हाम्रो जीवन कति सुन्दर अनि अमूल्य छ तर उमेर, जोश अनि संगतले कहिलेकाहीँ गलत बाटोतिर ढकेल्न खोज्छ।
त्यो समयमा हामीले सजकता अपनाउनु अति आवश्यक छ। तर कतिपय व्यक्तिले परिवार र समाजको दायित्व बिर्सिएर गलत बाटोतिर लाग्छन्। उनीहरू कलिलो उमेरमै लागूपदार्थ दुर्व्यसनी बन्न पुग्छन् र त्यसको प्रत्यक्ष प्रभाव परिवार समाज र राष्ट्रलाई पर्न जान्छ।
आफू त बिग्रने भई नै हाल्यो सँगै उसका लागि परिवारले देखेका सपनाहरू तुहिने भए। टोल छिमेकमा अन्य बालबच्चाहरूले पनि सिको गरेर लागूऔषध सेवन गर्ने सम्भावना बढी हुने भयो।
हाल नेपालको तथ्यांक अनुसार लागूऔषध सेवनकर्ताहरूको सङ्ख्या हेर्यो भने सबै झस्किन्छौं यसको वृद्धिदर अझै डरलाग्दो छ।
लागूऔषध न्यूनीकरणका लागि सचेतता कार्यक्रम रोकथामका लागि कोसिस नभएका होइनन् तर पनि खासै त्यसको प्रभाव परेको देखिँदैन।
म लामो समयदेखि यो विषयलाई लिएर एकदमै चिन्तित छु।
मैले सक्ने प्रयास पनि गर्दै आइरहेको छु। मैले मेरो उमेर समूहका धेरै साथीलाई लागूऔषध सेवन गरेको नजिकबाट देखेको छु।
मलाई उनीहरूको भविष्य देखेर डर लाग्छ। उनीहरूको परिवारसँग कहिलेकाहीँ भेट हुँदा उनीहरूसँगै मेरा आँखा पनि धेरै पटक रसाएका छन्।
अझ आफ्नो छोरालाई सम्झेर मसँग धेरैबेर भक्कानिँदै रूँदै गरेको सुस्मा आन्टीको याद झलझली आउँछ। बिचरी सुस्मा आन्टीको एक्लो छोरा थियो शिशिर ऊ र म सानैदेखि मिल्ने साथी हौं।
हामीले बाल्यकाल सँगै बितायौं, सँगै खेल्यौं, हुर्कियौं। एसएलसीपछि ऊ राम्रो कलेज पढ्न भनेर काठमाडौं गयो। घर परिवारले पनि त्यहीँ चाहन्थे। किनभने हाम्रो समाज त्यो बेलादेखि नै बिग्रन लागिसकेको थियो। हामीभन्दा सिनियर दाइहरूले चुरोट गाँजा खाइरहेको हामीले धेरै पटक देखेका थियौं।
अझ ५/१० रुपैयाँको लोभले कतिपटक उनीहरूका लागि चुरोट किन्दिन जाने समेत भइसकेका थियौं।
स्कुल पढ्दा हामी पढाइमा धेरै राम्रो नभए पनि फेल कहिले भएनौं। स्कुलले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा सधैं भाग लिन्थौं। शिशिर र म राम्रो फुटबल खेल्थ्यौं।
हाम्रो टिमको क्याप्टेन नै शिशिर थियो। हामीले भाग लिएका धेरैले फुटबल प्रतियोगितामा हामी प्राय: प्रथम नै हुन्थ्यौं।
शिशिर काठमाडौं गइसकेपछि नराम्रोसँग बिग्रेको छ भन्ने सुन्थें। कहिलेकाहीँ दसैं तिहारमा घर आउँदा भेट हुन्थ्यो तर पहिले जस्तो थिएन शिशिर, धेरै परिवर्तन भएको थियो।
