चाडपर्वहरू हाम्रा हुन्। संस्कृति हुन्। पहिचान हुन्। हजारौँ वर्षदेखिका परम्परा हुन्। मानिस र चाडबाडबीच गहिरो सम्बन्ध छ। जीवनका सुखदुःखसँग जोडिएका हुन्छन्। मान्छेहरूका भोगाइहरू निजी भए पनि चाडपर्वहरूमा हाम्रा सुखदुःख अनि भोगाइहरू साझा हुन्छन्।
हामी सामूहिक रुपमा मनाउन चाहन्छौँ अनि हामी एकैछिन भए पनि रमाउन कोसिस गर्छौं। अनुभवहरू साट्छौँ। सुखदुःखका अनुभवहरू साटासाट गर्छौं। यसले उर्जा मिल्छ। शक्ति मिल्छ। हाम्रा चाडपर्वहरू यति प्यारा छन् कि हामी मनदेखि मनाउँछौँ।
आफ्ना परिवार, आफन्त तथा साथीभाइ सबैलाई भेट्न टाढा टाढा भए पनि जान्छौँ। मन खोलेर खर्च गर्छौं। हरेक वर्ष यसरी नै चाडपर्वहरू मनाइन्छ र यी खास हुन्छन्। समय सँगसँगै चाडपर्वका रुपहरू पनि फेरिँदै जान्छन। यसपालि जस्तो अर्को साल नहुन सक्छ।
जब जब चाडपर्वहरू आउँछन, मानिसहरूको चहलपहल बढ्छ। विभिन्न काम र बाध्यताले देश परदेश गएकाहरू आफ्नो घरपरिवार खोज्दै फर्कन्छन्। सहरमा बस्नेहरू गाउँघर तिर लाग्छन्। आफन्तहरू खोज्न थाल्छन्। यात्रा गर्नेहरूको भिडभाड हुन थाल्छ। सबैभन्दा बढी त किनमेलमा भिड हुन्छ। सहरबजारमा किनमेल गर्ने अनि घर फर्कनेहरूको घुइँचो हुन्छ।
चाडपर्वहरूले छपक्क छोपिसकेको थियो। किनमेलको भिडभाड बढिसकेको थियो। सबैजना चाडबाडको रौनकमा थिए। मलाई पनि माहोल लागिसकेको थियो। गाउँघरको यादहरू मस्तिष्कमा घुमिरहेका थिए। मन उत्साहित हुँदै थियो।
गाउँघर जाने तयारी गर्दै थिएँ। किनमेल पनि गर्नु थियो, भिडभाड भने सासै थुन्ला जस्तो। बजारमा मारामार भइसकेको थियो। महँगीले त आकाश छुन लागेको थियो। दोब्बर तेब्बर भइसकेको थियो। मानिसहरू सामान किन्नमा व्यस्त थिए।
चाडपर्वहरूमा मुखमा बढेको अस्वाभाविक मूल्यहरू देख्दा मन चिन्तित भयो। व्यापारीहरूले मानिसका भावनाहरूको फाइदा उठाइरहेका थिए। अर्कोतर्फ कालोबजारीको बिगबिगी थियो। मनमनै आन्दोलित भए। बजारमा मनपरी देखिन्थ्यो।
बजार भाउको कुनै नियन्त्रण थिएन। मानिसहरू जति पनि मूल्य तिर्न तयार देखिन्थे। तर मलाई चित्त बुझेको थिएन। पसल पसल घुमेँ। मूल्य आ-आफ्नै थियो। कसैलाई केही डर पनि थिएन। मूल्य मान्छेअनुसार निर्धारण गरिन्थ्यो।
व्यापारीहरू कमाउने धन्दामा थिए। मेरो मनमा प्रश्नैप्रश्न थिए। घरमा केही समान लानु थियो। किन्नुपर्ने बाध्यँता त छँदै थियो। घुम्दै एउटा पसलमा पुगेँ। सामानको मूल्य सोधेँ।
'किन यसरी मूल्य बढेको? हिजोअस्तिसम्म यस्तो थिएन?'
