कोभिड- १९ ले आफ्नो चर्को रवाफ फैलाउँदै गरेका दिनहरू कसलाई याद नहोला?
विद्यार्थीको दृष्टिकोणले भन्नुपर्दा, हामीलाई पनि समयअनुकूल समायोजन गर्न एकदमै धौँ-धौँ परेको थियो।
म २०७६ को एसइई ब्याच। कोरोनाले एसइई परीक्षा खाइदिएकाले हामीलाई कोरोना ब्याच भनेर भन्दा फरक नपर्ला। हाम्रो आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन हुने भएकोले हो कि नतिजा आएको दिन म 'जे आए पनि आओस्' भन्दै बसिरहेको थिएँ।
'ए नानीको त ए प्लस आएछ, अब विज्ञान त पढ्ने होला नि!' भन्ने भकारो म पलपल सोर्दै थिएँ। गनाए पनि मैले यहीँ भकारोले आफ्नो निर्णयको मलजल गरेँ।
प्रतिष्ठित कलेजमा भर्ना पनि भएँ र प्लस-२ को शैक्षिक यात्रा पनि सुरु भयो। मनमा हर्षका साथसाथै डरको पुन्तुरो पनि झुन्डिरहेको थियो।
'अनलाइन इन्डक्सन शेशन' ले हामी साथीहरूलाई एक साझा मञ्चमा विस्तार त गर्यो तर भौतिक अन्तरक्रिया चाहिँ हुन पाएको थिएन। यो भन्दै गर्दा मेरा साथीहरू एक से एकका थिए। कोही आर्केस्ट्राका सङ्गीतकार, कोही दरिलो वाचनकार, कोही अन्तर्राष्ट्रिय ओलम्पियाड विजेता त कोही दोस्रो अल्बर्ट आइन्स्टाइन!
साथीहरू आफ्नो क्षेत्रमा पोख्त भएको देख्दा म प्रेरित हुनुपर्ने हो तर अहँ! म त असुरक्षाको वर्षामा रुझिसकेको थिएँ, परालको थुप्रोमा हराएको सुई खोजेझैँ आफ्नो अस्तित्व खोज्दै थिएँ। मभित्र मानौँ 'इन्फेरियोटी कम्प्लेक्स' को भूत नै पसिसकेको थियो।
'उता खोटाङमा रुखमा चढेर मान्छेहरू कक्षा लिइरहेका छन्, तिमीहरू चाहिँ यत्रो सुविधा सम्पन्न हुँदा पनि मात्तिएको होइनौ?' भन्ने वाक्य दिनहुँ पाँच चोटिभन्दा कम नसुनेको पनि होइन। तर व्यथा हामीसँग नै थियो। कहिलेकाहिँ अचानोको पीर खुकुरीले बुझिदियोस् झैँ हुन्थ्यो।
टिभी खोल्ने बित्तिकै मानिसहरूले भोकै पेट सडकमा रात कटाएको दृश्य देखिन्थ्यो। आफ्नो रोजिरोटी खोसिएपछि ओसिएका आवाजमा हटलाइन नम्बरमा सहयोग माग्ने असङ्ख्य थिए। टिभीको स्क्रीन तल कोरोना संक्रमित र मृत्यु हुनेको तथ्याङ्क बाहेक केही नौलो कुरा हुँदैनथ्यो।
बरु शीतल हावा खाएर आउनु पर्यो भन्ने वातावरण पनि बनिसकेको थिएन। घर बाहिर जान खोज्दा ममीबाबाले जान दिन अकमकाउनु हुन्थ्यो।
कम्तीमा पनि ५ घण्टा झिलझिले स्क्रीनको अगाडि बसेर कक्षा लिइन्थ्यो। ढाँड, घाँटी र खुट्टाहरू एकै स्थानमा फ्रीज भएर बसेकाले चल्नै छोडेको झैँ हुन्थ्यो। आँखाका डिलहरू आँसुले लतपतिएका हुन्थे, टाउको त मानौँ सूर्यको चक्कर काट्न थालेझैँ फनफन हुन्थ्यो।
