यात्रा यहीँसम्म थियो, यही सोचेर बस्नू
सम्झिनेले बिर्सियो, यही सोचेर बस्नू
‘सधैँ सँगै भइएन’ भन्ने सोच्दा पीडा हुन्छ
‘केही सँगै हिँडियो’ यही सोचेर बस्नू
– महावीर विश्वकर्मा।
समय यति निठुर पनि हुँदोरहेछ ! प्रिय महावीर विश्वकर्माले लेखेको मुक्तक अहिले उहाँकै जीवनमा यसरी मेल खान पुग्यो। सत्य स्वीकार गर्नुको विकल्प छैन— भौतिक रूपमा मंसिर ६ गतेबाट हामीबिच हुनुहुन्न महावीर विश्वकर्मा।
चितवनबाट काठमाडौं फर्कंदै गर्दा भरतपुरमा भएको सवारी दुर्घटनामा एक बहुमुखी प्रतिभा र एक इमान्दार सामाजिक योद्दा गुमाउनुपर्यो।
यो बिचमा धेरैपटक उहाँको फेसबुक प्रोफाइल र पेज हेरेँ। म्यासेन्जर खोलेँ। तर, सबैतिर शून्य मात्रै !
समाजको पिँधबाट उठेको एउटा बहुमुखी प्रतिभाको धनी हो महावीर। आर्थिक उपार्जन गरेर मजासँग मध्यम वर्गको सेलिब्रिटी बनेर रम्ने सबै अवसर लत्याएर पिँधका मान्छेको मुक्तिका लागि सामाजिक अभियानमा लामबद्ध हुनुभयो।
फेसबुक प्रोफाइलको कभरमा यस्तो लाइन लेखेर मात्रै अरु थोक गर्नु भएन। ‘अघाएकाहरुले ठिकठाक देखिरहेको समाजलाई भोकाएकाहरुको आँखाबाट हेरेर भताभुंग भनिरहेको एक असन्तुष्ट पात्र।’
साँच्चै पिँधका मान्छेको अधिकारका लागि सडकबाट सत्तासंग बारम्बार प्रश्न तेर्साइरहनु भयो। २-३ वर्षदेखि पूर्णकालीन भएर देशको मूल नीति फेर्ने राजनीतिमा होमिनुभयो। कुनै सरकारी कम्युनिस्ट पार्टीमा रहेर हैन, भर्खरै उदायको कम्युनिस्ट पार्टीमा रहेर। समाजलाई बदल्नका लागि पहिला अध्ययन र छलफल आवश्यक छ भन्दै त्यसमा खरो उत्रनुभयो।
खास विचार बोक्ने योद्धा भएको प्रमाण तपाईंमा पछिल्लो समय आएका बलिया विचार, तर्क र प्रश्नहरुले प्रष्ट पार्छ। नेपाली समाजलाई जरैदेखि बदल्न महावीर विश्वकर्मा जस्ता योद्धाको आवश्यकता सधैं खट्किरहनेछ।
झण्डै डेढ दशकदेखि लाखौं युवाहरुको ढुकढुकी बनेको र २०० भन्दा बढी रेडियोमा एकैसाथ निरन्तर बज्दै आएको रेडियो कार्यकम ‘बहकिने मन’ बाट करियर सुरु गर्नुभयो। त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरेर केही वर्षअघि एनजीओमा जागिर खानुभयो।
तर, २ वर्षअघि सबै अवसरहरु चटक्कै छाडेर समाज र श्रमजीवी जनताको जीवन फेर्ने भन्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चाको सचिव भएर वैचारिक रूपमा र संगठन निर्माण गर्न होमिनु भयो। देशभर कुद्नुभयो।
हिजो ठूलो क्रान्ति गरेर सहर पसेका नेताहरु आज सहरको रमझममा भुलिरहँदा एउटा ३५ वर्षे युवा भने सबै चिज लत्याएर सडकमा पुगेको थियो। यो एउटा आफैमा महत्वपूर्ण वास्तविक विम्ब थियो र सँगै गफ गर्नेहरुलाई गतिलो झापड पनि बन्नुभएको थियो महावीर विश्वकर्मा।
