भन्न त धेरैले भन्छन्- तँ त गुरु, तैँले जानेको होलास् नि। तैँले नजाने कसले जान्छ? तैँले त जान्नै पर्यो नि। तैँले नगरे कसले गर्छ?
चौबिस वर्षे शिक्षण पेशामा पाएको गहनभन्दा गहन वाणीहरू हुन् यी मेरा लागि। जानेर नजानेर वा परिस्थितिले शिक्षक बनायो। १९ वर्षको उमेर। बाह्र कक्षाको पढाइ। म हुर्कँदै गरेको बोर्डिङ स्कुलको फर्कदै गरेको एक शिक्षक।
मभित्र शिक्षक बन्ने हुटहुटी सानोमा थिएन। आर्मी बन्छु, देशको सीमा रक्षा गर्छु भन्ने थियो। जब ७ कक्षामा पढ्दै गर्दा एउटा शब्द आयो अंग्रेजीमा– 'प्रोफेसर'। मैले तत्कालीन अंग्रेजी पढाउने गुरुलाई सोधेँ।
'के हो सर यसको माने?'
कृष्णराज गुरुले मुसुक्क हाँसेर भन्नुभयो– 'बाबु, यो शब्द त साह्रै ओजिलो छ। यस्को अर्थ त के भन्नु र खै? मतलब प्रोफेसर भनेको नि सरको नि सर हो। तर निकै माथिल्लो तह पढाउने सर। हामीलाई नि पढाउने सर हो क्या। क्याम्पस युनिभर्सिटीमा पढाउने मान्छे।'
'कस्ताले पढाउन पाउँछन् धेरै कक्षा? सरको नि सर कस्ता हुन्छन्?'
मेरो प्रश्न खस्न नपाउँदै कृष्णराज सर बोल्नु भयो– 'नेपालमा पढाइ हुने ठूलो कक्षा पढ्नुपर्छ। सबै पढ्नुपर्छ। सबै जान्नुपर्छ प्रोफेसर हुन त।'
कृष्णराज सरका उत्तरहरू कति बुझेँ थाहा भएन तर त्यो रात म निदाउन सकिनँ। सयौँ पटक सोधेँ आफूलाई– तँ पनि प्रोफेसर बन्न सक्लास् त? तँ पनि सरको पनि सर हुन सक्छस् त? सबै कुराको जान्ने हुन्छस् त?
फेरि सम्झेँ आमाले केही महिना पहिले ७ कक्षा उक्लेको दिन भन्नुभएको– 'नारायण सर, मेरो कान्छोलाई ६ कक्षामा नै दोहोर्याउन पर्यो।'
नारायण ज्ञवाली, जो हाम्रो कक्षा ६ मा अंग्रेजी पढाउने सर हुनुहुन्थ्यो। उहाँले अचम्म मान्दै भन्नुभयो– 'अन्टी, होइन तपाईं यो के भन्दै हुनुहुन्छ? म त छक्क परेँ! तपार्इंको छोरो प्रथम भएको छ कक्षामा अनि किन त्यही कक्षा दोहोर्याउने?'
सरको बोली नसक्दै आमा बोल्नुभयो– 'प्रथम भएर के गर्नु सर, यसलाई महिनाको ७ रुपैयाँ फिस कसले तिर्न सक्छ र? ६ कक्षामा नै राख्दिए त यसपालिबाट सरकारले कक्षा ६ बाट निःशुल्क पढाउने भनेको छ नि त। आमा र नारायण सर बीचमा डल्लिएर म हल न चल भएर बसेँ।
मेरो होस नै उड्ला जस्तो भयो। अब नारायण सरले के भन्ने हो? मुटुका धड्कन कानमा ठोकिन थाल्यो। खुसीको कुरा! सरले आमालाई सम्झाएर पठाउनु भयो। मैले लामो श्वास तानेँ। मेरो भर्ना कक्षा सातमा दश रुपैयाँ तिरेको चिर्कटो काटेर नारायण सरले नै गरिदिनु भयो।
आमाको त्यो क्रन्दन अनि कृष्णराज सरको त्यो व्याख्या मेरा लागि खोला तर्दै गर्दा अचानक आएको भेलसरी भयो, न वारि आउनु न पारि जानु। प्रोफेसर बन्ने इच्छा राखूँ– कुन खर्चले पढ्नु? होइन सक्दिनँ होला भनेर त्यो तीव्र इच्छा कसरी मारूँ?
