मंसिर, उसै त बिहेको सिजन त्यसमाथि अनेक चलनचल्तीहरू बिहेकै दौरान हामी देख्न/भोग्न सक्छौं।
आजकालका बिहेका चलनहरू महँगो र खपी नसक्नुको भएका छन्। त्यसै मध्येको बिहेमा सालीले जुत्ता लुकाउने चलनबारे आज खुलेर कुरा गरौं।
कहिलेदेखि सुरू भयो जुत्ता लुकाउने चलन?
यो बिहेमा दुलाहाको जुत्ता लुकाउने चलन कहिलेदेखि सुरू भयो? र किन सुरू भयो? यकिनका साथ भन्न कठिन छ।
दुई तीन दशक अघिसम्म यस्तो प्रचलन नरहेको धेरै संस्कृतिका जानकारहरू बताउँछन्।
बाह्य संस्कृति हावी भएर विस्तारै हाम्रो मौलिकताको ठाउँ ओगटेको भन्नेहरू पनि धेरै छन्। यसको प्रभाव बढेकै कारण नौलो संस्कृतिका रूपमा विकास भएको समेत भन्छन्।
कसैकसैको धारणामा भने बेहुलाले जुत्ता लाउन सुरू भएदेखि यो चलन सुरू भएको मान्छन्।
सहजै उपलब्ध नहुने जुत्ता सबैको पहुँचको विषय हुन्थेन। अनि दुलाहा अलि राम्रो चिटिक्क देखिन जसरी भए पनि जुत्ता लाउने चलन विकसित भएको हो र छालाका जुत्ता लगाएर लामो बाटो हिँडेर आएर पछि जग्गेमा बस्दा फुकाल्नुपर्ने हुन्थ्यो। किनकि छालाका चिजहरू जग्गेमा बस्दा बर्जित हुन्छन्। र खुट्टाको पानी खाने क्रममा पनि जुत्ता त खोल्नै पर्छ। अनि फुकालेर नजिकै राख्दा चोरी हुने डरले दुलही तिरका साली नानीहरूले भिनाजुको जुत्ता नहराओस् भनेर सुरक्षित स्थानमा राखिदिने चलन सुरू भयो।
अनि सबै प्रक्रिया सिध्याएर जन्ती फर्किने बेलामा साली नानीहरूले दुलाहा अर्थात भिनाजुलाई जुत्ता दिने र भिनाजुले खुसी हुँदै उपहार स्वरूप केही रकम साली नानीको हातमा हाल्दिने क्रम बढ्यो।
यसरी नै एउटा हविगतबाट यो बिहेमा नभई नहुने संस्कृतिका रूपमा विकसित भयो भन्छन् धेरै जानकारहरू।
भिनाजु र सालीको सम्बन्ध स्थापित गर्न समेत यो चलन चलाइयो भन्नेहरू धेरै छन्।
आपसी समझदारी र केही छलफलमा जुत्ता र पैसाको साटासाट हुँदा चिनजान हुने र पछिसम्म दिदीको घर आउजाउ गर्न सजिलो हुने हुनाले समेत जुत्ता लुकाउने चलन सुरू भयो भन्छन्।
किन आलोचित बन्दै छ यो चलन?
