युरोपका देख्दै नदेखेको गल्लीहरू। निश्चित नभएको भोलिको लागि सम्भावनाको खोजी गर्दै ती नै गल्लीहरूमा भौतारिँदै हिँडेको। कति पटक हिँड्दाहिँड्दै आफू भित्रैबाट टुक्रिएर भक्कानिएर रोएको छु।
मनका कुराहरू पोख्न साथी नहुँदा मोबाइलको क्यामेरासँग कुरा गर्दै बसेको क्षण। खोज्यो भने अझै पनि थुप्रै भिडिओ भेटिन्छ होला।
ऐनामा हेरेर आँसु पुछ्दै ‘तँ पनि यसरी भावनामा बग्न हुन्छ? सुखदुःख आउने र जाने प्रक्रिया हो’ भन्दै सम्झाएको पलहरू पनि धेरै छन्।
परिवारमा युरोप गएको छोरो भन्ने महत्त्वकांक्षी अपेक्षा एकातिर छ। अर्कातिर साथीभाइको मेरो साथी युरोपमा मोज गर्दैछ, खत्रा घुम्दै हिँड्छ भन्ने भाव। आफ्नो वास्तविक जीवन अर्कै छ। अन्धाधुन्ध कस्तो मिसमास जिन्दगी! न त अरुले सोचे जस्तो न आफूले रोजेजस्तो नै।
जीवनमा कहिले दुःख नगरेका हातहरू परदेशमा आएर जुठा भाडामा चुर्लुम्म चोप्नु पर्दाको पीडा। शानदार अधिकृत तहको शैक्षिक योग्याता सकेर हिँडेको एक युवा अँध्यारो, फोहोरी र खतरनाक काम गर्नपर्दा कस्तो महसुस भयो? त्यो त मलाई थाहा छ।
नेपालमा जे भए नि मेरो शानदार जिन्दगी नै थियो। राम्रो/नराम्रो जे-जस्तो भए पनि आफ्नै सवारी मोटरसाइकल थियो। १/२ लाख रुपैयाँको भए पनि सररर... हिँड्दा क्या शान थियो!
साथीभाइ सबै एउटा सर्कल थियो। फुर्सद हुनेवित्तिकै जमघट भैहाल्ने। दुःख बिमार पर्दा समाधान भए/नभए पनि मन खोलेर आफ्नै भाषामा त समस्या भन्न पाइन्थ्यो।
परदेशको यो रहरको सहरमा त्यो धरी छुट छैन। मान्छेको जीवन ३० काटेपछि ओरालो लाग्ने हो, बढ्ने होइन। म भने ३० पछि बल्ल कागज बन्ला र नयाँ भविष्य खोज्ने यात्रामा लागौँला भन्दै प्रतीक्षा गर्दैछु।
के पाएँ, के गुमाएँ?
एउटा पहिलो विश्व अनुभव गर्न पाएँ तर जीवनका धेरै रङहरू गुमाएँ। नेपाल हुँदाका हजारौं साथीहरू गुमाएँ जो म परदेशिएपछि उनीहरूको बस्ने, खाने, हिँड्ने अर्कै दोस्ती बने।
आजकाल नेपाल जाँदा मेरो लागि दिएको एक घण्टाको समय, एक दिनको समय पनि उसको लागि धेरै भए। किनकी मलाई छोडेपछि बनाएका दैनिक साथीहरू र उसको कामलाई पनि ध्यान दिनपर्ने थियो।
एकैछिन सँगै बस्दा पनि ‘फलानोले बोलाएको छ आज उता जानुछ है, अर्को दिन भेटौँला’ भन्दै बिदा हुन्छ। हिजो घण्टौं हामी एकअर्कालाई समय दिन्थ्यौँ, दुःखसुख साट्थ्यौं तर आज?
धुलोधुवाँ भएको सहरमा नबसे पनि जीवन भने अन्धकारको धुलो र बादलले ढप्पकै ढाकेको जस्तो लाग्ने। यो संघर्षको सहर कहिलेसम्म बसिएला, कति बसिएला र भोलि के होला? त्यो पनि निश्चित छैन।
भोलिपर्सि छोराछोरी होलान्। छोडेर जान माया लाग्ला। लिएर जान उनीहरू युरोप, अमेरिकामा जन्मेका यतैको रस बस्ला, जान नमान्लान्। तिनलाई कुरेर बस्दा बुढेसकाल लाग्ला।
जब बुढेसकाल लाग्ला उनीहरू युरोपेली, अमेरिकी होलान्। हामी न त यताको हुन सकिएला न उताकै माया नै पाइएला! सीप होला, पैसा होला, केहि मात्रामा बुढो शरीर लिई देश फर्किएर गर्ने के होला?
