काठमाडौंको एक साँघुरो गल्लीमा एउटा सानो कोठा छ। त्यही कोठालाई म दरबार मानेर मेरो ठूला-ठूला भ्रमका सपनाहरू देख्छु।
बालविवाह गरिसकेपछि बहुविवाहको मामिलामा फस्नुभएको पीडित मेरो ममी र मलाई सँगै देख्दा हामी दिदीभाई जस्तै देखिन्छौँ। कसैले विश्वास गर्दैन उहाँ मेरो जन्मदता भनेर चिनाउँदा।
मेरो ममी काठमाडौंको नेवार परिवारकी छोरी। सानै उमेरमा प्रेमविवाह गरेर गोर्खाको पालुङटार बस्ने तामाङ थरको मान्छेसँग वैवाहिक सम्बन्धमा बाँधिनु भएछ। विवाह गरेको केही वर्षपछि म जन्मिएँ।
जब म ३ वर्षको भएँ, त्यसपछि मेरो लालनपोषण, पढाइ सबै कुराको जोहो गर्न गाह्रो भएपछि म र ममीलाई एक्लै छोडी मनभरि सन्तान र परिवारको माया साँचेर वैदेशिक रोजगारीमा जानुभएको रे मेरो बाबा!
आज दश वर्ष भयो, बाबा कस्तो हुनुहुन्छ भन्ने महसुस गर्न पाएको छैन। बाबाको जिम्मेवारी के हो? त्यो पनि थाहा पाएको छैन।
ममीलाई बारम्बार प्रश्न गर्थें बाबा खोइ भनेर। चाडपर्व आउँदा सबैका परदेशिएका बाबा घर फर्किएपछि मेरा साथीहरू नयाँ-नयाँ नाना लगाएर हिँड्दा म कतिपटक बाथरुममा गएर एक्लै रोएको छु।
ममीलाई जति नै प्रश्न गरे पनि उहाँको मुखभन्दा पहिला आँखाबाट आँसुको वर्षा हुन्थ्यो। तर एकदिन मैले अति जिद्दी गरेपछि बल्ल जवाफ पाएँ।
बाबा त अर्को केटीसँग विवाह गरेर मलेसियामा विगत १० वषदेखि सम्पर्कविहीन हुनुहुँदो रहेछ। त्यस दिनदेखि मैले ममीको मनमा लागेको चोट कहिले कोट्टयाउने प्रयास गरिनँ। त्यसपछिका दिनहरूमा म ममीलाई खुसी बनाउनको लागि हरतरहका मेरा सानाठूला योजना बनाउन थालेँ।
मेरो पढाइमा प्रगति हुँदा ममीको ओठमा हाँसो देख्छु। म हाँस्दा, खेल्दा, खाँदा उहाँको मन प्रसन्न भएको अनुभूति गर्छु। त्यो बेला आफूले आफूलाई संसार जितेजस्तो ठान्छु।
म जान्ने बुझ्ने भएदेखि आजसम्म बाबाममी दुवैको माया ममी एक्लैबाट पाएको छु। बाबा भन्ने नाम मात्र जान्न पाएँ तर बाबाको माया, जिम्मेवारी, कर्तव्य के रहेछ अहिलेसम्म बुझ्न सकेको छैन।
कहिलेकाहीँ त लाग्छ, मेरो बाबा पनि मेरो साथीहरूको जस्तै स्कुलको गेटमा मलाई लिन आउनुहुन्छ कि कतैबाट टुपलुक्क! मेरो बाबा पनि अभिभावक दिवसमा आउनुहुन्छ कि! मेरो बाबा पनि आउनु हुन्छ कि कतै मेरो जन्मदिनमा केक लिएर हेप्पी बर्थडे छोरो भन्न! तर यी सबै मेरा हर चाहना कल्पनाको पोल्टाभित्रै गुम्सिरहे।
ममी माइग्रेनको बिरामी हुनुहुन्छ। तैपनि मेरो पढाइको लागि खर्च जुटाउन बिहानदेखि बेलुकासम्म सानो जागिर गर्दै आइराख्नु भएको छ। बिहानै अफिस गएर साँझ फतक्क गलेको शरीर लिएर फर्कनुहुन्छ। त्यसैले म मेरो स्कुलको लागि टिफिन बिहानै आफै तयार गरेर लेराउँछु।
***
केही वर्षअघि एउटा स्कुलमा पढाउथेँ। त्यतिबेला मैले यस्तो बालक भेटेँ जो एकदमै चञ्चल स्वभावको साथै पढाइमा उत्तिकै अब्बल, क्लास फर्स्ट थियो। म उसको क्लास टिचर भएका कारण उसलाई नजिकैबाट नियाल्ने मौका पाएँ।
धेरै पटक उसको परिवारिक स्थिति बुझ्न चाहेँ तर उसले कहिल्यै भनेन। दिनहरू बित्दै थिए, एकदिन फस्ट टर्म टेस्टको कुरा आयो। प्रश्नपत्रहरू बनाउनु पर्ने मेरो विषयमा। मैले एउटा प्रश्न आफ्नो परिवारको बारेमा लेख्न दिएँ।
