आमा शब्द आफैमा पूर्ण छ। आमालाई चिन्ने तरिका सबैका आ-आफ्नै होलान्। मैले चाहिँ मेरी आमालाई लोभी, छुच्ची, कहिल्यै अघाउन्जेल भात खान नदिने अर्थमा चिनेकी थिएँ।
मलाई आमा देख्दा रिस उठ्थ्यो। आमा नभएको भए काम गर्नुपर्ने थिएन, कसैले गाली गर्दैन थियो, पेटभरि खान पाइन्थ्यो, हामी गरिब हुनुको मूल कारण आमा हो जस्तो लाग्थ्यो। त्यो मेरो बाल बुझाइ थियो।
जब म घर छोडेर डेरा बस्न थालेँ तब मात्र विस्तारै आमा प्रतिको मेरो धारणामा परिवर्तन हुन थाल्यो। अहिले आफू आमा भएर सन्तानप्रतिको कर्तव्य निभाउन थालेपछि थाहा पाउन थालेकी छु, ती मेरी छुच्ची आमा किन छुच्ची भएकी रहिछन्।
ती आमाले आफूले कहिल्यै खाइनछिन्। कहिल्यै नफाटेको लुगा लगाइनछिन्। चार/चार जना सन्तान प्रतिको कर्तव्य निभाउन कति कठिन रहेछ। अहिले मलाई एउटा सन्तानले आछुआछु खेलाएको छ। मेरो चार गुणा बढी मेरी आमाका सन्तान। हामीसँग मेहनत गरी उब्जाए खान पुग्ने जमिन छ। मेरो पनि सानोतिनो जागिर छ। श्रीमान पनि काम गर्नुहुन्छ।
हाम्रा बाबाका दुई जना आमाहरू, मेरी हजुरआमा नराम्री भएर हजुरबुबाले कान्छी हजुरआमा ल्याउनु भएको रे। हेला गरेर माइतीमा नै बस्नु भएको रहेछ। पछि कान्छी हजुरआमा पट्टिबाट जति सन्तान जन्मन्छन् त्यति मर्ने भएपछि जान्नेलाई देखाउँदा जेठीलाई हेला गरेर त्यस्तो भएको भनेछ र घर ल्याएको रहेछ।
नभन्दै हाम्री हजुरआमालाई ल्याएपछि सबै सन्तान बाँच्नु भएको रे। दुई गुणमा गरी मेरा बुबाहरू ११ जना। जेठीका सन्तानलाई मतानमा बस्न दिएको थियो रे। हजुरबुबाले देख्ने गरी केही दिन नहुने। कान्छी हजुरआमाले लुकाई-लुकाई पोल्टोमा मकै हालिदिनु हुन्थ्यो रे भन्नुहुन्थ्यो आमा।
उतिबेला मधेसमा औँलोको बिगबिगी थियो तापनि छोराछोरीलाई पेटभरि खाना खुवाउने आशले हाम्रो परिवार २०३१ सालमा एक महिनाको मेरो दाजुलाई डोकोमा बोकेर मेरी सुत्केरी आमा डोकोभरि सामानसहित १५ दिनको पैदलयात्रा पूरा गरी झापाको क्याम्पा भन्ने ठाउँमा आएर बस्नु भएको रहेछ, कान्छी हजुरआमा पट्टिको ठूलो बुबाको आडमा।
हजुरबुबा बार-बार हामीलाई गुरागाइँनीका सन्तान भन्नुहुन्थ्यो। यिनीहरूलाई अंश दिनु हुँदैन भन्नुहुन्थ्यो रे। किनकी हाम्री हजुरआमा गुरागाइँकी छोरी।
जबरजस्ती ठूलोबुबाले मधेसमा आफूले पाएको अंश डेढ बिघा जग्गा हामीलाई दिलाइदिनु भएको रहेछ। हाम्रो १७ जनाको परिवार थियो। अनि कुन आमाले खान्छन् अघाउन्जेल? कुन सन्तानले खान्छन् पेटभरि?
