मैले यसअघिको लेखमा विशेषतः बालबालिकाको स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय हुनुपर्ने एजेन्डा सबैको हुनुपर्ने र स्विडेनको स्वास्थ्य प्रणालीबाट सिक्नुपर्ने केही कुरा औंल्याएको थिएँ।
म यो लेखमा स्विडेनको निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनको प्रणालीबारे चर्चा गर्नेछु।
नेपाल बालबालिकाको गुणस्तरीय, सुलभ र समान स्वास्थ्य सेवामा धेरै पछाडि छ। शिक्षा र स्वास्थ्य क्षेत्र केन्द्रीकरण गरिएका छन्।
अरू देशले राम्रो गरेको देख्दा आफ्नो देशमा पनि यस्तै प्रणाली भइदिए हुन्थ्यो जस्तो लाग्दो रहेछ। राम्रो गर्न सक्ने सम्भावना पनि देखिँदो रहेछ।
स्विडेनको स्वास्थ्य प्रणालीभित्र पनि केही नकारात्मक पक्षहरू देखिन्छन्। यद्यपि बालबालिकाको स्वास्थ्य सेवा प्रणाली भने सुव्यवस्थित छ। स्विडेनमा झन्डै दुई दशकको मेरो अनुभवले यही कुरा बताउँछ।
नेपालजस्तो विकासोन्मुख देशले त विकासशील देशहरूले गरेको गल्तीबाट सिकेर देशको लागि राम्रो हुने स्वास्थ्य प्रणाली विकास गर्न सक्छ। नेपालले यसो गर्न सक्ने आधार र अवसरहरू प्रशस्त देखिन्छन्।
सुव्यवस्थित र गुणस्तरीय सेवा दिने प्रणाली विकास गर्ने जिम्मेवारी राज्यको हो। नगर्दाको दोष पनि राज्यकै हुन्छ।
यहाँ स्विडेनको बाल स्वास्थ्य सेवाको प्रणालीबारे केही उल्लेख गरूँ।
गर्भवती भएको सूचना
स्विडेनमा आफू गर्भवती भएको पहिलो खबर गर्ने दायित्व उनै महिलाको हुन्छ।
त्यसपछि स्वास्थ्य परीक्षण र गर्भ विकासको फलोअप गर्ने दायित्व 'मातृ स्वास्थ्य सेवा केन्द्र' को हुन्छ।
गर्भवती भएको खबर पाएलगत्तै उनको स्वास्थ्य परीक्षण गरिन्छ। गर्भवतीलाई चाहिने भिटामिन तथा अन्य आवश्यक पदार्थहरू पर्याप्त छने कि छैनन् भनेर जाँच गरिन्छ। यसपछि गर्भवतीको स्वास्थ्य अवस्थाअनुसार मिडवाइफले आवश्यकता अनुसार नियमित फलोअप गर्छिन्। गर्भस्थ शिशुको विकासको परीक्षण निर्धारित वैज्ञानिक मापदण्डअनुसार पूरा गरिन्छ।
गर्भवती भएदेखि बच्चा जन्मिँदासम्मको सबै जिम्मेवारी मिडवाइफको हुन्छ। यसरी जिम्मेवारी लिने मिडवाइफ सुरूदेखि अन्तिमसम्म एकै हुन्छिन्।
गर्भवती भएर पहिलोचोटि भेट भएपछि निरन्तर फलोअपको लागि घरैमा मिडवाइफले चिठी पठाउने व्यवस्था छ। चिठीमा अब गर्नुपर्ने स्वास्थ्य परीक्षणको मिति र समय लेखिएको हुन्छ। गर्भवतीको शारीरिक र मानसिक स्वास्थ्य परीक्षण, गर्भस्थ शिशुको विकासको अवस्था निरीक्षण, आवश्यक प्राथमिक उपचारमा मिडवाइफको विशेष जिम्मेवारी हुन्छ।
गर्भवतीको कुनै असाधारण र विशेष अवस्था भएमा विशेषज्ञ डाक्टरलाई रिफर गर्नु मिडवाइफको अर्को महत्त्वपूर्ण जिम्मेवारी हुन्छ। गर्भस्थ शिशुको विकास क्रम र चालको जानकारी लिन अल्ट्रासाउन्ड गर्ने र तदनुसार आवश्यक कदम चाल्ने जिम्मेवारी पनि मिडवाइफकै हुन्छ।
दम्पतीलाई परामर्श
