भनिन्छ नि, आमा बन्नु एउटी महिलाको लागि संसारको सबैभन्दा खुसीको क्षण हो। बच्चा जन्मेर पहिलो पटक रुँदा आमाको ह्रदय कसैले अनुभव नै गर्न नसक्ने गरी प्रफुल्लित हुन्छ अनि त्यही पलबाट नै सुरु हुन्छ एउटा बेचैनी, डर र जिम्मेवारीको बोध।
बच्चा जन्मिएर आफू प्रसव पीडाबाट राम्ररी निस्किन पनि नपाउँदै त्यस आमामा जन्मेको नजानिँदो त्रासले उनलाई पछ्याउन सक्छ।
आफ्नो श्रीमान, परिवार अनि इष्टमित्र सबै सँगै हुँदा, उनीहरूको यथेष्ट माया पाउँदापाउँदै पनि उनको मनमा पलाएको त्यो डरले कहिलेसम्म पोल्छ?
कस्ता-कस्ता कुराले उनलाई चोट पुग्छ, कस्तो कुराले उनको मन भारी हुन्छ, के गर्दा उनी खुसी हुन्छिन्, के हुँदा उनको मन ढुक्क हुन्छ र के नहुँदा अस्थिर? यो कुरा उनी आफैलाई पनि थाहा हुँदैन होला सायद।
कुनै बेला त्यही कुराले उनको मुहारमा हाँसो ल्याइदिन्छ त कुनै बेला त्यही कुराले मनमा सियोले घोचेजसरी बिझ्छ।
बच्चा जन्माएर हस्पिटलको बेडमा बसिरहेकी म, जसको छेवैमा मायाले सुम्सुम्याउँदै केही खान मन छ कि भनेर सोध्दै गरेका श्रीमान्, बच्चालाई स्याहारसुसार गर्दै सासुआमा, बच्चालाई समाउन पालो कुरिरहेका देवर र नन्दहरू र अपर्झट भएको अप्रेसनले आत्तिँदै आउन लाग्नुभएका ममी-बाबाहरू, जुन मेरो लागि खुसी हुन पर्याप्त हुनुपर्ने हो।
तर त्यही बेला मेरो आँखा जान्छ मेरो छेवैमा चुपचाप लागेर, अलिअलि डराएका अनि केही अचम्म परेका आँखाहरूले घरी मलाई त घरी भर्खर जन्मिएकी आफ्नी बहिनीलाई हेरिरहेकी मेरी ठूली छोरीमाथि।
सबै कुराहरूलाई नियालेर हेरिरहेकी म, विशेष ध्यान पुर्याउँछु उसका निर्दोष आँखाहरूमा र ती आँखाहरूमा देखिएका केही अनुत्तरित प्रश्नहरूमा। उसले मलाई आफ्ना आँखाले नै पगाल्ने गरी केही भन्न खोजिरहेको जस्तो भान हुन्छ।
सकीनसकी उसलाई आफूतिर बोलाउँछु। आउँ कि नआउँ भन्ने भावले मलाई हेर्छे। मैले फेरि आऊ भनेपछि अलिकति अगाडि सर्छे।
मेरो दुखाइबाट नै डराएकी ऊ, विस्तारै मलाई अझ दुख्ला कि भनेजसरी नजिकै टाँसिन आउँछे। म पनि बल्लबल्ल आफ्नो हात उचाली उसलाई आफूतिर तानेर आफ्नो छातीमा टाँस्छु। लुपुक्क पर्दै एकछिनसम्म केही नबोली ऊ त्यहीँ नै बसिरहन्छे।
सुरु हुन्छ त्यहीबाट नै मेरो सोच्ने सिलसिला। मैले अर्को सन्तान हुर्काउँदै गर्दा, अस्तिसम्म घरकी सानी बनेर पुल्पुलिएकी उसको त्यो कलिलो मानसिकतामा बहिनीको आगमनसँगै आफूले कम प्राथमिकता पाएको भानले के असर गर्ला भनेर नै मन अत्तालिन्थ्यो।
सकेसम्म उसलाई त्यस्तो अनुभव नहोस् भनेर उसले अनि उसलाई अति नै माया गर्ने उसका फुपूहरू पनि ऊसँगै थिए र आफ्नै तरिकाले बहिनीलाई माया गर्न सिकाइरहेका थिए।