हामी १७ बाट छुट्टिएर ६ हुँदा हाम्रो जग्गा १० कठ्ठा र दश हजार ऋण भाग लाग्यो। त्यही १० हजार ऋण तिर्न नसकेर हामी सरङ्पाडा बसाइँ सरेका थियौं। पानी नलाग्ने खोला धारको डाँडो १ बिघा जग्गा किनेको थियो। हामी ६ जनाको परिवारलाई खान पुग्ने, धान कहिल्यै फलेन।
भात पस्केर छोराछोरी अघाउन मेरी आमालाई दिनभर काम गर्न भन्दा गाह्रो थियो। अलिक खाना माग्दा सानो चोइली दिनु हुन्थ्यो। फेरि माग्दा झन् सानो। फेरि माग्यो भने आँखाबाट आँसु झार्नु हुन्थ्यो।
हामीले कहिल्यै तपाईंलाई खाना छ भनेर सोधेनौँ। भाँडामा पानी हालेर भातको सीता निकालेर खानु हुन्थ्यो। मलाई लाग्थ्यो कति लोभी बुढी होला। ती लोभी बुढीले कसरी चार सन्तानको भोक र लाज छोपिन्? सधैं धानको चामलमा मकैको चामल मिसाएर पकाएको हुन्थ्यो।
दाहालकोमा सधैं मकैको भात खान्छन् भनेर गाउँभरि कुरा काट्थे। त्यति नै बेला कोही आएर देख्यो भने हाम्रो इज्जत जान्थ्यो। स्कुलका साथीले पनि थाहा पाए भने के गर्ने? हामी पटक-पटक आमासँग मकैको भात नपकाउन आग्रह गर्थ्यौं तर कहिले मान्नु भएन। त्यसैले आमा हाम्रो सबैभन्दा ठूलो शत्रु हो।
गहुँ पाकेपछि जहिल्यै बेलुका रोटी खानु पर्थ्यो। पाहुना आइदिए हुन्थ्यो भनेर प्रार्थना गर्थ्यौं। कहिलेकाहीँ पाहुनाले मात्र भात खान पाउँदा लाग्थ्यो- आमा नभएको भए त म सबैलाई भातै पकाइदिन्थेँ नि। कहिल्यै आएन इज्जत धान्न र छोराछोरीको भुँडी भर्न मेरी आमालाई।
मलाई कहिल्यै कुखुरा बाख्रा फापेन। मेरो नाम लायो कि अब त्यो मर्यो। मेरा दिदीहरू पेवा बाख्रा, कुखुरा पालेर लुगा किन्थे। आमासँग नयाँ लुगा किनिदिन रोइकराई गर्थें। त्यतिबेला लाग्थ्यो आमा नभएको भए म कति राम्रा लुगा किन्न पाउथेँ।
कहिले अघाउन्जेल भात खुवाउने अन्न नहुनेले कसरी नयाँ लुगा किनिदिन सक्छ? मेरी आमाले कहिल्यै नयाँ लुगा लगाएको देखिनँ मैले। एउटा सारी दुई वटा पारेर सयौं ठाउँमा फाटुन्जेल लगाउनु हुन्थ्यो।
आइए पढ्दा म गौरादहमै डेरा गरेर बसेकी थिएँ। महिनाको तीन सय डेरा भाडा लाग्थ्यो। तरकारी अन्य खाद्यान्न घरबाटै ल्याइन्थ्यो। २२ दिनमा, एक महिनामा घर आउँदा आमाले डेरा भाडा बाहेक एक/डेढ सय खर्च दिनु हुन्थ्यो। त्यसैले महिना चलाउनु पर्थ्यो।
बुबा पहिलेदेखि नै भन्नुहुन्थ्यो- छोरालाई एसएलसी र छोरीलाई पाँच कक्षा पढाउँछु। तर हामी पढ्दै गयौं। तब आमा गाली गर्दा भन्ने गर्नुहुन्थ्यो- 'मेरा चाहिँ छोराछोरी कहिल्यै फेल हुँदैनन्। फेल भए पनि त पढ्न छोड्थे नि।'
हो, वास्तवमै यो मेरी आमाको दुर्भाग्य थियो हामी कहिल्यै फेल भएनौँ। बिहान एक भारी घाँस काटेर मात्र स्कुल जान पाइन्थ्यो। स्कलबाट आएर एक भारी। हाम्रो खेतमा खान नपुग्ने अन्न फल्थ्यो। पढ्न र घर खर्चको लागि बाख्रावस्तु पाल्थ्यौँ। अनि घाँस नकाटेर उपाय थिएन।