म त त्यो समाजमा जन्मेको मान्छे हुँ नि, मेरो बाले आमालाई स्याहारसुसार गरेको देखेको मान्छे हुँ। मैले त सन्तानबाट त्यो अपेक्षा गरेको हुन्छु होला तर युरोपमा जन्मिएका मेरा सन्तानले त्यो देलान्?
आमा र बाबालाई अश्लील शब्द भनेर हिँड्ने समाजमा जन्मेको मेरो सन्तानबाट मैले त्यो अपेक्षा गर्नु पनि मूर्खता हुन्न होला र?
युरोपको सुन्दर सहरमा छु तर म हिँडेको गल्ली, दोबाटो र खेलेको आँगन बिर्सन सक्दिनँ। न त ती चौतारी, देउराली र भञ्ज्याङहरू बिर्सन सक्छु, न त्यो तल्लो पँधेरा, ढुङ्गाको धारा बिर्सन सक्छु। दाउरा, घाँस, काफल र तिदु खाएर हिँडेको वन जङ्गल मेरा मन मस्तिष्कमा सदा रहन्छन्।
मेरो हातमा एउटा रातो विदेशी छाप भएको पासपोर्ट मात्र छ। तर मेरा केही चिनेजानेका, आफन्त र साथीहरू 'यो त विदेशी भइसक्यो, युरोपियन भइसक्यो' भन्छन्।
दालभात खान छोडेको छैन, पाउरोटीमा अझै मुख लाग्दैन, म कसरी विदेशी?
दसैं-तिहार एउटा कोठामा भए पनि मानेकै छु। एक किलो मासु र २० वटा सेल पोलेर भए पनि तिहार मानेकै छु। अनि म कसरी युरोपियन भएँ?
दौरा, सुरुवाल, टोपी अझै पनि मेरो लागि परदेशमा सम्मानित पोशाक छ, म कसरी युरोपियन भएँ र?
बिहान जुरुक्क उठेपछि फेसबुक खोल्दा हेर्ने भनेको नेपालतिर त हो।
लाग्छ जीवनले अब दुई डुङ्गामा खुट्टा टेक्दै छ। न त देश भुलेर परदेशी हुन सकियो, न परदेश छोडेर देश नै भुल्न सकियो। विदेशी चाड एकछिन नयाँ देखेर रमाइलोले हेरिएला तर मादल, झ्याली र स्पिकरमा झ्याम-झ्याम दोहोरी, सालैजो, कौडा र पन्चेबाजा नाचेको जस्तो जोश आउँदैन।
मलाई परदेशको गल्ली-गल्ली थाहा छ। कतै केही घटना भयो भने यहाँ ‘हो र? ल’ भन्यो हिँड्यो। आफ्नो देशतिर केही भयो भने मन चुँडिएर आउँछ। अनि कसरी भइयो र युरोपियन?
न त चाडबाडमा पल्ला घरे काका छन्, न माइला दाइ। न ठूलो घरे कान्छा, न सिते माइला नै। चाड माने पनि त्यसको रङ स्वाद आउँदैन। न त हाम्रो रमाइलोमा यिनीहरू रमाउँछन् न यिनका रमाइलोमा हामी रमाउन सक्छौँ।
अनि एउटा ३२ पेजको कागजमा नाम दर्ता गर्दैमा विदशी कसरी भइँदो रहेछ र? घरदेश फर्किन ‘ह्या त्यो नेपाल के जानू’ भन्नेलाई पनि फोन गर्दा ‘पल्ला घरे काकालाई के छ, गैरी खेत आजकाल कसले गरेको छ? पल्लो बारीमा मकै लाउनु भयो?’ भनेर सोध्नु भनेको ऊ यहाँको भूगोलमा, यहाँको वातावरणमा मात्रै हो।
भौतिक उपस्थिति मात्र यहाँ हो, तनमन भने अझै उतै छ भन्न गाह्रो होला र? अनि कसरी भइयो त युरोपियन? न देश छोड्नु गलत भो भन्न सकिन्छ न त परदेश आउनु सही भयो भन्न सकिन्छ। खै कस्तो यात्रा हो कुन्नी!