हामी सबैले भोगेको तथा थाहा भएको कुरा हो, जाडो महिनाको चिसो र सुक्खा हावाले हाम्रो छालामा गहिरो असर गर्दछ। तर हामीलाई थाहा नहुन पनि सक्दछ, यो मौसममा दाँतमा पनि समस्या बढ्न सक्दछ।
मौसम जस्तो भए पनि १५ देखि २०% मानिसहरूको दाँत संवेदनशील हुने अध्ययनहरूले देखाउँछ। हिउँदको चिसो र सुक्खा हावाले हाम्रो दाँतको समस्या झनै बढ्न सक्दछ। यसले अरू समस्या पनि निम्त्याउन सक्दछ।
जाडो मौसममा दाँतमा देखिने समस्या र त्यसको समाधान के हुन सक्छ त?
मुखमा आउने घाउ
अन्य मौसममा पनि देखिने यो समस्या जाडो मौसममा भने धेरै देखिने गर्दछ। यसका कारणहरू निम्नानुसार हुन सक्दछन्:
- सुक्खा हावाले मुखका नरम तन्तुहरूमा घाउ, चोट तथा पाक्ने समस्या पैदा गर्दछ।
- हाम्रो मुखमा निस्किरहने थुकले नै सूक्ष्म जीवाणु (ब्याक्टेरिया) र खानाका टुक्राहरूलाई हटाउने काम गरिरहेको हुन्छ। जाडो मौसमको सुक्खा हावाले थुकको मात्रालाई कम गराउँदछ।
- रुघाखोकी जस्ता समस्याहरूले रोगसँग लड्ने क्षमता कम गराएर मुखमा घाउ आउने समस्या बढ्ने गर्दछ |
यसबाट बच्नको लागि आफ्नो घरमै केही उपायहरू अपनाउन सकिन्छः
- चिल्लो, पिरो खाने कुराहरू नखाने।
- प्रशस्त पानी पिउने।
- मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने।
- एकदमै नरम ब्रसले दाँत माझ्ने।
- ३ देखि ४ दिनसम्म घाउ आफै ठिक नभएमा वा सहनै नसक्ने गरी दुख्ने र पोल्ने भएमा दन्त चिकित्सकसँग परामर्श लिइहाल्नु पर्दछ।
ओठ फुट्ने
चिसो मौसममा प्रायः धेरै मानिसको ओठ फुट्ने गर्दछ। यसबाट बच्न तलका उपायहरू अवलम्बन गर्न सकिन्छ:
- भ्यास्लिन (पेट्रोलियम जेली ) प्रयोग गर्ने।
- पानी प्रशस्त पिउने।
- घर वा अफिसमा एसी प्रयोग गर्दा ह्युमिडिफायरको पनि प्रयोग गर्ने।
- फुटेको ओठ लामो समयसम्म सन्चो नभएमा वा रगत बगिरहेमा दन्त चिकित्सकलाई भेट्नु पर्दछ।
सुक्खा मुख
हावामा पानीको मात्रा कम भएपछि मुखमा सुक्खापन देखिने गर्दछ। यसबाट बच्न तलका केही उपायहरू अपनाउन सकिन्छ:
- प्रशस्त मात्रामा पानी पिउने।
- घर वा अफिसमा एसी प्रयोग गर्दा ह्युमिडिफायरको पनि प्रयोग गर्ने।
- दिउँसोको समयमा चिनी नभएको क्यान्डी चुस्ने।
- गुलियो र क्याफिन भएको (जस्तै- कफी) पेय पदार्थ नखाने।
- चुरोट, हुक्का, बिँडी नखाने।
- नाकबाट सास फेर्ने, मुखबाट नफेर्ने।
- सुक्खा मुखले गर्दा खाना खान र निल्न गार्हो भएमा दन्त चिकित्सकसँग परामर्श लिनु पर्दछ।
दन्त संवेदनशीलता
