श्रीमती: आज हाम्रो म्यारिज एनिभर्सरी। हजुरले मलाई ‘विस’ पनि गर्नु भएन।
श्रीमान: ओहो! हो र ? झण्डै बिर्सेको मैले। आऊ दुबै मिलेर २ मिनेट मौन धारण गरौं।
श्रीमती बेहोस्।
केही दिन अघि एक जना दाइको २५ सौं म्यारिज एनिभर्सरी यानिकी सिल्भर जुब्लीमा सरिक हुने मौका पाइयो। भाउजु २५ वर्ष अघि दुलही हुँदा त्यति राम्री हुन पाउनु भएको थिएन होला जति राम्री २५ सौं विवाह उत्सवमा देखिनुभएको थियो। दाइ त्यत्तिकै राम्रा फेरि। साँच्चै मेकअप र फेसनको क्रान्ति नै मान्नुपर्छ यसलाई। आश्चर्यको कुरा त यो थियो कि राम्रा मात्र होइन हँसिला पनि उत्तिकै देखिन्थे ती जोडी।
मान्नैपर्छ त्यस्ता जोडीलाई, जसको दाम्पत्य जीवनले २५ औं बसन्त काटेको छ र पनि सोले फिल्म जत्तिकै अपार सफलताका साथ चलि नै रहेको छ।
मेरो ध्यान ती जोडीको हँसिलो अनुहारतिर खिचिएको थियो। मनमा प्रश्नहरूले तछाडमछाड गरिरहेका थिए। सोचें के २५ वर्षसम्म उहाँहरू सधैं यत्तिकै खुसी मात्र हुनु भयो होला ? बुढाबूढीमा कहिल्यै तु तु मैे मै भएन होला ? हुनै सक्दैन। कसैले होइन भन्छ भने त्यो गृहस्थीको धर्मको विपरीत हो।
गृहस्थ जीवन बिताउने क्रममा ६–७ रेक्टरको भूकम्प (समस्या) आउनुलाई सामान्य मान्नुपर्छ।
भूकम्पको धक्काले कहिले घरका इँटाहरू हल्लिए होला, भित्ताहरू चर्किए होला, ढल्न पनि आँट्यो होला कहिले त।
तर यहाँसम्म आइपुग्नु चानचुने कुरा होइन। कठिनभन्दा कठिन परिस्थितिमा पनि धैर्यता र सहनशीलतालाई विवाहको मूल मन्त्र मानेको हुनुपर्छ पक्कै पनि। चुँडिन लागेको विश्वासको डोरीलाई गाँठो पारेर भरोसाको जग अझ बलियो बनाएको हुनुपर्छ दुबैले।
अनि बेलाबखतमा आउने भूकम्पका पराकम्पनहरूले ढल्न आँटेको घरमा टेको लगाउने अदम्य साहस पनि बटुलेको हुनैपर्छ।
यदि दुबैले हतास मानेर बीचैमा छोडेको भए मायाले बनाएको त्यो विश्वासको घर यो बेलासम्म आइपुग्दा ढलिसकेको हुने थियो।
कुनै क्षण त दिग्दार लागेर सजिलो बाटो अपनाउँ जस्तो पनि भयो होला। तर समस्याबाट भाग्नु समस्याको हल होइन बरू समस्याहरूसँग जुध्नु बुद्घिमानी हो भन्ठान्नेहरूले मात्र आफ्नो वैवाहिक जीवनमा यति लामो फड्को मार्न सक्छन्।
त्यसैले त भन्ने गरिन्छ, विवाहित हुनु पार्ट अफ लाइफ हो भने विवाहित भएर पनि खुसीसाथ शान्तिसँग बस्न सक्नु भनेको आर्ट अफ लाइफ हो।
कहिलेकाहीँ सोच्ने गर्छु हामी अनि हामी पछिका पुस्ताले यो २५ औं विवाह उत्सव मनाउने मौका पाउला कि नपाउला खै?
