जीवनको पहिलो एक महिने जागिर खाएर डोटीबाट फर्केपछि जागिर छाड्ने निर्णय गरियो। अफिसमा सबै कुरो बरबुजारत गरेर काठमाडौं छाडी घर फर्कने निर्णय गरेँ र घरतिर लागेँ।
माघ महिना थियो, घरमा डोटी जागिर खान गएको थाहै थिएन। डोटी पुगेर एक महिना जागिर खाएर फर्केको सुन्दा सबै जना छक्क पर्नुभयो। बुबाआमालाई जागिर खाइवरी छाडेर आएको कुरो त भनिनँ तर श्रीमतीलाई नभन्ने कुरै भएन।
भोलिपल्ट बुढाबुढी दुवै जना घरको धन्दा सकी घाँस काट्न सँगै गयौँ। त्यसै बेला जागिर नखाने कुरो सुनाएँ। उनी खुसी होलिन् भनेको त भइनन्।
उनले भनिन्, 'अनि तपाईं पढ्न सहर गएको किन? तपाईं पढेर जागिर खानुहुन्छ अनि हाम्रो खुसीको दिनहरू आउँछ भनेर म, आमाबुबा यहाँ दुख गरेर बसेको के काम?'
उनले थपिन्, 'बरु अझै पढ्नु पैसा छैन भने बुबालाई भनेर जग्गा बेचेर पढ्नू, हैन भने ऋण खोज्नु पर्छ भने म दाइहरूसँग भनेर ऋणको पनि बन्दोबस्त गरौँला तर पढाइ छाड्ने र जागिर नखाने कुरो नगर्नुस्।'
मैले दुखी नहुन बाहेक केही भनिनँ। मनमनै सोचेँ, हो यसरी घरमै बसियो भने वर्षौंदेखि हजुरबुबा, हजुरआमा, बुबा, आमा सबैले गरेको पुरानो खेतीमा लागिन्छ अनि बुबाआमा जस्तै दुःखमा परिन्छ। यसरी बुबाआमालाई सुख दिन सकिँदैन जस्तो लाग्यो र दुई दिनको घर बसाइपछि पुनः काठमाडौं फर्कने निर्णय गरेँ।
काठमाडौं जाने क्रममा बसमा एकजना दाइसँग भेट भयो। सँगै सिट। उहाँ काठमाडौंबाट गाउँ फर्केर शिक्षण पेशामा लाग्नुभएको रहेछ। अनि विवाहको तयारीको लागि काठमाडौं जाँदै पनि हुनुहुँदो रहेछ। गोटिखेलदेखि चापागाउँसम्मको यात्रामा दाजुले काठमाडौंमा मार्केटिङ गरेको अनुभव सुनाउनु भयो।
'मार्केटिङमा राम्रो कमाइ थियो, गाउँमा मास्टर बन्न आइजा भन्न थाले। घरको प्रेसरले मास्टर बन्न आएको' कुरो सुनाउनु भयो। मलाई पनि एक्कासी मार्केटिङ गर्न मन पो लग्न थाल्यो। उनै दाजुसँग सबै कुरो बुझेँ। उहाँले मार्केटिङ कम्पनीको नम्बर पनि दिनुभयो।
भोलिपल्ट बिहान खाना खाइसकेपछि लगनखेल गएँ र साइबरबाट हिजोको नम्बरमा फोन गरेँ। भ्याकेन्सी भए/नभएबारे सोधेँ। उताबाट भ्याकेन्सी खाली भएको र कोटेश्वर आउन भन्नुभयो। म लगनखेलबाट टेम्पो समाएर सरासर मार्केटिङ अफिस पुगेँ।
कोटेश्वर चोक नजिकै दिएको ठेगानाअनुसार अफिस पुगेँ। ढोकामा सहारा मार्केटिङ लेखेको रहेछ। ढोका नजिकै रिसेप्सनमा एकजना सुन्दर युवती हुनुहुन्थ्यो। मैले फोन गरेको विषय जानकारी गराएँ। उहाँले अर्को कोठामा हाकिमलाई जानकारी गराइन् अनि सायद भित्र पठाउने आदेश आयो होला मलाई उनले भित्र जान भनिन्।
म सरासर भित्र गएँ। भित्र बेहुलाजस्तै कोट पाइन्टमा सजिएका दुई युवा हाकिमहरू हुनुहुँदो रहेछ। मैलेभन्दा पहिला उहाँहरूले नमस्कार भन्नुभयो। मैले नमस्कार फर्काएँ।
'डकुमेन्ट ल्याउनु भएको छ?,' एकजनाले सोध्नुभयो।
मैले छैन, के-के चाहिने हो भनेर सोधेँ।
'एसएलसी पास गर्नु भएको छ?,' अर्कोले सोध्नुभयो।
मैले छ भनेँ।
'काम गर्न सक्नु हुन्छ। बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मार्केटमा हिँड्नु पर्छ, सक्नु हुन्छ?'
