झट्ट सुन्दा अपत्यारिलो। के के नमिलेजस्तो। उडन्ते शिर्षक!
मैले भोगेको आफ्नै केही कुरा लेख्ने कोसिस गर्दैछु यही शिर्षकको फेरो समाएर। समय उस्तै भए पनि मिति बदलेको छ! थुप्रै हुने बिहानीहरू अनि पर्ने साँझहरूलाई निलेर आज म जिन्दगीको आधा बाटोतिर आइपुग्दै गर्दा ऐनाले देखाएको सत्यतालाई लत्याएर आफूले आफैंलाई उस्तै रहेको ठान्छु। हिजो जस्तो थियो उस्तै रहेको जिकिर गर्छु। भ्रम नै सही फोकोटको पानीको फोकाजस्तै कल्पनाको दुनियाँमा जिउनुको मज्जा पनि आफ्नै प्रकारको मीठो हुँदोरहेछ। अनुभवहरूलाई पोखेको मात्रै हो। पोखिसकेको पानीलाई सोह्रेर घैलो भर्ने कोसिस पक्कै गरेको होइन।
हिजो थियो र त आज छ। आज भएरै भोलि हुने हो। मेरो जिन्दगीको हिजोहरू जस्तोसुकै भए पनि म आज खुसी बनेर बाँचिरहेको छु। काइदाको थियो मेरो हिजोहरू। म सानो फुच्चे हुँदा देख्दै गरेको सपनाहरू मजस्तै सानो फुच्चे नै थियो। छलकपट थिएन। दिनचर्याहरू रमाइलो थियो। थेग्न नसक्ने जिम्मेवार बहन गर्नुपर्दैन थियो।
क्यालेन्डरको पानाहरूले थप्दै गरेको वर्षसँगै जिन्दगीको उकालोमा उक्लिरहें यात्री बनेर! आरोह-अवरोहमा ठोक्किन पुगेको थुप्रै आ-आफ्नै प्रकारको क्षणहरूलाई भावनाको अदृश्य आर्काइभमा कैद गरेर स्कुलले शिक्षा समाप्त गरी आफ्नै आँगन छेउमा अवस्थित सामुदायिक स्कुलबाट।
परिवारको आर्थिक स्थिति खासै दरिलो थिएन। कृषिमा निर्भर रहेको हामीलाई मेहनत गरेर पाखुरा बजारे पुग्थ्यो खान र लाउन।
शिक्षामा बा सावाँ अक्षर चिन्न सक्ने ब्यक्तिमा पर्थे, आमा निरअक्षर र पनि शिक्षाबारे राम्रै जानकार हुनुहुन्थ्यो मेरा अभिभावक। सायद त्यसैले सजिलै मौका मिल्यो देशको राजधानी छिर्ने। उच्चशिक्षा हासिल गर्न।
झण्डै दुई दशक बितिसकेको छ। निकट विगतको कुराहरू। याद र सम्झनाको तुफान बनेर मथिङ्गाल हल्लाई दिन्छ बेला- बेलामा। सोचेजस्तो मनोकांक्षा पूरा हुँदैन सबैको अपवादबाहेक। अपवाद समग्र होइन। यही समग्रको भीडमा हराउँदै हराउँदै बाँचिरहेको छु! बेमौसमा फुलेको बाह्रमासे फूलजस्तै बनेर।
ती दिनहरूको सम्झना ताजै छ मानसपटलमा। वर्षहरू गणनामा थुप्रै भए पनि मनको क्यालेन्डरमा हिजोजस्तै लाग्छ!
काठमाडौंको प्रदर्शनी मार्गमास्थित रत्नराज्य क्याम्पस! मजस्तै आफ्नो र बा-आमाको सपना बोकेर टाढा-टाढादेखि आएका धेरै विद्यार्थीहरू!