तर पनि कता-कता मेरो मनमा अब उसको बालापन खोसिने पो हो कि, बहिनीको कारणले उसलाई हामीले केही पछि ध्यान दिँदा बहिनीप्रति नै नकारात्मक पो हुने हो कि, हामीले यस्तो गर्न हुदैँन अब तिमीले पनि बहिनीको ख्याल गर्नुपर्छ भनेर सम्झाउँदा केही बोल्न नसकी भित्रभित्र पाकिएर, गुम्सिएर झन् ठूलो समस्यामा पो पर्ने हो कि जस्ता कुरा त कति खेल्ने हुन् कति।
यी भए सुरुआती दिनका सोचहरू जुन विस्तारै आफू अलि सक्ने भएपछि आफ्नो तरिकाले सन्तुलनमा ल्याउन सकिने रहेछ। तर कतै बाहिर नगई आफूले गरिरहेको काम छोडेर बच्चा हेरेर बस्नुपर्दा, बिहानदेखि बेलुकासम्म उनीहरूकै लागि खर्चिँदा अनि घरमा आएका आफन्तहरूले दिने सुझाव सुन्दा सुरुमा राम्रै लागे पनि विस्तारै-विस्तारै त्यही कुरा अत्यासलाग्दो भइदिँदो रहेछ।
रिस उठ्ने, झर्को लाग्ने, पहिलेका कुराहरू सम्झेर त्यो अवस्थामा त म अब कहिले फर्किने होला भनेर निराश हुने, दिक्क लाग्ने, एक्लै बस्न मन लाग्ने, यी सब कुराहरू सामान्य लाग्नेरहेछन्।
कसैले 'ओहो! कति मोटाएकी, अब त विस्तारै घट्नुपर्छ है' भनेर राम्रो तरिकाले भनिरहँदा पनि मेरो मनमा सय थरी कुराहरू खेल्थे। कसैले 'काम कहिलेबाट सुरु गर्ने त अब?' भनेर सोध्दा पनि छोरीलाई दूध खुवाइरहेकी म, आफू असल आमा बन्नुको मापन के हो भन्ने सोचमा हराउथेँ।
म काममा जानु भनेको मेरी नाबालक छोरीलाई दिइरहेको समय छोट्टयाएर ऊप्रति अन्याय गर्नु हो या काम फेरि सुरु नगर्नु भनेको आफैप्रति अन्याय गर्नु हो, मैले बुझ्न सकेको थिइनँ।
मन नै त हो कहिले पोल्छ भतभती, कहिले पीडा आँसु बनेर झर्छ अनायासै। कहिले उकुसमुकुस हुने गरी मुटुभरि गाँठो परेर बस्छ अनि कुरा बुझ्दाबुझ्दै पनि नबुझेको झैँ गरी दुखिरहन्छ।
जीवनमा नयाँ बाँच्ने आधार थप्दै परिवारलाई नै अझ सुन्दर बनाउने गरी आएका छोरीहरू हुँदा पनि मनमा किन झलमल्ल घाम नलागेको होला भन्ने लागिरहने र किन यो मुटु जतिबेला पनि दुखिरहने, भारी भइरहने, आँखाको डिल भिजिरहने र ओठमा हाँसो भए पनि मन उज्यालो नहुने?
सायद कतै केही अपूरा इच्छाहरू मनको कुनै कुनामा लुकेका सपनाहरूले मनलाई भारी बनाइरहेको पो हो कि भन्ने भान त हुन्थ्यो तर खै! सबैकुरा ठिक छ जस्तो लाग्दालाग्दै पनि खुसी हुन नसक्दा आफै देखेर दिक्क लाग्न थालिसकेको थियो।
कहिलेकाहीँ लाग्थ्यो, के म अब कहिले खुसी नै हुन सक्दिनँ होला त? के म निराशावादी, उदाशीन नै हुँ त? के म सबैलाई नकारात्मक उर्जा नै फैलाइरहेकी छु त? मेरो वरिपरीका मेरा श्रीमान, छोरीहरू, परिवार अनि इष्टमित्रहरूलाई उनीहरूले चाहेजस्तो, सोचेजस्तो खुसी दिनलाई मैले के गर्नुपर्छ होला त?