मैले सक्छु भनेँ। त्यसपछि तलबबारे सोधेँ।
उहाँहरूमध्ये एकले महिनामा आठ हजार बेसिक स्यालरी, दैनिक १६ प्रतिशत बोनस, मासिक १० प्रतिशत बोनस, के-के हो के-के। मालाई आठ हजार नै धेरै भैसकेको थियो।
'कम्पनीको नियमअनुसार एसएलसीको सर्टिफिकेट र ओरिजिनल नागरिकता अफिसमा बुझाउनु पर्छ, भोलि बिहान ९ बजे लिएर आउनु होला। बिहान हाम्रो क्लास हुन्छ र भोलिबाट नै मार्केटिङ सुरु गर्ने' भन्नुभयो।
नयाँ जागिर सुरु भएको उपलक्षमा फेरि एक पटक खुसी भएँ र रुममा फर्किएँ।
भोलिबाट नयाँ जागिरको सुरुआत हुने कुरो कसैसँग सेयर गरिनँ। दाइहरूले के भन्ने हो भनेर कुरै गरिनँ। बिहान खाना खाएर झोलामा एसएलसीको सर्टिफिकेट र नागरिकता बोकेर नयाँ अफिस पुगेँ।
मजस्ता ८/९ जना युवायुवती कोठामा बसिसक्नु भएको थियो। मलाई पनि न्यानो स्वागत भयो। मेरो एसएलसीको सर्टिफिकेट र नागरिकता रिसेप्सनमा छाड्नको लागि भन्नुभयो। मैले बुझाएँ र क्लासमा बसेँ।
त्यहाँ हामीले बेच्नुपर्ने सामानको परिचय, उक्त सामानका फाइदा, कति रुपैयाँमा बेच्दा कति कमिसन दैनिक लिन पाउने अनि महिना मरेपछि पाउने सबै कुरा सिकाउनु हुने रहेछ। यस्तो क्लास दिनहुँ हुनेरहेछ बिहान बेलुका।
बिहान सामान कसरी बेच्ने, ग्राहकसँग कसरी प्रस्तुत हुने, कस्ता भाषा बोल्ने, कस्ता भाषा नबोल्ने धेरै जीवन उपयोगी कक्षा हुने रहेछ भने बेलुका सामान बिक्री गरिसकेर फर्किसकेपछि सम्पूर्ण सामान बेचेको पैसा, बाँकी सामान बुझाइसकेपछि दिनभरि भएका क्रियाकलाप, आइपरेका समस्या, आफ्ना-आफ्ना अनुभव सुनाउने करिब आधा घण्टा जस्तो रमाइलो हुँदो रहेछ।
हामीले बिक्री गर्ने सामान चाया हराउने स्याम्पु, भिटामिन-ई क्रिम, बडी हर्मोनैजर (शरीरको मोटोपन हटाउने मसिन), नी बेल्ट (घुँडाको सुरक्षा कवच), म्याग्नेटिक रिङ (शरीरको प्रेसर कन्ट्रोल गर्ने मसिन) यस्ता थुप्रै सामान हुने रहेछ।
रमाइलो कुरो- मार्केटमा हामीले हामी मार्केटिङका विद्यार्थी हौँ, यो सामान बेचेवापत हामीले नम्बर पाउछौँ भन्नुपर्ने रहेछ। अनि हाम्रो ग्रुप विभाजन पनि गरिँदो रहेछ। मेरो ग्रुपमा भक्तपुरको एकजना साथी हुनुहुन्थ्यो नगरकोटी थरका, नाम बिर्सिए। अनि एकजना गुरुङ थरकी युवती हुनुहुन्थ्यो लम्जुङ तिरको। उहाँको पनि नाम बिर्सिएँ।
मार्केटिङको पहिलो दिन हामी तीनै जना नयाँ थियौँ, कसैले पनि सामान बेचेको अनुभव थिएन। ठूला-ठूला झोलामा कुस्त सामान बोकेर हामीले कोटेश्वर नजिकै महादेवथान भित्र तिरको बस्ती तिर पस्ने निधो गरियो।