अहिलेका पुस्ता धेरै क्वीक र स्मार्ट बन्दै छन्। यहाँ लभ एट फस्ट साइट अनि डिभोर्स एट फस्ट फ्लाइट हुन केहीबेर नै लाग्दैन।
लभ पर्नु र ब्रेकअप हुनु अहिलेको जेनेरेसनको लागि सामान्य बन्दै गएको छ। उनीहरूलाई पारिवारिक मूल्य मान्यता भन्दा पनि व्यक्तिगत स्वतन्त्रता बढी प्यारो हुँदै गएको छ।
पढाइ अनि अवसरको खोजीमा सानै उमेरमा विदेशिएका केटाकेटीहरू पारिवारिक सम्बन्धभन्दा व्यक्तिगत स्वतन्त्रता बढी केन्द्रित छन्।
अनि जब ब्रेकअप या डिभोर्स हुन्छ उनीहरू मेन्टल हेल्थ इस्युजहरूले व्याप्त हुन्छन्। डिप्रेसन, एन्जाइटी हुँदै सुसाइडसम्म पुग्ने गर्छ कहिलेकाहीँ त।
यस्तै, यस्ता कारणले गर्दा आज विवाह संस्था धरासयी बन्दै गएको छ। आधी बाटो हिँडेपछि यसले आफ्नो गन्तव्य बिर्सिन्छ अनि दिशाविहीन बन्दै कुहिरोमा हराएको काग जस्तो भौंतारिरहेको हुन्छ।
हाम्रा बाबा आमाको पालामा एकचोटि विवाह गरेपछि लाइफ टाइम ग्यारेन्टी हुन्थ्यो। दम्पतीले विवाहको आजीवन सदस्यता प्राप्त गर्थे। एक्सपायरी डेटको अप्सन नै हुँदैनथ्यो। तर अहिले विवाह चाइनिज सामान जस्तो भएको छ, चले तो जिन्दगीभर ना चले तो पल भर।
यसलाई के सम्झिने?
१.हाम्रा बाबाआमाले हामीलाई दिएको र हामीले हाम्रा छोराछोरीलाई दिएको संस्कारको कमजोरी?
२. या, स्वतन्त्रताको पराकाष्टा? वा अति तानाशाहीतन्त्र?
३.या त बढ्दो डिभोर्स ट्रेन्ड?
सबैलाई खुला प्रश्न हो यो। हाम्रो उत्तरले कत्तिको मेल खान्छ हेर्दै जाउँ है त!
मेरो सानी छोरी उनका साथीसँग कबड्डी खेलिरहेकी थिइन्। यो दृष्य म घरको कौसीबाट हेरिरहेकी थिएँ। उनको टिममा केही झमेला परेजस्तो देखियो। कुरो नमिलेपछि सबै जना एकअर्कासँग कट्टी गरेर घर फर्के। उनी रूँदै मसँग आइन्। मैले के भयो भनेर घटनाको विस्तृत जानकारी मागेँ। उनले आफूलाई निर्दोष साबित गर्न आँसुको सहारा लिइरहेकी थिइन्। यद्यपी म घटनाको प्रत्यक्षदर्शी नै थिएँ। मलाई थाहा थियो उनी आफ्नो गल्ती लुकाउन खोजिरहेकी छिन्। अब मैले उनलाई एक्सक्युज दिने कि उनलाई आफ्नो गल्ती स्वीकार्न लगाएर साथीहरूसँग सरी भन्न लगाउने?
पक्कै पनि म उनलाई सम्झाउँछु। उनी गलत बाटो गइरहेको थाहा पाउँदा पाउँदै म उनको आँसुबाट कमजोर बनेर उनका गल्तीहरू ढाकछोप कदापि गर्दिनँ। यदि गर्छु भने मैले मेरी छोरीलाई गलत संस्कार दिइरहेकी छु जसले उनको भविष्यमा नकारात्मक असर पार्न सक्छ।
तपाईंहरूले माथि सोधिएको बुँदा नँ १ को उत्तर पाइसक्नु भएको छ।
पालो बुँदा नं २ को। उत्तर खोज्न गाई गोठतिर लागौं।
धेरै दिन बाँधेको गाईको बाच्छीको एक्कासि डोरी फुस्कियो, बाछीले के गर्छ त्यो मैले भनि राख्नै नपर्ला। अब लगेर त्यसलाई गोठमा बाँध्नुस्। अब आफूले भने जस्तो नभएपछि त्यसलाई ठेगान लगाउन तपाईंले २–४ लट्ठी पनि हिर्काउनु हुन्छ। ऊ डराएर एउटा कुनामा त बस्छ तर तपाईंको अनुपस्थितिमा ऊ त्यहाँबाट उम्किन हरसम्भव प्रयास गर्छ र तपाईंबाट टाढा भाग्छ।