यदि कसैमा जाडोको मौसममा हावा लाग्दा दाँत दुख्ने, घोच्ने वा सिरिङ्ग हुने भएमा दाँतको पहिलो पत्र 'इनामेल'ले दिनु पर्ने सुरक्षा नदिएको बुझ्नु पर्दछ। त्यस्तै गिजा खिइएको पनि हुन सक्दछ।
यसबाट बच्न केही उपायहरू अवलम्बन गर्न सकिन्छ:
- दन्त संवेदनशीलता अनुसार तयार गरिएको मन्जन प्रयोग गर्ने।
- धेरै अम्लीय खाना र पेय नखाने।
- कडा ब्रस प्रयोग नगर्ने।
- लामो समयसम्म माथि उल्लिखित समस्या देखिरहेमा भने दन्त चिकित्सकलाई भेटिहाल्नु पर्दछ।
गिजा पाक्ने
जाडोमा लाग्ने रुघा खोकीले रोगसँग लड्ने क्षमता घटाउने गर्दछ। यसले ब्याक्टेरियाजस्ता जीवाणुहरू धेरै बढेर गिजा पाक्ने समस्या उत्पन्न गर्दछन्।
यसबाट बच्न केही उपायहरू:
- मुख र अनुहारमा घरी-घरी हात लाने र छुने काम नगर्ने।
- पानी प्रशस्त पिउने।
- गिजा सुन्निएमा, रगत बगेमा वा दुख्ने भएमा चिकित्सकसँग परामर्श लिनु पर्दछ।
दाँत चर्कने
सामान्य रूपमा समयसँगै दाँतहरू चर्कने गर्दछन्। अझ तातो र चिसो खाना धेरै खाँदा खुम्चने र खुल्ने गर्दा कालान्तरमा दाँतहरू चर्कने गर्दछन्। जाडोको बेला यो समस्या झनै बढ्ने गर्दछ।
यसबाट बच्न केही उपायहरू:
- निन्द्रामा दाँत किटकिटाउने बानी भएमा माउथ गार्ड लगाएर सुत्ने।
- अम्लीय पेय र खाना खान बन्द गर्ने।
- चर्केको दाँत दुखेमा, घोचेमा वा सिरिङ्ग भएमा चिकित्सकसँग परामर्श लिनु पर्दछ।
बंगारा दुख्ने
जाडोको मौसममा हाम्रा मांसपेशी र तन्तुहरु कसिने गर्दछन्। यसमा बंगारा पनि पर्दछ। यदि हामीमा टेम्पोरोम्यान्डिबुलर जोइन्ट (टिएमजे) समस्या छ भने जाडोको मौसममा झन् यो विकराल हुन सक्दछ।
यसबाट बच्न केही उपायहरू:
- चिसोबाट बच्ने।
- मुखलाई चिसो नहुन दिने।
- मुख ढाक्ने मफलर वा गलबन्दी आदिको प्रयोग गर्ने।
- यदि दुखाइ सहनै नसक्ने भएमा वा बंगारा पाक्ने भएमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ। नभए चोटपटक र अरू बंगाराको समस्या पनि हुन सक्दछ।
दाँतलाई स्वस्थ राख्न समग्रमा तलका पक्षहरूमा ध्यान दिनु पर्दछः
- दिनको दुई पटक दाँत माझ्ने।
- तीन-तीन महिनामा ब्रस फेर्ने।
- वर्षको कम्तीमा दुई पटक दन्त चिकित्सकलाई भेट्ने, जँचाउने र दाँत सफा गराउने।
- पर्याप्त मात्रमा पानी पिउने।
- माउथ गार्डको प्रयोग गर्ने।
- मुख र घाँटीलाई तातो पारिराख्ने।
- घोटेर ब्रस नगर्ने।
- गुलियो, पिरो, अमिलो नखाने।
- आफूलाई केही शंका लागेमा चिकित्सकसँग सल्लाह लिने।
(लेखक दिव्य स्माइल डेन्टल क्लिनिक ठूलो भर्याङ, काठमाडौंकी सञ्चालक हुन्।)