मार्केटिङको लगभग एक महिने अनुभवपछि एक महिनामा भनेको तलब, मासिक नम्बरको आधारमा पाइने बोनस सर्टिफिकेट र ओरिजिनल नागरिकता सबै कुरो छाडेर घर लागियो। तर गन्तव्यको कुनै टुंगो भने थिएन। तैपनि मार्केटिङमा फर्कने कुनै सोच थिएन।
एक महिनामा घर जानु मेरा लागि माइत गएको चेलीजस्तै थियो। बुबाआमाको एक्लो छोरो अनि १७/१८ वर्षकै उमेरमा मसँग वैवाहिक सम्बन्धमा गाँसिएकी मेरी जीवन संगिनी सबैमा खुसी हुनु स्वभाविक थियो। घरमा चेली वर्षौंपछि माइत आएजस्तो परिकारहरू बन्थे।
यो घर बसाइ लामो हुने पक्कै पनि थियो। फागुन महिना सकिन दुई दिन मात्र बाँकी भएकाले मैले गर्मिका लुगाहरू सबै झोलामा बोकेको थिएँ। एक/दुई दिन त कसैले पनि कहिले फर्कने सोध्ने भएन। एक/दुई दिनपछि बुढीले तपाईं कहिले फर्कने भनेर सोधिन्।
मसँग जवाफ थिएन। पल्टने जागिर भएको भए पो यति दिन छुट्टी छ, यति दिनमा जान्छु भन्नु। आफ्नो केही छैन अनि एक/दुई दिनमा जान्छु भने कुरो सकियो। फेरि एक/दुई दिन के भएको थियो बुबाले 'कहिले जाने हो? काठमाडौं बज्रबाराहीमा दूध चढाउनु थियो। तँ जाँदा चढाउछस् कि भनेर' भन्नुभयो।
हाम्रोमा भैँसी ब्याएपछि बज्रबाराही मन्दिरमा दूध चढाउने प्रचलन छ। मैले चैतभरि बस्छु भनेँ। मन अलि हलुङ्गो त भयो तर गर्ने चाहिँ के? मनभरि प्रश्नैप्रश्नै थियो।
गाउँघरमा धमाधम तोरी, केराउ भित्राउने र मकै छर्नको लागि मल बोक्ने काम सुरु भैसकेको थियो। हाम्रो बारी अलि सेपिलो भएको हुँदा तोरी भर्खर पाक्न सुरु भएको थियो। चैत महिना गाउँमा मल बोकेर बिताइयो। २०६० सालको नयाँ वर्षले कता-कता गिज्याएको भान भइरहेको थियो, जागिर नभएको बेरोजगार केटो भनेर।
वैशाख महिना मकै रोप्ने कामसँगै खेतमा गहुँ पाकेकाले बेरोजगार हुनु परेन। दिनभर व्यस्त नै भइरहेँ। जेठ महिनाबाट मकै गोड्ने काममा व्यस्त भइयो, खासै बेरोजगारीको महसुस गर्नु परेको थिएन। लामो समयपछि यसरी घर बस्न पाएकोमा म पनि दङ्ग नै थिएँ।
मार्केटिङबाट कमाएको पैसा खासै खर्च भएको थिएन। गाउँघरमा खर्च नै नहुने, घर खर्च गर्नै परे सबै बुबाले गर्ने हुँदा मलाई कुनै चिन्ता थिएन। घरमा परिआएको काम गरिदिँदा मलाई ठिकै थियो।
जेठ महिना पनि सकियो, मलाई जागिरको चिन्ता हुन नै छाडीसकेको थियो। असारको रोपाइँको चटारो सुरु भइसकेकोले मलाई कामको कुनै चिन्ता थिएन।
असारको रोपाईको चटारो सकेर धान गोड्ने मेलो सुरु भएको थियो। एकदिन बिहान गोठमा बुबाआमा छोरो बेरोजगार भएको विषयमा गन्थन गर्दै गरेको सुनेँ। माइलो बुबाको छोरो मेरो दाइ र काइलो बुबाको छोरो पनि प्राविधिक विषय पढेर बेरोजगार भएजस्तै 'यो पनि बेरोजगार हुने रहेछ, पैसाको सत्यनास मात्र' भन्दै गरेको सुनेँ।