यो जबरजस्ती नभइकन सहज र सर्वस्वीकार्य चलन हो। तर आजकल अखबारहरूमा जुत्ताको मोलमोलाई नमिल्दा दुलही नलिई फर्केका दुलाहाका समाचारहरू पनि आउने गर्छन्। त्यति मात्र होइन, यही जुत्ता लुकाउने क्रममा दुलाहा पक्ष र दुलही पक्षबीच झगडा हुँदा बिहेजस्तो पवित्र कार्य नै खल्बलिएको घटनाहरू पनि बजारमा छ्यापछ्याप्ती छन्। दुलही लैजाँदा समेत मुन्टो बटारेर हिँडेका दुलाहाहरू पनि समाजमा नै छन्।
त्यसैले पनि आत्मप्रशंसायुक्त बनेर दुवै पक्षबीच कृतज्ञता प्रकट गर्नुपर्ने चलन आजकल बोझ बन्दै छ। घाँटी हेरेर हाड निल्नुपर्ने भनाइ हाम्रो पुरानै भनाइ हो।
दुलाहा पक्षले पनि आफ्नो योग्यता र क्षमता भ्याए सम्मलाई जुत्ता लुकाएबापत केही रकम सालीहरूलाई दिन सक्ने हुन्छन्। तर विडम्बना के भइदियो भने आजकल लाखौंमा माग हुन थाल्यो। नपाउने भएपछि माग गर्नु नै एकदम गलत कुरा हो। अनि जाबो जुत्ता लुकाएर लाखौं रुपैयाँ माग्ने अनि नदिँदा चाहिँ 'यस्ता गरिब रैछन् भिनाजु,मेरी दिदी कसरी पाल्छन्' भनेर रुखो वचन लाउँदा मन खिन्न सबैको हुन्छ।
पैसा कमाउन सबैलाई मेहनत गर्न पर्छ नै। रुखबाट टपटप टिपेर ल्याएर कसैको झोली भरिने होइन। उसै त म यो भड्किलो बिहेको रहनसहन देखेरै वाक्कदिक्क हुन्छु, त्यसमाथि जुत्ता लुकाए बापत हुने लाखौंको मोलमोलाई त धेरै नै अनियमित र अनियन्त्रित गतिविधि लाग्छ। सचेत नागरिकले जुत्ता लुकाए बापत चमत्कार नै भएर लाखौं रुपैयाँ नआउने कुरा सजिलै बुझ्छ।तर माग्ने त हो दिइ पो हाल्छन् कि भन्ने साली नानीहरू पनि भेटिन्छन्। अनि कडा बार्गेनिङ गर्नमा तछाडमछाड गर्छन्।
रमितेहरू हाँस्न मै व्यस्त हुन्छन्। उसै त पाएको केही हजार रुपैयाँ पनि उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सके ठिकै हो तर मेकअप र घुमफिरमा खर्च गर्न कै लागि यत्रो लफडा किन?
अझ अर्को गम्भीर कुरा त यसरी झुटा झुटा कुरा गरेर पैसाकै लागि अनेकन आरोप लाउँदा समाजमा नकारात्मक असर पनि पर्छ।
त्यही घटनाहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुँदा अब आउने पिँढीले के सिक्ने भन्ने नि रहन्छ।
स-साना रहेका बालबालिकाहरूले पनि अब जुत्ता लुकाउँदा लाखौं माग्न पर्ने रैछ भन्ने भान पर्छ। जसले मिथ्याको पत्र मात्र उप्काउँछ तर समाधान दिँदैन।
के अब जुत्ता लुकाउने चलनमा बन्देज लाउने त?
कुनै पनि चलन चल्तीहरू हदभन्दा बाहिर पुगे भने हामीले गर्न सक्ने वा गर्नु पर्ने भनेको नियन्त्रण हो बन्द होइन। आतसबाजी उडाए जस्तो पैसाको मोलमोलाइमा केही लचकता दुलही पक्षहरूले अपनाउँदा यो चलन सदा रहन्छ।
जुत्ता लुकाउने चलनसँग हाम्रो साइनो गाँसिएको छ, यसलाई चटक्कै भुल्न सकिँदैन। बिहेमा दिक्दार मानिरहँदा जो कसैलाई पनि रमाइलो बनाउने क्षण हो यो।
सबैको ध्यान आकृष्ट पार्दै सालीनानीहरूको तर्क गर्ने क्षमता र बोल्ने शैली पनि यही अवसरमा देखिन पाइन्छ।
अरु त अरु जादू जस्तै गरेर भिनाजुको जुत्ता लुकाउनु पनि त कम साहसिलो काम होइन।
रंगमञ्च जस्तै अनेक दर्शकका अघि देखाइने यो चलनले दिगो रूप पाउनपर्छ तर संयमित भएर। दुलाहा र दुलही पक्षबीच आपसी भाव, श्रद्धा र विश्वास कायम गर्छ यो चलनले।
यसलाई लडाइँ, प्रतिष्ठा र प्रतिस्पर्धा भन्दा सम्बन्ध कायम गर्ने चलनका रूपमा जीवित राख्न सबैले सघाउ पुर्याउन पर्छ।
जुत्ता लुकाउने चलनलाई मर्यादित बनाउन के के गर्ने?