मेरो अनुहार सधैं अँध्यारो देख्दा श्रीमान भन्नुहुन्थ्यो, 'जीवनमा खुसी हुने बाहना खोज्छन् मानिसहरू, तिमी चाहिँ कसरी तनाव लिने भन्ने बारेमा एउटा किताब नै लेख्न सक्ने भैसक्यौ। सधैं सेन्टी हुने होइन हजुर, कहिलेकाहीँ त बुढालाई पनि यसो रिसाउने मौका दिनुपर्यो नि।'
उहाँले यसो भनिरहँदा मलाई आफू परिवर्तन हुनुपर्छ भन्ने नभएको होइन तर मनमनै 'किन र मैले चेन्ज हुनुपर्ने? सधैँ तिमीले नै फकाए हुन्न र मलाई?' नआउने भन्ने पनि पक्कै होइन।
केटी मान्छे हुनु आफैमा गर्विलो साथसाथै निकै संवेदनशील कुरा हो भन्ने लाग्छ। स्वभावैले भावनात्मक, कलिलो मन भएका, सानो कुरामा पनि चित्त दुखाइहाल्ने अनि रोइहाल्ने। अरु भन्दा पनि म चाहिँ त्यस्तै छु कम्तीमा।
मैले माया गर्ने मानिसले मेरो रिसमा पनि रिस होइन, माया देखून् भन्ने लाग्छ मलाई। मेरो आँसुमा पीडाबोध नगरी उनीहरूप्रतिको स्नेह देखून् भन्ने लाग्छ। म चुप लागेर बस्दा मेरो चुप्पी होइन, त्यसभित्र लुकेको डर र पीडा बुझून् भन्ने लाग्छ।
सबैको नहुन सक्छ यस्तो। कोही भन्न सक्छन् खुलस्त, देखाउन सक्छन् आफ्नो माया, स्नेह अनि पीडा तर म केवर रुन मात्र सक्छु, रिसाउन सक्छु। त्यो पनि सबैसँग होइन, आफूले सबैभन्दा माया गर्ने मान्छेसँग, आफ्नो मनले सबैभन्दा नजिक ठानेको मान्छेसँग।
जसले बुझोस् या नबुझोस् त्यो पलको मेरो मनको कुरा तर मलाई थाह छ मलाई बुझ्ने, सुन्ने मान्छे उही नै हो। मलाई माया गर्ने मान्छे उही नै हो र मलाई जस्तोसुकै परिस्थितिमा सम्हाल्न सक्ने उही नै हो। मेरो मनमा परेका गाठाँहरू खोल्नसक्ने उही नै हो तर जब ऊ नै मसँग टाढा भएको महसुस गर्दछु अनि आउँछ मेरो मनमा बाढीपहिरो, खसेजस्तो हुन्छु हजारौं फीट माथिबाट कुनै गहिरो खाडलमा।
मनमा यति धेरै तर्कना आउँछन् कि त्यही खेलिरहेका बच्चाहरूको आवाज पनि हल्ला जस्तो लाग्न थाल्छ। उनीहरूसँग खेलेर मन हलुको बनाउन खोज्दाखोज्दै पनि मनका ती सबै कुराहरूले टाउकोलाई सधैं गह्रुङ्गो नै बनाइरहेका हुन्छन्।
'सायद मैले उसलाई सोचेअनुरुप खुसी दिन नसकेर हो कि ऊ मबाट टाढा गएको, म आफ्नो मनको कुरा खुलस्त भन्न नसक्ने अनि उसको मनको कुरा पनि राम्ररी बुझ्न नसक्ने भएर पो हो कि? अथवा उसको मप्रतिको मन मरेर पो हो कि? दुई वटा सन्तान जन्माएर उनीहरूमा अनि घरपरिवारमा धेरै व्यस्त रहँदा श्रीमानलाई चाहिने साथ र मायामा म चुकेको पो हो कि?'
यस्ता कुराहरू कति सोच्नु जस्तो तर पनि एकदिन उसको मूडअफ हुँदा मनमा यति आँधिहुरी मच्चिन्छन्।
मनलाई जता लग्यो त्यतै जान्छ भन्छन् तर मनले नै हामीलाई जता लैजान्छ हामी खुरुखुर उतैतिर जाने हो जस्तो लाग्छ। खुसी हुनु, रमाउनु, दुखी हुनु, चिन्ता गर्नु हाम्रो वशमा छ र? समय र परिस्थितमा हामी यसरी अल्झिन्छौं कि हाम्रा इच्छाहरू, खुसी हुने बाहनाहरू खै कता हराउँछन् अनि हामी जिम्मेवारी र दायित्वको चपेटामा पर्दै जान्छौं।
पहिले रमाइलो लाग्ने कुराहरू पछि खल्लो लाग्दै जाने, पहिले मिठो लाग्ने खानेकुराको त्यति मतलब नलाग्ने, चाडबाडहरूको महत्त्वलाई पिङ खेल्ने, घुम्न जाने रमाइलोभन्दा पनि बढी कसरी पार लगाउने भन्ने जिम्मेवारीको हिसाबले बोध गर्न थालिन्छ।
