म संघीय राजधानी काठमाडौं अन्तर्गतको निर्वाचन क्षेत्रको मतदाता हुँ। म कुन उम्मेदवार र दललाई मत दिने भनेर सोच्दैछु। आफ्नो विवेक प्रयोग गर्नु र कसैलाई तुलनात्मक रूपमा राम्रो भन्नु मेरो अध्यापन पेसाको धर्म पनि हो।
यस विषयमा चिन्तन गर्दा मैले विद्यावारिधि गरेको शिक्षण संस्था एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा लामो समय प्राध्यापन गरेका गुरु प्रा.डा. राममनोहर श्रेष्ठले आफ्ना विद्यार्थीको मूल्यांकनका बारेमा गरेको टिप्पणी सधैं मेरो मानसपटलमा पदार्पण हुन्छ।
उहाँले एक प्रसंगमा भन्नुभएको थियो– सी ग्रेडको प्राप्तांकको हैसियत राख्ने विद्यार्थीलाई ए ग्रेड दिनु आफूले त्यो प्रक्रियामा एफ पाउनु हो। किनभने विद्यार्थीको हैसियतभन्दा माथि गरिएको मूल्यांकनको नतिजाले उसलाई जीवनभर पिर्न सक्छ।
मेरो रणनीतिको पहिलो मापदण्ड बन्यो– जुन उम्मेदवारले मेरो प्रश्नको चित्तबुझ्दो जवाफ दिन्छ मत उसैलाई दिने।
फलस्वरूप म उम्मेदवारसँग संवाद गर्न पाउने अवसरको खोजीमा लागेको छु।
टोलवासीसँगको चियापान कार्यक्रममा प्रत्यक्षतर्फका एक उम्मेदवारसँग पहिलो भेट भयो। उनको भाषण चल्दै गर्दा म कार्यक्रम थलोमा पुगेँ।
संयोगवस उनी बसेकै कुर्सीको छिमेकी कुर्सीमा बस्ने अवसर मिल्यो। सामूहिक अन्तर्क्रियाको कुनै अवसर देखिएन। भाषणपछि सिधै चियापानको मेसो थियो। सहभागीहरू उठेर सल्बलाए। उम्मेदवार समर्थक र कार्यकर्ताले घेरिए।
मैले बीचैमा मुख फोरेँ– राजनीतिक रूपले तटस्थ व्यक्तिहरूको मत आकर्षण गर्न कस्तो रणनीति लिनुभएको छ?
उनले जवाफ दिनमा अलमल गरे। म उनका लागि परिचित व्यक्ति थिइनँ। उनका नजिकका एक पात्रले मलाई छिमेकी टोलको 'डाक्टरसाब' भनेर चिनाए।
उम्मेदवार मित्रले त मेरो उत्तरको सट्टा प्रश्न पो तेर्स्याए– तपाईं कहाँ काम गर्नुहुन्छ?
मैले आफूले पढाउने विश्वविद्यालयको नाम भनेँ। उनले मेरो प्रश्न चपाइदिए। मैले चिताएको काम नहुने देखेँ तैपनि एउटा सुझाव दिएँ– यस्तो भेटघाटमा प्रश्नोत्तरका लागि पनि अलिकति समय छुट्याउँदा राम्रो थियो।
'लौन! तपाईंले नै एउटा कार्यक्रमको आयोजना गरिदिनोस्। हामीले बोलाउँदा अर्को दलका र राजनीतिक रूपले तटस्थ व्यक्तिहरू सहभागी हुँदैनन्,' एक कार्यकर्ताले एक कदम अघि बढेर उपाय निकाले, 'त्यस्तो कार्यक्रम डाक्टरसाहेबकै घरमा गरे कसो होला!'