मनमा एक किसिमको चिन्ता सुरु भयो। कसलाई सुनाउने, के गर्ने कुनै बाटो भेटेको थिइनँ। अंकल विदेश भएकोले अंकललाई चिठी लेख्ने निर्णय गरेँ। मलाई पनि विदेश जाने मेसो मिलाइदिन आग्रह गरी चिठी लेखेँ।
असारको अन्तिम थियो, अंकलको जवाफ पत्र आयो। अंकलको जवाफ अंग्रेजीमा थियो। उहाँको अंग्रेजी मैले आधा-आधा बुझेँ। म आफै अंग्रेजीमा कमजोर, त्यसमाथि अंकलको अंग्रेजी पनि बुझी नसक्नु थियो। अंकलको 'तँ एक्लो छोरो भएकोले विदेश जन हुँदैन, नेपालमा नै बस्' भन्ने किसिमको जवाफ थियो।
एसएलसीको सर्टिफिकेट र ओरिजिनल नागरिकता उतै मार्केटिङ अफिसमा थियो। धेरै समय भइसकेकोले हराउने चिन्ता पनि थियो। त्यसैले साउने संक्रान्ति मनाएर काठमाडौं तिर लागेँ। सुरुमै सरासर मार्केटिङ अफिस गएँ, पुराना हाकिम सबैलाई भेटेँ र मेरो एसएलसीको सर्टिफिकेट तथा ओरिजिनल नागरिकता मागेँ।
उहाँहरूले काममा निरन्तरता दिन भन्नु भएको थियो तर म त्यो काम गर्ने मनस्थितिमा थिइनँ। नगर्ने कुरा गरेँ। आफ्नो सर्टिफिकेट र नागरिकता लिएर निस्किएँ। मासिक पाउनु पर्ने तलब अनि बोनसको कुरो उहाँहरूले पनि निकाल्नु भएन, मैले पनि खोजी गरिनँ।
अब कता जाने कुनै बाटो भेटिरहेको थिइनँ। यसो सोचेँ, अब आफूले पढेको कलेज जान्छु अनि प्रिन्सिपल सरलाई भेट्छु। म बानेश्वर गएँ। कपिल सरलाई भेटेर बेरोजगार भएको जानकारी गराएँ।
सरले ढाडस दिँदै भन्नुभयो, 'कहाँ प्राविधिक पनि बेरोजगार बस्नु पर्छ। कतै काम पाइएन भने पनि यहीँ आउने नयाँ ब्याचलाई पढाए भइहाल्छ नि। भदौँबाट नयाँ कक्षा सुरु हुन्छ, भदौँ एक गतेबाट नै सुरु गर।'
खुसीको सीमा नै रहेन। केही नसोची रुममा फर्किएँ। अब जागिर खोज्नु नै परेन, भदौँ एकबाट जागिर सुरु गर्ने भएपछि आफ्ना सबै नोटहरू जम्मा गरेँ र घर बसेर पढ्ने निर्णय गरी पुनः घर फर्किएँ।
एक महिना आफ्ना पुराना नोट पूरै कण्ठ पारेर साउनको अन्तिममा काठमाडौं आएँ। भदौँको एक गते सरासर कलेज गएँ। कपिल सरले सुरुमा काष्ठ कलाको प्राक्टिकल कक्षा दिने हप्ताको एक दिन भन्नुभयो। एउटा कक्षा पढाएको दुई सय दश हुने भन्नुभयो।
हिसाब गरेँ, महिनाको आठ सय जति हुने रहेछ। फेरि अर्को जागिर गर्ने कि नगर्ने दोधारमा परेँ। कक्षा सुरु पनि भइसकेको थिएन, केही भनिनँ। दिनभर कलेजमा बसेँ। कलेज प्रशासनका पुराना सरहरू सबैजना चिनेको हुँदा खासै समस्या थिएन।
एकजना उप्रेती सर हुनुहुन्थ्यो, पछि उहाँ नेपाल विद्युत प्राधिकरणमा स्थायी हुनुभयो। कलेजमा जागिर खाने नखाने कुनै टुंगो थिएन तर कसैसँग सेयर गरिनँ। बिहान बानेश्वर जाने, चिया खाजा खाने, दिउँसो रुम फर्कने गरिरहेको थिएँ। मार्केटिङबाट कमाएको पैसा बाँकी नै थियो। खर्चको खासै दुःख थिएन।
दसैं नजिकिँदै थियो। मौसम पनि दसैं आए आएजस्तो लाग्ने। एक दिन बानेश्वरबाट घर फर्कदै थिएँ, बाटोमा सरोज सरले देख्नुभएछ। सरले बाइक रोकेर मलाई बोलाउनु भयो। केहीबेर कुराकानीपछि उहाँले बाइकपछाडि बस्नुस् भन्नुभयो।