तीनै जना नयाँ भएको हुँदा हामीलाई ग्राहकसँग कसरी डिल गर्ने आइडिया कम थियो तर पनि नयाँ काम गर्नुपर्ने नै थियो। प्रत्येक घरमा बेल बजाउने अनि 'नमस्कार! हजुर हामी मार्केटिङ स्टुडेन्ट। हामी हाम्रो प्राक्टिकलको लागि हजुरको घर-घरमा आएका छौँ, हामीले हेल्थकेयर सम्बन्धी गुणस्तरीय सामानहरू हजुरको घर-घरमा लिएर आएका छौँ। हजुर एउटा सामान किनेर हामीलाई गुन लगाइदिनुहोस्। हजुरले किनुदिनु भएको प्रत्येक सामानमा हामीलाई नम्बर प्राप्त हुन्छ हजुर अनि सामानमा ग्यारेन्टी पनि छ। हजुरहरूलाई हामी बिल पनि दिन्छौँ' भन्दै दिनभर महादेवस्थानको गल्ली-गल्ली घुमियो।
कोहीले हाम्रो कुरो नै नसुनी 'जाऊ-जाऊ, हामीलाई चाहिँदैन' भन्छन्। कोहीले 'कुकुर छाडिदिउँ' भनि धम्काउँछन्।
पहिलो दिन हामी तीनै जनाको सामान बिकेको थिएन तर आशा मरेको पनि थिएन। साँझ ५ बज्नै लागेको थियो, एउटा घरमा यसो प्रयास गरौँ न त भनेर घन्टी बजाएको तीन तला माथिबाट एकजना व्यक्तिले हेर्नुभयो। तीन तला माथि खासै आवाज बुझ्नु भएन, तल नै आउनु भयो अनि हामीले भट्याउनु पर्ने सबै कुरो मैले भट्याएँ।
उहाँलाई मोटो ज्यान घटाउने उपाय चाहिराख्नु भएको थियो। हामीलाई भेट्दा ढुंगा खोज्दा देउता मिलेजस्तै मान्नुभयो। उहाँले बडी हर्मोनाइजर किन्ने निर्णय गर्नुभयो। मेरो खुसीको सीमा नै रहेन। मैले बत्तीस सय रुपैयाँमना बडी हर्मोनाइजर बेच्न सफल भएँ।
उक्त सामान बेचेबापत मालाई पाँच सय बाह्र रुपैयाँ दिनमै बोनस प्राप्त भयो तर साथीहरूको सामान भने बिक्री भएन। उनीहरू निरास थिए। साँझ हामी अफिस पुग्दा बिहान निस्केका सबै साथीहरू आइसकेका थिए तर सामान कसैले पनि बेच्न सकेका थिएनन्।
पहिलो दिन भएर होला, सामान बेच्ने म मात्र थिएँ। सबैले आफ्नो आफ्नो अनुभव सुनाए र हरहिसाब बुझाएर आ-आफ्नो घरतर्फ लाग्यौं।
भोलिपल्टबाट हाम्रो दिनचर्या पहिलो दिनजस्तै सुरु भयो तर हिजो सँगै गएकी गुरुङ साथी भने आइनन्, सायद हिजो सामान नबिकेकोले होला। अहिलेजस्तो फोन र सामाजिक संजाल नभएको हुनाले हामीले खोजी गरेनौँ।
मलाई मार्केटिङ फाप्न लागेको भान भइरहेको थियो। हरेक दिन मेरो कुनै न कुनै सामान बिकिरहेको थियो। दिनको पाँच सयदेखि आठ सय रुपैयाँसम्म कमिसन भइरहेको थियो। मैले सोचेकोभन्दा राम्रो कमाइ, महिनाको तलब अनि मासिक बोनस त बाँकी नै थियो।
हाम्रो कम्पनीको नाम साहारा मार्केटिङ थियो तर एक हप्ता जति पछि अफिस पुग्दा त अफिसको ढोकामा सौगात मार्केटिङ लेखेको बोर्ड देखेँ। म दंग परेँ! सबै कर्मचारी, हाकिम उही तर कम्पनीको नाम मात्र फरक। सम्पूर्ण बिल प्याड नै चेन्ज।
