६८ वर्षे पीटर होल्ट सिड्नीको एउटा सपिङ सेन्टरमा काम गर्छन्। ३८ वर्ष एउटै स्टोरमा काम गरेका उनी यतिबेला रिटायर्ड हुने तरखरमा छन्।
जवानीमा लभ म्यारिज र छोडपत्रका कयौं कहानीबीच हाल उनी एक्लो छन्।
आफूसँगै काम गर्ने भएकोले म उनलाई सधै पीटर काका भन्ने गर्छु। तर उनी काका भनेको त्यति रूचाउँदैनन्। सधैंभरी एकै ठाउँमा निश्चित समयमा भेट हुँदा उनीसँग केही अन्तरंग कुरा हुनु स्वभाविक हो।
नेदरल्याण्ड थातथलो भएका पीटरका बाजे करिब डेढ सय वर्षअघि अष्ट्रेलिया आएका रहेछन्। पीटरलाई बाबु बाजेले सुनाएका कुरा मात्र याद छ त्यसबाहेक उनी विशुद्ध अष्ट्रेलियन अर्थात अजी हुन्।
पीटर हर्षभिल क्षेत्रमा डेरा लिएर बसेकोनै ३० वर्ष भएछ, त्यसअघि उनी पारामाटा क्षेत्रमा बस्दारहेछन्।
अष्ट्रेलियाली नागरिक भएर पनि पीटर काका तीन दशक डेरामै सिमित हुने विषय मेरा लागि निकै नौलो लाग्यो।
विद्यार्थी भएर आएको केही वर्षमै पीआर हुने क्रममै सबैभन्दा पहिलो प्राथमिकता घर किन्ने नेपाली र दक्षिण एशियाली परम्पराका विपरित अजीहरू डेरामै किन बस्न रूचाउँदा रहेछन् भन्ने जान्न मन लाग्यो।
यसबारे प्रश्न गर्दा उनले सहज जवाफ दिए, ‘रिटार्यड लाइफ पछि सकियो भने सञ्चय कोषको पैसाले घर किन्नुपर्ला। अहिले किन चाहियो?’
‘मलाई आवश्यकता पनि छैन। फेरि बचत गर्ने बानी पनि छैन’, उनले आफ्नो वास्तविकता खुलाए।
हप्ते तलबको आम्दानी र खर्च सुनाउँदै गर्दा पीटर काकाको जीवन बुझ्न त्यति कठिन भएन।
‘एकातिर सप्ताहन्तको खर्च र वचतको जोहो गर्न नसक्नु र अर्कोतर्फ आवश्यकता महशुस नहुनुनै मेरो लागि डेरा बसाई हो’, उनले अगाडि भने।
सिड्नीको महँगो कोठा भाडा, खाद्यान्न, केही जम्बी, फिल्म अनि वियर र पबको खर्च जोड्दा पीटर काकाको आम्दानी र खर्चमा उस्तै उस्तै देखिन्थ्यो।
एक पटक उनको बैंकमा दश हजार डलर जम्मा हुँदा उनले निकै हर्षित मुद्रामा ‘आइ ह्याभ ए टेन ग्रान्ड’ भनेर उफ्रिएको सम्झना ताजै छ।
यसले अष्ट्रेलियाको जनजीवनका भित्री पाटालाई सहजै उजागर गरिदिन्छ। उनीहरूको बचत वृद्धाश्रमको मोह र नर्सिङहोमको जोहोलाई मात्र सिमित राखेको अनुभव गर्न सकिन्छ।
यी त भए पीटर काकाका जीवनका खाका।
उनीहरू किन बचत गर्न मरिहत्ते गर्दैनन् र जीवनलाई रंगीन जीवनयापन गर्न रूचाउँछन् भन्ने कुराको पछाडि मुलुकको शासन पद्धति र सुशासन पनि जोडिएको हुन्छ।
संघीय राज्य प्रणालीभित्र केन्द्रीय सरकारको जनताप्रतिको उत्तरदायित्व पनि त्यत्तिकै महत्वपूर्ण देखिन्छ।
नागरिकका लागि पहिलो प्राथमिकता भनेको स्वास्थ्य र शिक्षा हो। यी दुबै कुरा अष्ट्रेलियामा निःशुल्क छन्। स्वास्थ्यमा चिकित्सकीय सेवा र अस्पतालको सुविधा सबै निःशुल्क हुन्छ।
आफ्ना र आफन्तका लागि जोहो गर्ने भनेको शिक्षा र स्वास्थ्यका लागि हो। तर यहाँ यी दुबै निःशुल्क पाइन्छ। यसै कारण पनि मानिसहरू कमाउने र त्यसमै रमाउने गरेका छन्।
नागरिकका लागि राज्यको पहिलो प्राथमिकता भनेकै स्वास्थ्य र शिक्षा रहेछ त्यसपछि सुविधाका अन्य पाटाहरू पनि छन्। नेपालमा कोही बिरामी भएर निजी अस्पताल लानु पर्यो भने लाखौं बिटो ननिकालि उपचार सम्भव हुँदैन। तर यहाँ सबै चिज निःशुल्क हुन्छन्।
अष्ट्रेलियालाई डेढ दशकदेखि नजिकबाट नियालेका नेपाली युवा अजित आचार्यले आफ्नो परिवारको मात्र तीन पटक शल्यक्रिया गरिसकेका छन्। जुन नेपालकै सन्दर्भलाई जोड्ने हो भने कम्तीमा पनि पचास लाख खर्च हुन्थ्यो होला। तर यहाँ सबै निःशुल्क भयो।
‘नेपालमा निर्वाचनका बेला राजनीतिक दलका घोषणापत्रमा जनहितका केही खाका कोरिन्छन्। तर ती कागजमै सिमित हुन्छन्। बिडम्बना यहीँ छ’, गोदावरी थातथलो भएका अजितले भने।
यहाँ पनि महँगा निजी विद्यालय नभएका होइनन् तर ९५ प्रतिशत जनता सरकारी स्कुलमै विश्वास गर्छन् र सबैको लागि निःशुल्क शिक्षानै प्यारो छ र गुणस्तरीय पनि हुन्छ।
‘स्वास्थ्य सेवा सबैका लागि निःशुल्क छन्, अस्पतालमा कुनै खर्च लाग्दैन। जनताको आधारभूत आवश्यकता र प्राथमिकता शिक्षा र स्वास्थ्यनै हुन्। यी दुबै चिज यहाँ निःशुल्क पाइने भएपछि मानिसले आफूलाई निकै हल्का अनुभव गर्दारहेछन्’, एम्पल रियल स्टेटका पूर्णनाथ घिमिरेले भने।
घिमिरेले अगाडि भने, ‘हाम्रो देशमा पनि राजनीतिक दलको पहिलो प्राथमिकता निःशुल्क शिक्षा र स्वास्थ्य हुनुपर्छ अनि मात्र भष्ट्राचार र बेइमानीको बाटाहरू विस्तारै बन्द हुँदै जान्छन्। खान र बस्न अनि छोराछोरी पढाउनै नपुग्ने तलब पद्धति र उपचारमा जग्गा बेच्नुपर्ने अवस्थाले लोकतन्त्र जस्तो सुदृढ व्यवस्थालाई बेइमानी बनाएको छ।’
अष्ट्रेलिया भनेको मल्टिकल्चर्ड देश हो, यहाँ जुनसुकै देशका मान्छेलाई स्वागत छ। सुरक्षा छ। सम्मान छ। आफ्नो जीवन कस्तो बनाउने आफ्नै हातमा छ।