हरेकको जीवनमा साथीको विशेष स्थान रहन्छ। मेरा लागि पनि साथी शब्दको विशेष अर्थ हुन्थ्यो, एक यस्तो साथी जसले मलाई बुझोस्। मेरो दुःखसुखमा समभाव राखोस्। जोसित जुनसुकै विषयमा कुरा गर्न मलाई किर्माथ संकोच नलागोस्।
जो मेरो अघि-अघि वा पछि-पछि होइन, सधैँ मेरै साथसाथै हिँडोस्। मेरा विषयमा राम्रो/नराम्रो सबथोक थाहा पाएर पनि मलाई सार्वजनिक रुपमा अथाह स्नेह र सर्मथन गरोस्। एक्लै हुँदा बेहिसाबले गाली गरोस्। जोसँग अर्थहीन, अन्टसन्ट बकबास कुरा गरेर घण्टौं बिताउन सकियोस्।
जुन साथीको बारेमा आज लेख्दै छु त्यो साथी जो आफूमा मात्रै सीमित राखी कम बोल्ने तर फराकिलो सोचाइ भएको, मायालु, दयालु र सहयोगी भावनाले ओतप्रोत। तर म सो समयमा केही चञ्चल अनि सार्वजनिक हुन रुचाउने बानी।
सुरुमा त लाग्थ्यो विपरीत बानीको यो मान्छे मेरो सुखदुःखको साथी कसरी हुनसक्छ होला? दुई अलग-अलग गुणको अनौठो समीकरण भएका हामीबीच साथीभन्दा माथिको सम्बन्ध चाँडै विकास भयो।
स्नातक तह पढदै गर्दा भएको त्यो भेट सम्झिन्छु। सुरुमा तपाईंबाट सुरु भएको सम्बोधन, तिमी भन्दाभन्दै तँ र म नामको मिठो भाषामा हामी कसरी कुनबेला पुग्यौँ याद नै छैन।
बिएस्सी फरेष्ट्री पढ्दै गर्दा हरेक सेमेस्टारका शैक्षिक भ्रमणहरूमा विविध कारणवश म नजान खोज्दा कलेजको बस नै रोकी मेरो कोठासम्मै लिन आउने साथीलाई आज एअरर्पोटमा छोड्न त्यही कोठाबाट निस्किनु पर्दाको भावना सायद शब्दमा व्यक्त गर्न सक्दिनँ।
स्नातक अध्यनकै क्रममा जसले मेरो राजनीतिक चेतना र नेतृत्वशैली बढोस् भनेर आफनो आस्था विचारलाई थाती राख्दै मैरै विचारमा समाहित भइरह्यो।
स्नातकका चार अभिन्न साथीहरू प्रकाश सिर्माल, प्रसिद्ध खड्का, गोकुल सुनार र म मिलेर हरेक दिनजसो एकअर्काको रुममा रहेर पार्टी गर्नु, प्रेमको कुरा गरेर रमाउनु र प्रेम विछोडमा साथीहरू माझ बसेर उदास हुनु, पीडा पोख्नु जस्ता क्रियाकलापमा हाम्रो लोभलाग्दो कलेज जीवन बित्यो।
कलेज जीवनपश्चात हामी चार आ-आफनो व्यस्तताका कारण दुईमा सीमित भयौँ। कहिलेकाहीँ नमिठोसँग साथीले एकअर्कालाई जिस्काउथ्यौँ तर त्यो जिस्काइमा पनि एक किसिमको मिठास थियो र समय औधी रमाइलो बनिदिन्थ्यो।
एकअर्कालाई बोलाउँदा पनि नाम बिगारेर अथवा गाली गरेर बोलाउने गरिन्थ्यो तर त्यही गालीमा पनि साथीको माया र आफ्नोपन झल्केको हुन्थ्यो।
पहिलो पटक प्रकाशसँगै म धादिङ र डडेलधुरामा फिल्ड जाँदा घनघोर जंगलको रात्रीकालीन बाटोहरू ढुंगाको भर माटोझैँ एकअर्काको आड भरोसामा हिँडेको, काम गर्दा 'ह्या! झ्याउ लाग्यो मलाई' भन्दा 'रुक न रुक अब सकिन्छ' भनेर हौसाउने, कठारिने चिसोमा पनि ल आइज तँलाई पौडी सिकाउँछु भन्दै गहिराई नै थाहा नभएको पौडी पोखरीमा हाम फालेको जस्ता अविस्मरणीय क्षणहरू दिल दिमागमा ताजै छ।
आफूलाई कुनै अप्रत्यासित खुसी मिल्दा होस या कुनै समस्यामा नराम्ररी फस्दा, सुरुमा सुनाउने एकअर्काका भरोसायुक्त पात्रका रुपमा हामी थियौँ। घण्टौं यत्तिकै फोनमा नानाथरीका कुरामा समय बिताउँदा, केही काम नभए पनि भेट्दा अलग्गै तरिकाको सामीप्यता थियो। एकअर्काको जन्मदिन परिवारमा मनाइने चलन नभए पनि दुवैले मात्रै मनाउँदाको खुसी बयान गरी साध्य छैन।