उसैमाथि, दाँतबाट पसिना निकाल्ने विषयहरू! शिक्षकहरूले पढाएको कुरामा सय प्रतिशत ध्यान दिएर सुन्दा र हेर्दा पनि नबुझ्ने, बत्ती झ्याप्प-झ्याप्प गइदिने हुँदा म हैरान भइसकेको थिएँ।
क्लास सकिए पनि 'कन्सेप्ट' नबुझ्ने भएकाले म 'फिजिक्स वाल्ला', 'खान एकेडेमी' र 'टपर' भन्ने अनलाइन माध्यमबाट थप पढ्थेँ। क्यालकुलस, अर्गानिक केमेस्ट्री मलाई अप्ठ्यारो लाग्ने भएकाले त्यसमा म तातिएर पढ्थेँ तर पानी धेरै तात्यो भने बाफ भएर उड्छ नि, हो त्यस्तै हुन्थ्यो मेरो पढाइ। दुई/तीन दिन 'रिभाइज' नगर्ने बित्तिकै फेरि पढाइ शून्यमा झर्थ्यो।
'ह्या! यो पढाइ र सांसरिक मोह छोडेर तपस्या गर्न जाउँ कि क्या हो' भन्ने धारणा पनि नफिरेको होइन!
कोरोनाको संक्रमण सेलाउँदा भने हामीलाई सुरक्षा सावधानी अपनाएर भौतिक कक्षामा बोलाइन्थ्यो।
'अब त प्रश्न सोध्दा, मिटिङ लिभ गर्न पनि पाउँदैनौ तिमीहरूले!' भन्ने शिक्षकहरूको ठट्टा सामान्य भइसकेको थियो।
स्कुलमा त हामी सबै अब्बल थियौँ, सबको आँखाको तारा थियौँ तर वर्तमान भने त्यस्तो थिएन, अलिक टर्रो थियो। बिहान गोठालोले भेडाहरू चराएर बेलुका फर्काएको जस्तो जीवन थियो हाम्रो।
'२३३ रोल उठ त!'
हो, यहीँ थियो मेरो पहिचान। शिक्षकले हाम्रो नाम थाहा नपाएपछि हामी भन्थ्यौँ- 'सर, मेरो नाम के हो भन्नुस् त?'
तर शिक्षकहरू अकमकिन्थेँ। अनलाइनमा पो तस्बिरको तल नाम हुन्थ्यो तर भौतिक कक्षामा कसको निदारमा नाम टाँसिएको हुनु?
यसरी नै चल्दै थियो जीवन। शिक्षकको मुखबाट प्रश्न फुत्किन नपाउँदै साथीहरू उत्तर फर्काउन तमतयार हुन्थे। ममा भने जीवनमा के गर्दैछु भन्ने प्रश्न मस्तिष्कका भित्ताहरूमा गुञ्जिन्थेँ।
'सायद स्कुलले आफै ग्रेडिङ दिएकाले राम्रो आएको हो, नत्र म त्यस्तो राम्रो पढ्ने होइन' भन्ने हीनताबोधको सुरुङमा म दिनहुँ यात्रा गर्थें। बेलाबखतमा हुने परीक्षाको नतिजाले मलाई सिस्नुले झटारो हानेझैँ पोल्थ्यो।
ओरालो लागेको मेरो पढाइ, शारीरिक असुरक्षता, मूल्यहीनता, भविष्यको चिन्ता र अनेक 'रिजेक्सन' ले मेरो रगत र जोश, जुकाले जस्तै चुसिसकेको थियो। म मात्र होइन, प्रायः सबले यो काँडैकाँडाको यात्रा गरेका हुन्। ओछ्यानबाट उठ्नै मन नलाग्ने, ऊर्जाहीन भएको महसुस हुने सामान्य नै भइसकेको थियो। युनिसेफको तथ्याङ्कले पनि यहीँ भन्छ।
