना निकालिएको छ। प्रिय त्रिभुवन विश्वविद्यालय भर्ना हुने सूचना निकालिहालेछौ, अब यो पनि बताइदेऊ न- नतिजा नै नआई कसरी भर्ना हुने?
यस्तो अवस्था देख्दा त्रिभुवन विश्वविद्यालय हामीले तिमीमाथि प्रश्न गर्न पाउने कि नपाउने? हामीलाई दिइएको मानसिक तनावमा तिमी जवाफदेही छौ कि छैनौ? हामी तिम्रो उत्तर चाहन्छौँ।
यो कुरा तिमीलाई पनि थाहा छ, विद्यार्थी भनेका देशका भविष्य हुन्। समयमा परीक्षा नगरेर, राम्रोसँग चेकजाँच गरी समयमा नतिजा ननिकालेर त्रिभुवन विश्वविद्यालय तिमीले हामी विद्यार्थीलाई मानसिक तनाब मात्र दिएको छैनौ, देशको भविष्यप्रति नै खेलवाड गरिहेका छौ। जुन कुरा पक्कै पनि राम्रो होइन।
प्रिय त्रिभुवन विश्वविद्यालय, तिमी हाम्रो अभिभावक हौ। तिमीले अभिभावक भएर अभिभावकको भूमिका राम्रोसँग निर्वाह गरिदिन सक्नुपर्यो। यदि सक्दैनौ हामी अर्को विकल्प खोज्न पनि तयार छौँ। तिमी आफू हट्न पनि तयार हुनुपर्यो।
यदि होइन, म अभिभावक हुन्छु भन्छौ भने आफ्नो जिम्मेवारी पूरा गर। समयमा परीक्षा गर, निष्पक्ष रूपमा चेकजाँच गरी समयमा नै नतिजा निकाल।
परीक्षा लिने मिति तोकेजस्तै नतिजा निकाल्ने तिमी तोकिदेऊ। नतिजा निकाल्न केही समय लाग्ने भयो भने चित्तबुझ्दो कारण बताऊ, हामी पर्खन पनि तयार छौँ तर मैले जे गरे पनि हुन्छ जस्तो तिम्रो प्रवृत्ति भने हट्नु पर्यो। हामी विद्यार्थीलाई तिम्रो व्यवहारले मानसिक तनाव दिएको छ।
प्रिय त्रिभुवन विश्वविद्यालय, आशा राख्छौं हाम्रो मर्म बुझेर आगामी दिनमा उचित निर्णय र कार्य गर्नेछौ। धन्यवाद।
-उहीँ तिम्रो सहनशील र निर्दोष विद्यार्थी।