दिनमै ३-४ वटा महत्वपूर्ण विषयका खासमा भुइँमान्छेले सत्ता र शक्तिलाई तेर्साएका सवालहरु तथा विचार स्टाटसको रुपमा पोष्ट गर्नु हुन्थ्यो। दर्जनौंले तर्क वितर्क गर्ने गर्थे।
हप्तामा २-४ वटा मौलिक धारका सिनेमाबारे राम्रा नराम्रा गुणबारे लेखेर फेसबुकमा राख्नु हुन्थ्यो। म लगायत धेरैलाई जानकारी हुन्थ्यो। यति मात्रै हैन केही नेपाली सिनेमाहरु ‘जात्रा जात्रा’, ‘शुभ लभ’ ‘नालापानी’ लगायतमा अभिनय पनि गर्नुभयो। तर, सन्तुष्ट हुनुहुनथ्यो। मौलिक र वैचारिक सिनेमा बनाउनु पर्छ भन्ने बहस मात्रै छेड्नु भएन केही सिनेमाको स्क्रिप्टसमेत लेख्नु भएको छ।
केही नाटक लेख्नुभयो। खेल्नुभयो। निर्देशन गर्नुभयो। साहित्यमा विशेष गरी कविता र मुक्तकमा कलम चलाउनु भयो। युटुब तथा सन्जालमा केही रचनाले मिलियन भ्युजसमेत पाएका छन्।
समाजका विभिन्न सवालमाथी खबरदारी गर्ने धेरै बलिया लेख लेख्नु भएको छ। केही वर्षअघि सेतेपाटीमा लेख्नुभएको ‘सामाजिक शिक्षा पढायौं तर, समाज किन पढाएनौं शिक्षक ! ‘भन्ने तर्कपूर्ण लेख लेख्नु भएको थियो। खरो प्रश्न उठाएका अरु आलेखहरु पनि विभिन्न सञ्चार माध्यममा प्रकाशन भएका छन्।
साहित्यमा पनि निरन्तर कलम चलाउने नाम हो महावीर विश्वकर्मा। कविता, कथा, मुक्तक छुप्रै छन्। पछिल्लो समय मुक्तक संग्रहको किताब निकाल्दै हुनुहुन्थ्यो। सांग्रिला बुक्सले निकाल्ने कुरा पनि थियो। सायद अब प्रकाशन होला।
नेपाली समाज ठिक लयमा छैन र यसलाई बदल्न भन्दै हिँडिरहेको एक युवा मध्याह्न अघि नै अस्ताएको छ। आफैले बाटो खनेर यात्रा गर्दै गरेको युवा। अरुको आड भरोसामा हैन। आफ्नै बलबुतामा समाज बदल्न हिँडेको उहाँ लामो समय बाँच्नुपर्ने थियो नेपाली समाजका लागि। हुन त कति लामो समय बाँचियो भन्ने ठूलो कुरा हो जस्तै लाग्दैन। तर, बाँचुन्जेल के गरियो ? कुन वर्ग र कसको हितमा के गरियो ? यो सवाल महत्वपूर्ण हो। महावीर यसमा भने अब्बल सावित हुनुभयो। जति बाँच्नुभयो। समाज र आफ्नो वर्गका लागि इमान्दार पूर्वक आवाज उठाउनु भयो। सडक आन्दोलनमा होमिनुभयो।
जो चितवनको गरिब दलित सुकुम्बासी वस्तीबाट उठेर राजधानीबाट सिमान्तहरुको आवाज बोल्दा बोल्दै असामयिक रुपमा विदा भएको छ। नेपाली समाजलाई जसको धेरै आवश्यकता थियो तर, अफसोच अब भौतिक रुपमा हामीमाझ हुनुहुन्न। महावीर सामाजिक आन्दोलनलाई नयाँ सिराबाट उठाउन सम्भावित सुख सुविधाको जिन्दगीलाई छाडेर भुइँमान्छेहरूसँग हातेमालो गरेर अघि मात्रै बढ्नु भएन अधिकारको लागि राजनीतिक आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भएर होमिनु भयो।