परीक्षा सकियो, सबै घरतिर लागे र म पनि उत्तरपुस्तिकाहरू संकलन गरेर घरतिर लागेँ। बेलुकीको खाना खाइसकेपछि कपी चेकजाँच सुरु गरेँ। पहिलो कपी नै त्यो बालकको पर्यो जसका भावनाहरू बुझ्न म वर्षौंदेखि तल्लीन थिएँ।
उसका प्रत्येक शब्द-शब्दको गहिराइमा पुगेर पत्ता लगाएँ वर्षौंदेखि खोजी गरेको प्रश्नको सवाल जवाफ। उसका प्रत्येक शब्दहरूले मलाई स्तब्ध बनायो र आँखाबाट बेपर्वाह अश्रुधारा बग्न थाले।
त्यो लेखमा उसले आफ्नो विगतदेखि वर्तमानसम्मका आफ्नो ममी र उसका पीडाहरू पस्केको थियो। ती कुरामा कुनै बनावटी नभई यथार्थ थियो।
अर्को दिन स्कुल गएँ। मनभरि उहीँ बालक मात्र थियो। स्कुल पुग्नसाथ उसलाई एकान्तमा बोलाएँ र मायाको सट्टा धेरै गाली गरेँ। आजसम्म मैले हजार पटक सोध्दा कहिले किन नबताएको यो सब तिम्रो समस्याको कुरा भनेँ।
तर ऊ केही बोलेन। म पनि उसलाई त्यो दिन त्यतिकै छोडिदिएँ। आइतबार ११ बजे रिजल्ट प्रकाशित गर्ने समय थियो। ग्राउन्डमा अभिभावकहरूको भिड टनाटन थियो। म त्यो भिडमा एउटा नयाँ मुहार खोजिरहेकी थिएँ। त्यत्तिकैमा मेरो डेक्सतिर ऊ आइराखेको थियो कसैको साथमा।
सुरुमा मैले चिनिनँ र सोधेँ- 'बाबु, तिम्रो अभिभावक खै?'
उसले हाँस्दै बतायो, 'उहाँ मेरो ममी म्याम।'
हेर्दा मलाई पत्यार लागेन। भर्खर एसइईको जाँच दिए जत्तिकै उमेरकी, सानी राम्री, नम्र बोली तथा सरल स्वभावकी! मैले उसको ममीसँग एकछिन केही कुरा गरेँ। अर्को दिन उहाँको मोबाइलमा फोन गरेँ।
उहाँसँग निजी, पारिवारिक कुरामा चासो लिएर सोधेँ। मैले आफू एक मामुली शिक्षक भए पनि सहयोग गर्न चाहेको बताएँ।
त्यसको केही दिनपछि मेरो पनि रिजल्ट आयो। आफ्नो पढाइले गर्दा स्कुल छोड्नु पर्ने स्थिति भयो र अन्ततः स्कुल छोड्न बाध्य भएँ।
स्कुलमा बिदाइको दिन थियो। सबै बच्चालाई आँखाभरि आँसु र मनभरि माया लिएर बिदाइका हातहरू हल्लाउँदै घरतिर लागेँ। बाटोभरि मनमा विगतका घटनाक्रमहरू आइराखेका थिए। त्योभन्दा बेसी ऊ विशेष रुपमा अमिट छाप बनेर मुटुमै बसेको थियो।
समय बित्दै गयो, दिउँसो कलेज र साँझ पार्ट टाइम जागिर पाएँ। त्यो जागिरबाट आएको मासिक तलबबाट उसलाई आगामी दिनहरूमा स्कुलमा दैनिक खाजा खुवाउने प्रतिबद्धता जायर गरेँ। केही महिनालाई पुग्ने खाजा, लत्ताकपडा स्टेशनरी सामान बोकेर स्कुलमा भेट्न गएँ।
ऊ खुसी भयो। तर केही महिनापछि उनीहरू आफू बसेको ठाउँ र स्कुल छोडेर अन्यत्र कतै गएछन्। फोन गर्दा सम्पर्क भएन। म एकदमै आत्तिएँ, छटपटिएँ। कत्ति प्रयास गरेँ नम्बर र मान्छे खोज्न तर काहीँ भेटिनँ।
धेरै वर्ष भइसक्यो त्यो बाबु नभेटेको। आज कठ्याङ्ग्रिँदो चिसो आउँदा उहीँ बाबु सम्झन्छु। खाजा खाँदा, जागिरबाट स्यालरी बुझ्दा झलझली मैले गरेको प्रतिबद्धता र उनै बाबु सम्झन्छु। तर विडम्बना अहिलेसम्म भेट्न सकेकी छैन। तिमीलाई यो दिदीले सम्झिरहेको छु।
यसरी कोही बच्चाहरूले आफूलाई गर्नपर्ने जिम्मेवारी बिर्सेर विदेशिएका बाबाहरूलाई जिउँदै मृत घोषित गर्न नपरोस्। कोही बच्चाहरूले गैरजिम्मेवार बाबा र आमाहरूको कारण शारीरिक, मानसिक र भावनात्मक रुपमा चोट खेप्न नपरोस्।