मकै गोड्ने बेलामा र धान रोप्ने बेलामा हामी स्कुल जाँदैन थियौँ। डाँडो खेत आकाश गर्जिएर जब पानी बर्सन्छ तब हामी कोही थाल बोकेर पानी छ्याप्न थाल्थ्यौँ। कोही गोरु नारेर जोत्न त कोही बीउ काड्न अनि कोही आली लगाउन थाल्यौं। पानी रहँदा धान पनि रोपिसक्थ्यौँ।
यसरी रोपेको धान खडेरी लाग्यो भने सबै झारले खान्थ्यो। तब त त्यही झार काटेर वस्तु पाल्थ्यौँ र त्यही बेचेर पढ्थ्यौँ।
दसैंमा लुगा किन्न भदौँभरि मकै छोडाउनु पर्थ्यो। मकैले नपुग्ने भए बुबाले माहिला काकाकोमा गएर एक हजार ऋण लिएर आउनु हुन्थ्यो, दुई रुपैयाँ ब्याजमा। हामी एक जोडी स्कुलको ड्रेस नयाँ लुगाको रुपमा दसैंमा पाउँथ्यौँ। त्यही नयाँ सर्ट फ्रक लगाएर टीका लगाउन गइन्थ्यो र वर्षभरि स्कुल जाँदा लगाइन्थ्यो।
सरस्वती पूजामा कहिल्यै पैसा दिन जानिनन् मेरी आमाले। कति सरस्वती पूजामा तिर्ने पैसा र साथीलाई देखाउने लुगा नभएर स्कुलै गइएन। आमा भन्नुहुन्थ्यो- 'सरस्वती पूजा आफ्नै किताबमा गर्दा हुन्छ।' मलाई रिस उठ्थ्यो, यी बुढीलाई के थाहा पैसा दिनको लोभले भनेकी।
साँच्चै मेरी आमा लोभी नै हुन् भन्ने मेरो बुझाइ आइए पढ्दासम्म अलिकति पनि कम भएको थिएन। एक पटक म एक महिनामा घर गएकी थिएँ। फर्कँदा आमाले बीस रुपैयाँ हातमा राखिदिनु भएको थियो, एक महिनाको डेरा खर्चसहित। म साह्रै रिसाएँ र झगडा गरेँ।
वास्तवमै त्यतिले महिना टर्दैन थियो। मैले आमालाई तथानाम गाली गरँ। यो पनि भन्न भ्याएँ कि पढाउन नसक्नेले किन जन्माउनु? मेरो अशं दिनु त्यही बेचेर पढ्छु। एक महिनापछि घर आउँदा त्यही विषयलाई लिएर पारिवारिक बैठक राखियो।
सबैलाई अंश दिने निर्णयमा बुबाआमा पुग्नु भएको रहेछ। कसैले अंश नलिने र मैले आमासँग माफ माग्ने सम्झौता गरेर बैठक समाप्त भयो। आइन्दा आमाको मन दुख्ने वचन नबोल्ने वाचा गर्दै आमासँग माफ मागेँ।
आमा त्यो रहिछन् जसले सन्तानलाई जस्तोसुकै अवस्थामा पनि छहारी दिन सक्छ। आमा त्यो रहेछ जो दुःखै दुःखको मरुभूमिमा हाँस्न सक्छ। आमा त्यो रहेछ जो आफू भोको बसेर सन्तानको पेट भर्छ। मेरी ती लभी र छुच्ची आमा आज दानी बनेकी छन्। कहिल्यै फेल नभएर दिक्क लगाएका उनका छोराछोरी कुनै लण्डन र कुनै अमेरिका पुगेका छन्।
उनीसँग प्रशस्त पैसा र अन्न छ अहिले, जति खाए पनि नसकिने। तब त भन्ने गर्छिन्, दिन सबैका फिर्छन्।
'बद्रि दाहाल (मेरो बुबा) का पनि दिन फिरेछन्। भर्खर अमेरिका गएर आएका फेरि लण्डन जाने अरे,' गाउँमा कुरा गरेको सुनिन्छ।
अहिले म भन्ने गर्छु, आमा हुन् त मेरीजस्ती। आमाले आधा पेट नखाएको भए, आमाले झुत्रो लुगा नलाएको भए, आमाले लोभ नगरेको भए, आमाले घाँसका भारी नकाटेको भए, आमाले डाँडो खेतमा पानी नछ्यापेको भए आज हामी 'हामी' हुने थिएनौं। त्यसैले हर घडी, हर क्षण नतमस्तक छु मेरी आमा।