सामाजिक घटना र समस्याहरूमा उहाँले सामाजिक सन्जालमा तिखा टिप्पणी गर्नुभयो। सँगै सडकमा पनि बारम्बार उत्रनु भयो प्ले कार्ड बोकेर। महिला हिंसा, दलितमाथीको विभेद र छुवाछुत, यौन हिंसा विरुद्ध कडा तर्कहरुसाथ सन्जालमा विचार राख्नु भयो। र सडकमा नाराहरु पनि घन्काउनुभयो। सामाजिक सञ्जालमा उहाँका लाखौं फ्यान फलोअर्स थिए। तर, त्यसको कुनै पर्बाह नगरी विचार प्रवाहगर्नुभयो।
केही वर्षअघि रुकुमपश्चिमको चौरजहारी सोतीमा अन्तर्जातीय प्रेम गरेकै आधारमा नवराज विश्वकर्मा सहितका उनका साथीहरूलाई गैरदलितहरुको गाउँ नै उल्टेर जसरी क्रुर हत्या गरे त्यो बेलादेखि महावीर विश्वकर्मा भित्रैदेखि उद्वेलित भएर जात व्यवस्था विरोधी आन्दोलनमा होमिनुभएको थियो। त्यसलगत्तै २-३ पटक चौरजहारी सोतीमा पनि पुगेर न्यायको आन्दोलनमा पनि उभिनु भयो। राजधानीमा भएको महिनौं लामो सडक आन्दोलनको त अगुवाई नै गर्नुभयो। र, निरन्तर लाग्नु भयो यी रयस्ता आन्दोलनहरुमा।
राजधानीमा कोठा खोज्दा दलित भनेर भाडामा नपाएकी रुपा सुनारको न्यायको पक्ष होस् वा चितवनमा भएको मन्दिर काण्डमा कुटपिटबाट मारिएका भीमबहादुर विश्वकर्माको न्यायको लागि सडक र सामाजिक सञ्जालमा भिडिरने पात्र महावीर हुनुहुन्थ्यो।
प्रहरीको हिरासतमा निर्ममतापूर्वक मारिएका सुन्दर हरिजनको न्यायका लागि होस् या रुवि खानहरूको सडक आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघरमा धर्ना बस्ने युवाको नाम महावीर थियो। उखु किसानका मागदेखि मिटरब्याजी साहुले किसानहरूमाथि अत्याचार गर्दा होस् या एमसीसी विरोधी आन्दोलनमा सधँै सडकमा नारा लगाउने व्यक्ति महावीर थिए।
नेपाली समाजलाई कसरी गतिलो बनाउने भनेरै सोच्ने र त्यस्तै व्यवहारले बाँच्ने एक कर्मठ योद्धा हुनुहुन्थ्यो महावीर। जसले सवारी दुर्घटना भएर मृत्यु हुनु केही घण्टाअघि जीवनको संकल्प दोहोर्याउँदै यस्तो स्टाटससमेत लेख्नु भएको थियो। ‘म यस्तो समाजमा बाँच्न चाहन्छु जहाँ व्यक्तिको मूल्यांकन उसको जात, धर्म, पैसा, पेसा, लिंग, क्षेत्र, वर्णको आधारमा होइन, उसको विचार र व्यवहारको आधारमा होस्। र त्यस्तो समाज निर्माणको लागि म आफ्नो जीवन लगाउन तयार छु।’
उहाँले जीवनलाई जिन्दगीलाई दोधारमा समेत उभ्याउनु भएन। मात्रै बाँच्नका लागि आवश्यक कमाइ गर्नुभयो। चाहेको भए यो पुँजीवादी सहरमा बेच्नका लागि गतिलो जिउडाल भएको शरीर र अनुहार थियो। सजिलै बिक्ने सुमधुर आवाज थियो। ठाउँको ठाउँ सिर्जना गर्न सक्ने साहित्यिक क्षमता थियो। तर, सबैलाई लत्याएर पिँधका मान्छेको आवाज बोल्न सडक रोज्नुभयो। अप्ठेरो कम्युनिस्ट राजनीतिक बाटो हिँड्नुभयो। सार्वजनिक रुपमै लेखेर, ‘आफ्नो विचार प्रष्टसँग राख्ने हो। विचार मिल्नेहरु जोडिँदै जान्छन्, नमिल्नेहरु छोडिँदै जान्छन्। यो आवश्यक छ जीवनमा। सबैको प्रिय बन्न खोजेर हुँदैन। कोही त्यस्तो बन्न खोज्छ भने त्यो ‘दोगला’ हुन्छ।’