बा र आमाहरूको योजनामा अनि आ-आफ्नै सपनाको खाका कोर्दै सुन्दर भविष्यको जग बसाल्न लालायित हजारौं युवा र युवतीको भीडमा हराउँदै गरेको मध्येमा म पनि एक पात्र थिएँ।
काठमाडौंदेखि थोरै टाढाको जिल्लामा पर्छ मेरो घर।
नजिक पर्दैमा काठमाडौंले मेरो लागि फोकटमा बस्न दिने कुर भएन। एक्लैले सिंगो कोठा लिएर बस्न सक्ने हैसियतका थिएन भन्दा हुन्छ । सत्यतालाई अंगिकार गर्दै बाले आफ्नो हैसियतको दसि पेस गरेर। टाढाको झिनो सम्बन्धको त्यान्द्रो पहिल्याउनु भयो। काठमाडौंमा सानोतिनो व्यवसाय गर्दै आउनु भएको कुनै व्यक्तिको साथमा बस्ने प्रबन्ध मिलाउनु भएको थियो।
क्याम्पस छुटेपछि बाँकी समयमा उहाँलाई सहयोग गर्ने सर्तमा। ममा एक प्रकारको फूर्ति थियो। धेरै पढ्छु। पढेर राम्रो जागिर खान्छु। बा-आमाले देखेका सपनाहरू पूरा गरिदिन्छु। भाइलाई पनि पढ्ने वातावरण बनाउँछु। यस्तै थुप्रै सपनाको खाका बोकेर सुरू गरियो सहरमा सहरी बसाइ।
रत्नराज्य क्याम्पसमा भर्न गरियो। अहिले जस्तो प्लस टु भन्ने थिएन। एस.एल.सी परीक्षा उत्तीर्ण गरेपछि आई. एमा भर्ना हुन्थ्यो। भर्ना गर्नेबेला खुब तानातान गर्थ्यो गेटैमा बसेर सिनियर दाइ-दिदीहरूले खोइ के के संघको नाम लिँदै। त्यो बेला प्रायः दिनहुँजस्तो आन्दोलन र जुलुस भैरहन्थ्यो। त्यसमाथि प्रदर्शनीमार्ग विद्यार्थीहरूको कमी हुने कुरा भएन।
हामीसँगै पढ्दै अग्रस्थानमा बसेर राजनीति गर्नेहरू देशको सांसद र प्रदेशका मन्त्री हुन भ्याइसकेको छन्।
जीवन क्रमशः चल्दै थियो गजबले अलि नभनौं। झिलिमिली सहर। उता गाउँमा छँदा बाटो बनाउन आएको डोजर हेर्न घण्टौं लाएर गइन्थ्यो भने काठमाडौंको सहरमा गुडेको रंगिविरंगी मोटरको ताँती देखेर सुरू-सुरूमा छक्कै परेको थियो। अग्ला-अग्ला सुन्दर घरहरू देखेर गाउँमा आफू बस्दै गरेको फुस अनि खरले छाएको स-सानो घर सम्झँदा उदेक लागेको कुरा अकाट्य थियो मेरो जीवनको लागि।
गाउँ घरमा उकाली-ओराली गर्दै पाखाभित्तामा गएर डोकोमा पात-पतिंगर बटुल्दै भर्दै गरेर घाँसे गीत गाउँदै गरेको आमा, दिदी र भाउजूहरूको सुरिलो गीत सुन्दै हुर्केको म काठमाडौंको रंगीन दुनियाँमा गुन्जेको पाश्चात्य गीत सुन्दा छक्कै परेको थिएँ। मेरो बाहिरी आवरण सहरजस्तै बन्न खोज्थ्यो। तर मनले कहिल्यै भन्ने कोसिस गरेन तिमी सहरजस्तै बन भनेर।
हुनु पनि मेरो जरो गाडेको ठाउँ भनेको गाउँ हो। जहाँको हरेक कुरामा प्राकृतिक पाइन्छ। कृत्रिमताको गन्ध भेट्न मुस्किल हुन्थ्यो त्यो बेला। अहिलेको बारेमा भन्न सकिन्न।