स्नातक पढदा मेरो कोठामा उसको बास अनि दुवैलै कञ्चनपुर जागिर खाँदा उसको कोठामा मेरो बासले लाग्थ्यो हामी जसरी पनि जहिलै नजिक नै रहन्छौँ होला। कुनै समय दुवैले काठमाडौंदेखि धनगढी जाँदा पहिलो पटक प्लेन चढेका थियौँ तर आज साथीलाई एक्लै काठमाडौंदेखि क्यानडाको यात्रा तय गर्दा भावनाका आवेगहरू अत्तालिएको पत्तै पाइनँ।
साथीको साथका लागि परिवारमा होस या जागिर गर्ने ठाउँमा समेत थाहै नदिई कति ठाँउहरू घुम्न निस्कियौँ, सायद परिस्थितिले ती यादगार फोटोहरू प्रस्फुटन नै हुन पाएनन्। यसरी हामी कुरा गर्दा हाँसो र रोदनका बीच हाम्रै जीवन कैयौँ चोटि आफै स्वतन्त्र बनायौँ।
एक यस्तो साथी जो जिन्दगीको बाटोको हरेक पाइलामा सँगसँगै थियो। किशोरावस्थादेखि योवनावस्थाका हरेक खुसी, आनन्द र उत्सवको क्षणहरूमा खुलेर रमाउने मात्रै होइन, साथीका शोक, निराशा र क्रोधको मौसममा पनि सहजताका साथ आड र भरोसा बनेर उभिएको थियौ।
त्यो साथी जसमा काम गर्ने क्षमता थियो भने ममा बोली बिकाउने कला। यो दुवैको समीश्रणबाट सायद हामीले सँगै रहेर जीवनमा केही गर्न सक्थ्यौं तर परिस्थितिले पूरा नै हुन दिएन।
त्यस्तो साथीलाई बिदाइ गर्नु प्रायःजसो कुनै पनि व्यक्तिको जीवनमा सबभन्दा कठिन र अप्ठ्यारो हुने रहेछ। क्यानडाजस्तो विकसित देशमा सफलताको पाइला टेकेको खुसी एकातिर छ भने अर्को तिर आफ्नै देशमा सँगसँगै हुने चाहनाको अन्त्य अर्कोतिर । जीवनमा पहिलो पटक साह्रै खुसी र अत्यन्तै दुखीको अनौठो अनुभव रह्यो।
भावनात्मक रुपमा साथी मात्र नभएर रगतको नाता जत्तिकै आफ्नोपन पनि हामीमा थियो। घरबाट बाहिर निस्किँदा परिवारलाई हामी एकअर्का सँगै छौँ मात्रै भन्दा पनि प्रर्याप्त सूचना हुन्थ्यो।
एकअर्काको दाजुभाइको बिहेमा छमछमी नाच्दा होस, यही साथीकै बिहेमा सोमरसको मातमा पूरै रात झुमेको याद गर्दा होस, मेरो अस्तित्वको संसार बाको अस्तुलाई हरिद्धार सेलाउँदाको साथ होस, सबै यादगार छन्। लाग्छ, यी नै कुराले मेरो जिन्दगीमा साथी नामको अनुपम अभाव अब खट्किरहनेछ, सायद साथी नामको अर्को उपहार हुनेछैन।
हामीले सँगै बिताएका प्रत्येक मिनेट, हामीले साँझा गरेको हाँसो, हामीले बताएको प्रत्येक कुराको यो मनमस्तिष्कमा कहिल्यै नमेटिने गरी रेकर्ड बनेर रहिरहनेछ। साथीको मित्रताको चमकले हामी संगत भएपछिका प्रत्येक वर्ष जीवित राख्यो भन्ने कुरा सायद यो अन्तरआत्माले अलग्गै अनुभूति गर्नेछ।
विवेकान्नदले भनेझैँ जीवनमा कति जनासँग सम्बन्ध छ भन्ने कुरा मुख्य होइन। भएका सम्बन्धहरूमा जीवन छ वा छैन भन्ने तथ्य सर्वोपरी हो जस्तो लाग्छ। भेटेको समयदेखि छुटिँदासम्म हाम्रा रंगिन जीवनमा बिदाइ गर्दा म केही रङ्गहरू फिक्का भएको महसुस गर्न सक्छु।