हामी पुराना साथीहरू सँगै धेरै समय हुँदैन थियो। मलाई लाग्थ्यो शिशिर काठमाडौंको राम्रो कलेज पढ्ने भइसकेपछि उसका नयाँ साथीहरू पनि बने अब ऊ ठूलो मान्छे बन्नेछ। पछि बिस्तारै मेरो पनि नयाँ साथीहरू बने तर सबै फुटबल खेल्ने बेला बनेका साथीहरू अझै पनि छन्। कोही राष्ट्रियस्तरमै खेल्ने भइसकेका छन्, कोही राम्रो देशमा उच्च शिक्षाका लागि गएका छन्।
बेला-बेला फोन म्यासेजबाट सम्झिरहन्छ, कहिलेकाहीँ छुट्टीमा घर आउँदा अझै फुटबल किटहरू ल्याइदिइन्छन्। तर मेरो खुट्टामा समस्या आएपछि मैले पनि फुटबल खेल्न छोडेको धेरै भइसक्यो।
हाम्रो अझैसम्म पनि एउटा म्यासेन्जर ग्रुप छ। त्यही पुरानो फुटबल क्लबको नामबाट बहुज्योति फुटबल क्लब यो ग्रुपमा धेरै समयदेखि सबै जना भेट्ने योजना बनाइरहेका छौं सायद त्यो भेट छिट्टै हुन्छ होला तर दुर्भाग्य शिशिरसँग हाम्रो भेट अब कहिले हुने छैन न पुरानो त्यही फुटबल मैदानमा न हाम्रो गेट टुगेदर पार्टीमा।
शिशिर काठमाडौं बस्न थालेको केही महिनामा नै लागूऔषध सेवन गर्न थालेछ। उसको परिवारिक पृष्ठभूमि पनि हुने खाने नै थियो। घरबाट जति भन्यो त्यति पैसा पठाइदिइहाल्नु हुन्थ्यो।
पछि महंगो बाइक पनि किनिदिनु भएको छ रे भन्ने सुनेको थियौं। त्योबेला हामीलाई बाइक चढ्ने ठूलो सपना हुन्थ्यो तर उसको सपना पूरा भइसकेको थियो।
सायद दसैंको बिदामा होला ऊ घर आएको थियो। एक्कासि खबर सुन्यौं शिशिर बेहोस भएर ढलेको थियो रे अहिले हस्पिटल लगेको छन रे हामी हतारिँदै हस्पिटल जाँदा उसको मृत्यु भइसकेको थियो। पछि थाहा भयो उसको ड्रग्स ओभर डोज भएर मृत्यु भएको रहेछ।
आजभोलि म शिशिरलाई धेरै सम्झन्छु। मैले मेरो प्रिय साथी शिशिरलाई त बचाउन सकेन तर अन्य कोही शिशिरहरूले अकालमा ज्यान नगुमाऊन् भनेर म हाम्रो समाज दुर्व्यसनमुक्त बनाउने अभियानमा लगेको छु।
केही दिनअघि जिल्ला प्रहरी कार्यालय दाङ रोट्र्याक्ट क्लब अफ दाङ, दाङ युवामञ्च, निर्णय पुनःस्थापन केन्द्रको समन्वयनमा लागूपदार्थ दुर्व्यसनसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेका थियौं।
अब यस्ता कार्यक्रमहरू निरन्तर गर्नेछौं। म सम्पूर्णलाई सभ्य समाज जिम्मेवार नागरिक बनाउनको लागि आ-आफ्नो ठाउँबाट पहल गर्न आग्रह पनि गर्न चाहन्छु।
सुस्मा आन्टीको छोरा गुमाएको घाउ अझै ताजै छ। झन् कहिलेकाहीँ म बाटो पर्दा शिशिरको घरमा पसेर आउँछु। मलाई अंगालो हाल्दै शिशिर भन्दै आन्टी भक्कानिँदा म आफैंलाई समेत सम्हाल्न गाह्रो भइरहेको हुन्छ।
शिशिर तिम्रो आत्माको चिर शान्तिको कामना।
हार्दिक श्रद्धासुमन प्रिय साथी!!