हामीले आफूलाई जति नै मोडर्न ठाने पनि हाम्रो समाज यो समस्याबाट अझै ग्रसित नै छ। हामी हामीले माया गर्ने व्यक्तिलाई आफ्नो दायराभित्र कोच्न खोज्छौं। आफ्नो नियन्त्रणमा राख्न खोज्छौं। आफ्नो स्वामित्वको अधिकार जमाउने भूल गर्छौं। तर जति जति हामी यस्तो गर्दै जान्छौं त्यति नै हाम्रो मायामा फिकापन आउन थाल्छ। अनि यही कुरा बिस्तारै आफ्नो नियन्त्रणबाहिर हुन थाल्छ जसले सम्बन्धमा दरार आउन थाल्छ।
सुँगालाई नै हेर्नुस् न उसलाई भरोसा गरेर घरभित्र स्वतन्त्र छोडिदिने हो भने उसले तपाईंलाई कहिल्यै छोडेर जाँदैन। चाहे तपाईं उसलाई खुला आकाशमा नै किन नछोड्नुहोस्, ऊ फर्केर तपाईंसँगै आउँछ।
सम्बन्धमा एकअर्कालाई स्पेश दिन नसक्दा भविष्यमा त्यसको परिणाम घातक पनि बन्न सक्छ। डिभोर्ससम्म पुग्नसक्छ।
हुन त डिभोर्स गर्नु भनेको अहिले केटाकेटीको खेल जस्तो बन्दै गएको छ। (पान,सुपारी, हड्डी,कट्टी)। फरक यत्ति हो केटाकेटीहरू एकैछिनमा झगडा बिर्सेर मिलिहाल्छन् तर बाबुआमाहरू नकारात्मक विचारहरूसँग संघर्ष गर्न थाल्छन्। एकअर्कालाई निरन्तर आरोप प्रत्यारोप लगाइरहन्छन्। अनि सधैंको लागि छुट्टिन्छन्, जसको भूमरीमा केटाकेटीहरू पनि पर्ने गर्छन्।
आँखा खोलेदेखि एकैसाथ देखिरहेका बाबाआमालाई भोलिदेखि अब छुट्दै छन् है भन्दा बच्चाको मानसिकतामा कस्तो असर पर्छ?
बच्चाको लागि त्योभन्दा पीडादायी के हुन सक्ला अरू?
तिम्रा बाबा आमा यो संसारमा नै छैनन् भन्दा बरू बच्चाले मन बुझाउला तर जिउँदो भएर पनि सँगै बस्ने छैनन् भन्दा त्यो बच्चा पलपल मरिरहेको हुन्छ। भविष्यमा उसले कुनै पनि सम्बन्धमा विश्वास गर्न छोड्छ।
आत्मविश्वास गुमाउन थाल्छ, अन्योलका कारण एन्जाइटी फेस गर्ने नानीबाबुहरू पनि धेरै भेटिन्छन्।
डर र चिन्ताले भित्रभित्रै खोक्रो बनाइसकेको हुन्छ उनीहरूलाई।
जीवन नै कन्फ्युजन हुन्छ उनीहरूको लागि।
शब्दले व्यक्त गर्न नसके पनि केटाकेटीहरू मानसिक रूपमा बिछिप्त हुन थाल्छन्।
आफ्ना जिउँदा बाबाआमासँग बस्न पाउनु उनीहरूको जन्मसिद्घ अधिकार होइन र?
हाम्रा बच्चाहरू हामीले उनीहरूको नाममा भाग लगाइदिएको सम्पत्तिको लागि होइन बरू बाबाआमासँगै बिताउन पाएको समय र साथको लागि तड्पिन्छन्। तर यहाँ त बाबाआमाको हक र अधिकारका कुरा मात्र गरिन्छ, छोराछोरीको भावनाको लागि खै त कानून?
सम्पत्ति बाँडफाँट गरेर मात्र छोराछोरीले न्याय पाए भन्न मिल्छ?
डिभोर्सको बढ्दो ट्रेन्ड देखेर मन आत्तिन्छ कहिलेकाहीँ। क्यान्सर जस्तो कति छिटो फैलिएको? हाम्रो समाज कता गइरहेको छ? यहाँ जसको जति बेला पनि डिभोर्स हुनसक्छ। ७५ वर्ष कटिसकेका बुढाबूढीको पनि डिभोर्स भयो अरे भनेको सुन्दा ट्रेन्ड नभनेर के भन्नुहुन्छ तपाईं यसलाई?