म मौन रहेँ।
मतदानका लागि निर्णय लिन सघाउने उत्तर नभए पनि केही त हात लागेकै ठहर्याएँ।
अर्को एउटा अवसर पनि जुर्यो। अर्को एक दलका उम्मेदवारले आयोजना गरेको 'बुद्धिजीवी तथा पेसाकर्मी' सँगको अन्तर्क्रिया कार्यक्रम फेला पर्यो। म उम्मेदवार आउनुभन्दा आधा घन्टाअघि नै आयोजनास्थल पुगेँ।
मेरा प्रश्नको उत्तर घोषणापत्रमा होला कि भनेर म खोजीमा लागेँ।
आयोजकमध्ये केहीलाई सोधेँ– तपाईंको पार्टीको घोषणापत्र छ कि?
बुद्धिजीवी र पेसाकर्मी भनिए पनि त्यहाँ घोषणापत्र पढ्ने गरी कोही आएको जस्तो लागेन। बेलुकीको भोजनको समेत व्यवस्था भएकाले धेरैको दाउ त्यतै भएजस्तो लाग्यो।
अन्तर्क्रिया कार्यक्रम भनिको भए पनि त्यहाँ आसन ग्रहण र भाषणबाहेक केही पनि थिएन। प्रश्न सोध्ने निहुँमा एउटैले पन्ध्र मिनेट भाषण ठोक्थ्यो। उद्घोषक र आयोजकहरूलाई माइक नियन्त्रणमा राख्नै मुश्किल भयो।
मेरो पालो पनि आयो तर त्यो अस्तव्यस्त भेलामा मैले उचित जवाफ पाउने आस रहेन।
तैपनि कुरा राखेँ– एक, मैले घोषणापत्र पाउन सकिनँ, त्यो पाऊँ। दुई, बुद्धिजीवी र पेसाकर्मीहरू सार्वजनिक जीवनमा राजनीतिक रूपले तटस्थ रहन जरूरी ठान्नुहुन्छ कि हुन्न? तटस्थ हुनु पर्छ भन्ने लाग्छ भने तिनको मत तान्न के जुक्ति गर्नुभएको छ?
उम्मेदवारको भाषणमा कसैको जिज्ञासाको सम्बोधन थिएन। उनका तर्क र विवेचना पुरातन थिए। भेलाको मौलिकता वा सहभागीका प्रश्नहरूलाई कुनै ध्यान दिएको देखिएन। उम्मेदवारले प्रश्न वा निचोड नोट गरेको पनि देखिएन।
मेरो प्रश्न ज्युँका त्युँ थियो। यसरी मेरो मत पनि अनिर्णयको बन्दी बन्ने सम्भावना बढेको थियो तर मैले हरेस खाइनँ। अर्को अवसर कसो नआउला भन्ने भन्ने ठानेँ।
दुई–तीन दिनपछि तिनै उम्मेदवारलाई लिएर घरदैलो कार्यक्रममा चुनाव प्रचार टोली मेरो निवास नजिकै आयो। यस्तो कार्यक्रममा कुनै प्रश्नको उत्तर प्राप्त हुने आशा झिनो थियो। तैपनि म तल निस्किएँ।
एक जनाले भने– लौ, डाक्टरसाब अबिर लगाएर शुभकामना दिनुपर्यो!
मैले हातमा अबिर लिएँ, उम्मेदवार गेटबाहिर, म गेटभित्र भयौं।
मैले मौका छोपेँ– मैले तपाईंको घोषणापत्र त पढ्न पाएको छैन...।
मेरो जिकिरले काम गर्यो। मैले उनको निधारमा अबिर दलेर शुभकामना दिएँ।
घोषणापत्रले मेरो जिज्ञासा शान्त पार्न सकेन।
लेखको आरम्भमा उल्लिखित उम्मेदवार पनि अर्को एक दिन घरदैलो भन्दै आइपुगे। माथिल्लो तलाबाट बाटोमा पुग्दा उम्मेदवार निकै अघि बढिसकेछन्, कार्यकर्ता मात्र भेटिए।
मैले घोषणापत्र मागेँ। उनीहरूले दिए।
मैले भनेँ– यो त दलको भयो, उम्मेदवारको खोइ त?