उसले ठाडै उत्तर दियो- 'मन नभए यहाँ किन ल्याङ गर्न आको? यहाँ तपाईंसँग छलफल गर्ने फुर्सद छैन। जानुहोस।'
गैह्रजिम्मेवार उत्तर थियो। मसँग बोल्नको लागि पनि उसले चासो राखेन। म उसको ग्राहक हो भन्ने पनि सोचेन।
भोलिपल्टको यात्रा थियो। आफ्नो प्यारो गाउँघरतिर लाग्ने जमर्को गरे। परिवारसँग भेटघाट त छँदै थियो, पुराना स्कुलका साथीभाइहरू भेटनुको मज्जा अर्कै थियो। मन हर्षित थियो। वारिपारि हेरेँ। सबैजना गाउँघरतिर लाग्ने तम्तयार गर्दै थिए।
बसको टिकट पाउन पनि गाहो थियो? त्यहाँ पनि टिकटमा कालोबजारी जताततै। यहाँ टिकट पाउने कुरा ठूलो थियो, सस्तो महँगोभन्दा पनि। कतै पनि टिकट पाइनँ। मनभरि पीर चिन्ता अनि तनावले राति अबेरसम्म निद्रा लागेन।
बिहान चार बजेको अलार्म बज्यो। जुरुक्क उठेर बसपार्क जान बाहिर निस्केँ। सामान निकै थियो। ट्याक्सी रोकेँ। ट्याक्सीको पनि भाउ के कम? ऊ पनि यही कमाउने दाउमा नै थियो। दुई/चार वटा टयाक्सीलाई सोधेँ। उही टयाक्सीवालालाई चाहिए जति मूल्य। जति भने पनि हुने। जतिसक्दो बढी लिने सोच।
यत्तिकैमा 'कहाँ जाने दाइ?' ट्याक्सीबाट मुन्टो निकालेर सोध्यो। अक्क न बक्क भएर हेरेँ। नजाउँ भने सामान थियो अनि हतार हतार ट्याक्सीमा चढेँ।
'मिटरमा जाउँ है दाइ!,' मैले भनेको मात्र के थिए, उसले टयाक्सी रोक्यो र भन्यो, 'मिटरमा त नजाने।'
अब मसँग कुनै उपाय थिएन। ड्राइभरले जति भने पनि मान्नुपर्ने अवस्था थियो। मेरो अवस्थाको फाइदा लिनेवाला थियो। ड्राइभरलाई मेरो मनोविज्ञान थाहा थियो। दश मिनेटमा बसपार्क पुगियो। दश मिनेटको बाटो। लगभग तीन किलोमिटर थियो होला। सात सय रुपैयाँ भाडा तिर्नुपर्यो। मलाई भाडा थाहा नभएको होइन। भाडादर पनि तोकिएको छ तर मनपरी भाडा लिन्छन्। हतार थियो। सोच्ने फुर्सद पनि थिएन।
बसपार्कमा बस खोज्न थालेँ। यहाँको अवस्था झन् भयाभय थियो। मान्छेहरूको तानातान। कुनै मानमर्यादा र नियम थिएन। जसले तानेर हाल्यो उसैको हुने। लिलाम बिक्री जस्तो भाडादरको दलाली। मलाई कतिखेर निस्कनुजस्तो भयो।
बिहानीपख चिया खाउँ खाउँ लाग्यो। अनि चिया खान सडकको दायाँबायाँ चिया पसल खोजेँ। चिया खाएँ। पैसा तिर्नको लागि सोधेको, मूल्य सुनेर छक्क परेँ। यहाँसम्म मनपरी थियो। चियावालासँग झगडा गरौँ भने पनि आफ्नै इज्जतको सवाल। चुपचाप निस्किएँ।
अब झन् डर लाग्न थाल्यो मलाई। अनि बसको खोजीमा निस्किएँ। यताउता हेरेँ। घर फर्किनेहरूको घुइँचो थियो। त्यही बीचमा म पनि एउटा थिए। बसहरू लाइनमा थिए। छेउमा राखिएको बोर्डमा हेरेँ। भाडादर राखिएको थियो। तर पनि त्यो अनुसारको भाडादर भने विल्कुल थिएन।
म जानु त थियो नै, गाडीमा गएर सोधेँ, 'भाडादरअनुसार लानुहोस् है, म यति धेरै किन तिर्नु? यो त ठिक भएन नि?'