यो चलन एउटा भर्खर गाँसिएको परिवार भित्रको चलन हो।
दुवै पक्षहरू जुत्ता लुकाउने निहुँमा हारेको मनोभाव लिएर घर फर्किनु हुँदैन। भिनाजुको दाँतबाट पसिना निस्कने गरी सालीनानीहरूले पैसा माग्नुहुँदैन र मागेको थोरै रकम छ भने पनि दुलाहा पक्षहरू पनि दिनका लागि अन्कनाउन हुँदैन। जुत्ता लुकाउँदा हुने केही छिनको वार्तालाप एकअर्काको अनुकूलतामा रहेर गर्नुपर्छ। जाबो पैसा नदिएकै वा दिन नसकेकै झोंकमा सालीनानीहरूले जीवनसँग आघात पर्ने जोडाइ-घटाइका कुराहरु गर्न हुँदैन।
रमाइलो वा मजाक गर्ने बहानामा कुराहरू अन्तै मोडिएर कति खेर कसको चित्त दुख्छ थाहा नै हुँदैन।
कोही अप्रिय हुनसक्छ, कोही रिसाउन सक्छ, पैसालाई नै ठूलो मान्दा चलिआएको चलनमा विकृतिले जरा गाड्न सक्छ। जुवा जस्तो पैसाको खेल होइन जुत्ता लुकाउने चलन।
यो चलन महँगो भएर भोलिको दिनमा बुर्जुवा वा पुँजीपतिहरूले मात्र मान्न सक्ने भयो भने यसले समाजमा समानता ल्याउनै सक्दैन। धनी र गरिबबीच बिहे हुने अवस्था नै रहँदैन।
प्रेमले हुने बिहेमा पैसाको खेल रचिनु हुँदैन। नत्र त दाइजो प्रथा भन्दा के फरक भयो र यो जुत्ता लुकाउने चलन?
जुत्ता नै खोसाखोस गरेर पैसा कम भएको भनेर चिच्याउने, चिन्ता र दुःख मान्ने क्रियाकलापहरूले बिहेको रौनकता नै कुइरोभित्र पुर्याइदिन्छ।
अनि विवेकभन्दा पैसाको जालो भयंकर भएर फिजारिन्छ। सम्बन्धको बीज रोप्ने बेलामा पैसाको बाछिटाले सबै भताभुंग पारिदिन्छ।
स्वइच्छामा जुत्ता लुकाएको रकम दिन सकियो भने भिनाजुले सालीनानीहरूप्रति हेर्ने नजर नै सकारात्मक भएर जान्छ। पैसाकै लागि हानथाप गर्नेहरू भोलि दिदी भिनाजुको घर जाँदा कुन मुख देखाउने? पैसा दिएर मात्र इष्टमित्र नातागोताका ढोका खुला हुने हुन् र? मागे जति दिने उदार अरु अनुदार भन्ने नि होइन।
मागे जति सबै पाए पनि कालान्तरमा भिनाजुको आत्मीयता नपाउन सकिन्छ। अनि त्यतिबेला के यो पैसाको खेल बेकार रहेछ भनेर खट्किँदैन र?
विवाह पवित्र बन्धन हो जहाँ फरक भूगोल, फरक जात, फरक आर्थिक अवस्था भएका र फरक दृष्टिकोण भएकाहरूको मेल हुन सक्छ। त्यसैले सबैको आत्मसम्मानमा ठेस नपुग्ने हिसाबले अनेकौं पृष्ठभूमिलाई मध्यनजर गर्दै चलनहरू चलाउन सक्यौं भने यसले दीगो रूप लिन्छ।
नत्र त अब दुलाहाले जुत्तै नखोल्ने दिन पनि आउन सक्ला वा दुइटा जुत्ता लिएर दुलही लिन पनि आउन सक्छन्।
आजकल पनि यो परिपाटी गर्न नसकिने होइन तर पनि सालीहरूले नै जुत्ता लुकाउन भन्नकै लागि भिनाजु जुत्ता खोलेरै बस्छन् र अर्को जुत्ता खोजी नगरी त्यही जुत्ता फकाएर मागेर लाएर आउँछन्। यसरी नै अजम्बरी जानुपर्छ हाम्रो संस्कृति, चालचलन।