समयले मलाई त्यो इच्छा पूरा गर्ने मौका दिएको छ। तर लाग्छ जानी नजानी त्यो स्वप्नको बन्धी भएको छु। अब अर्को स्वप्न पछ्याउँदै छु। सायद पूरा भएको स्वप्नले मान्छेलाई धर दिँदैन। नयाँ सपनाले नै लखेट्दो रहेछ मान्छेलाई। म लखेटिइरहेको छु।
सायद आज त्यही सात कक्षा पढ्दाको जस्तो तीव्र इच्छाले जलाइरहेको छ मलाई। लखेटिरहेको छ। यद्यपि त्यो स्वप्न के हो? आज म भन्न गइरहेको छैन। ऐन मौकामा उजागर एवं सफल पार्नेछु। तर आज म २४ वर्षे शिक्षण पेशामा रहेर के गरेँ त भन्ने गहिरो प्रश्नमा अल्झिएको छु।
गुरु हुनु भनेको प्रकृति हुनु जस्तै हो भनेर नै सुरु गरेको छु यस गन्थनमन्थनमा। म प्रकृति जस्तो सर्वज्ञ हुन पक्कै सक्दिनँ। धेरै पटक निस्तेज भएको छु। नतमस्तक भएको छु। आम बोलीले– शिक्षक भएर यति नि जान्दैनस्? यो कुरा उसलाई सोध्न शिक्षक हो ऊ।
मेरा अगाडि सयौँ पटक यी र यस्ता प्रश्नहरू, जिज्ञासाहरू, आशा, अपेक्षाहरू तेर्सिएका छन्। कुनै बेला धृष्टता गरेँ हुँला सवाल जवाफ गर्न। तर आज म अवाक हुन्छु। मात्र सुन्छु। सके मुसुक्क हाँस्छु। नभए फिस्स दाँत देखाउँछु। भन्छु- शिक्षकलाई सबैथोक कहाँ थाहा हुन्छ त? अपसोच! पत्याउँदैनन्। भन्छन्- यत्तिको पढेको के काम त नि? म थप मुस्कुराउने प्रयास गर्छु।
ती मान्छेहरूबाट जब म छुट्छु अनि मनमा बाढी आउँछ। हुरी चल्छ। के हो शिक्षक? को हो गुरु? कुन हुन् सर? कसरी हुन्छ मान्छे मास्टर? के उसले सबै जिज्ञासा मेटाउनै पर्ने हो? के ऊ सर्वज्ञाता बन्नै पर्ने हो? के उसले जान्दिनँ भन्न पाउँदैन? कि झुटो बोलेर पनि थमथमाउन पर्ने हो?
मनभित्र मडारिन्छन् यी भावनाहरू। खलबल्याउँछन् दिमाग। सोचमग्न हुन्छु। गमक्क फक्रिरहेको फूललाई हेर्छु। सँगै फुलिरहेको कोपिलाको जोस देख्छु। अलि पर झरेको ओइलाएको फूल लुत्रुक्क परेर धुलोमा टाँसिएको पाउँछु। अनि उत्तर पाएँ जस्तो लाग्छ। आखिर माछेले त्यो फूल वयस्क हुँदा जे अपेक्षा गरेका हुन्छन् न त्यो कोपिलाबट पाउँछन् न त झरेको बुढो फूलबाट।
हाम्रो समाज त्यस्तै थियो। अझै छ। जसले शिक्षक नै सर्वमान्य हो। गुरु हो। ब्रह्माण्ड जानेको मान्छे हो। ब्रह्म ज्ञानी हो भन्ने ठान्छ होला सायद। जुन गुरुले वेद जाने उपनिषद् घोके, महाभारत बुझे, रामायण विचरण गरे, ऋषिका श्लोकहरू कण्ठस्त पारे, पुराण लगाए उनीहरूले सबैका जिज्ञासा मेटाए।
तर आज फगत सामान्य भाषा र जोड घटाउ जान्ने। तोकिएको पाठ्यक्रम कनीकुथी पूरा गरी सर्टिफिकेट लिने। डिग्रीको माला लगाउने। शिक्षक बनेपछि अध्यापन गराउनु पर्ने बाहेक अन्य किताब नछुने। स्रोत नखोज्ने। दुःख नर्गने। एक/दुइटा भाषाभन्दा अरूमा जिज्ञासा नराख्ने। आफ्नो परीक्षामा बाहेक अन्त कलम चलाउ मन नलगाउने मजस्ता बबुरो शिक्षकलाई सर्वज्ञानी देख्ने समाजको स्तर पनि उही त होला नि भन्ने भान हुन्छ।
सम्झँदा सरम लाग्छ। मन कुँडिन्छ। ग्लानि हुन्छ। धिक्कार उही जगतको। उही प्रकृतिको शिक्षक म। गुरु म। मास्टर साहेब म। सर म। समाज बदलियो। सोच बदलिएन। पेशा बदलियो, ज्ञान बदलिएन। गुरुकुलमा गुरु थिए। स्कुलमा सर भएँ। शिक्षक भएँ तर ममा ज्ञान भरिएन।
म प्रकृतिमा छु तर प्रकृति हुन सकिनँ। प्रयत्न गर्दैछु। समाजलाई शिक्षकमा हुनपर्ने ज्ञानको चेत त दिन नसकुँला। म आफूमा चेतना भर्दैछु। शिक्षक बन्ने कोसिस गर्दैछु। पेशामा रहे पनि नरहे पनि शिक्षक बन्न, गुरु बन्न सदासर्वदा लागि परिरहने छु।
(लेखक उपप्राध्यापक हुन्।)