'तपाईं नगए अर्को जान्छ। यहाँ झगडा गर्ने कुनै काम छैन। इच्छा नभए किन जानु? तपाईंको ससुरालीको गाडी हो र सित्तैमा लानको लागि?,' गाडीको स्टाफले भन्यो।
म नाजवाफ भएँ। बसमा अटिनअटी मान्छेहरू थिए। गाडीको सिटभन्दा बढी मान्छे। सास थुन्ने अवस्था थियो। सबैलाई घर जाने हतारो। कसरी जाने भन्दा पनि जसरी जाने अवस्थामा तानातान अनि खादखाद थियो।
यहाँ झगडा गरेर घर पुगिँदैन भन्ने लाग्यो। त्यो अपमान सहेर पनि बसमा चढेँ। आफ्नो घर जानु थियो। त्यहाँ कसले बुझिदिने र? अब भने यात्रा सुरु भयो।
जे जस्तो भए पनि दसैँको माहोलमा मन गाउँघरतिर तानिएको थियो। अलिपर पुगेपछि बस रोकियो। एकजना मान्छे चढयो। म आनन्दले बसेको थिएँ यत्तिकैमा यो मेरो सिट भन्दै टिकट मलाई देखायो। अब हामीबीच झगडा भयो। अब भने त्यहाँ टिकट काट्ने मान्छे थिएन। आफै मिल्नुको विकल्प थिएन।
बाटोमा बस रोकियो। 'खाजा खाने बेला भो, खाना खान ढिलो हुन्छ सबैजना उत्रिनुहोस्' भन्दै यात्रुलाई भोकको डर देखायो।
खाना खान पनि ढिलो होला भन्दै सबै यात्रुहरू ओर्लिन बाँध्य भए। सायद गाडीवाला आफैको वा आफन्तको थियो होला। भिडमा खाजा माग्दै पसेँ। खाजा माग्दै जाँदा उसको भागमा पनि मागेभन्दा बढी खाजा आयो। त्यो पनि चिसो थियो।
त्यो भिडमा कसले सुन्ने र? बाहिर खाजाको मेनुमा एक रेट थियो, भित्र अर्कै। यत्तिकैमा एकजना अर्कै बसको मान्छेले होटलवालासँग झगडा गर्दै थियो। यत्तिकैमा उसलाइै त्यहाँ भेला भएर कुट्नसम्म कुटे। तर कोही पनि बोलेन। म पनि बोल्न सकिनँ। चुपचाप भनेजति पैसा तिरेर बाटो लागेँ।
फेरि यात्रा सुरु भयो। हामी हिँड्यौँ खाजा खाएर। खाना खाने कुनै टुङ्गो थिएन। गुरुजीको हातमा सबैकुरा थियो। बाटोको बीच बीचमा अवरोधहरू नभएका होइनन् तर पैसा दियो भने कुनै समस्या पनि थिएन। यहाँ जसले जे गरे पनि स्वतन्त्र नै थियो। कसैले आवाज उठाउनेभन्दा पनि आफू मुक्त हुने सोच थियो। बाटोबाटोमा एकातिर चाडबाडको रमाइलो मन छुने पनि थिए भने कतिपय अवस्थाहरू मन काट्ने।
मनमा कुरा खेलाउँदै थिएँ, एक्कासी बस जंगलको बीचमा पुगेर रोकियो। मनमा डर पनि लाग्यो। तर खाना खान रोकेको रहेछ। एउटा मात्र होटल। जे जस्तो भए पनि विकल्प थिएन त्यहाँ। खाना दिनेभन्दा पैसा लिनेहरू सक्रिय थिए। भोक लाग्दा बाध्यताले खानुपर्ने मात्र थियो। रहरले खाना खाने अवस्था थिएन।
बासी अनि कमसल चामलको खाना थियो तर गुनासो गर्ने सुविधा थिएन। फेरि जवाफ पाइएला भनेर कोही बोल्नेवाला पनि थिएनन्। खाना जे जस्तो भए पनि मूल्य भने अन्तर्राष्ट्रिय स्तरको थियो। कुनै पाँच तारेभन्दा कम थिएन। पैसा तिर्दै सबैजना बाहिर आए।