गर्भवतीमा स्वाभाविक रूपमा शारीरिक र मानसिक परिवर्तनहरू हुन्छन्। पछिल्ला केही अनुसन्धानले बाबुमा पनि केही शारीरिक परिवर्तन हुने र मनोवैज्ञानिक प्रभाव पर्ने निष्कर्ष निकालेका छन्।
शिशु जन्मनुअघि र जन्मपछि आमामा जस्तै बाबुमा पनि खुसी गराउने हर्मोनहरू देखिने गरेका छन्।
विशेषतः स्विडेनमा गर्भवती हुँदाको समयदेखि बच्चा १८ वर्ष उमेर पूरा नहुन्जेल बच्चाको हेरचाहमा आमा र बाबुको जिम्मेवारी बराबरी रहने कानुनी व्यवस्था छ।
आगन्तुक शिशुको जिम्मेवारी बहन गर्न सक्ने सक्षम अभिभावक बनाउन तथा मानसिक र मनोवैज्ञानिक स्वास्थ्य बलियो बनाउन बाबुलाई पनि एकै मिडवाइफले भेट्ने र परामर्श दिने जिम्मेवारी लिएको हुन्छ।
आमाबाबु दुबै जनाले बच्चा जन्माउने, हुर्काउने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा बराबरी ध्यान दिऊन् भन्ने उद्देश्यले मातृ स्वास्थ्य सेवा केन्द्रहरूले 'अभिभावक शिक्षा कक्षा' चलाउँछन्।
यस्ता कक्षामा पहिलो पटक आमाबाबु बन्ने दम्पतीलाई बोलाए अभिभावक बन्नुको अर्थ, बुझाइ र भोगाइ सेयर गरिन्छ। आमाबाबु बन्नुको फरक र समानता, तथा अभिभावक बन्नुको अर्थ गहिराइमा बुझ्न र आगन्तुक शिशुको रेखदेखमा यस्ता कक्षाले सकारात्मक प्रभाव पारेको कुरा अध्ययनहरूले पुष्टि गरेका छन्।
अस्पतालको दायित्व
शिशु जन्मने दिन नजिक आएपछि दम्पती अस्पतालसँग सम्पर्कमा रहन्छन्। पेट दुखेको छ वा गर्भस्थ शिशुलाई कुनै असर परेको छ कि भन्ने शंका भएमा वा शिशु जन्मनुअघि पानी बगेको अवस्थामा तुरून्त अस्पताल जान पाउने व्यवस्था छ।
अस्पताल भर्ना भएपछि दम्पती बस्न र सुत्न मिल्ने कोठा दिइन्छ। स्विडेनमा बच्चा जन्मदा बाबु सँगै रहनु, बच्चा जन्माउने बेला सहयोग गर्नु, मिडवाइफसँग परामर्श लिनु अनिवार्य मानिन्छ।
असाधारण अवस्थाबाहेक शिशु जन्माउने बेलासम्मको सबै काम मिडवाइफले नै जिम्मा लिन्छन्।
स्विडेनमा प्राकृतिक जन्म प्रोत्साहित गरिन्छ। कुनै जटिल अवस्था आइपरेमा वा शल्यक्रिया गर्नै पर्ने अवस्थामा मात्र डक्टरले जाँच गर्छन् र आवश्यक निर्णय लिन्छन्।
शिशुको शारीरिक बनावट, तौल र टाउकाको नाप लिइन्छ। सबै अवस्था सामान्य भएमा शिशु स्वस्थ रहेको मानिन्छ। अस्पतालभित्रै खाना उपलब्ध हुन्छ। स्याम्पेन चियर्स गरेर मिडवाइफहरूले बाबुआमालाई बधाइ दिने चलन छ।
आमा र शिशु दुवैको स्वास्थ्य राम्रो रहेको निश्चित भएमा दुई दिनपछि उनीहरू घर जान पाउँछन्। यो दुई दिनमा आमालाई शिशुलाई स्तनपान गराउने तरिका सिकाइन्छ। कुनै समस्या भएमा अपनाउने उपायहरूबारे सल्लाह दिइन्छ।
स्विडेनमा जन्म दर्ता पनि जन्मको लगत्तै मिडवाइफहरूले नै गराउने व्यवस्था छ। मिडवाइफले शिशुको विवरण स्विडिस कर विभागमा पठाउनु पर्छ। यस्तो विवरण आएपछि कर विभागले विवरण उल्लेख गरेर घरमा चिठी पठाउँछ। विवरणमा शिशुको नाम नभए नाम राख्न पनि भनिएको हुन्छ। सबै विवरण प्राप्त गरेपछि कर विभागले शिशुको व्यक्तिगत नम्बर दिन्छ। यही नम्बर उसको जीवनभर चल्छ। प्रत्येक प्रमाणपत्रमा उक्त नम्बर उल्लेख गरिएको हुन्छ।