२०६५ साल ताका हो जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको देशभरका दलित पत्रकारहरुको एक तालिममा महावीर विश्वकर्मासँग मेरो पहिलो भेट भएको थियो। जमलको प्याराडाइज होटल। कोठा नम्बर भने बिर्सेँ। भोलिपल्टबाट तालिम सुरु हुँदै थियो। अघिल्लो दिनमा तोकिएको होटल र समयमा पुगें। १ कोठा २ जनाले सेयर गर्नुपर्ने रहेछ। म र महावीर परियो। चिनजान लगत्तै उहाँले मामा भन, म भान्जा भन्छु भन्नुभयो। दुवैको सहमति जुट्यो। त्यहाँबाट हामी बिचमा गहिरो सम्बन्ध जोडियो। तालिमभर सँगै खाने। सँगै हिँड्ने। सँगै बस्ने भयो। तालिम सकिएपछि १ दिन सँगै घुमियो।
केही कपडा, किताब र सिनेमाका सिडी किनियो। हामी एक अर्काबिचमा व्यक्तिगत कुराहरु। रुचि र चाहना सबै सेयर भए। मनसँगै सम्बन्ध पनि झांगियो। सामाजिक सवाल र चेतका कुरा पनि भए। झन् नजिक भयौं। ४ दिनपछि म बागलुङ र महावीर मामा चितवन फर्कियो। हामीबिच बेला बेलामा फोन कुराकानी पनि हुन् थाले। त्यो तालिममा बुटवलबाट जानु भएको सावी विश्वकर्मा दिदी पनि हामीबिच नजिक भयौं। अहिले फेडो अफिस काठमाडौंमा दिदी कार्यरत हुनुहन्छ।
केही समयपछि महावीर मामा काठमाडौं सर्नुभयो। जागरण मिडिया सेन्टरमा जागिर गर्ने गरी। २-३ पटक भेट भयो। फोनमा पनि कुरा हुन्थ्यो। २०६६ मा म बाग्लुङबाट पोखरा सरेँ। त्यतिबेला मिडिया गुफा को तालिमबारे पत्रकारहरुविच खुबै चर्चा थियो। मैले पनि फर्म भरेँ। सन् २०१४ तिर म पनि छानिए। कास्कीको कालिका गाउँको काफलघारीमा ‘ग्रामीण मिडिया गुफा’ मार्च ८-११ सम्म तालिम रह्यो। खुसीको कुरा त्यसमा महावीर मामा पनि हुनुहुन्थ्यो। ४ दिन सँगै रहियो।
काठमाडौंबाट मिडिया गुफाका धर्म अधिकारी, रजनीश भण्डारी, प्रभात कोइराला, मोइन उद्दिन लगायत सहभागीहरु बोमलाल गिरी, पोखराबाट दुर्गा अधिकारी दिदी, राज शर्मा सर, कवित मगर सिस लगायतका सहभागीले तालिम रमाइलो रह्यो। रजनिस भण्डारी सरको घरमै बसेका थियौ। उहाँको आमाको हातले बनाएको खाना खाइयो। कालिका गाउँ घुमियो। स्थानीयसँग भिजियो। रिपोर्टिङ गरियो।
र, मुख्य कुरा महावीर मामासँग म झनै नजिकिए। उहाँ र म एकै विस्तारामा सुतियो। निकटको सम्बन्ध बन्यो। छुट्ने दिनमा पोखरा झरेपछि आज यतै बसौं भन्ने मेरो जोड थियो। महावीर मामा भने अफिसमा गाह्रो हुने र पछि आमा र बैनीलाई लिएर पोखरा घु्म्न आउने भन्दै विदाइको हात हल्लाउनुभयो। तर, दुःखको कुरा त्यो दिन कहिल्यै आएन र अब कहिल्यै आउने पनि छैन।