मेरो आई ए प्रथम वर्ष सकेर। दोस्रो वर्षको पढाइ चल्दै थियो। मलाई त्यो दिन त्यो वर्ष त्यो बार सबैको कुराको याद छ आजको दिनसम्म लाग्छ म बाँचुन्जेल याद बनेर आइरहन्छ।
बिर्सन खोज्छु र पनि चिच्याई -चिच्याई कराएको आवाज गुन्जिरहन्छ कानमा।
फूल फुल्ने मौसम थियो। शरद यामको बेला। म मेरो जिन्दगीको निजी बगैंचामा थुप्रै सपनाको फूल फुलाउने कोसिसमा तल्लीन थिएँ। सुन्दर बगैंचामा फुल बन्ने कोसिसमा बसेको कोपिलाहरूको भीडमा एउटा विशेष कोपिला मेरो मनको बगैंचामा फूल बनेर फुल्ने कोसिस गर्दै गरेको कुरा पत्ता लगाउन समय लागेन।
हाम्रो भेट हामी पढ्ने क्याम्पसमा भएको थियो। उनी मभन्दा जुनियर ब्याचको विद्यार्थी। उनी पनि म जस्तै उच्च शिक्षा हासिल गर्ने सपना बोकेर आएकी रहेछिन्। सुदूर पूर्वको सुन्दर ठाउँबाट। उनी पनि मजस्तै आफ्नै आफन्तकोमा बस्थिन्।
हामी एउटै वर्णका थियौं। मंगोलियन। स्वभाव पनि मिल्ने। शान्त र सरल। त्यसैले होला हाम्रो केमिस्ट्री मज्जाले मिलेको थियो।
बसाइ लगभग नजिक-नजिक नै थियो। क्याम्पस आउँदा जाँदा प्रायःसँगै हुन्थ्यौं। लगभग बस्ने डेरादेखि चार-पाँच किलोमिटरको दूरीमा थियो। बोल्न पाउँदैन भनेर हामी सवारी साधन प्रयोग गर्नुभन्दा हिँड्न रूचि राख्थ्यौं। खुट्टा दुखे पनि मनको कुरा गर्न पाउने आशाले खुट्टाको पीडा बिर्सिदिन्थ्यौं।
अहिलेजस्तो मोबाइल फोनको जमाना थिएन। मनको कुरा आदान-प्रदान गर्न न नै सामाजिक सञ्जाल बनिसकेका थिए।
पढाइको साथ-साथै थाहा नै नभई हामी दुईबीच यति गहिरो सम्बन्ध बनिसकेको रहेछ कि जुन कुराहरूलाई अक्षरमा वर्णन गरेर लेख्न असमर्थ छु।
एक दिन उनलाई देख्न नपाउँदा अनायस आँखाबाट आँसु चुहिन्थ्यो। हप्ताको छ दिन बितेको एक निमेषजस्तो लाग्थ्यो तर सातौं दिनको शनिबार बित्न वर्षझैं किन लाग्थ्यो थाहै पाउन सकिनँ अहिलेसम्म। कि कतै त्यस्तै क्रिया-प्रतिक्रियालाई प्रेम भनिन्छ कि होला सायद।
प्रेम भनेको त्यही होला जस्तो लाग्दैछ। ती दिनहरूको कुराहरू सम्झिँदा। उनलाई भेट्न कुनै कारण चाहिँदैन थियो। बस् भेट्यो सँगै यात्रा गर्यो बोल्दै-बोल्दै गन्तव्य आइपुगिन्थ्यो।
खुसी खुसीमा बितेको थियो ती समय। मैले उनीबाट केही चाहिनँ उनले पनि मबाट कहिल्यै केही मागिन। स्वार्थको गन्ध कहिले आएन हाम्रो सम्बन्धमा।
हामी दुईबीचको सम्बन्धबारे उनको आफन्त थाहा पाएछन्।