युनिसेफ र ग्यालपद्वारा संचालित २१ देशका बालबालिका र व्यस्कहरूको अन्तर्राष्ट्रिय सर्वेक्षणअनुसार १५-२० वर्ष उमेरका ५ युवाहरूमा एक जनाले निराशा वा चिजहरू गर्न कम भएको रुचि भएको महसुस गरे। नेपाल पुलिसको २०२० को अनुसन्धानले पनि दिनहुँ १६-१८ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक गर्यो।
यस्ता तमाम दुःखको वर्षाबाट रुझेको मुसाझैँ म सामाजिक सञ्जालको दुलोमा पस्थेँ। कलेजका नयाँ साथीहरूसँग च्याट गर्थें, प्रश्नहरूको उत्तर हेर्थें वा त 'मिम' हेर्थें। मेरो जीवन पनि 'मिम' भन्दा कम्तीको कहाँ हो र भन्ने सोच्दै 'मिम' मा 'हाहा रियक्ट' गर्थें।
कसले के लुगा लगायो, कता घुम्न गयो, कस्तो फोटो हाल्यो भन्ने चासो मलाई मात्र नहुने भन्ने पनि पक्कै होइन। यसले पनि मेरो आत्ममूल्य घटाएको हो।
पाँच मिनेट पढेको पाँच घण्टाझैँ लाग्थ्यो र पाँच घण्टा सामाजिक सञ्जाल चलाएको पाँच मिनेटझैँ लाग्थ्योँ। सायद यहीँ कारणले होला मेरो धैर्यताको पर्खालहरू लडिसकेका थिए। 'मलाई के भयो लौ न!' भन्ने भूमरीमा म परिसकेको थिएँ।
त्यसैमाथि म जीवविज्ञानको विद्यार्थी। हरेक हप्ता बोटनी र जुलोजीको प्राक्टिकल फाइल रिजेक्ट हुन्थ्यो, टेस्टयुब फुट्थ्यो, आगो बल्थ्यो। प्रेजेन्टेशन र होमवर्कको नोटिफिकेशनले जिमेल छपक्क ढाकेको हुन्थ्यो र क्लबको कार्यक्रममा पनि उत्तिकै प्राथमिकता दिनुपर्ने हुन्थ्यो। भ्याइनभ्याई भएर चाप बढेपछि हामी धमाधम होमवर्क सार्ने कार्यक्रममा लाग्थ्यौँ।
'मेरो जस्तो डिट्टु नसार्, अलिक मिलाएर सार् ल' भन्थे साथीहरू।
यस्तो सार्ने संस्कारले मेरो बौद्धिकता कमजोर भएको हो कि भन्ने अनुभव गर्थें तर के गर्न सक्थेँ र शिक्षकलाई सोध्न डराएपछि? मनभित्रै प्रश्नहरू गुम्साएर राखेपछि!
पीडाहरूको चुली र ज्वालामुखीको लाभाझैँ उम्लिएका विचारहरूलाई दबाउन म औषधिको सेवन गर्थें। थकित मुद्रामा क्लास जान्थेँ।
यस्ता समस्याहरूलाई कसरी परास्त गर्न सकिन्छ त?
जसरी जेलिएका धागो फुकाएर हामी त्यहीँ धागोले कपडा बुन्छौँ, त्यसरी नै हामीले जेलिएका समस्याहरूलाई फुकाएर छुट्टाउनुपर्छ। यो खण्डमा भने हामीले पीडित व्यक्तिलाई आधारभूत जीवन कौशल, अर्थात् समय र तनाव व्यवस्थापन सिकाउनुपर्छ।
कि त परामर्शदाता अथवा सल्लाहकार बनेर उनीहरूलाई आफ्नो समस्या सुनाउने वातावरण बनाइदिनुपर्छ। ठूलो भिडमा पहिचान संकट हुनु स्वभाविक हो भनेर सिकाउनुपर्छ।
'जहिले घाम नै लाग्यो भने त मरुभूमि भइहाल्छ नि' भन्ने अमूल्य जडीबुटी खुवाउनु पर्छ ताकि भन्न नपरोस्, 'सर, मेरो नाम के हो भन्नुस् त?'