बिहानको क्लासमा हाम्रो कम्पनीको नाम परिवर्तन गरिएको जानकारी भयो। किन नाम परिवर्तन भयो हामीले कुनै चासो रहेन। कुकरमा पकाए पनि कसौडीमा पकाए पनि भात खान पाए भैगोनी भने जस्तै हामीले सोधेनौँ। आफ्नो नियमित दिनचर्यामा लगिरहियो। कमाइ राम्रै भैरहेको थियो। कोही पुराना साथीहरू छाड्ने, नयाँ आउने क्रम भइरहन्थ्यो।
लगभग काम गरेको चौथो हप्ता हुनुपर्छ, बिहान सबैजना आफ्नो झोला बोकेर फिल्ड निस्कियौँ। बेलुका फर्कदा एकजना साथी साँझ फर्केनन्। उनका समूहका अरु दुई जना साथी फर्किए, उनी फर्किएनन्।
उनीहरूलाई कहाँ छुटेको भन्दा 'हामी पेप्सीकोलासम्म सँगै थियौँ। तीनै जना तीन वटा छुट्टाछुट्टै घरमा गएका थियौँ, हामी निस्कँदा साथी हुनुहुन्न। हामीले त उहाँ अफिस आइसक्नु भयो होला भन्ठानेर सरासर अफिस आएको' भन्छन्।
साथी आउँदैन! लगभग साढे पाँचतिर साथी आसिनपसिन हुँदै आइपुगे।
कहाँ हराउनु भयो भनेको त साथीको कथा अलि फरक पो भएछ। तीन जनाको टोलीमा तीनै जना फरक-फरक घर गएका रहेछन्। त्यो साथी गएको घरबेटी पहिला नै हाम्रो प्रोडक्ट किनिसकेको परेछन्। साथीले भिटामिन-ई क्रिम झिकेर देखाउने बित्तिकै घरबेटीले भाइमाथि 'जाऊ पैसा ल्याएको छैन माथि गएर कुरा गरौँला नि' भनेछन्।
साथी मख्ख परेर सँगैसँगै गएका त 'तिमीहरू यस्तो नक्कली सामान बेच्ने! अनुहारमा आएको चाया पोतो, डन्डिफोर हराउँछ भनेर किनेको भिटामिन-ई क्रिमले झन् धेरै डन्डिफोर आयो मेरो' भनेर घोक्र्याएर बाथरुममा लगेर थुनिदिएछन्। आधा घण्टा जति थुनेपछि अबदेखि यस्तो काम नगर्ने सर्तमा छाडिदिएछन्।
साथी एकदमै निरास थिए। उनले अब भोलिदेखि काम नगर्ने निर्णय सुनाए तर व्यवस्थापनले कुनै कानुनी प्रक्रियामा जाने कुरो नगरी 'कोही ग्राहक यस्तै हुन्छन्, हामी चनाखो हुनुपर्छ' आदि इत्यादि कुरा गरेर कुरा टुंगाए। हामी पनि सबै जना रुम तिर लागियो।
रुम पुगेपछि दिउँसोको साथीको कथा सम्झेँ। एक मनले भोलिबाट काममा नजा भन्छ। फेरि दिनकै पाँच सयदेखि हजार कमाइ सम्झियो, हैन काम त गर्नुपर्छ। म पूरै दुबिधामा परेँ। धेरै सोचेपछि आफूले पढेको प्राविधिक विषयको जागिर खोज्नु नै उपयुक्त हुने सोच आयो र भोलिपल्टबाट नै मार्केटिङ नगर्ने निर्णय गरेँ।
मेरो एसएलसीको सर्टिफिकेट र ओरिजिनल नागरिकता बुझाएको छ के गर्ने भन्ने सोच पनि आयो तर पनि भोलिपल्ट आफू बिरामी भएकोले आउन नसक्ने भनेर फोन गरिदिएँ। सर्टिफिकेट र नागरिकता लिन पनि गइनँ।
मार्केटिङको अध्याय पनि सकियो। अरु काम पनि छैन। पुनः घर जाने निर्णय गरेँ। दुई दिनपछि झोला बोकेर घर लागियो। गोजी पनि अलि बलियो थियो यसपटक।