हामीबिचमा नियमित फोनमा कुरा हुन्थे। व्यक्तिगतसँगै उहाँले सञ्चालन गर्ने रेडियो कार्यक्रम ‘बहकिने मन’लाई अझै कसरी व्यवस्थित र लोकप्रिय बनाउने, नेपालको दलित आन्दोलन, सिनेमा लगायतमाथि हामी छलफल गर्ने गर्थ्यौं। काठमाडौं आएपछि १ दिन सँगै बस्नुपर्छ भनेर धेरै जोड गरेपछि सन् २०१५ तिर भूकम्प आउनुअघि उहाँको कोठामा राति अबेरसम्म बसेर कुराकानी गरेको याद अझै ताजै छ मसँग।
त्यसपछि म परदेश पसेँ। बेला मौकामा कुरा गर्ने गरेका थियौं। आहुति दाइको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी खुलेपछि महावीर मामाले म लगायत केही साथीसँग गम्भीर छलफल गर्नु मात्रै भएन नयाँ अभियानमा लाग्न जोड पनि गर्नु भएको थियो। हामीले छलफललाई निरन्तरता दिने भनेर कुरा सकाएका थियौं। र, त्यो विषय नटुंगिकन हामीबाट सदाका लागि भौतिक रुपमा उहाँ विदा हुनुभयो।
त्यसपछि जब रुकुममा नवराज विक र उनका साथीको क्रुर हत्या भएपछि उहाँसँग धेरै कुरा भयो। धेरै समयदेखि नेपालको दलित आन्दोलन र विशेष गरी जात व्यवस्था विरोधी अभियानमा परदेश भएका सचेत साथीहरु जोडिनुपर्नेमा उहाँको जोड थियो।
देशभर हुने दलित आन्दोलन र जात व्यवस्था विरोधी अभियानलाई अर्काइभ गर्न विदेश भएका साथीले सघाउनुपर्ने अपील गर्नुभयो। म यसमा तयार भएको जवाफ दिएँ। कार्ययोजना बनाएर अघि बढ्ने सोच उहाँको थियो। अमेरिका, क्यानडा तथा युरोप भएका केही साथी पनि तयार रहेको उहाँले बताउनुभएको थियो। मूर्त रुप नपाउँदै हामीबिच महावीर मामा नरहनु अति नै दुःखद कुरा हो।
उहाँसँग पछिल्लोपटक मेरो कुराकानी २८ सेप्टेम्बरमा भएको रहेछ। त्यसपछि कुरा हुन सकेन र अब कहिल्यै हुने पनि छैन।
व्यक्तिगत रुपमा सरल र सामान्य महावीर मामा हरेक विषयमा गहिरो ज्ञान राख्नुहुन्थ्यो। हरेक मान्छेसँग केही बेरमा घुलमिल हुने र नजिकको सम्बन्ध बनाउन सक्ने खुबी उहाँमा थियो। आफ्ना कुरा राख्दा गहकिला तर्कसहित छलफल गर्नुहुनथ्यो। कुनै सवालमा ज्यादै कडा पनि सुनिनु हुन्थ्यो। त्यो पलहरु अहिले पनि मेरो मनमा सिनेमाको रिल झैं घुमिरहेका छन्।
उहाँकै उमेरका हामी लाखौं युवा यसरी आलोचनात्मक चेतसहित पिँधका जनताको हकका लागि बोल्ने-लेख्ने र सडकमा मात्रै आउने हो भने महावीर विश्वकर्माले देखेको सपना पूरा हुन धेरै समय लाग्ने छैन। हामीबाट विदा भएका महावीरलाई सही अर्थमा सम्झने हो भने उहाँले सुरु गरेका राम्रा कुराहरु केही भए पनि सिक्नु नै सही ठहरिन्छ। प्रिय महावीर मामा हाम्रो मनमा सधैं बाँचिरहनु हुनेछ। असीम स्मरण !!