आफ्नो जीवनको अमूल्य दुई वर्ष के-के र कस्ता-कस्ता कुरा सोचेर बित्यो भन्ने सोच्दा नै दिक्क लागेर आउँछ। तर त्यो समयमा यिनै कुराको वरिपरि नै आफ्नो सर्वश्व गुमेको जस्तो लाग्थ्यो।
अहिलेको आफू र पहिलेको आफूमा तुलना गर्छु। कस्तो थिएँ, कस्तो भएँ भन्ने कुराको समीक्षा गर्दा आफूमा निकै भिन्नता महसुस गरेको हुन्छु। एउटी सानी नानीबाट साना नानीहरूकी आमा बन्ने यात्रा तय गरिसक्दासम्म सामना गर्दै आएका अनेकौं परिस्थितिहरूले चाहेर या नचाहेर ल्याएको फरकपनलाई आत्मसात् गर्दै अघि बढ्दा आफू त कतै परै छुटेजस्तो लायो।
जीवनमा यस्ता परिस्थितिहरू पनि आए जतिबेला लाग्यो कि यी परिस्थितिले अब मलाई कहिले पनि छोड्दैनन् होला। जीवनभर पछ्याउँछन् होला। म अब फेरि कहिले पनि खुसी हुन सक्दिनँ होला अनि यी मेरा जीवनका सबैभन्दा ठूला दुःख हुन्। तर त्यस्तो हुँदैन रहेछ।
समयअनुसार आफूलाई पर्ने दुःख फेरिंदै जादाँ रहेछन् र तिनीहरूको मापन पनि आफ्नो उमेर र भोगाइअनुसार थपघट हुँदै जाने रहेछन्। तर पनि अहिले आफूलाई परिरहेको पीर त्यो समयको त्यही नै सबैभन्दा ठूलो भइदिँदो रहेछ र त्यसैले गर्दा आफ्नो सारा संसार बिथोलिएको भान हुनेरहेछ।
अब यसको उपाय के? यसबाट बाहिर निस्कने कि यसमै निसास्सिएर बसिरहने? आफू खुसी हुन सधैं अरुकै बाटो हेर्ने भन्ने त पक्कै होइन तर आफ्नो सारा खुसी नै तिनै दुई/चार जनामा देखिएको छ भने उनीहरूबिना कसरी खुसी हुने त?
म खुसी हुनको लागि मेरो श्रीमान, छोराछोरी र मेरो परिवार खुसी हुनुपर्छ। आफू खुसी भए सबै खुसी भन्ने कथन खै ममा चाहिँ लागु हुँदैन। मलाई आफ्नो वरिपरिका मानिसहरू मसँग खुसी हुनुपर्छ अनि मात्र मेरो मन प्रफुल्ल हुन्छ।
उनीहरूको मुहारमा निराशा देख्दा कतै मेरै कारणले त होइन उनीहरू बेखुसी भएको, म नै त होइन उनीहरूको चिन्ताको जड भन्ने भान हुन्छ। अनि त्यही कुराले अँध्यारिएको मनको पीडा, रिस बनेर पोखिन्छ आफ्नो प्यारो मान्छेसँग।
उसका पनि आफ्नै समस्याहरू होलान्, कामका छुट्टै कठिनाइ होलान् तर मैले आफ्नो मनको पीडा कोसँग भन्ने? म कोसँग धोको फेरेर रिसाउने? यस्तो कुरा सुन्दा म कति स्वार्थी भन्नेजस्तो लाग्छ होला तर मेरो कुरा, मेरा भावना मैले पनि त कोहीलाई सुनाउनै पर्छ नि हैन र?
हो, उसका कुरा पनि सुन्ने। सकिन्छ सल्लाह दिने, नसके ढाडस दिने। तर आफ्नो लागि पनि त ऊ उपस्थित हुनुपर्यो। श्रीमान-श्रीमती भनेकै एकअर्काका परिपूरक, साथी, रिसाउने/फकाउने, मान्ने मनाउने त हो नि। त्यसमा श्रीमानले नै अलि बढी सुन्दा, मान्दा र फकाउँदा के नै फरक पर्छ?
दिनभर घर, अफिस, केटाकेटी अनि आवश्यक/अनावश्यक सोचेर दिमागलाई अलि बढी नै प्रेसर पारेका श्रीमतीको रिस केहीबेर खपिदिँदा के हुन्छ त? तिम्रो माया अनि साथ पाएपछि त उनी फिरिहाल्छिन् नि।
कुण्ठा, पीडा मनमा राखेर कसैले कसैलाई खुसी दिन सक्दैन र जसलाई जुनबेला बढी माया र साथको बढी जरुरत हुन्छ त्योबेला कुनै संकोच नमानी धक फुकाएर माया दिएमा जीवन सहजताका साथ बित्छ।
बच्चा हुर्काउँदै गरेकी आमा र श्रीमतीको भूमिका एकैपटक निभाउन धेरै गाह्रो हुन्छ र यो कुरा हरेक पिता र श्रीमानले बुझ्न जरुरी छ। साथै सल्लाह/सुझाव दिने शुभचिन्तकहरूले पनि सबैको परिस्थिति र मनस्थिति एकै हुँदैन भन्ने मनन गरी साथ दिनुभयो भने त भइगयो नि सुनमा सुगन्ध।