मैले कुनै प्रश्न नै नगरी सरको बाइकपछाडि बसेँ। उहाँले सरासर अफिस लिएर जानुभयो। अफिसमा दुई वटा नयाँ प्रोजेक्ट परेको रहेछ, खोटाङ र भोजपुरमा। सरले 'अब जागिर खाने हैन?' प्रश्न गर्नुभयो।
मैले 'कहाँ जानुपर्छ सर?' भनेर सोधेँ।
सरले भोजपुर जानुहुन्छ कि खोटाङ जानुहुन्छ रोज्नुस् भन्नुभयो। मैले भोजपुर भनेँ। भोजपुर कता हो त पत्तो थिएन तर बालगुरु षडानन्दको विषयमा पढेको हुँदा भोजपुर भन्न मन लाग्यो। तलब कति हुन्छ? कहिले जानु पर्ने? सबै सोधेँ।
सरले भोजपुर दसैं तिहारपछि जानुपर्ने कुरो गर्नुभयो। यो पटक तलब छ हजार पाउने कुरो गर्नुभयो।
'प्रोजेक्ट लगभग तीन वर्ष हुन्छ, एक वर्षपछि तलब बढाइदिन्छु के छ विचार? बीचमा छाड्न पाइँदैन नि,' भन्नुभयो।
मैले सबै सरका कुराहरूलाई हुन्छ भनेर एकमुस्ट जवाफ दिएँ। दसैं तिहार मानेर अफिस आउने, भोजपुर जाने भन्ने कुरो भयो। मेरो फेरि अर्को खुसी थपियो नयाँ जागिरको अनि बिना पिरियडको कलेज जान छाडिदिएँ।
भोलिपल्ट पुनः घरतिर लागेँ एक महिनाको सहर बसाइपछि नयाँ जागिर पाएको खुसी बाँढ्न। नयाँ जागिर पाएको र दसैं तिहारपछि भोजपुर जाने कुरो घरमा सुनाएँ। सबै जना खुसी भएको महसुस गरेँ, व्यक्त भने भएन।
माओवादी जनयुद्ध चर्किरहेको थियो दिनहुँ जस्तो कतै न कतै चौकीमा आक्रमण भएको, कतै माओवादी मारिएको त कतै प्रहरी मेरको यस्तै-यस्तै समाचार आइरहन्थ्यो। गाउँघरमा पनि माओवादीको उपस्थिति बाक्लो थियो। ललितपुर जिल्ला भए पनि गाउँका चौकीहरू सबै उठिसकेका थिए।
राज्यको उपस्थिति कमजोर थियो, ललितपुर जिल्ला भए पनि हाम्रो गाउँमा। हाम्रोमा जागिर खाने भनेको विद्यालयमा शिक्षक र केही पातलो सेना प्रहरीमा जाने चलन मात्र थियो। जागिर खान भोजपुर जाने कुरो अलि अनौठो नै थियो। म जागिर खान भोजपुर जान लागेको कुरो गाउँमा पनि अलिअलि हल्ला भइसकेको थियो।
'कहिले जाने रे?,' जागिर खान भनेर कसै-कसैले सोध्नुहुन्थ्यो। म पनि अलि फुरुक्क परेर दसैं तिहार मानेर भन्थेँ। रमाइलो लाग्थ्यो।
२०६० को दसैं तिहार रमाइलोसँग नै मनाइयो। दसैं तिहार सकेर नयाँ जागिरको लागि काठमाडौं तर्फ लागियो। अहिले जस्तो हात-हातमा मोबाइल फोनको जमाना थिएन। काठमाडौँ आएर अफिस गएँ।
भोजपुर र खोटाङ जाने तयारी हुँदै थियो। को-को कुन-कुन जिल्ला जाने, कसरी जाने भन्ने तयारी थियो। सम्पूर्ण तयारीपछि मंसिरको पहिलो हप्ता हुनुपर्छ हाम्रो टीम भोजपुर लागेको। हाम्रो टीममा प्रकाश पौडेल सर, सरोज महतो, पित्तबाहादुर जिरेल अनि म थिएँ।
हाम्रो पहिलो टीम थियो। क्रमशः कोही हवाई जाहजबाट त कोही गाडी अनि पैदल जाने तयारी थियो। हाम्रो पहिलो टीम नाइट बसबाट नै काठमाडौंबाट धनकुटा हिलेको नाइट बसमा प्रस्थान गरियो।