मैले त उम्मेदवारले आफ्नो क्षमता, अनुभव र दृष्टिकोण आफ्नै शब्दमा लेखेको र हाम्रो क्षेत्रका विकासका चुनौती सम्बोधन गर्ने औषधिपत्र पनि भएको उम्मेदवारको व्यक्तिगत घोषणापत्र पो खोजेको हो। नत्र घर दैलोको के माने भयो र?
कार्यकर्ताहरूले कुनै जवाफ दिएनन्।
अर्को एक दिन बेलुकीपख अर्का एक उम्मेदवारका केही कार्यकर्ता मूल सडकमा फेला परे। मैले अन्तर्क्रियाको कुरा निकालेँ। उनीहरूले राष्ट्रियस्तरका नेता उम्मेदवार भएकाले अहिले त्यस्तो फुर्सद निकाल्न नसक्ने बताए।
अर्को एक रोचक प्रसंग छ, एक दलको सम्पर्क कार्यालयको। बिहानको समय थियो। म ट्र्याक सुटको पहिरनमा थिएँ, साधना केन्द्रमा योग अभ्यास गरेर फर्किँदै गरेको।
एक जना योगगुरुसँग मोबाइल फोनमा कुरा गर्दागर्दै म पार्टीको सम्पर्क कार्यालयअघि रोकिएँ। त्यहाँ दुई व्यक्ति थिए।
फोन बिसाएर बाटाबाटै सोधेँ– तपाईंको पार्टीको घोषणापत्र पाउन सकिएला?
दुईमध्ये एक जनाले भने– तपाईंको बुथ कहाँ हो? बाटोमा सबैलाई घोषणापत्र दिएर कहाँ सकिन्छ र!
मेरो बुथको के कुरा? तपाईंको उम्मेदवारलाई भनेर मलाई एउटा घोषणापत्र दिनुहोस् न!
ती व्यक्तिले घोषणापत्र दिने कुरै गरेनन्। मेरो कुराले चिढिएका जस्ता भए।
म पनि के कम! यस्तो पाराले के चुनाव जित्नुहोला र भन्दै अघि बढेँ।
सम्पर्क कार्यालयका व्यक्तिसँगको संवादको कुरा मैले एक जना राजनीतिक विश्लेषकलाई सुनाएँ।
ती विश्लेषकका अनुसार हाम्रा राजनीतिक नेता र कार्यकर्ताहरू आफ्ना समर्थक र विरोधी मात्रै देख्छन्, कसैलाई तटस्थ देख्दैनन्।
उनीहरूको यस्तो मनोविज्ञानले कसैको पनि तटस्थता देख्दैन। प्रश्नलाई विरोध ठान्छ। प्रश्नले सहयोग पुग्छ भन्ने मनोविज्ञान राजनीतिक नेता र कार्यकर्तामा हुँदैन।
यस्तो मनोविज्ञान कार्यकर्ताहरूमा झन् बढी हुन्छ। उनीहरूका लागि बुद्धिजीवी र पेसाकर्मी भन्नु पनि दलकै अंग हुन्।
एआइटीका गुरुले भनेजस्तै फेल हुनेलाई पास बनाउँदा वा योग्यताभन्दा अधिक नम्बर दिँदा मूल्यांकनकर्ता असफल सिद्ध हुन्छ।
म पनि मेरा उम्मेदवारहरूको उत्तरपुस्तिका नहेरी कसरी कसलाई मत दिने भन्ने अन्यौलमा छु।
मजस्ता धेरै मतदाता अन्यौलमा होलान्।
मलाई लाग्छ, यस्तै कारणले हामीले उपयुक्त व्यक्ति निर्वाचित गर्न नसकेका हौं। पुरानालाई नछाड्ने र नयाँ चुन्न नसक्ने नियति कहिलेसम्म रहला?