धेरै सोचेँ, सोचिरहेँ र पनि निष्कर्षमा पुग्न सकिनँ। खै किन-किन चाहिनेभन्दा धेरै नै सोचेर पो हो कि! ह्या जेसुकै होस् अब केही पनि सोच्दिनँ भन्दाभन्दै पनि फेरि अनेक थरी सोच्न आउँछन्।
उहीँ जीवनसाथीकै बारेमा, अरू त के नै पो हुन्थ्यो र? सायद यति साह्रै सोच्ने बनाएको उमेरले र सँगसँगै वरिपरिका चिनजानका प्रश्नहरूले पनि होलान्।
एकान्तमा बस्दा त झन् यति त सताउँदैनन् यी प्रश्नले। आखिर जीवनसाथी कस्तो हुन्छन्?
सोचले सोचेको जस्तै हुन्छन् र?
मैले मेरा आँखाअघि देखेका जोडीहरू नै जीवनसाथी हुन् त? के जिन्दगीभर साथ दिन्छु, कहिल्यै दुःखकष्ट दिन्न, सधैँ मान-सम्मान गर्छु, तिम्रा निर्णयका पनि ख्याल राख्छु, यस्तै-यस्तै अन्य वाचाहरू स्विकारेपछि बल्ल कुनै व्यक्ति जीवनसाथीको श्रेणीमा पर्छ र?
अस्ति मात्रै मंसिर महिनाको अन्तिम विवाहमा गएको थिएँ, खासै मनले जान मन त थिएन तर मस्तिष्कले जानुपर्छ भनेर मात्रै गएँ। जान मन नलाग्नु कारण पनि उहीँ नै थियो। एउटै प्रसंग जीवनसाथी।
अक्सर विवाहका प्रश्नहरू सोधिने भनेको विवाहमा जाँदा नै हो। त्यसैले सम्झिन्छु सानो छँदा 'जाने हैन घरमै बस्' भन्दा पनि रोएर, जिद्दी गरेर भए पनि जान्छु भनेर अघि लागिन्थ्यो। तर अहिले हिँड्, जाउँ भन्दा पनि के बहाना बनाएर उम्कने होला जस्तो लाग्ने रहेछ।
कसैको विवाहमा गएर यस्सो उभिनु पर्छ वरिपरिबाट अन्जान होस् वा चिनजान, सबै थरीका मुस्कानका छिट्टाहरू आफूसम्म आएर ठोकिन्छन् अनि सुरू हुन थाल्छ प्रश्नहरू-
नानी सन्चै छाै? ए साँच्ची पढेर त अब सकिनै लाग्याे क्या है? अब के विचार छ त? तिमीसँगै पढेको त्याे को रे कस्तो नाम नआएको, उसको पनि विवाह भएछ है? हुन त अब उमेर पनि भयो विवाह गर्ने नै हो भने चाहिँ धेरै ढिला गर्नु हुदैँन है! कि तिमी आफैले हेरेकी छाै? हुन त आजकल एरेन्जभन्दा बढी लभ म्यारिज गर्ने नै धेरै हुने है? यत्तिको पढेको मान्छे उमेर पनि भयो आफै हेरेको भए नि भन्दा हुन्छ है, बरू हामी नि यसो बुझौँला के-कस्तो हो भनेर।
म सुनिरहन्छु हजुर, हो भन्दै अनि मनमनै भन्छु- यही भएर हो म आउदिनँ भनेको।
त्यही पनि फिस्स हाँसेर 'एकैछिन है फोन गर्नुछ, म जान्छु' भनेर बहाना बनाएर त्यहाँबाट निस्किन्छु।
बाफ्रे कति गाह्रो भन्दै लामो सास फेर्छु र मण्डपमा सात फेरो लगाइरहेको नव जोडीमा परिणत हुनै लागेका बेहुला र बेहुलीलाई हेर्छु। के उमेरले विवाह गर भनेर गरेका हुन् यिनीहरूले पनि विवाह?
कि प्रश्नै प्रश्नले दिक्क भएर गरेका हुन्?
कि मन पराएर राजिखुसीमा गरेका हुन्?
खै! होला एउटा न एउटा त पक्कै।
हिजोसम्म अञ्जान व्यक्ति केही मन्त्रका वाचनसँगै, अग्निका फेरोसँगै, केही वाचा र कसमसँगै उहीँ लगनगाठो जसरी जीवनभर कसिएर बस्नुपर्ने रे!
हेर्दाहेर्दै खाली सिउँदो रंगिन्छ, बेहुलीका आफन्त उता फर्किन्छन्, बेहुलीका आँखाबाट आँसु बग्छन् उहीँ डरका सायद मनमा अनेक प्रश्न खेल्दा हुन्। के हुने हो अब, आजबाट म सँगसँगै अनेक सम्बन्धहरू जोडिँदै छन्, अबदेखि मेरा जिम्मेवारीहरू थप बढे, अबदेखि मैले मेरो मात्रै नभएर धेरैको बारेमा सोच्नु पर्छ आदि। सायद यस्तै खालका प्रश्नहरू सलबलाउन थाल्छन् होला।
'छोरीमान्छे हो एकदिन त जसै पराई घर जानु नै छ, कहिलेसम्म विवाह गर्दिनँ भनेर टारेर टर्छ र? अहिले केही काम गर्न मान्दिन, भोलि विवाह गरेर आफ्ना घरा गएसी गर्छे बल्ल,' यही वाक्य थियो बुढा भएका हजुरबाको।
अरू शब्दको मलाई खासै ख्याल भएन तर जब शब्दहरूमा पनि आफ्ना घरमा गएपछि भन्नेले मलाई झसंग बनायो। हँ! आफ्ना घर! अनि यो म अहिले बसिरहेको नि मेरो घर हैन र? मनमनै प्रश्न गरेँ।
ती शब्द सुन्दै गर्दा झल्यास्स सम्झिएँ, छोरीको आफ्नो घर भनेको उहीँ बसुन्जेलसम्मलाई पाठेघर मात्रै हो नत्र भने उसको असली घर खै त?
लाग्छ छोरी मान्छे आफै सक्षम भएर आफ्नो घर आफै बनाउनु पर्छ र रह्यो जीवनसाथीको कुरा, जीवन बाँचुन्जेल खुसी भएर बाँच्नु पर्छ र भन्दा सजिलो भए पनि कहीकतै खुसी हुन गाह्रै छ।
तर वास्तवमा खुसी हुन सिक्नु पर्छ र पर्ने रहेछ। त्यसैले बाँचुन्जेलसम्मलाई साथ पनि त्यस्तो हुनुपर्छ जसमा पूर्ण विश्वास होस्, सजिलै भरोसा होस्, अथाह प्रेम होस् अनि जीवनसाथी हर सुख-दुःखको आड बनोस्।