जन्मपछिको रेखदेख
आमा र शिशु अस्पतालबाट डिस्चार्ज भएको खबर मिडवाइफले आमाको नाम दर्ता भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउँछिन्। यस्ता प्राथमिक स्वास्थ्य केन्द्रमा जनस्वास्थ्यमा देखापर्ने धेरै समस्याहरूको उपचार हुन्छ। प्राथमिक स्वास्थ्य केन्द्रभित्र विभिन्न विभाग हुन्छन् जसमध्ये बालस्वास्थ्य विभाग पनि हुन्छ।
बालस्वास्थ्य विभागमा जनस्वास्थ्य सम्बन्धी विशेष ज्ञान हासिल गरेका विशेषज्ञ नर्स वा बालबालिका सम्बन्धी नर्स रहने व्यवस्था छ। बच्चाको शारीरिक र मानसिक स्वास्थ्यको जाँच गर्ने, फलोअप गर्ने, बच्चाका सामान्य समस्याहरूको समाधान गर्ने र आमाबाबुको चिन्तामा उचित परामर्श दिने जिम्मेवारी यस्ता नर्सको हुन्छ।
सरकारी नियमअनुसार खोप लगाउन प्रेरित गर्ने र अन्य कुनै खोप भए त्यसबारे परामर्श दिने जिम्मेवारी पनि यिनै नर्सको हुन्छ। जन्मदेखि ६ वर्ष उमेर पूरा नहुँदासम्म स्वाभाविक बालविकास भए, नभएको निरन्तर परीक्षण गरिन्छ। यसमा विशेषतः बच्चाको श्रवण, दृष्टि, बोली, तौल, उचाइ र यस्तै अन्य पक्षको परीक्षण हुन्छ।
बच्चा बिरामी भएको अवस्थामा यिनै प्राथमिक स्वास्थ्य केन्द्रले उपचार गर्छन्। कुनै जटिल समस्या आएमा अस्पताल पठाउँछन्।
स्कुलको जिम्मेवारी
स्विडेनमा बच्चा ६ वर्ष उमेर पूरा भएपछि बच्चालाई स्कुल पठाउनु पर्छ। स्कुलले हरेक तहमा नर्स राख्नु अनिवार्य हुन्छ। स्कुल नर्सले एक वर्षको विशेष एमएससी कोर्ष गरेको हुनु पर्छ। बच्चा ६ वर्ष उमेर पूरा भएपछि प्राथमिक स्वास्थ्य उपचार केन्द्रले स्कुल नर्सलाई उसको स्वास्थ्य रिपोर्ट उपलब्ध गराउँछ।
स्कुलमा बच्चाको खोपको अवस्था तथा शारीरिक र मानसिक स्वास्थ्य अवलोकन गरिन्छ। केही उपचार आवश्यक भएमा अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्रलाई रिफर गरिन्छ। स्कुलले बच्चाको शारीरिक र मानसिक वृद्धिमा तथा शारीरिक र मानसिक रोगहरूको रोकथाममा विशेष ध्यान दिन्छ।
बालबालिकाहरू १८ वर्ष उमेर पूरा नभएसम्म स्वास्थ्यसम्बन्धी रेखदेख गर्ने जिम्मेवारी स्कुलको हुन्छ।
पन्ध्र वर्ष उमेर पूरा भएका बालबालिका स्वयंले पनि प्राथमिक स्वास्थ्य केन्द्र वा कुनै जटिल समस्या भएमा अस्पताल गएर उपचार खोज्न सक्ने व्यवस्था छ।
मैले स्विडेनको बालस्वास्थ्य प्रणालीका बारेमा थोरै चर्चा गरेँ।
यो लेखले नेपाली राज्य र राजनीतिक दलहरूलाई बाल स्वास्थ्यका क्षेत्रमा नीति निर्माण र कार्यान्वयनमा केही न केही मद्दत गरोस् भन्ने मेरो चाहना हो।
बालबालिकाको स्वास्थ्यमा आमाबाबुको, अन्य अभिभावकको र समाजको दायित्व र महत्त्व हुन्छ। पछि आउने लेखहरूमा बाल स्वास्थ्यमा अन्य पक्षहरू समावेश गर्नेछु।
यो पनिः बच्चा जन्माउनुअघि सोच्नै पर्ने कुराहरू के हुन्?
निःशुल्क र गुणस्तरीय बाल स्वास्थ्य प्रणालीको एक नमूना
ट्विटर @DrDipRajThapa
(डा. दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)