कुरा गर्न बोलाए। भेटमा उनको आफन्तले मुखै खोलेर नबोले पनि मैले बुझें खासै असहमति थिएन हामी दुईबीचको सम्बन्धलाई लिएर।
हाम्रो पढाइ ठिकै चल्दै थियो। देख्दै गरेका सपनाहरू निकै टाढा थिए। जारी थियो संघर्ष उनको अनि मेरो।
हामी भेटेको लगभग तीन वर्ष भैसकेको थियो। तर त्यो वर्ष मेरो जीवनको लागि निकै दुखको वर्ष बनेर आयो।
स्नातक पहिलो वर्षमा अध्ययनरत गर्दै गरेकी उनलाई ‘तुरून्त घरमा आउनू’ भनेर खबर आयो। कारण नखुलाई उनी घर गइन्।
उनको निजी पारिवारिक कुरामा हस्तक्षेप गरेर म पनि सामेल हुने कुरा आएन।
काठमाडौंदेखि इलामसम्मको यात्राको लागि उनी रात्रि बस चढेर एक हप्तापछि फर्कन्छु भनेर गइन्। उनी गएपछि कताकता एक्लो महसुस हुँदै थियो मलाई। तर आशा थियो मेरो लागि एक हप्ताको समय। मलाई पूर्ण विश्वास थियो उनी फर्केर आउँछिन् भनेर। हामी दुई मिलेर देख्दै गरेको सपना अनि हाम्रो अधुरो शिक्षा थियो आधार उनी फर्केर आउँछिन् भन्ने कुराको।
परिवारको साथमा उनले कसरी दिनहरू बिताइन् उनैले जानून्। तर उनी गएपछिको दिनचर्या कसरी बिते वर्णन गर्न सक्दिनँ।
उनी गएको एक हप्ता बित्यो। उनले भने जस्तै आठौं दिनको बिहानै उठेर बसपार्क गएर पूर्वबाट आएको प्रत्येक बसबाट ओर्लने यात्रीहरूमा उनलाई खोजें। तर पाउन सकिनँ। बिहान दिन बनेर साँझ पर्न लाग्दासम्म उनी आउने बाटो हेरेर कुरिबसें। तर उनी आइनन्। साँझ रातमा परिणत भयो त्यही अँध्यारो रातसँग कालो अनुहार बोकेर फर्कें आफ्नो बासस्थानमा।
अहिलेजस्तो हात हातमा मोबाइल थिएन। ल्याण्ड लाइन टेलिफोन घर-घरमा हुने कुरा भएन त्यहीँ माथि गाउँमा।
उनले भनेको समयमा नफर्केपछि निकै ठूलो साहस बोकेर उनको आफन्तकोमा गएर एकपटक सोधखोज गर्ने निधो गरें। उनको भाउजू पर्ने आफन्त बाहिर बरण्डामा भएकोले मलाई सजिलो भयो।
टाढैबाट नमस्कार गरें।
भाउजूले सहर्ष स्वीकार्नु भयो नमस्कार।
‘भित्रै आउनु बाबु’ भन्नुभयो।
म भित्र गएँ।
‘बाबु चिया खानु हुन्छ कि कफी ?’
भाउजूको मीठो स्वर पहिलेजस्तै।
‘चिया भए पनि हुन्छ भाउजू।’
भाउजू चिया लिएर लिबिङ रूममा आउनुभयो।
मेरो सामुन्ने चिया राखेर उहाँ पनि छेउमै बस्नुभयो।
मैले सोधे- दाज्यु कता हुनुहुन्छ नि?
‘बाबुलाई थाहा छैन र ? नानी गएको पर्सिपल्ट गाउँदेखि घर आउनु भन्ने खबर आयो अनि दाजु पनि गाउँ जानुभयो। म पनि जाने थिएँ तर मलाई छुट्टी मिलेन र गइनँ।’
भाउजूको कुराले मेरो मनमा शंका- उपशंकाको ज्वालामुखी विष्फोटन हुन सुरू गर्यो। मन दह्रो गरेर सोधें भाउजुलाई आखिर के भएको घरमा ?