जीवन एक यात्रा न हो जसले हाम्रो आफ्नो बाटोमा धेरै मानिसहरूसँग मित्रता गर्न दिन्छ। यद्यपि एक जोडी जसको हृदयमा समयको अन्त्यसम्म रहनको लागि सुसज्जित छ। हामी एकअर्काबाट दूरीमा जति टाढा छौँ त्यसमा कुनै फरक पर्दैन। हामी सधैं एकअर्काको भरोसा, विश्वास र साथको पर्यायको रुपमा असल साथीहरू रहिरहनेछौँ।
अब हामी भौतिक रुपमा हरेक दिन नभेट्न सक्छौँ तर पनि हामी साथीत्वको विचारमा हुनेछौँ। भौतिक जीवनले हामीलाई कहाँ लैजान्छ यसले फरक पार्दैन, हामी दुवैको अन्तरआत्मालाई थाहा छ कि हामी जीवनको मोडमा फेरि भेट्नेछौं र केही उत्कृष्ट अनुभवहरू प्राप्त गर्नेछौं।
साँच्ची, हाम्रो शब्दकोषमा बिदाइ, बिछोडजस्ता शब्दहरू हुने छैनन्। किनकी हामी दुवैलाई थाहा छ, हाम्रो मित्रताभन्दा ठूलो शक्ति यस संसारमा अरू कुनै छैन।
नयाँ ठाउँमा जानु भनेको जीवनको एउटा टुक्रा हो। अब पक्कै पनि नयाँ साथीहरू भेटिनेछन् र नयाँ अनुभवहरू प्राप्त हुनेछन् तर म निश्चित छु कि हाम्रा विचार र भावनाका विशाल पोखरीहरूमा हामी सदैव डुब्नेछौँ।
हो, मानवीय स्वभाव पक्कै पनि आज मेरो हृदयले बिदाइ गर्न अस्वीकार गर्छ तर मलाई लाग्छ कि जीवन यस्तै हुनुपर्छ। झगडा, प्रेमिका, प्रेमी, बहस, झुट, बिहे कुनै पनि कुराले हाम्रो बलियो मित्रतालाई अलग गरेको छैन। त्यसैले केही सय माइलले पनि कुनै प्रभाव पार्ने छैन। हामी सधैंभरि साथी हौं अनि रहनेछौँ।
एअरर्पोटको वातावरणमा म आफैलाई अलबिदा शब्द भन्नको लागि जबरजस्ती गरेको छु। बिदाइ भन्दै खुसी पनि छु भन्ने मुख्य व्याख्या यो हो कि मलाई थाहा छ कि जीवनले हामीलाई फेरि एकताबद्ध गर्ने बाटो कहीँ कतै अवश्य फेला पार्नेछ।
हामीले हाम्रा जीवनको सबैभन्दा सुन्दर सुनौला वर्षहरू एकअर्काको सामीप्यतामा बितायौँ। अब हामी जति टाढा जान्छौँ कुनै फरक पर्दैन, किनभने हामी एकअर्काको हृदयमा सपाट छौँ।
जीवन र भाग्यले मेरो सबैभन्दा मिल्ने साथीलाई भौतिक दूरीले मबाट टाढा लैजान सक्छ तर कुनै पनि कुराले बहुमूल्य सम्झनाहरू हटाउन सक्दैन। जसरी गीत बिग्रँदा र बजाउन छोड्दा हामी धुनलाई सम्झिन्छौँ, हामी पनि हाम्रो मित्रताको अमूल्य सम्झनाहरू त्यसरी नै सम्झिरहनेछौँ।
अब आफ्नो जीवनको जेब्रा क्रसिङमा हिँड्नेको लागि आदर्श अवसर पनि हो। सडकको एउटा छेउबाट अर्को छेउमा हात हल्लाउँदै हरियो बत्ती बल्ने पर्खाइमा हामी हुनेछौँ।
अवश्य पनि सँच्चा साथीको अनुपस्थितिले दुवैलाई एक्लोपन र निराश महसुस गराउनेछ। मलाई लाग्छ कि हामीसँग फेरि भेट नभएसम्म आफूलाई व्यस्त राख्नको लागि ठूलो सम्झौता छ।
जीवनले हाम्रा लागि फरक-फरक रोडम्यापहरू योजना बनाएको थियो होला र त यही कारणले गर्दा हामीले बाटो छुट्टिनु पर्छ। यो नै जीवनको आदर्श मूल्य हो। यो अगाडि बढ्ने र नयाँ उचाइहरू मापन गर्ने एक अवसर पनि हो।
मलाई दिएको प्रेरणाको लागि धन्यवाद। यी र यस्तै प्रत्येक सुनौला अवसरका लागि पनि धन्यवाद। हो, फेरि भेट्न सक्नुअघि विदाइ आवश्यक छ र फेरि भेट्नु क्षणहरू वा जीवनकालपछि, सँच्चा साथीहरूका लागि निश्चित छ। त्यसैले साथी हामी भेट्नेछौँ कुनै दिन।