छोराछोरीको विवाह गर्ने बेलामा बाबुआमाको डिभोर्स हुन्छ।
बिदाको दिन केटाकेटीलाई घुमाउन लैजाने बेलामा उनीहरूलाई घिसार्दै वकिलको ढोका ढक्ढक्याउनु परिरहेको छ।
यस्तै घटनाहरूले यहाँ विश्वास गर्नेहरूले पनि खुलेर विश्वास गर्न छाडिसकेका छन्।
कतै मेरो पनि डिभोर्स हुने हो कि भन्ने शंकाले लंका जलाउन थालिसकेको छ। सबैको मनमा डिभोर्सको डरले ढ्याङ्ग्रो पिटिसकेको छ। कोभिडको दोस्रो लहर जस्तै भाइरल बन्दै गइरहेको छ डिभोर्स।
हो डिभोर्स गर्नु कसैको पनि रहर हुँदैन। भोग्नेलाई मात्र यसको पीडा थाहा हुन्छ।
तर यहाँ त जो वास्तवमै पीडित छ ऊ नै न्याय पाउनबाट बञ्चित छ।
उसो भए दोषी को त? श्रीमान, श्रीमती, घरपरिवार, आफन्त, या समाज?
एउटा भनाइ छ नि, पानीको गहिराइ थाहा पाउन पानीभित्रै पस्नु पर्छ। नजिक भएपछि बल्ल थाहा हुन्छ, को कुवा हो, को नदी हो, को खहरे अनि को समुन्द्र। वास्तविक कुरा श्रीमान र श्रीमतीलाई बाहेक अरू कसैलाई पनि थाहा हुँदैन। समाज, घरपरिवार या आफन्तहरूले त फ्रि एड्भाइससहित केवल जज मात्र गर्ने हुन्।
जिन्दगीको यात्रा गर्ने क्रममा बाटाहरू सधैं सिधासिधा मात्रै हुँदैनन्। कहीँ चक्कर लाग्ने घुम्ती होला। तपाईंलाई वाकवाकी लाग्ला, बेकार आएछु जस्तो पनि लाग्ला। खाल्टाखुल्टी पनि भेटिएला अगाडि, कतै कहालीलाग्लो भिरालो पनि होला। अब निणर्य तपाईंकै हातमा छ। आफ्नो गन्तव्यसम्म पुग्ने कि बीचबाटै भाग्ने?
आउनुस्, आज एउटा बाचा गरौं।
जबजब कुनै समस्या आउँछ, त्यसलाई फेस गर्न दुई वटा टिम बनाउँ न हुन्न? तिमी भर्सेस म हैन। हामी भर्सेस समस्या।
अनि आफ्ना समस्या तथा कमजोरीहरू एक आपसमा सेयर गरौं। त्यसको हल पनि आफैं निकालौं। तेस्रो व्यक्तिसँग अनलाइन कोचिङ क्लास लिने चेष्टा नराखौं। लिन थालियो भने डिभोर्सको डिग्री छिट्टै पाइएला। सजग बनौं।
किनकि जब जब श्रीमान श्रीमतीको झगडामा तेस्रो व्यक्तिको सल्लाह मान्न थालिन्छ तबतब सम्बन्धहरू कमजोर बन्न थाल्छन्।
रिल वर्ल्ड र रियल वर्ल्डको वास्तविकता बुझेर आफूलाई अरूसँग तुलना गर्न छोडौं। किनभने खुसी त्यो होइन जुन हामीलाई मन परेको कुरा सबै हासिल हुन्छ। हामीसँग भएकै कुरा मन पराएर पनि त खुसी बन्न सकिन्न र? एकअर्काको कमजोरी मात्र नखोजौं। बरू राम्रा पक्ष खोजेर एकअर्काको प्रशंसा गरौं। आज घृणा गर्ने तिनै पार्टनर कुनै समयमा, तपाईंबिना ऊ र ऊबिना तपाईं बाँच्नै नसक्ने गरी माया गर्नुहुन्थ्यो होला, हैन?
आफ्नो दिमागको एन्टिना नकारात्मकतिर होइन, सकारात्मक दिशातिर घुमाउनुहोस् न ल।
आफ्नो पार्टनर नेगेटिभ भैदिए भने आफू पोजिटिभ भैदिनुस् न। सम्बन्ध भनेको बिजुलीको तार जस्तो हो रे। नेगेटिभ र पोजिटिभ मिल्नैपर्छ। कनेक्सन सही भयो भने उज्यालो नै उज्यालो नत्र जिन्दगीभर झट्कै झट्का। त्यसैले ‘समस्या होइन समाधान खोजौं। डिभोर्स होइन परिवार रोजौं।’
साह्रै रिस उठ्यो भने केटाकेटीको जस्तो कट्टी गरेर फेरि मिलिहालौं ल।
(लक्ष्मी रेग्मीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)