भाउजू एकै सासमा बोल्न थाल्नुभयो।
‘बाबु तपाईंहरू बीचको सम्बन्ध हाम्रो लागि अस्वीकार्य थिएन। नानीको खुसी नै हाम्रो खुसी हो भन्ठानेका थियौं। नानी पनि तपाईंसँग खुसी थिइन्। तर घरको हर्ताकर्ता बा- आमा हुनुहुन्छ। उहाँहरूको अगाडि हाम्रो केही चल्दैन। नानीलाई झुक्याएर बोलाको रहेछ गाउँमा। ससुरा बाको साथी ब्रुनायी लाहुरे हुनुहुँदो रहेछ। हामीलाई थाहा थिएन। उहाँहरूको बसाइ हङकङमा रे। मेरो ससुरा बाको साथीको छोरासँग लगनगाँठो जुराई सकेर नानीलाई झुक्याएर बोलाउनु भएको रहेछ। यसमा नानीको केही दोष छैन। परिबन्धमा परेर नानी आत्मसमर्पण गर्न विवश भाकी हुन् बाबु। उनीहरूको बिहे सम्पन्न भैसक्यो। नजिकको आफन्तमात्रै बोलाएर मन्दिरमा गरेको रे बिहे। सरकारी कागजात बनाउँदै छन्। सायद उनीहरू एक महिना भित्रमा जान्छन् हङकङ सदा उतै बस्ने गरी।’
भाउजूको कुरा सुनेर भाउन्न भएर आयो। भाउजूलाई केही भनिनँ। भन्ने कुरा पनि केही थिएन मसँग। ‘भाउजू म जान्छु’ भनेर निस्किएँ त्यो घरबाट।
लर्खराएर आइपुगे डेरामा। त्यो दिन कसरी बित्यो थाहै भएन। भोलिपल्ट बिहानै उठेर गाउँ गएँ। बा- आमासँग भेटें। मनको कुरा खोल्न मन लागेको थियो तर खोलिनँ। आमाको मायामा भुल्ने कोसिस गरें उनलाई भुल्न सकिनँ।
केही समयपछि काठमाडौं फर्कें आफ्नो दैनिकीसँग डटेर जीवन बाँच्न सिकें। संयोग पनि क्या गजबको थियो। फूल फुल्ने मौसममा भेट भएको थियो उनीसँग फूल ओइलिएर झर्ने मौसममा उनी टाढा भइन् मबाट। मैले उनलाई अन्तिम पटक भेटेको नयाँ बसपार्कमा आज त्यो दिनबाट यताका वर्षहरू गन्दा बीस वर्ष भैसकेछ। अहिले जस्तो स्मार्ट फोनको बेला भएको भए फोटो खिचेर राख्थें होला।
उनको नाम सर्च गरी हेरें फेसबुक अनि इन्स्टामा कतै फेला परेन तर दूरनियतले होइन।
उनीसँग भेट हुँदासम्मको उमेर अनि उनीसँग बिछोडिएको उमेर जोडेर हेर्दा जिन्दगीको आधा बाटोतिर आइपुगिसकेको छ। मेरो दावा उनी खुसी नै होली। म पनि खुसी नै छु। उनको हुन नसकेको म अरू कसैको भएको छु।
उनको मनमा के चलेको छ थाहा छैन।
प्राप्तिमात्रै प्रेम होइन बलिदान पनि एक प्रकारको प्रेम हो भन्ने कुरालाई अंगिकार गरेर बाँचिरहेको छ अरबौं मान्छेको भीडमा। ठाउँ बदलियो, शारीरिक बनावट बदलियो, उमेर सँगै सहनशक्ति बदलियो, दैनिक ग्रहण गर्ने आहारविहार बदलियो। तर उनीप्रति समर्पित मन पहिलाजस्तो थियो अहिले पनि उस्तै छ। गजबको छ यो मेरो बदलिन नसकेको मन।