बस पुनः आफ्नो गन्तव्यमा लाग्यो। समय पनि ढिलो भइसकेको थियो। समयमा पुग्ने अवस्था त थिएन तैपनि राति पुगिएला भन्ने आशा थियो। अचानाक गाडी रोक्कियो। बसमा समस्या आयो। अनि त्यही दुई घण्टा जति समय लाग्यो। अब त पुग्ने वा नपुग्ने भन्ने प्रश्न आयो।
दुई घण्टापछि फेरि बस नबन्ने भन्ने कुरा आयो। रातको दश बजिसकेको थियो। बल्लबल्ल अर्को बस आयो अनि हामीले सामान अर्को बसमा सार्यौं। शरीर गलेर हत्तु भइसकेको थियो। थकानले हाईहाई आइसकेको थियो। तैपनि यात्रा टुङ्गिएको थिएन। बल्लबल्ल रातको एक बजे गन्तव्यमा पुगेँ।
त्यहाँ पनि बिचल्ली भयो। होटलहरू बन्द भइसकेका थिए। अनि बसभित्र नै सुत्नु पर्ने अवस्था आयो। तर मानिसहरू सिटभन्दा बढी थिए। बसवालाले सबैलाई आआफ्नो बासस्थान खोज्नु भन्यो। कोही आफन्तको तिर लागे। कोही बसमा नै सुते।
भोलिपल्ट बिहान बल्ल पो घर पुगियो। यात्रामा पैसा र समय दुवै नाश भयो भने अर्कोतिर तनावको यात्रा भयो। मसँग त केही पैसा थियो र तिर्न सकेँ। पैसा नहुनेहरू सडकमा पनि सुते। यात्रुहरूको कुनै गल्ती त थिएन तर पनि यो सजाय पाए।
जति पनि मैले भोगेँ, देखेँ र अनुभव गरेँ, ती कुराहरूले मनमा अशान्ति हुँदै गयो। मैले पचाउन सकिरहेको थिइनँ। हामी सबैजनाहरू शान्त भएर सहेको कुराले मलाई अशान्ति बनायो। सम्झन थालेँ। जति सम्झयो मनमा आक्रोश आउन थाल्यो। अन्यायमा परेको पनि थाहा थियो। चेत पनि थियो। यति हुदाँहुँदै पनि बोल्न सकिएन। मलाई पश्चताप पनि लाग्यो तर पनि सहनुको विकल्प थिएन। आफूलाई निर्धो सावित गरे।
यो यात्राको क्रममा मैले राज्यको उपस्थिति कहीँ पनि भेटिनँ। राज्यको अनुभूति कहीँ पनि पाइनँ। राज्य कमजोर र लाचार बन्दा कति ठूलो फरक पर्दोरहेछ। यो कुरा मैले अनुभव गरेँ। आज मैले थाहा पाएँ कि नेपालका सामान्य र गरिब मान्छेहरू मात्र होइन। राम्रा र धनी मानिसहरू विदेश जान्छन। डिभी र पिआरको पछि लाग्छन भन्ने कुरा महसुस पनि गरेँ।
राज्य बलियो भयो भने मात्र नागरिकहरूको आवाज उच्चो हुन्छ। सामाजिक सुरक्षा, व्यक्तिको जीउधानको सुरक्षा हुन्छ। सबै कुराहरू निजी नै व्यवस्था गर्नुपर्ने अवस्था थियो।
यी चाडवाडहरू सांस्कृति र मानवीय आधारमा महत्वपूर्ण छन्। हामीले दुःखसुख बाँड्ने त छँदै छ तर हामीले सरसहयोग, दया, माया अनि मानवीय मूल्यहरूलाई कायम राख्नुपर्छ। हामी मानव हुनको सार्थकता पनि हुनुपर्दछ।